श्यामलाल पोखरेल । बुटवल ।
रुपन्देहीको सैनामैनाका जनप्रतिनिधिले बुटवलकी एक महिलालाई घडेरी दिने भनी पैसा ठगेको रहस्य खुलेको छ । सैनामैना नगरपालिकाका कार्यपालिका सदस्य सुरज बरालले बुटवल २ निवासी राधा नेपालीलाई घडेरी पास दिने जिम्मा लिएरे साढे चार लाख रूपैयाँँ बुझेका थिए ।तिलोत्तमा नगरपालिका वडा नम्बर ११ को भूपू सैनिक टोल अर्थात् ४ नम्बरमा सुरज बराल र सौगात बरालको नाममा रहेको अव्यवस्थित १० धुर घडेरी राधा नेपालीको नाममा वडामा पास दिने सहमतिमा तमसुक गरी राधाले बराल दाजुभाईलाई रूपैयाँँ बुझाएकी थिइन् ।
राधा नेपालीलाई साढे चार लाखमा अव्यवस्थित १० धुर जग्गा दिने जिम्मा जनप्रतिनिधि सुरज बरालले लिएपनि उक्त जग्गा सुरज बराल र सौगात बरालको नामको थियो । सुरज बराल र सौगात बराल नाताले दाजुभाई पर्दछन् । सुरज बराल एमालेका स्थानीय नेता हुन् भने उनी दलित उत्थान संघ सैनामैनाका संस्थापक अध्यक्षसमेत हुन् । पैसा लगेर पनि लामो समयसम्म घडेरी नदिएको पीडित महिला राधा नेपालीले सार्वजनिक गरेकी छन् । सैनामैना नगरपालिका कार्यपालिका सदस्य सुरज बराल र सौगात बरालले राधा नेपालीबाट २०७६ साल फागुन १६ गते घडेरीको बैनास्वरुप कागज गरी तीन लाख २५ हजार बुझेका थिए ।
त्यस्तै दोस्रोपटक २०७७ साल पुस १५ गते एक लाख २५ हजार बुझाएको तमुसक देखाउँदै राधा नेपालीले जग्गा नपाएको गुनासो गरिन् । आन्नद भैरव टोल विकास समितिका अध्यक्ष धनबहादुर कुंवर, सचिव दिलिप पुन, जमुना सुनारको रोहबरमा तमसुक गरी दुईपटक गरेर साढे चार लाख रूपैयाँँ बुझाएको राधा नेपालीले बताइन् । टोल विकास समितिका सचिव दिलिप पुनले तमुसक लेखेका थिए । घडेरीको तमसुक बनाउँदा उक्त तमसुक बनाउनका लागि १३ हजार नगद दिएको र उक्त १३ हजारको कुनै बिल नदिएको समेत राधाले बताइन् ।
लिखित कागत गरेर बैना बुझेको सप्रमाण पीडित राधा नेपालीले मिसन टुडेलाई उपलब्ध गराएकी छन् । नापी आएपछि जग्गा नापजाँच गरेर टोल विकास समितिको रोहवरमा वडाबाट पास दिने गरी लिखित सहमतिको कागज मिसन टुडेलाई प्राप्त भएको छ । पहिला देखाएको जग्गा नदिएपछि सुरज बराल र सौगात बरालले राधा नेपालीलाई अर्को ठाउँको नापी भएको जग्गा दिन्छौँ भनेर २०८१ जेठ २५ गते कागज गरेपनि घडेरी पास नदिएको पीडित राधाले बताइन् । पीडित राधाले बुटवलमा पत्रकार सम्मेलन गरेर सुरज र सौगात बरालले जालझेल गरी उक्त जग्गा नदिइ जंगलमा पर्ने र भूमि आयोगले नापजाँच नगरेको जग्गा लिन दबाब दिएको गुनासो गरिन् ।
बैना बुझ्दा देखाएको जग्गा नभएर नदी वन क्षेत्रको जग्गा दिन लागेकाले आफूले त्यस्तो वन क्षेत्रमा परेको जग्गा नलिने बताइन् । उक्त ठाउँमा सुरज बरालको १० कट्ठा जग्गा रहेको तिलोत्तमा वडा नम्बर ११ को वडा कार्यालय जानकारी गराएको छ । पैसा बुझेको वर्षौँसम्म जग्गा नदिएर दुःख दिएको राधाले गुनासो गरिन् । ‘भूमि आयोगले नापचाँच गरेर पछि लालपुर्जा पाइने जग्गा भनेर मैले ऋणधन गरेर जग्गा किनेकी हुँ, तर उहाँले कहिले वन क्षेत्रको जग्गा त कहिले आयोगले नापजाँच नगरेको जग्गा लैजाउ भन्दै दबाब दिनुभयो,’ उनले भनिन्, ‘जग्गाको लागि विभिन्न निकायमा धाउँदा धाउँदै मेरो एक लाख जति खर्च भैसक्यो । यही जग्गा किन्न दिएको पैसाका कारण घरपरिवारमा सम्बन्ध टुटेको छ, अहिले मेरो श्रीमानसँग पनि सम्बन्ध छैन, छोराछोरी पनि मसँग अलग छन् । यही कारणले परिवारमा बिग्रह भयो, स्कुलको जागिर पनि छोड्नु प¥यो, अहिले म असाध्यै पीडामा छु । न्याय पाहिन्छ कि भनेर मिडियामा आएकी हुँ ।’
चलनचल्तीको हिसाबमा कि आफूलाई पैसा दिनुस् कि बैना गर्ने बेला देखाएको जग्गा दिनुस् भन्दा उल्टै अपशब्द प्रयोग गरेर थर्काउने र गालीगलोज गर्दै ‘तैँले जे गर्न सक्छेस् त्यही गर, तेरो पावर कति छ लगा’ भन्दै सुरज बरालले गाली गर्ने गरेको उनले बताइन् । तिलोत्तमा वडा नम्बर ११ का वडाध्यक्ष विष्णु बरालले आफ्नै वडामा समस्या आएपछि कैयौँपटक सहमति गरेर मिलाउने प्रयास गरेपनि सुरज बराल र सौगात बराल सहमतिमा आउन नचाहेको बताए । जग्गा बिक्री गर्दा देखाएको जग्गा ठिक ठाउँमा रहेको र अहिले देखाएको जग्गा वन क्षेत्रमा परेकाले उक्त जग्गा कसैले पनि बिक्री गर्न नमिल्ने वडाध्यक्ष बरालले मिसन टुडेलाई जानकारी गराए । सुरज बरालले भने आफूले जग्गा दिन्छुभन्दा पनि राधा नेपालीले जग्गा लिन नमानेको दाबी गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्