नेपालगन्जको पर्यटनमा छैन् मौलिक संस्कृतिलाई स्थान



कलाकार र होटेल व्यवसायीको समान प्रकृतिको अपेक्षाका बीच नेपालगन्जको पर्यटनका लागि ‘नेपाल संस्कृतिको धनी देश’ भन्ने नारा नारामै सीमित छ । पर्यटन उद्योगका हिसाबले प्रमुख सहरमै पर्ने नेपालगन्जको पर्यटनले अहिले बेचिरहेको मुख्य वस्तु होटलको बेड हो, सभाहल हुन्, क्यासिनो हुन् र स्पा हुन् । अर्काे वस्तु खाना पनि हो, त्यो पनि मौलिक र रैथाने स्वादसँग जोडिएको छैन ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

दमयन्ती जैसी नृत्य कोरियोग्राफर हुन् । उनले कोहलपुरको एक विद्यालयमा नृत्य शिक्षकको रूपमा काम गरिरहेकी छन् । दमयन्ती र उनका साथी तथा शिष्य कलाकारहरूले एउटा टिम बनाएका छन्, सगरमाथा डान्स एण्ड इन्टरटेनमेन्ट नाम दिएर । उक्त टिममा साना उमेरका बालबालिकादेखि लिएर कलेज तहमा पढ्ने युवायुवतीहरूसमेत जोडिएका छन् । पछिल्लो पुस्ताले आफ्नो संस्कृतितिर ध्यान दिएन भन्ने टिप्पणीबाट पर उनीहरूले नेपालकै विभिन्न समुदायका मौलिक गीत र नृत्यको परख गरिरहेका छन् ।

विशेषगरी उनीहरूले नेपालका प्रायः प्रमुख नृत्यहरूको अभ्यास गरिरहेका छन् । दमयन्तीहरूको कला प्रस्तुतिका लागि विभिन्न मेला महोत्सवमा आमन्त्रण नहुने त होइन । तर त्यस्ता मेला महोत्सवमा सहभागितापछि उनीहरूले निकै नमिठा व्यवहारहरूको सामना गर्नुपरेको छ। दमयन्तीले भनिन्, ‘कार्यक्रममा प्रस्तुति दियो, खाली हातै पठाइदिन्छन् । पछि पारिश्रमिक माग्दा फोनै उठाइदिन्नन् । धेरैले हामीलाई पारिश्रमिक नदिएरै ठगेका छन् । त्यस्ता कार्यक्रममा स्थानीय कलाकारहरूले धेरै नमिठो व्यवहार भोग्नुपर्छ ।’

नेपालगन्जकी देवी आचार्यसँग मीठो स्वर छ । उनीसँग नेपालगन्जका गायक एवं कलाकार स्वर्गीय महेन्द्र हमालसँग गीत गाउन सिकेको अनुभव छ । देवीले एकल लोकगीत र आधुनिक गीत गाउँछिन् नै, उनीसँग महेन्द्र हमालसँग अवधी भाषी गीतहरू सिकेको अनुभव पनि छ ।
‘अहिलेपनि मलाईँ महेन्द्र बुवाले सिकाउनुभएका अवधी गीतहरू याद छन् । अभ्यास गर्ने हो भने म केही अवधी गीतहरू पनि गाउन सक्छु,’ देवीले भनिन् । नेपालको अवध क्षेत्रको राजधानी भनिने नेपालगन्जमा अवधी भाषी गीत गाउनसक्ने कलाकार यहाँको पर्यटन क्षेत्रका लागि अवसर हुन सक्थ्यो, देवीलाई यस्तो नलाग्ने होइन ।

दमयन्तीले पनि यहाँका ठूला होटेलहरूले कलाकारहरूलाई हप्तामा वा पाक्षिकरूपमा संस्कृतिको प्रस्तुतिको अवसर दिएमा उनीहरूलाई निकै हौसला मिल्ने बताइन् । यता, देशको हस्पिटालिटी उद्योगको अग्रणी ब्राण्ड सिद्धार्थ होटेलले हरेक शुक्रबार र शनिबार नेपालगन्जस्थित सिद्धार्थ होटेलको रेष्टुरेन्टमा लाइभ म्युजिकको कार्यक्रम आयोजना गर्छ । तर, त्यो कार्यक्रममा प्रायः आधुनिक गीतसंगीत मात्रै बज्छन् । होटलका सञ्चालक केशव न्यौपाने उक्त कार्यक्रममा मौलिक संस्कृति झल्किने संगीत पस्किँदा आफ्नो व्यापारलाई फाइदै हुने बताउँछन् । ‘त्यसका लागि हामीले पर्यत्न पनि नगरेका होइनौँ । तर यसको लागि उपयुक्त कलाकार र तिनको व्यवस्थापनको पाटोमा ठ्याक्कै कसरी मिलाउने भन्ने नमिलेको हो,’ न्यौपानेले भने ।

यसरी कलाकार र होटेल व्यवसायीको समान प्रकृतिको अपेक्षाका बीच नेपालगन्जको पर्यटनका लागि ‘नेपाल संस्कृतिको धनी देश’ भन्ने नारा नारामै सीमित छ । पर्यटन उद्योगका हिसाबले प्रमुख सहरमै पर्ने नेपालगन्जको पर्यटनले अहिले बेचिरहेको मुख्य वस्तु होटलको बेड हो, सभाहल हुन्, क्यासिनो हुन् र स्पा हुन् । अर्काे वस्तु खाना पनि हो, त्यो पनि मौलिक र रैथाने स्वादसँग जोडिएको छैन । संस्कृतिकर्मीहरूका बुझाइमा नेपालगन्जको अहिलेको पर्यटन उद्योगले यहाँको संस्कृति र कलालाई जोड्न सकिरहेको छैन । पर्यटनकर्मीहरू पनि अब यहाँको पर्यटनले संस्कृति र कलालाई जोड्नु्पर्ने आवश्यकता महसुस भइरहेको स्वीकार्छन् ।

कलाकार सुन्दर गुरुङ नवप्रतिभाहरूलाई मार्गदर्शन र प्रोत्साहनमा लामो समयदेखि खटिइरहेका कलाकर्मी हुन् । गुरुङ अब यहाँको पर्यटन उद्योगले कलाकारहरूलाई हात दिनुपर्ने बेला आएको बताउँछन् । ‘दमयन्ती र देवीजस्ता कलाकारहरूले यो देशमा भविष्य देख्नसक्ने वातावरण बनाउनका लागि पनि अब पर्यटन उद्योगले उनीहरूलाई साथ दिनुपर्छ । नेपालगन्जको पर्यटनको लागि पनि यसले नयाँ ढोका खोल्न सक्छ,’ गुरुङले भने । नेपालगन्जस्थित होटल स्टारलाइटका प्रबन्धक विनोद बुढाथोकीलाई पनि विशेषगरी मानसरोवर जानका लागि आउने पर्यटकहरूलाई स्थानीय मौलिकता झल्किने कार्यक्रमहरू गर्न पाए हुन्थ्यो जस्तो लागिरहन्छ ।

उनले भने, ‘पर्यटकहरूलाई हामीले त्यस्तो प्रस्तुतिहरू देखाउन सक्यौँ भने उनीहरूलाई केही विशेष महसुस पनि हुने र फेरि फर्केर आउन हुटहुटी जगाउने पनि हुनसक्थ्यो जस्तो लाग्छ । तर, यसको व्यवस्थापनको पाटोलाई कसरी मिलाउने भनेर हामीले सुरु गर्नै सकिहालेका छैनौँ,’ बुढाथोकीले भने । केही आन्तरिक कारण भएपनि विशेषगरी त्यस्ता कार्यक्रमको व्यवस्थापनमा कलाक्षेत्रबाट पनि सहकार्यको अपेक्षा गरिएको उनको भनाइ छ । नेपालगन्जस्थित होटल सिटी प्यालेसले त केही दिनअघि नेपालका मौलिक नृत्यहरूको प्रस्तुतिको कार्यक्रम नै आयोजना ग¥यो ।

दर्शक सहभागिताका हिसाबले उल्लेखनीय नरहेपनि उक्त कार्यक्रमको मञ्चमा प्रस्तुत भएका कलाकारहरूको प्रस्तुति भने तारिफयोग्य रहेको धेरै सहभागिहरूको प्रतिक्रिया थियो । सिटी प्यालेसका सञ्चालक लोकेन्द्र अर्याल पनि उक्त कार्यक्रमले आफूहरूलाई अर्काे कार्यक्रम गर्नका लागि हौस्याएको बताउँछन् । ‘त्यस्तो कार्यक्रम हामी फेरि आयोजना गर्नेबारे सोँचिरहेका छौँ । त्यसबाट होटललाई कम्तीमा आर्थिक घाटा भएन भनेपनि निरन्तरता दिनुपर्छ भन्ने हाम्रो मान्यता छ । किनकी हामीले पर्यटनका कुरा गरिरहँदा यहाँको संस्कृति प्रवद्र्धनलाई पनि बिर्सनु हुँदैन भन्ने लाग्छ,’ अर्यालले भने ।

हुन त नेपालगन्जमा अहिले केही दोहोरी साँझका नाममा रेष्टुरेन्टहरू सञ्चालनमा छन् । तर ती दोहोरी साँझमा दोहोरी कम आधुनिक नृत्यहरूको बोलवाला छ । त्यहाँ केही कलाकाररुले अवसर त पाएपनि त्यसलाई पर्यटनले संस्कृति प्रवद्र्धन गरेको भनेर मान्ने अवस्था नरहेको नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स ‘नाट्टा’ बाँके च्याप्टरका महासचिव भागीराम ओलीको बुझाइ छ । उनले नाट्टाले अब नेपालगन्जको पर्यटनमा प्रकृति र संस्कृति दुवै जोड्नुपर्छ भन्ने उदेश्यले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको बताए ।

उनले वेस्टर्न ट्राभल मार्टबाट आफूहरूले दिन खोजेको सन्देश पनि त्यही रहेको दाबी गरे । उनले भने, ‘अब हामीले स्थानीय संस्कृतिलाई पनि पर्यटनमा जोड्नु जरुरी छ । त्यही भएर नाट्टा आफ्ना सबैजसो कार्यक्रमहरूमा स्थानीय संस्कृतिलाई प्रवद्र्धन गर्ने प्रयास गरिरहेको हुन्छ । त्यस्ता कार्यक्रमले यसबारेमा आह्वान मात्रै गर्ने हो । त्यसलाई निरन्तरता दिने विशेषगरी होटलहरूले हो । केही राम्रा होटेलहरूले यतातिर योजना बनाइरहेको पनि मैले जानकारी पाएको छु ।’

पर्यटनका दृष्टिले पनि महत्वपूर्ण केन्द्र रहेको नेपालगन्ज थारू र अवधीसहित विभिन्न विभिन्न जाति, धर्ममा आधारित साँस्कृतिक आयामहरू रहेका छन् । देशको एक व्यस्त र निरन्तर स्तरोन्नति हुँदै आएको विमानस्थल रहेको नेपालगन्ज पर्यटकहरूको गन्तव्य हिमाली जिल्लातर्फको यात्राको प्रवेशद्वार पनि हो ।

बाँके र बर्दिया गरी दुईवटा राष्ट्रिय निकुञ्जको समदूरीमा रहेको नेपालगन्ज पर्यटकहरूको आवागमनभन्दा उनीहरूलाई नेपालगन्जमै केही दिन बस्ने वातावरण बनाउनु अबको लक्ष्य हुनुपर्ने भन्दै पर्यटनसम्बन्धी विभिन्न मञ्चहरूमा बहस हुने गर्छ । होटल एसोसियसन बाँकेका अध्यक्षसमेत रहेका होटल व्यवसायी केशव न्यौपानेका विचारमा पनि कलासंस्कृतिकर्मी र होटल व्यवसायीहरूले सहकार्य गर्ने हो भने अब साँस्कृतिक कार्यक्रमहरूलाई यहाँको पर्यटनसँग जोड्न धेरै समस्या छैन । यसले समाज र पर्यटन व्यवसाय दुवैलाई फाइदा नै गर्ने उनको बुझाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २७ गते बिहीबार