३३ केभी विद्युत् प्रसारण लाइन विस्तारमा स्थानीयको अवरोध



कोहलपुर (बाँके) ।

३३ केभी विद्युत् प्रसारण लाइन विस्तारका क्रममा कोहलपुर क्षेत्रमा स्थानीयले लाइन विस्तारमा अवरोध गरेका छन् । लाइन विस्तारका क्रममा स्थानीयसँग अनुमति नलिएको र लाइन विस्तार गर्दा स्थानीयहरूलाई सुरक्षा खतरा रहेको भन्दै लाइन विस्तारमा अवरोध गरेका हुन् । नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयले पिप्रहवादेखि कोहलपुरस्थित सव–स्टेशनसम्म पोल गाड्ने काम गरिरहेको छ ।

काम भइरहेको समयमा कोहलपुरस्थित पिपिरी क्षेत्रमा स्थानीयहरूको अवरोधका कारण पोल विस्तारको काम रोकिएको छ । राज्यले सुरक्षा प्रत्याभूति नगरेसम्म काम गर्न नदिने भन्दै पोल विस्तारमा अवरोध गरिरहेका छन् । कोहलपुर–९ का स्थानीय इन्द्र गौतमले लाइन विस्तारसँग स्थानीय नागरिक र स्थानीय सरकारसँग समन्वय नगरिएको बताए । उनका अनुसार विकास गर्नु राम्रो काम भए पनि सम्बन्धित पक्षले समन्वयबिना नै काम गरेको छ । स्थानीयहरूका माग पूरा नभएसम्म काम अघि बढ्न नदिइने स्थानीय गौतमले बताए ।

राज्यले मनोमानीरूपमा काम गरिरहेको उनले आरोप लगाए । ‘एक्कासि पोल गाडिरहेको देखेपछि मैले वडाध्यक्षलाई जानकारी गराएको थिएँ। उहाँहरूले अनभिज्ञता प्रकट गर्नुभयो । थप बुझ्दा ३३ केभी प्रसारण लाइन विस्तार अन्तर्गतको काम रहेछ । पछि जोखिम हुने देखेपछि सामूहिकरूपमा विरोध गरेका हौँ ।’ पहिला विद्युत्को पोल गाड्ने काम हो भन्ने राम्रो सोचे पनि पछि घर नजिकैबाट पोल गाड्न थालेपछि आफूहरू क्रसित भएको उनले बताए ।

विभिन्न बैंकहरूसँग बुझ्दासमेत लाइन विस्तार गर्दा पछि लोन प्रक्रियामा समेत समस्या हुने देखिएको उनको भनाइ छ । केही स्थानीयहरूले त केही दिनअघि कार्यालयका कर्मचारीहरूसँग भनाभन नै गरेका थिए । पोल गाड्ने क्रममा खासगरी कोहलपुर नगरपालिका वडा नम्बर ८, ९ र १४ नम्बर वडाका नागरिकहरूले अवरोध सिर्जना गरिरहेका छन् । स्थानीय सरकार र स्थानीय नागरिकसँगको कुनैपनि सहमति र समन्वयबिना सुरु गरिएको काम रोकिनुपर्ने पक्षमा स्थानीय छन् ।

तीन वटै वडाका वडाध्यक्षहरूले समेत उक्त कामप्रति असन्तुष्टि जनाएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष ओपेन्द्रनाथ योगीले गोल्छादेखि पिप्रहवासम्म विद्युत्का पोल गाड्ने काम भइरहेको बताए । उनले भने, ‘हामीलाई कुनै जानकारी थिएन ।स्थानीयले अवरोध गरेका छन् । मैले बुझ्दासमेत लाइन विस्तार भइरहेको भन्ने पाएको छु । जनस्तरबाट विरोध भएको छ । अब सहमतिमै अघि बढ्नुपर्छ,’ सम्बन्धित पक्षसँग आफूले कुरा गर्दा लाइन राप्तीपारीसम्म लिने जानकारी पाएको उनले बताए ।

कोहलपुर –१४ का वडाअध्यक्ष नमबहादुर आले मगर वडाहरूमा जथाभावी पोल गाड्दा स्थानीयले रोकेको बताउँछन् । उनका अनुसार अब संवादबाटै समाधान निकाल्नुपर्छ । कोहलपुर –१४ का वडाअध्यक्ष लालबहादुर रानाले लाइन विस्तार गर्दा कुनैपनि जानकारी नगराइएको बताए। उनले घर नजिकै पोल गाड्दा सुरक्षा जोखिम हुने उनले बताएका छन् ।

प्राधिकरण भन्छ ः नियमसँग काम गरिरहेका छौँ

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयल नेपालगन्जले कोहलपुर क्षेत्रमा स्थानीयहरूले विरोध गरेपनि कार्यालयले नियमसंगतरूपमा लाइन विस्तारको काम गरिरहेको जनाएको छ । नेपालगन्ज–कोहलपुर सडकखण्डको पिप्रहवादेखि कोहलपुर–१० स्थित सव–स्टेशनसम्म विद्युत्का पोल विस्तारको काम भइरहेको बताएको छ ।

डिभिजन प्रमुख दिपक गौतमका अनुसार कोहलपुर क्षेत्रमा काम गर्ने क्रममा स्थानीयले विरोध जनाएका छन् । उनका अनुसार विद्युत्का पोल विस्तार गर्दा कोहलपुरमा स्थानीयहरूले विरोध जनाएका हुन् । ‘कोहलपुरमा स्थानीयले अवरोध गरिरहेको मैले जानकारी पाएको छु । उहाँहरूले घर नजिकै विद्युत्को पोल गाड्न नदिने भन्नु भएको छ । तर हामीले नियमअनुसार काम गरिरहेका छौँ । थप विषयमा सहमति अनुसार जान्छौँ ।’ विद्युत् नियमावली २०५० अनुसार २५ मिटरको सडकमा पोल विस्तार गर्दा दुई मिटर छोड्नुपर्छ ।

तर आफूहरूले ४ मिटरसम्म छोडेर काम गरिरहेको बताए । अहिले आफूहरूले विस्तार गरेको पोलले नजिकै घर भएका नागरिकहरूलाई कुनैपनि समस्या नहुने उनले बताए । कार्यालयका इन्जिनियर पौडेलले पिपिरीदेखि पार्वतीपुरसम्म पोल विस्तारमा अवरोध भइरहेको बताए । पिप्रहवादेखि कोहलपुरसम्म २ सय विद्युत्का पोल विस्तार गर्ने योजना रहेको उनले बताए । पोल गाडिसक्दासम्म तारसमेत विस्तार गर्ने कार्यालयको योजना रहेको इन्जिनियर पौडेलको भनाइ छ । उक्त क्षेत्रमा ठेक्का प्रक्रियामार्फत प्रसिद्ध निर्माण सेवाले पोल विस्तारको काम गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २९ गते शनिबार