तिहारले ल्याउँछ कुम्हाल र कसगरमा खुसी



हिन्दु धर्मावलम्बीहरूले मनाउने दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै माटाका भाँडा बनाउनेहरूमा उत्साह थपिन्छ । विशेषगरी यस समयमा दियोहरूको बिक्री बढ्ने हुनाले उनीहरू उत्साहित हुन्छन् । नेपालगन्जमा माटोबाट उपभोग्य सामग्रीहरू बनाउने पुख्र्याैली पेशा भएका केही परिवार कुम्हाल र कसगर समुदायको बसोबास छ । उनीहरू माटोका परम्परागत सामग्रीहरूको विकल्पमा अनेक औद्योगिक सामग्रीहरू बजार आएपछि माटोका सामग्रीको बिक्री घट्दो क्रममै रहेपनि तिहारले जेनतेन आफूहरूको पेशालाई जोगाइरहेको बताउँछन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनाका मोलहे कुमालको घरभित्र दुईवटा भट्टीमा माटोका दियोहरू पाकिरहेका छन्। धानको भुस्सामा लगाइएको आगोभित्र तीन दिनसम्म पकाएपछि दियोहरू बजारमा पठाउन तयार हुने मोलहेले बताए । त्यसअघि तयार भएका दियोहरूलाई सुक्खा नहुन्जेल घाममा सुकाउनु राख्नुपर्छ । उनको आगनमा सुकाउन राखिएका दियोहरू पनि उत्तिकै छन् । ‘हामी त तिहार कुरेर बस्छौँ । यसबेला दियो मात्रै होइन, भुर्की (खुत्रुके)लगायत अरु सामान पनि बिक्री हुन्छ,’ मोलहेले भने ।

नेपालगन्ज वडा नम्बर ७ की मुस्लिम धर्मावलम्बी नाजिया कसरगरलाई तिहार आउनुले हिन्दु धर्मावलम्बीजत्तिकै खुसी दिन्छ । त्यो खुसी मुख्यतः उनको अर्थाेपार्जनसँग जोडिएर आउँछ । कुम्हालेको जस्तो चक्र चलाउने नभएर साँचोमा हालेर खुत्रुके, गाग्री, अम्खोला, ताउलालगायतका माटाका भाँडा बनाउने पुख्र्याैली शिल्पकार पेशा भएकी नाजिया दियोहरू भने कुम्हालेहरूबाट किनेर ल्याउँछिन् र सडकपेटीमा राखेर बेच्छिन् । तिहारमा दियोसँगै आपूmहरूले उत्पादन गरेका अरु सामानहरू पनि बिक्री हुने गरेको उनले बताइन् ।नेपालगन्जको सदरलाइनमा सडकमै दियोसहित माटाका अन्य सामग्रीहरू राखेर बेच्न बसेकी नाजियाले भनिन्, ‘हाम्रा लागि त तिहार सबैभन्दा धेरै व्यापार हुने बेला हो ।’

नाजियासँगै दियो र माटाका सामानहरू बेच्न बसेकी आशिया कसगर पनि तिहारको बेला सबैले माटाका दियोहरू किनिदिएमा आफूहरूको चुल्हो बल्न सहज हुने बताइन् । ‘माटोको दियो शुद्ध हुन्छ भनेर पहिले धेरैले प्रयोग गर्थे । अहिले झिलमिला लाइट प्रयोग गर्ने भएर कम बिक्छ,’ नाजियाले भनिन् । हिन्दु धर्मावलम्बीहरूले मनाउने दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै माटाका भाँडा बनाउनेहरूमा उत्साह थपिन्छ । विशेषगरी यस समयमा दियोहरूको बिक्री बढ्ने हुनाले उनीहरू उत्साहित हुन्छन् । नेपालगन्जमा माटोबाट उपभोग्य सामग्रीहरू बनाउने पुख्र्याैली पेशा भएका केही परिवार कुम्हाल र कसगर समुदायको बसोबास छ ।

उनीहरू माटोका परम्परागत सामग्रीहरूको विकल्पमा अनेक औद्योगिक सामग्रीहरू बजार आएपछि माटोका सामग्रीको बिक्री घट्दो क्रममै रहेपनि तिहारले जेनतेन आफूहरूको पेशालाई जोगाइरहेको बताउँछन् । ‘हाम्रो काम नै यही छ । धेरैजसो पुरुषहरूले मजदुरी गर्छन् । हामीहरूले माटाका सामान बनाउँछौँ । यो हाम्रो पुर्खादेखि चल्दै आएको छ । अरुबेला नबिकेपनि तिहारमा त दियोसँगै यी सामान पनि बिक्लान् भनेर कुरेर बस्छौँ,’ नाजियाले भनिन् । नेपालगन्जका कसगर र कुम्हालहरूले उत्पादन गरेका माटोका सामग्रीहरू बेच्नका लागि स्थानीय सरकारले भने कुनै व्यवस्था गरिदिएको छैन । केही ग्राहकहरू घरमै पुगेर खरिद गर्ने गरेका छन् भने अधिकांश ग्राहकहरूसम्म व्यापारीहरूले किनेर सडक पेटीमा राखेर वा ठेलामा राखेर बजार र गाउँघर डुल्दै दियोहरू बेच्ने गरेका छन् ।

तिहारको केही दिन भने नेपालगन्जको सदरलाईनमा पर्वलक्षित मेला लगाइन्छ । सोही मेलामा यस्ता दियोहरूको व्यापार बढी हुने गरेको मोलहेले बताए । व्यापारीहरूले केही मात्रामा दियोहरू सुर्खेत, बर्दिया, दैलेख, कालीकोटलगायतका जिल्लामा लगेर पनि बेच्ने गरेका मोलहे बताउँछन् । ६८ वर्षीय मोलहे तिहारमा प्रयोग हुने झिलमिल बत्तीहरू नभएको समयमा दियोहरू नै दीपावलीका लागि एक मात्र विकल्प हुने गरेको सम्झिन्छन् । ‘अहिले पनि दियो बिक्री त हुन्छन् । तर पहिलेजस्तै सबैले दियोहरू प्रयोग गर्दैनन् । बरु पैसा हुनेहरूले धेरै सङ्ख्यामा दियोहरू किन्छन्,’ मोलहेले भने ।

नाजियाले आफूहरूका लागि तिहारमा स्थानीय सरकारले दियो र माटाका सामानहरू बिक्री गर्ने स्थान तोकिदिएमा सहज हुने बताइन् । ‘अहिले त यहाँ राखेका छौँ । तर नगर प्रहरी आयो भने कहिले फुटाइदिन्छ, कहिले जफत गरेर लगिदिन्छ । त्रिभुवन चोकतिरै कुनै निश्चित ठाउँ तोकिदिएको भए हामीलाई सजिलो हुन्थ्यो,’ नाजियाले भनिन् । मोलहेले पनि बजारमा मानिसहरूको बढी चलहपहल हुने ठाउँमा व्यापार गर्ने स्थान तोकिदिएमा आफूहरूलाई ठूलो राहत हुने बताए । ‘तिहारको बेला घरअगाडि सडक पेटीमा राखेर बेच्छौँ । तर यहाँभन्दा पनि बजारमै कुनै उपयुक्त ठाउँ बनाइदिए त हामीलाई धेरै सजिलो हुन्थ्यो,’ उनले भने ।

माटोका सामग्री बनाउन माटोकै संकट

नेपालगन्ज वडा नम्बर २१ पुरैनाका ६८ वर्षीय मोलहे कुम्हाल आफ्ना पुर्खाहरूलाई नेपालगन्जमा तत्कालीन राणाहरूले बोलाएर ल्याई बसाएको बताउँछन् । आफूहरू बसेको जमिनको सम्बन्धमा केही वर्षअघि अदालतमा मुद्दा परेपछि सन् १९१९ तिर जण्डैल राणाको नाममा कायम भएको बिर्ताको जमिनमा आफ्ना पुर्खाहरू ल्याएर बसाइएको पत्ता लागेको उनले बताए । ‘त्यतिबेला भाँडाका लागि माटोकै भाँडामा भर पर्नुपर्ने अवस्था थियो । त्यसलै भाँडा बनाउने सीप भएका मान्छे चाहिन्छ भनेर राणाहरूले बारावंकीतिरबाट हाम्रा पुर्खाहरूलाई यहाँ ल्याएर राखेका रहेछन्,’ मोलहेले भने ।

पुर्खाहरूको त्यो इतिहास जानेपछि आफ्नो सीपको महत्व कति रहेछ भन्ने महसुस भएको मोलहेले बताए । ‘कुनैबेला विकल्प नै नरहेको सीप अहिले हेपिएको महसुस हुन्छ । हामीलाई चाहिने माटो पाइने तलैयाहरूमा अहिले हामी पस्न पाउँदैनौँ,’ उनले दुःख व्यक्त गर्दै भने । मोलहेका अनुसार नेपालगन्जमा रहेका फुलटेक्रा तलाउ र पुरैना (कान्ती) तलाउमा माटोका सामग्री बनाउन उपयुक्त विशेषखालको माटो पाइन्छ । तर, ती तलाउमध्ये कान्ती तलाउमा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक संरचना निर्माण गरेर माछापालन तथा पर्यटकीय गतिविधिका लागि ठेक्कामा दिएको छ । फुलटेक्रा तलाउमा क्रिकेट स्टेडियम बनाउने योजना अघि सारेसँगै उत्पन्न विवाद र अदालतको आदेशपछि तालबाट माटो निकाल्न निषेध गरिएको छ । ‘हामी यी तालनजिकै बस्नुको कारण पनि माटो पाइने तलाउहरू नजिक छन् भनेर हो ।

तर, ती तलाउमा हाम्रा लागि कुनै ठाउँ नै राखिएन । हारगुहार गर्दा पनि सुनिएन,’ उनले भने । कुम्हाल समुदायका एकजना अगुवा विष्णुलाल कुम्हारका अनुसार नेपालगन्जमा विभिन्न तलाउहरू रहेका थिए । ती तलाउको माटो कम बलौटे, लहसिलो र विशेष प्रकारको हुने भएकोले माटो माटोका भाडा बनाउनका लागि उपयुक्त हुन्छ । नेपालगन्जमा भएका तलाउमध्ये पनि फुलटेक्रा तलाउ, पुरैना (कान्ती) तलाउ र कारकाँदो तलाउ (हालको वाटरपार्क) तलाउको माटो माटोका भाँडा बनाउनका लागि सबैभन्दा राम्रो छ ।

उनका अनुसार यी तलाउबाट नेपालगन्जका कुम्हाल समुदायले मात्रै नभई बाँकेको खजुरा र अन्य स्थानमा रहेका कुम्हाल समुदायले पनि माटो निकालेर लिने गरेका थिए । ‘यी तलाउमा कुम्हालहरूका लागि पनि ठाउँ छुट्याउनुपर्छ भनेर हामीले आवाज उठाएका थियौँ । तर यस कुरालाई बुझ्ने कोही भएनन् । यो हाम्रो सहरको मौलिक सीप र माटोमा आधारित शिल्प जोगाइराख्ने उद्यमशिलतासँग जोडिएको विषय थियो । सहरको एक सम्पदाको रूपमा रहेको यो पेशा अब माटो नै नपाउँदा विस्थापित हुने खतरा छ,’ कुम्हारले भने ।

मोलहेले पनि यसवर्ष कान्ती तलाउ सफा गर्ने भन्दै ठेकेदारले माटो निकालेपछि सोही माटो ल्याएर जम्मा गरेको बताए । उनका घरमा दुई थुम्का कालो माटो जम्मा गरेर राखिएको छ । ‘यो माटो सकियो भने कहाँबाट ल्याउने ठेगान छैन,’ उनले भने । यसभन्दा अघि एक ट्रलीको १० हजार तिरेर दाङबाट ल्याएको उनले सम्झिँदै उनले अहिले त्यहाँ पनि माटो पाउने ठाउँहरू बन्द गरिन थालेका सुनेको बताए ।

मोलहे अहिले माटोका सामग्रीको माग बढ्ने संकेत देखिएको बताउँछन् । देखिनेगरी वृद्धि भएको माग माटोका कप र गिलासहरूको हो । चियादेखि लस्सी र दहीसम्म माटोका गिलासमा खाने प्रचलन नेपालगन्जमा बढेको उनले बताए । दही जमाउने भाँडा पनि माटोकै खोज्ने क्रम बढेको उनको भनाइ छ । उनले पनि बजारका केही पसलेहरूलाई माटोका कपहरू बनाएर उपलब्ध गराउँदै आएका छन् । पछिल्ला केही वर्षयता यसको माग झनै बढिरहेको उनले सुनाए । ‘माग बढिरहेको छ । कमाइ पनि यसमा धेरै छ । तर माटो छैन । के गर्नुहुन्छ ?,’ मोलहेले दिक्दारी व्यक्त गर्दै भने ।

मोलहेका छोरा भगवती कुम्हालले पनि आफूहरूले माटोकै सामग्री बनाउने पेशाबाट जीविकोपार्जन गर्ने सोचिरहेकोमा माटोको संकटले अन्यौलमा पारिदिएको बताए । ‘स्थानीय सरकारले हाम्रो पीडा बुझ्नुपर्छ । पो सीप बचाइराख्न पनि माटो पाइने ठाउँ हामीलाई उपलब्ध गराउनुपर्छ,’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १ गते शनिबार