गाउँघरमा नमरेको परम्परा



मृत्युको पीडा आफैँमा गहिरो हुन्छ । त्यसमाथि अन्त्येष्टि र किरिया संस्कारका लागि आवश्यक सामग्री जुटाउने, आफन्तलाई खबर गर्ने, मलामीको व्यवस्थापन गर्ने र दैनिक खर्च धान्ने जिम्मेवारी थपिन्छ । यस्तो अवस्थामा गाउँलेको सामूहिक सहयोगले परिवारको आर्थिक र मानसिक बोझ दुवै घटाइदिन्छ ।
गजेन्द्र गुरुङ । प्युठान ।

गाउँघरमा कसैको मृत्यु भयो भने एउटा घरमा मात्र चुलो निभ्दैन, केही दिनका लागि पूरै गाउँको दैनिकी बदलिन्छ । शोकमा डुबेको घरमा आफन्त र छिमेकीको आउजाउ बढ्छ । कोही मलामीको व्यवस्थापनमा जुट्छन्, कोही पानी र चियाको व्यवस्था गर्छन् । कोही आवश्यक सामग्री जुटाउन थाल्छन् । दुःखको त्यो घडीमा कसैले धेरै बोल्दैन, तर धेरै हातहरू आफैँ काममा लागिसकेका हुन्छन् ।

यस्तै प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ बिजुलीस्थित महेन्द्रदीप गाउँमा मृत्यु संस्कारमा आवश्यक पर्ने धेरै सामग्री जुटाउने जिम्मेवारी समुदायले नै लिने गरेको छ । परिवारमा परेको दुःखलाई आफ्नै दुःख ठानेर गाउँलेहरू सहयोगमा जुट्छन् । महिला समूहमा आबद्ध दिदीबहिनीहरूदेखि गाउँका दाजुभाइसम्म सबैको आ–आफ्नो भूमिका निर्वाह गर्छन् ।

शनिबार बिहानै गाउँकी सुशीला खड्का आफ्नो घरबाट रित्तो डोको नाम्लो बोकेर गाउँनजिकैको जंगलमा गइन् । उनीमात्र नभएर उनीसँग सिर्जना बस्नेत, राधिका बस्नेत, लक्ष्मी पाण्डे, बिना पाण्डे, सरीता बस्नेत, राधा पाण्डेसहित अन्य दिदीबहिनीहरू डोको र नाम्लो बोकेर जंगल गए । उनीहरू आफ्नो घरको कामको लागि जंगल जानुभएको थिएन । केही दिनअघि छिमेकमा मृत्यु भएकी एक वृद्धाको घरमा आवश्यक पर्ने दुना टपरी बनाउनका लागि आवश्यक सालका पात टिप्न जंगल गएका थिए । उनीहरूले जंगलबाट डोकोभरी सालका पात टिपेर ल्याए र मृतकका घरमा आएर सामूहिक रूपमा आवश्यक दुना टपरी बनाइदिए । जसले गर्दा मृतकका घरमा आवश्यक सामग्री जुटाउन सहज बन्यो ।

उनीहरू सबै नवप्रतिभा सामुदायिक संस्था (समूह)मा आबद्ध सदस्य हुन् । कुनै घरमा मृत्यु भएको खबर पाउनासाथ महिला समूहका सदस्यहरू सक्रिय हुन्छन् । उनीहरू जंगलतिर लाग्छन् । सालका पात टिपेर ल्याउँछन् । ती पातलाई सफा गर्छन् र सबैजना मिलेर दुना–टपरी गाँस्छन् । मृत्यु संस्कारमा आवश्यक पर्ने दुना–टपरी तयार भएपछि शोकमा रहेको परिवारलाई बुझाइन्छ ।

बाहिरबाट हेर्दा यो सामान्य कामजस्तो लाग्न सक्छ । केही सालका पात टिप्नु र दुना–टपरी गाँस्नु ठूलो काम नहुन सक्छ । तर आफ्नो परिवारको सदस्य गुमाएको पीडामा रहेको परिवारका लागि त्यही समयमा कसैले आएर एउटा जिम्मेवारी सम्हालिदिनु निकै ठूलो राहत हुन्छ । मृत्युको पीडा आफैँमा गहिरो हुन्छ । त्यसमाथि अन्त्येष्टि र किरिया संस्कारका लागि आवश्यक सामग्री जुटाउने, आफन्तलाई खबर गर्ने, मलामीको व्यवस्थापन गर्ने र दैनिक खर्च धान्ने जिम्मेवारी थपिन्छ । यस्तो अवस्थामा गाउँलेको सामूहिक सहयोगले परिवारको आर्थिक र मानसिक बोझ दुवै घटाइदिन्छ ।

महिला समूहले दुःखमा सहयोग गर्ने काम मात्र गर्दैन । समूहभित्र आर्थिक अनुशासन र आत्मनिर्भरता बढाउने अभ्यास पनि छ । हरेक महिना बैठक बस्छ । बैठकमा गाउँका समस्या, समूहका गतिविधि र आगामी कामबारे छलफल हुन्छ । त्यससँगै सदस्यहरूबाट थोरै–थोरै रकम बचत संकलन गरिन्छ । समूहका अध्यक्ष राधा पाण्डेका अनुसार सानो रकमबाट सुरु भएको त्यही बचत क्रमशः समूहको सामूहिक पूँजी बन्छ । कसैलाई तत्काल आर्थिक आवश्यकता प¥यो भने त्यही रकम कम ब्याजमा उपलब्ध गराइन्छ । बाहिरबाट महङ्गो ब्याजमा ऋण खोज्नुपर्ने अवस्था आउन नदिन समूह आफ्नै सदस्यको सहारा बन्छ ।

यसले महिलाहरूबीचको सम्बन्धलाई केवल बैठक र बचतमा सीमित नराखेर दुःखमा साथ दिने, सुखमा रमाउने र आवश्यक पर्दा एकअर्काको आर्थिक तथा सामाजिक सहारा बन्ने संस्कार विकास गरेको बताउँछिन् अध्यक्ष पाण्डे । महिला समूहको कामसँगै गाउँका पुरुषहरूले पनि मृत्यु संस्कारमा आफ्नो जिम्मेवारी सम्हाल्छन् । किरिया बसेको व्यक्ति निक्लिने दिन (सुद्धी)मा आवश्यक पर्ने दाउरा संकलन गर्न गाउँका दाजुभाइ जंगल पुग्छन् । उनीहरू मिलेर दाउरा ल्याउँछन् र सम्बन्धित परिवारलाई उपलब्ध गराउँछन् ।

यसका लागि कुनै पारिश्रमिक लिइँदैन । कसैले ठेक्का दिएको हुँदैन । गाउँमा कसैलाई यस्तो दुःख पर्दा आफूले गर्नुपर्ने काम हो भन्ने भावनाले उनीहरू जुट्छन् । यही अभ्यासले गाउँलाई गाउँ बनाइरहेको र एउटाको समस्या सबैको समस्या र एउटाको दुःख सबैको दुःख हो भन्ने भावना जीवित रहेको बताउँछन् स्थानीय रेशम पाण्डे ।
आज समाज तीव्र रूपमा व्यक्तिकेन्द्रित बन्दै गएको छ । मानिससँग समय कम हुँदै गएको छ । छिमेकीसँगको सम्बन्धसमेत सामाजिक सञ्जालका अभिवादनमा सीमित हुन थालेका छन् । यस्तो अवस्थामा गाउँमा कायम रहेको सामूहिक श्रम र सहयोगको संस्कार अझ महत्वपूर्ण देखिने उनी बताउँछन् ।

सामूहिकता भनेको ठूलो आर्थिक सहयोग मात्र नभएर कसैको घरमा दुःख पर्दा केही घण्टा समय दिनु पनि सहयोग हो । जंगलबाट सालका पात ल्याइदिनु, दुना–टपरी गाँसिदिनु, दाउरा जुटाइदिनु वा आवश्यक पर्दा आफ्नै समूहको बचतबाट कम ब्याजमा पैसा उपलब्ध गराइदिनु पनि सामाजिक उत्तरदायित्व हो । यी कामले शोकमा परेको परिवारलाई तत्काल राहत मात्र नदिएर समुदायभित्र आपसी विश्वास पनि बलियो बनाउँछन् । आज आफूले अरूलाई सहयोग गरेको समुदायले भोलि आफूलाई पनि साथ दिने विश्वास पैदा हुन्छ । यही विश्वास नै सामूहिकताको आधार बनेको छ ।

गाउँका महिला समूहको बचतमा जम्मा भएको थोरै–थोरै रकम होस् वा जंगलबाट ल्याइएको सालको पात, दाउरा बोकेर फर्किएका गाउँका दाजुभाइका हात हुन्, यी सबैले एउटा ठूलो सामाजिक मूल्य बोकेका छन् । त्यो मूल्य हो–‘दुःखमा कोही एक्लो हुँदैन ।’ संकट पर्दा राज्यको सहयोग पर्खनुपर्ने अवस्था आउन सक्छ, तर छिमेकीको हात तत्काल पुग्न सक्छ । गाउँमा जोगिएको यही परम्पराले समाजलाई अझ मानवीय बनाउँछ । त्यसैले यस्ता अभ्यासलाई केवल गाउँको चलन भनेर हेर्नुभन्दा सामाजिक पुँजीका रूपमा बुझ्न आवश्यक छ ।

समय फेरिँदै जाँदा धेरै पुराना संस्कार हराउँदै गएका छन् । तर दुःखमा एकजुट हुने, श्रम बाँड्ने र आफ्नो समुदायका सदस्यलाई साथ दिने संस्कार हराउनु हुँदैन । किनकि समृद्ध गाउँ सडक, घर र बजारले मात्र बन्दैन । एकअर्काको दुःखमा उभिन सक्ने मानिसले गाउँलाई वास्तविक अर्थमा समृद्ध बनाउँछन् । गाउँको शक्ति त्यहाँका स्रोतसाधनमा मात्र नभएर त्यहाँका मानिसको मनमा हुन्छ । दुःखमा अघि बढ्ने ती हातहरू, थोरै–थोरै बचत गर्ने ती महिलाहरू र जंगलबाट दाउरा बोकेर फर्किने ती दाजुभाइहरूले यही कुरा प्रमाणित गरिरहेका छन्—समुदायसँग हातेमालो गर्ने संस्कार बाँकी रहेसम्म गाउँ कहिल्यै एक्लो नहुने बताउँछन् स्थानीय टेकबहादुर बस्नेत ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २६ गते मंगलबार