नेपालको कृषि क्षेत्रको सबैभन्दा ठूलो विडम्बना उत्पादन गर्न नसक्नु मात्र होइन, उत्पादनमा रहेको सम्भावनालाई व्यवसाय र अर्थतन्त्रमा रूपान्तरण गर्न नसक्नु हो । किसान उत्पादन गर्छन्, तर बजारको सुनिश्चितता हुँदैन । कृषि उपज बिक्री हुन्छ, तर त्यसबाट मूल्य अभिवृद्धि गर्ने प्रणाली कमजोर छ । पर्यटनको कुरा हुन्छ, तर स्थानीय उत्पादन, खानपान र कृषिसँग त्यसलाई जोड्ने सोच अझै प्राथमिकतामा परेको छैन । कैलालीका कृषक कालु हमालको केराखेती र त्यससँग जोडिएको कृषि पर्यटनको अभ्यासले भने यही कमजोरीबीच नयाँ सम्भावनाको बाटो देखाएको छ । दस बोटबाट सुरु भएको केराखेतीलाई व्यावसायिक उत्पादनमा विस्तार गर्दै केराकै परिकारमा आधारित रेस्टुरेन्ट सञ्चालन गर्नु सामान्य व्यावसायिक सफलता होइन । यो कृषि उत्पादनलाई बजार, उद्यम र पर्यटनसँग जोड्ने एउटा प्रयोग हो । किसानले खेतमा उत्पादन गरेर कच्चा पदार्थ मात्र बेच्नुपर्छ भन्ने परम्परागत सोचलाई यसले चुनौती दिएको छ । एउटै कृषि उपजबाट खाद्य परिकार, रोजगारी, व्यवसाय र पर्यटकीय आकर्षण सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण टीकापुरले प्रस्तुत गरेको छ । नेपालमा कृषि क्षेत्रमा राज्यको लगानी र नीति प्रायः उत्पादन बढाउने विषयमा केन्द्रित देखिन्छ ।
तर उत्पादन बढेपछि त्यसको बजार कहाँ हुन्छ, प्रशोधन कसरी हुन्छ, किसानले उचित मूल्य कसरी पाउँछ र उत्पादनलाई नयाँ व्यवसायमा कसरी बदल्न सकिन्छ भन्ने प्रश्न अझै पर्याप्त रूपमा सम्बोधन भएको छैन । त्यसैले अबको कृषि नीति बीउ, मल र अनुदानमा मात्र सीमित हुनु हुँदैन । उत्पादनदेखि प्रशोधन, ब्रान्डिङ, बजारीकरण र निर्यातसम्मको सम्पूर्ण शृंखला विकास गर्नुपर्छ । केराको सम्भावना यस दृष्टिले अझ महत्वपूर्ण छ । नेपालमा ठूलो परिमाणमा खाद्यान्न तथा फलफूल आयात भइरहेको अवस्थामा स्थानीय कृषि उपजको अधिकतम उपयोग गर्न सके आयातमा निर्भरता घटाउन सकिन्छ । केरालाई फलका रूपमा मात्र नभई पीठो, चिप्स, पेय पदार्थ, मिठाइ र अन्य खाद्य सामग्रीका रूपमा प्रयोग गर्न सकिने सम्भावना छ । यसका लागि अनुसन्धान, प्रविधि, गुणस्तर परीक्षण र बजार विस्तारमा सरकार तथा निजी क्षेत्रको सहकार्य आवश्यक छ । त्यसैगरी, कृषि पर्यटन नेपालका लागि नयाँ तर महत्वपूर्ण सम्भावना हो । पर्यटकलाई हिमाल र सम्पदा मात्र देखाएर पर्यटनको दायरा विस्तार गर्न सकिँदैन । खेत, स्थानीय उत्पादन, मौलिक परिकार, ग्रामीण जीवनशैली र कृषकको श्रम पनि पर्यटकीय अनुभव बन्न सक्छ । टीकापुरमा केराखेतीसँग रेस्टुरेन्ट जोडिएको अभ्यासले यही सम्भावना देखाएको छ ।
टीकापुर पार्क, कर्णाली नदी, डल्फिन, थारू संस्कृति र केराखेतीलाई एउटै पर्यटन उत्पादनका रूपमा विकास गर्न सके यस क्षेत्रले फरक पहिचान बनाउन सक्छ । तर एउटा किसानको व्यक्तिगत प्रयासले मात्र यस्तो सम्भावनालाई राष्ट्रिय अर्थतन्त्रमा बदल्न सकिँदैन । राज्यले यस्ता सफल प्रयोगलाई पहिचान गरेर नीतिगत रूपमा विस्तार गर्नुपर्छ । कृषि पर्यटनका सम्भावित क्षेत्र पहिचान गर्ने, स्थानीय उत्पादनमा आधारित व्यवसायलाई सहुलियत दिने, किसानलाई प्रशोधन तथा बजारीकरणको सीप दिने र पर्यटनसँग कृषि क्षेत्रको संस्थागत सम्बन्ध स्थापित गर्ने काम आवश्यक छ । पर्यटन विकासका नाममा ठूला होटल र पूर्वाधार निर्माणलाई मात्र प्राथमिकता दिने सोचमा पनि पुनर्विचार आवश्यक छ । पर्यटकले खर्च गर्ने ठाउँ स्थानीय अर्थतन्त्रसँग जोडिएन भने पर्यटनको वास्तविक लाभ गाउँसम्म पुग्न सक्दैन । स्थानीय उत्पादन, मौलिक परिकार र स्थानीय संस्कृतिमा आधारित पर्यटनले रोजगारी र आम्दानी गाउँमै राख्न सक्छ । कालु हमालको यात्रा त्यसैले एउटा व्यक्तिको सफलताको कथा मात्र होइन, नेपालको कृषि र पर्यटन नीतिले समात्नुपर्ने बाटोको संकेत हो । कृषिलाई उत्पादनमा मात्र सीमित नराखी उद्योग, उद्यम र पर्यटनसँग जोड्न सके किसानको आम्दानी बढाउन, रोजगारी सिर्जना गर्न र आयात घटाउन सकिन्छ । समृद्धिको खोजीमा हामीले टाढा हेर्नुपर्दैन । आफ्नै खेतमा उभिएको केराको बोटलाई नयाँ दृष्टिले हेर्न सके पनि सम्भावनाको एउटा ठूलो ढोका खुल्न सक्छ ।









प्रतिक्रिया दिनुहोस्