‘अजीजा चच्ची ’ आञ्चलिक कथामा समाजको सौन्दर्यीकरण



प्रा.डा. कृष्णप्रसाद घिमिरे 
परिचय ः
सनत रेग्मी नेपाली साहित्यका स्थापित प्रतिभाशाली स्रष्ट्रा हुन् । उनको जन्म २२ सेप्टेम्बर १९४७ तदनुसार वि. सं. २००४ साल असोज ६ गते सोमबार भएको हो । उनी भेरी अञ्चल बाँके जिल्लाको नेपालगन्जस्थित गगनगन्जमा जन्मेर अनवरत साहित्य सेवा गर्ने साहित्य सेवी हुन्। पिता गोपालप्रसाद शर्मा रेग्मी र माता लीलादेवीका सन्तान सनतकुमार  रेग्मीको नेपालगञ्ज नगरपालिका वडा नं.  ८ गगनगञ्जमा स्थायी बसोबास रहेको छ। उनले आई.ए. र साहित्य रत्न शिक्षा प्राप्त गरी समाजसेवा र राजनीतिमा लागेर साहित्यको सिर्जना गरिरहेका छन् । रेग्मीले दियालो, समय, सिर्जना, वर्तमान सेवा, महेन्द्र सौरभ लगायतका पत्रिकाको सम्पादन गरेका छन्।यिनका सिर्जनाहरू राष्ट्रिय र स्थानीय स्तरका दुवै पत्रिकाहरूमा प्रकाशित भएका  देखिन्छन्।यिनका सिर्जनाहरू मधुपर्क, समकालीन साहित्य,गरिमा जस्ता राष्ट्रिय साहित्यिक पत्रिका र सुखी परिवार, दौतरी, सिर्जना, परिवेश आदि स्थानीय स्तरका पत्रिकाहरूमा छरिएका पाइन्छन्। रेग्मीको कलम कथा, कविता, निबन्ध र निःसमालोचनामा चले तापनि उनको परिचय दिने शक्तिशाली विधा भने  कथा नै बनेको देखिन्छ ।
सनत रेग्मीले ’समाजकी छोरी’ वि. सं .२०२४ कथाद्वारा कथायात्राको  प्रारम्भ गरेका हुन् । उनका  सङ्ग्रह बाहेक केही कथाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन् ।उनका प्रकाशित आठ कथा सङ्ग्रहहरू हुन् ः १. मातृत्वको चीत्कार (२०२४), २. चन्द्रज्योत्स्ना र कालो बादल (२०२५), ३. दिनान्त (२०३५ ), ४. बन्द कोठाको शहर (२०४५), ५. लछनियाको गौना (२०५१) ६. समय सत्य (२०५४ ), ७ .सनत रेग्मीका प्रतिनिधि कथा (२०६० ), र  ८. स्मृतिदंश र अन्य कथाहरू (२०६६)  । कथाकार  रेग्मी मध्यमाञ्चल साहित्य कला प्रतिष्ठानका संयोजक, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य तथा  सदस्य सचिव, नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य, ‘मध्य, सुदूर र पश्चिमाञ्चल साहित्य समन्वय समितिका संयोजक तथा  राष्ट्रिय स्तरका गोष्ठी, समारोह लगायत अमेरिकामा  भएको एसियाली साहित्यकारहरूको सम्मेलन २०५५ सालमा समेत सम्मिलित भएका सर्जक हुन्। सनत  रेग्मीले  मैनाली कथा पुरस्कार २०४९  प्राप्त गरिसकेका छन् । आफ्नो परिवेश अनुसार राजनीतिमा संलग्न  भएर उनी  नेपाली कांग्रेस बाँके जिल्लाका सभापति बनिसकेका छन् । आठवटा कथा सङ्ग्रहका सर्जक रेग्मी ७९ वर्षको  सनत रेग्मीको कथाकारिता ः
कथाकार रेग्मी मूलत ः सामाजिक यथार्थवादी कथाकार हुन्। उनका कथामा पश्चिम तराईका  विविध  संस्कृतिको  रेखाङ्कन  गरिएको हुन्छ। उनले कथाबाट समाजको सौन्दर्य निर्माण गरेर ‘अजीजा चच्ची ’ जस्तो उत्कृष्ट आञ्चलिक कथा लेखेका छन् । उनको ‘लछमनियाको गौना’ आञ्चलिक कथामा लोकजीवनलाई कथाको विषयवस्तु बनाई धर्म ,संस्कृति ,गौना, विवाह लगायतलाई वर्तमानको यथार्थ धरातलमा उतारेर  कथामा प्रस्तुत गरिएको छ , यिनले  कथाबाट  स्वास्थ्य तथा  नैतिक चरित्रवान्  व्यक्तिको निर्माणद्वारा समाज र राष्ट्रको विकास सम्भव हुन्छ भन्ने अभिव्यक्ति दिएका छन् ।उनका  कथामा नेपालको पश्चिम तराई क्षेत्रमा बोलिने ‘अवधी, उर्दु र हिन्दी भाषाको प्रभाव  देख्न सकिन्छ। मान्छेले आँटे जस्तो क्षेत्रमा बसेर पनि साहित्यको सेवा गर्न सकिन्छ भनेर देखाउने रेग्मी मध्यपश्चिमाञ्चल क्षेत्रको कथा विधाका प्रतिनिधि व्यक्तिका रूपमा देखिएका छन् ।
 कथाकार सनत रेग्मीले आफ्ना कथामा निम्नवर्गका व्यक्तिहरूको व्यथा, भोगाइ, संकट र क्षतिग्रस्त जीवन  उतारेका छन् । उनका लछमनियाको गौना, छिनार, फुलमतीया ,संस्कार लगायतका कथामा नारी चरित्रको सशक्त भूमिका देखिन्छ भने  लाटो , चोकबजार, व्यापार आदि कथामा पुरुष चरित्रको विशेष भूमिका पाइन्छ। आफ्ना समकालीन कथाकारले अकथा, प्रयोगधर्मी  र स्वैरकल्पना जस्ता कथाशैलीलाई वरण गर्दा उनी  आधुनिक कथातत्त्वलाई संयमित भएर प्रयोग गर्दै जीवनका  जटिलतालाई सरल, सहज र संवेद्य बनाएर कथामा प्रस्तुत गर्न निपुण देखिन्छन् । तिनै कथागत तत्त्व र सौन्दर्य चित्रण सम्बन्धी प्रस्तुतिले उनका कथा सशक्त  बनेका हुन् । कथाकार रेग्मीका छोटा र छरिता कविताहरू ‘महेन्द्र सौरभ –१ ’ आदि विभिन्न पत्रिकामा प्रकाशित भएका छन्। ‘मध्यपश्चिमाञ्चल कला –साहित्य प्रतिष्ठान’ को लागि क्रियाशील रहने रेग्मीका रचनाहरू काठमाडौँबाट प्रकाशित हुने मधुपर्क , समकालीन साहित्य, गरिमा आदि पत्रिकाहरूमा पनि  प्रकाशित छन्।
कथाकार रेग्मी दुई विपरीत ध्रुवका जातिको संस्कृतिलाई समेटेर अत्यन्तै सशक्त रूपमा प्रस्तुत गर्ने सर्जक हुन् , उनको ’अजीजा चच्ची ’ भन्ने कथा यसको सशक्त प्रमाण हो। उनले सुन्दर धेरै आञ्चलिक कथा लेखी आफ्ना प्रतिभाको परिचय गराएका छन्। ‘बन्द कोठाहरुको शहर’ कथामा बौद्धिक पक्ष प्रबल रूपमा रहेको देखिन्छ। प्रतीकात्मक रूपबाट आजको सहरी जीवन र त्यसमा जीवन भोग्न विवश बौद्धिक जमातप्रति कथाले प्रहार गरेको छ। विद्रोहको कविता लेख्ने विद्रोहीहरू  र विद्रोही कविप्रति सहर र सत्ता सन्त्रस्त छ र उसलाई कोठामा थुनेर सबै कुरा पुरÞ्याएर विद्रोहबाट विमुख गराउने प्रयास गरिन्छ । कविले खान पाउँदैमा बन्द कोठामा बस्न अस्वीकार गरे पनि पछि त्यसैमा अव्यस्त भएर नियतिप्रति सम्झौता गर्दछ। अर्थात् कथाले संवेदनाहीन हुँदै गएको , विद्रोहको ह्रास हुँदै गएको सम्झौतामा जीवन बाँच्ने, खान पाएपछि मानवीय स्वतन्त्रतालाई समेत त्याग्ने विद्रोहबाट विमुख हुनेप्रति तीव्र व्यङ्ग्य गरेको छ। स्वतन्त्रताको खोजी यस कथाको मूल उद्देश्य हो। सुदूर पश्चिमाञ्चलको साहित्य गतिविधिलाई अगाडि बढाउन सक्रिय रहेका रेग्मीले ‘भेरी साहित्य विकास समिति ’ लाई पुनर्जीवित गराई सिर्जना जस्तो उच्चस्तरको पत्रिका सम्पादन गरेको पाइन्छ । उनले यसै पत्रिका मार्फत ‘ लछमनियाँको गौना’ जस्तो शक्तिशाली  कथा प्रकाशित गरेका हुन्।
नेपाली समाज र सौन्दर्यीकरण 
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक  तथा बहुधार्मिक देश हो । यहाँ धार्मिक सद्भाव, जातीय मेलमिलाप, भाषिक शमता तथा सांस्कृतिक समन्वयको अतुलनीय एकता  देख्न पाइन्छ । त्यही कुराको सङ्केत करिब पाँच दशक अगाडि कथाकार सनत रेग्मीले ’अजीजा चच्ची’ कथाबाट सामाजिक सौन्दर्यको उत्खनन गरेको देखिन्छ । साहित्यमा सौन्दर्यको अङ्कन सामाजिक एकता, धार्मिक सद्भाव तथा समन्वयात्मक मानवतावादी  चिन्तनबाट प्रस्फुटित भइरहेको हुन्छ ।पूर्वी नेपालका विभिन्न स्थानबाट बगेर मिलेका इन्द्रावती, सुनकोसी, तामाकोसी, दुधकोसी, अरुण , लिखु र तमोर यी सातवटा नदीको सामूहिक नाम सप्तकोसीमा जल मिसिए पछि पुनः पानी छुट्याउन सकिंदैन ।त्यस्तै साहित्यमा अन्तर्घुलित सौन्दर्यले व्यक्तिको मनलाई विरेचन गरी सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।सफल स्रष्ट्राको मूल उद्देश्य साहित्यबाट दूरदर्शी दृष्टि र मानवतावादी सोचाइ व्यक्त गर्ने अभिलाषा हुन्छ ।यसले समाज अग्रगामी तथा प्रगति उन्मुख बनिरहेको पाइन्छ ।त्यसैको ज्वलन्त उदाहरण हो – सनत रेग्मीको ’ अजीजा चच्ची ’ कथा ।सुन्दर साहित्य बन्नका लागि विधागत तत्त्वको सन्तुलित प्रयोग र सौन्दर्य चेतनाको सटिक अभिव्यक्ति अनिवार्य मानिन्छ ।
सनत रेग्मी कथाकार भएको हुँदा कथाका अनिवार्य तत्त्वमा कथानक, पात्र , परिवेश , उद्देश्य , दृष्टिविन्दु र भाषाशैली पर्दछन् भने सौन्दर्य चेतनाभित्र  कालचेतना, जीवनचेतना र सौन्दर्यचेतना आउँछन् ।यी सबैको सन्तुलित प्रयोगबाट  कथामा सौन्दर्य निर्माण भएको हुन्छ । कथाका अनिवार्य तत्त्वलाई सूत्रात्मक रूपमा यसरी अङ्कन गर्न सकिन्छ ः कथानक (एयित), प्रारम्भ, उत्कर्ष (ऋष्mिबह) र अन्त्य हुने घटनाहरूको आख्यानात्मक शृङ्खलाको संरचनालाई कथानक भनिन्छ । यसभित्र संवाद (म्ष्बयिनगभ) पनि समेटिन्छ, यसले पात्रहरू बीचको कुराकानीद्वारा  कथालाई जीवन्त बनाउँछ। संवादले पात्रको स्वभाव र कथा अगाडि बढाउने काम गरेको हुन्छ ।पात्र (ऋजबचबअतभचक), कथाभित्र प्रयोग भएर कथालाई अगाडि बढाउने  शक्ति वा जीवनधारी प्राणीलाई पात्रका रूपमा प्रयोग गरिन्छ । परिवेश (क्भततष्लन), यसमा कथा कहाँ र कहिले घटेको छ भन्ने कुरा समय, स्थान, सामाजिक अवस्था आदिबाट समावेश गराइन्छ। कथाको चौथो तत्त्वका रूपमा उद्देश्य वा विषयवस्तु (त्जझभ) आउँछ ।यसबाट कथाले  के भन्न खोज्दैछ भन्ने मूल सन्देश प्रवाहित हुन्छ ।यसमा प्रेम, सङ्घर्ष, आशा, बदला आदि विषयवस्तु हुन सक्छन् ।दृष्टिकोण (एयष्लत या ख्ष्भध),  कथा कसको दृष्टिकोणबाट भनिएको छ, पहिलो वा तेस्रो व्यक्ति (प्रथम पुरुष वा तृतीय पुरुष) ।त्यसका आधारमा दृष्टिविन्दु निर्धारित भएर कथालाई सशक्तता प्रदान गर्दछ। शैली (क्तथभि) लेखकको कथा लेख्ने तरिका, यसमा भाषा प्रयोगद्वारा संवेगात्मक अभिव्यक्ति प्रस्तुत गरिन्छ । यी सबै तत्त्वले  कथालाई प्रभावशाली, रोचक, अर्थपूर्ण र सौन्दर्यीकरण गरेका हुन्छन्। कथा सौन्दर्यीकरण हुनुमा यसका तत्त्व , सार्थक शैली तथा जीवनचेतनाको विशेष भूमिका रहन्छ । रेग्मीको ’अजीजा चच्ची ’ कथामा यी तीनगुणको सन्तुलित प्रयोग भएको हुँदा आञ्चलिकता कथा उत्कृष्ट  बनेको देखिन्छ । सार्थक शैलीका  निम्न प्रकारका विशेषता रहेका हुन्छन्  ः
सार्थक शैलीका विशेषताः
क. गहिरो भावनात्मक प्रभाव ः पाठकको मन छुने र सोच्न बाध्य पारिएको हुन्छ ।
ख. स्पष्ट उद्देश्य ः लेखनको स्पष्ट लक्ष्य हुन्छ, जस्तै प्रेरणा दिनु, चेतना जगाउनु, अथवा सामाजिक सन्देश दिनु।
ग. सजिलो तर प्रभावशाली भाषा ः जटिल शब्द होइन, सरल तर अर्थपूर्ण शब्द÷भाषाको प्रयोग गरिन्छ।
घ. जीवनका यथार्थ पक्षहरू ः  यसमा प्रेम, संघर्ष, आशा, परिवर्तन जस्ता विषयहरू समेटिन्छ।कथाका पात्र, परिवेश, संवाद र घटनाको सौन्दर्यपूर्ण चित्रणले पाठकलाई कथाभित्र डुबाउँछ।
ङ. लेखकको अनुभव ः भावना र संवेदनालाई कलात्मक ढंगले प्रस्तुत गरिन्छ, जसले पाठकको मन छोइदिन्छ।
चेतनाको प्रयोग ः
आधुनिक साहित्यका कथा, कविता, नाटक, निबन्ध लगायतका विधाहरूमा तीन चेतनाको प्रयोग अनिवार्य मानिन्छ। ती हुन् ः कालचेतना, जीवनचेतना र सौन्दर्यचेतना ।
कालचेतना ः  यस चेतनामा जुन समय, परिवेश र परिस्थितिको सर्जकका सृजनामा वर्णन गरिएको हुन्छ। त्यस कालको सही  झलक देखाउने प्रयास गरिएको हुन्छ ।
जीवनचेतनाः प्रस्तुत चेतनामा राम्रा तरिकाले जीवन जिउने÷ बाँच्ने ज्ञान वा कलालाई जीवन चेतना भनिन्छ, जसरी जीवन बाँचिएको छ। त्यसको यथार्थ र मनोहारी प्रस्तुति नै जीवन चेतना हो।
सौन्दर्यचेतनाः  यसमा स्रष्टाले सृजनाद्वारा वर्णन गरेको कथाको आख्यानात्मक जीवन आकर्षक र मनमुग्धकारी हुनुपर्दछ । यो साहित्यिक  भाषाका  शब्द, वाक्य, प्रतीक, विम्ब, अलंकार, संवाद, उखान– टुक्का लगायतको  चयन र  सौन्दर्य  निर्माणको कला हो। कथामा प्रयुक्त यी सहायक तत्त्वहरूले कथालाई अनिवार्य रूपमा जीवन सापेक्ष र व्यवहार उपयोगी बनाउन सहयोगी हुनु पर्छ भन्ने मान्यता रहेको छ।यी सैद्धान्तिक अवधारणाले कथालाई जीवन्त बनाएका हुन्छन् ।
’अजीजा चच्ची’ कथामा आञ्चलिकताको प्रस्तुति ः
सनत रेग्मीको ’लछमनियाको गौना’ (२०५१) कथा सङ्ग्रहको दोस्रो संस्करण परिमार्जित रूपमा वि.सं.२०८१ सालमा प्रकाशित हुन्छ । यही कथा सङ्ग्रहमा प्रकाशित ’अजीजा चच्ची’ कथामा रेग्मीले धार्मिक सद्भाव र जातीय मित्रताका साथै आञ्चलिकताको  राम्रो उदाहरण प्रस्तुत गरेका छन् । यसको कथानक वर्तमानबाट प्रारम्भ भई द्रुतगतिमा अगाडि  बढेर विगततिर फर्केर पुनः वर्तमानमा आई  कथा समाप्त भएको छ। यस कथामा मुस्लिम नारी अजीजाबाट कट्टर हिन्दु कथाको ’म’ (अजीजाको मानसपुत्र अजीज) पात्रलाई व्रतबन्ध संस्कारमा भिक्षादान दिएर जातीय सद्भाव प्रकट गराइएको छ । जुन सद्भाव व्यावहारिक रूपमा आज बल्ल ( वि.सं.२०८२ को तीजपर्व मनाउने क्रममा) हिन्दु–मुस्लिम नारीले नेपालगन्जमा एउटा धार्मिक जुलुस निकालेर नमुना देखाएका छन् । यस कार्यबाट सफल साहित्यकारमा हुने दूरदृष्टि कथाकार रेग्मीमा विद्यमान रहेको प्रमाण पाइन्छ । यही आञ्चलिकता र जातीय सद्भावको व्यवहारलाई उनले ’अजीजा चच्ची’ कथाको सन्दर्भमा यसरी अङ्कित गरेका छन् ः
 “ आमाले भिक्षा दिनु नै पर्छ  अजीज ? ” उनले फेरि सोधिन् ।
“ हो चाची , आमाले तीन पटक भिक्षा दिनुपर्छ । ” मैले भनेँ ।
त्यसपछि अजीजा चच्ची निक्कै घोरिनु भयो । नानाथरीका विचार उहाँको दिमागमा मडारिइरहेका थिए । निकै बेरपछि अजीजाले भन्नुभयो बढो दृढताका साथ, “म तिम्रो व्रतबन्धमा अवश्य आउँछु र तिम्री आमालेझैँ म पनि भिक्षा दिन्छु , तिमीलाई । म त्यहाँ आउनु भन्दा पहिला अल्लाहसँग तिम्रालागि दुआ माग्छु ।”
“साँच्ची चच्ची ! तपाईं मलाई भिक्षा दिन आउनुहुन्छ ?” मैले अलिक आश्चर्य मान्दै सोधेँ ।
“आउँछु अजीज, म अवश्य आउँछु ।” उनले भनिन् ।
 पछि थाहा पाएँ, मेरो व्रतबन्धमा आउनका लागि चाचीले ठूलो सङ्घर्ष गर्नुपरेको थियो । अली हसन मास्टर साहेब घरबाट बाहिर निस्कन दिन नचाहने । चच्चीले भने मेरो अजीजालाई म हिन्दू रिवाज अनुसार भिक्षादान दिन जान पाऊँ भन्ने । ठूलो सङ्घर्ष र धम्कीपछि मेरो व्रतबन्धका दिन अजीजा चच्ची, बुर्काले पुरै ढाकिएर स्कुलको एउटा हिन्दू पण्डितलाई बोलाएर भिक्षादान गर्न निस्किइन् ।
ईद, बकरीद जस्तो चाडमा समेत घरबाट निक्लिन नसकेकी आइमाई एकैपटक एउटा हिन्दू केटाको व्रतबन्धमा निस्किँदा टोलभरि हल्लीखल्ली मच्चियो । मानिस नानाथरीका कुरा गर्न थाले तर अजीजा आइन्  र एउटा कुनामा उभिएर मेरो बाटो हेरिरहिन् । मेरो बालसुलभ भावुक मनले मान्न सकेन र म सबैसँग भिक्षा लिएर अन्त्यमा कुनामा एक्लै उभिएकी अजीजा चच्ची कहाँ गएर भिक्षा थापिदिन्थेँ । अजीजाले फलफूल र चाँदीको एक रुपैयाँ भिक्षादान गरिन् तीनै पटक । अन्तिम पटक भिक्षादान गर्ने बेलामा उनका आँखामा आँसु भरिएको देखेँ मैले ।” (रेग्मी, २०८१.पृ.७)
प्रस्तुत भनाइमा कति आञ्चलिकता र जातीय सद्भावको संवेदनाले भरिपूर्ण अजीजा चच्चीको व्यवहार छ ।आफ्नो मानसपुत्र अजीजप्रतिको वात्सल्यभावले गर्दा मुस्लिम भएर पनि उनले श्रीमान् र समाजसँग सङ्घर्ष गरेकी छन् । उनी आमाको कर्तव्य निर्वाह गर्न चुकेकी छैनन् । आज भन्दा तीस–चालिस वर्ष अगाडि आञ्चलिक कथाबाट विश्वजनीन मानवतावादी  दूरदृष्टिको सन्देश दिनसक्नु रेग्मीको गरिमामय पक्ष हो । उनले मानवतावादी आञ्चलिक सद्भावलाई अजीजा पात्रद्वारा कथामा यसरी अभिव्यक्ति दिएका छन् ः
“अजीजा, तुम्हारा अजीज अब मुण्डन के बाद पक्का पण्डित हो गया है । वह तो अब सभी हिन्दूओं का छुआ भी नहीँ खाता होगा । हम तो मुसलमान हैँ ।”
“हसन क्या सभी कौम में एकता नहीं हो सकती ? यह आदमियत कब तक कौमों में बटी रहेगी ? क्या हम एक दुसरे के कौमों को प्यार नहीं कर सकते ?”उनले भनिन् ।  (रेग्मी, २०८१.पृ.८ )
(अर्थात् हसन के हामी सबै जाति र समुदायका मानिसमा एकता हुन सक्दैन ? यो इन्सानियत (सत्मानवता) कहिलेसम्म विभिन्न जाति र समुदायमा विभाजित भइरहन्छ ? के एउटा जातिले अर्को जातिका मानिसलाई माया गर्न सक्दैन ?)। मानिसहरूमा भएको सङ्कीर्ण सोचाइप्रति अजीजाले यस आञ्चलिक कथाबाट कति ठूलो प्रहार गरेकी छन् । संसारका सबै मानव एउटै हुन् भन्ने उनको मूल विचार छ । मानिसलाई विभिन्न समुदाय, जाति, लिङ्ग, भाषा, धर्म आदिमा विभाजन गर्नु हुँदैन भन्ने मानवतावादी सद्भाव यहाँ साहित्यबाट स्पष्ट रूपमा मुखरित भएको छ ।
कथामा स्रष्टा सनत रेग्मीले हिन्दी संवादको भावार्थ नेपालीमा दिनु पर्ने देखिन्छ तापनि पाठकले सन्दर्भअनुसार त्यसको अभिप्राय फेला पारेको पाइन्छ ।
प्रस्तुत कथामा अजीजा बेगमको महान्  त्याग र विशिष्ट सन्देश पाइन्छ । एउटा हिन्दु युवक ’म’ पात्रलाई तिमीले मेरो मृत्युमा पुत्र बनेर मलाई पहिला माटो दिनु भन्ने उनको अन्तिम इच्छाले प्रत्येक हिन्दुलाई मर्माहत बनाउँछ। एउटी मुस्लिम नारीका मनभित्रको कहर र पीडा कथाका रूपमा पस्कँदै आञ्चलिक  धरातलबाट  हिन्दु– मुस्लिमको एकता, मेलमिलाप तथा सहसम्बन्धको मानवीय चिन्तन प्रवाहित गर्नसक्नु रेग्मीको कथात्मक खुबी बनेको देखिन्छ।
निष्कर्ष ः
’अजीजा  चच्ची’ कथा आत्मकथनात्मक शैलीमा प्रस्तुत भएको छ । हिन्दुहरूको प्रमुख संस्कार व्रतबन्धमा अन्यत्र कतै नभएको मुसलमान नारीले भिक्षादान दिने र दानलिँदा  विरोध नभएको नेपालगन्जको आञ्चलिक विशिष्टता यस कथामा बाहेक अरुतिर वर्णन पाइन्न । रेग्मीका अरु आञ्चलिक कथाको तुलनामा यसको सौन्दर्यात्मक प्रस्तुति, स्थानीय दृश्यको अङ्कन, भिक्षादान दिन ’एउटा कुनामा एक्लै बुर्का ओढेर उभिएकी ’,कुराको उल्लेखले तत्कालीन दृश्य प्रस्तुत गर्दछ ।भाषिक प्रयोगमा कौम ,आदमियत ,जनाजा ,गराराको खल्ती ,अल्लाह ,दुआ, फातिमा , हैवान ,नमाज, खुटिया र नमकिन जस्ता उर्दुका शब्दहरू प्रशस्त कथामा पाइन्छन् ।त्यसैले यो उनको उत्कृष्ट आञ्चलिक कथा हो । नेपालगन्जको माटोको सुगन्ध र सबै मानवजातिलाई दिने अकाट्य सन्देश नै यस आञ्चलिक कथाको विशेष गुण हो।यही  गुणले गर्दा आजभन्दा भोलि र भोलिभन्दा पर्सि ’अजीजा  चच्ची’ कथा अझ बढी विस्तारित हुने अभिलक्षण भेटिन्छ  र पाठ्यक्रममा स्थान पाउने  विश्वास  लिन सकिन्छ। यस कथाले सबै धर्म मान्ने मानवजाति एउटै हुन् भन्ने जुन विचार  दिएको छ, त्यो नै यसको शक्ति हो।यस सन्देशलाई विश्वभरका हिन्दु र मुसलमान जातिले मनन गर्ने बेला आएको छ। मास्टर हसन अलीको प्रेममा अजीजा बेगम पागल हुँदा उसले बेगमको रूपलाई मात्रै चिनेको र आत्माले माया नगरेको सन्दर्भ यस कथामा प्रस्तुत गरिन्छ। अङ्ग्रेजी र गणित पढाउने अलि मास्टर भए पनि अजीजाको इच्छा विपरीत उसले व्यवहार गर्दा अजीजाले ठुलो कष्ट  भोगेकी छ। बेगमका निस्सार जीवनको कटुकथामा वात्सल्यप्रेमले आंशिक खुसी थपे पनि दिगो बन्न पाउँदैन । त्यसैले  पाठकको  मनमा छटपटी र करुणाले उथलपुथल गराउँछ। जीवनसाथीका केही  इच्छाहरू आफ्नो जीवनकालमा पूरा गर्दा जीवनयात्रा सुखद्  र सफल बन्छ। नत्र मास्टर अली  र बेगम अजीजाको जस्तो दुःखदायी बन्छ बन्ने मूलधारणा व्यक्त गर्नु नै यस कथाको गहिरो  सन्देश हो।प्रेम, भित्री मनबाट गरिनु पर्छ र चिरस्थायी हुन्छ । शारीरिक आकर्षणको  प्रेम क्षणिक हुन्छ भन्ने धारणा नै यस कथाको आख्यानात्मक मूल्य बनेको देखिन्छ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १३ गते बिहीबार