अभियन्ता खनालको उपस्थितिमा सरसफाइ



कोहलपुर (बाँके) ।

सरसफाइ अभियन्ता केपी खनालको उपस्थितिमा कोहलपुरमा सरसफाइ गरिएको छ । अभियन्ता खनालको उपस्थिति र कोहलपुरका युवाहरूको सहभागितामा नेपालगन्ज मेडिकल कलेज कोहलपुरको आसपासको क्षेत्रमा सरसफाइ गरिएको हो । सरसफाइ भन्दाअघि अभियन्ता खनालको टोलीले अस्पतालमा उपचाररत बिरामीहरूलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी लिएको थियो । त्यसपछि अस्पताल आसपासको क्षेत्रमा सरसफाइ गरिएको हो ।

अस्पताल परिसर तथा वरिपरिका सडक किनारमा सरसफाइ गरिएको थियो । सरसफाइका क्रममा फोहोर संकलन, झाडी हटाउने र सडक किनार सफा गर्ने कार्य गरिएको थियो । सरसफाइ अभियन्ता खनालले वातावरण स्वच्छ भए मानव जीवन पनि स्वस्थ हुने बताए । सरसफाइ मानव जीवनको लागि नभइ नहुने कुरा भएको भन्दै उनले आफूहरूले देशभर सरसफाइ अभियान सञ्चालन गरिरहेको र सोही अभियानअन्तर्गत समुदायमा स्वच्छता र जिम्मेवारीको भावना जागृत गर्ने उद्देश्यले कोहलपुरमा पनि सरसफाइ गरिएको बताए ।

उनले भने, ‘हामी आफैँ सचेत नबनेसम्म स्वच्छ सहर सम्भव छैन । प्रत्येक नागरिकले आफ्नो वरिपरि सफा राख्ने बानी बसाल्न आवश्यक छ । यहाँ युवा र स्थानीय सरकारसमेत लाग्नुपर्छ ।’ सहभागी कोहलपुरका युवाहरूले आगामी दिनमा निरन्तर सरसफाइ अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । सरसफाइमा सहभागी युवा रमेश वरले आफूहरूले कोहलपुरमा निरन्तर विभिन्न अभियान सञ्चालन गरिरहेको बताए । उनका अनुसार सरसफाइ अभियन्ता खनाल कोहलपुर आएको अवसरमा अस्पताल क्षेत्रमा सरसफाइ गरिएको हो ।

उनी भन्छन्, ‘हामीले लामो समयदेखि बाल क्लब सञ्जाल र युवा क्लब सञ्जालमार्फत सरसफाइ अभियान सञ्चालन गरिरहेका छौँ । स्थानीय सरकारले समेत निरन्तर सरसफाइ अभियान सञ्चालन गरेको छ । यो अभियानलाई अझै प्रभावकारी बनाउने प्रयास हो ।’ स्वच्छ र सुन्दर कोहलपुरको नारालाई सार्थक बनाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । सरसफाइ अभियानमा कोहलपुरका युवा तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार