कोहलपुर शवदाह गृहको सार्वजनिक सुनुवाइ



कोहलपुर ।

कोहलपुर नगरपालिका–११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माण सम्पन्न भएको शवदाह गृहको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । बिहीबार कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिले एक कार्यक्रमको आयेजना गरेर शवदाह गृहको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो । करिब १३ महिना लगाएर अत्याधुनिक शवदाह गृह निमार्ण भएको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए । शवदाह गृह निर्माणदेखि नै मुद्दाहरू परेकाले निर्माण समितिलाई केही कठिनाइ भएको उनको भनाइ थियो ।

नगरपालिकाले सबैको सल्लाह र सहगोगमा शवदाह गृह निर्माण भएको बताउँदै उनले भने, ‘हालसम्म शवदाह गृह निर्माण उपभोक्ता समितिमार्फत नै सञ्चालनमा रहेको छ, केही दिनमा नगरपालिकालाई हस्तान्तरण हुनेछ र तत्पश्चात् नगरपालिकामार्फत सञ्चालनमा आउने छ ।’ नगरपालिकाले कार्यविधि बनाएर सञ्चालनमा ल्याउने उनले बताए । न्यूनतम २५ सयमा दाहसंस्कार गरिने र थप व्यवस्थित बनाएर लैजाने उनको भनाइ थियो ।

नगर विकास समितिले गरेको निर्णयअनुसार कोहलपुरका बुद्धिजीवीहरू र समाजसेवीहरू सम्मिलित ९ सदस्यीय समिति गठन गरेर निर्माण सम्पन्न भएको उनले बताए । विभिन्न सहयोगी दाता र नगरवासीहरूको सहयोगले शवदाह गृण निर्माण सम्पन्न भएको भन्दै उनले धन्यवाद दिए।
शवदाह गृह निर्माणपश्चात् अहिलेसम्म ७४ जनाको निःशुल्क दाहसंस्कार गरिएको कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र अधिकारीले बताए ।

सेवा भावका साथ निर्माण कार्यमा जुट्दा विभिन्न मुद्दाहरू पर्दा काम गर्न केही कठिनाइ भएको भन्दै उनले दुःख व्यक्त गरे । उनले कोहलपुरका सबै सहयोगी दाता र बैंकहरूको आर्थिक सहयोगले निर्माण सम्पन्न गर्न सफल भएको बताए । शव दाह गर्न कोहलपुरबाट ४२ किलोमिटर टाढा अगैयासम्म लैजानुपर्ने बाध्यता अबदेखि अन्त्य भएको उनले बताए । शवदाह गृहका बारेमा विभिन्न अफवाह फैलाउने काम भइरहेकाले त्यसलाई चिर्न आफ्नो बुवाको समेत त्यही शवदाह गृहमा दाहसंस्कार गरिएको उनले बताए ।

उनले शवदाह गृह निमार्ण कार्यमा सहयोग गर्ने व्यक्ति, संस्था र स्थानीय सबैलाई कृतज्ञता व्यक्त गरे । अहिलेसम्म शवदाह गृह निर्माण गर्न १ करोड १० लाख ७२ हजार २ सय ५२ रूपैयाँँ खर्च भएको शवदाह गृह निर्माण उपभोक्ता समितिका सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार