एमाले बाँके क्षेत्र नम्बर १ द्वारा पार्टी कार्यालय पुनर्निर्माणका लागि दश लाख रूपैयाँ सहयोग



कोहलपुर (बाँके) ।

नेकपा एमाले बाँके क्षेत्र नम्बर १ कमिटीले जेनजी आन्दोलनमा क्षतिग्रस्त जिल्ला पार्टी कार्यालय पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको पार्टी कार्यालय निर्माणका लागि क्षेत्र नम्बर १ कमिटीले आर्थिक सहयोग गरेको हो ।

‘मेरो पार्टी कार्यालय म बनाउँछु’ अभियानअन्तर्गत क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताहरूबाट स्वस्फूर्तरूपमा प्राप्त रकम भवन पुनर्निर्माण समितिलाई बुझाइएको एमाले बाँके क्षेत्र नम्बर १ का संयोजक कुस्माखर बस्यालले जानकारी दिए । उनका अनुसार अभियानअन्तर्गत क्षेत्र नम्बर १ बाट संकलन गरेको सात लाख रूपैयाँँ नगदै बुझाइएको छ । थप तीन लाख रूपैयाँँ केही दिनमै निर्माण समितिलाई हस्तान्तरण गरिने उनले मिसन टुडेलाई जानकारी दिए ।

सात लाख रकम आइतबार निर्माण समितिका संयोजक रत्न खत्री, सदस्यहरू प्रमोद रिजाल र किशोर थापालाई संयुक्तरूपमा बुझाइएको उनले जानकारी दिए । रकम हस्तान्तरण कार्यक्रममा क्षेत्र नम्बर १ का संयोजक बस्यालसहित नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालसहित प्रदेश ‘क’का संयोजक विश्वराज खनाल, प्रदेश ‘ख’का संयोजक केशवराज शाही, क्षेत्रीय कमिटीका उपाध्यक्ष कृष्ण भुसाल, सचिव अंकित श्रेष्ठ, कोहलपुर पार्टी अध्यक्ष कुलबहादुर भट्टराई, राप्ती सोनारी अध्यक्ष तुल्सीराम थारू, कोहलपुर ३ का वडाध्यक्ष माधव रिजाल र युवा नेता खेम शर्मालगायत सहभागी थिए ।

‘भवन पुनर्निर्माण अभियानअन्तर्गत सहयोग उठेको हो । सात लाख रूपैयाँँ हस्तान्तरण गरेका छौँ । बाँकी तीन लाख रूपैयाँँ केहि दिनमा बुझाउनेछौँ,’ उनले भने । अभियानमा क्षेत्रमा नम्बर १ का ७० जना कार्यकर्ताहरूले सहयोग गरेका थिए । न्यूनतम दुई सय रूपैयाँँदेखि अधिकतम ५५ हजार रूपैयाँँसम्म कार्यकर्ताहरूले सहयोग गरेको अध्यक्ष बस्यालले जानकारी दिए ।

जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते तोडफोड र आगजनीमा परी नेकपा (एमाले) बाँके जिल्ला कार्यालय भवनमा क्षति पुगेको थियो । कार्यालय भवन पुनर्निर्माणका लागि नेकपा एमाले बाँकेले जिल्ला उपाध्यक्ष रत्न खत्रीको संयोजकत्वमा भवन पुनर्निर्माण समिति गठन गरेको थियो ।

भवन पुनर्निर्माणका लागि कूल १५ लाख रूपैयाँँ लाग्ने अनुमान गरिएको छ । भवन एक महिनामै निर्माण सम्पन्न गर्ने समितिको योजना रहेको छ । अहिले पुनर्निर्माण भइरहेको छ । जेनजी आन्दोलनका क्रममा बाँकेमा एमालेसहित नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालय तोडफोड र आगजनी गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार