कोहलपुर (बाँके) ।
इलाका प्रहरी कार्यालय कोहलपुरले ज्यान मार्ने उद्योग जस्तो गम्भीर विषयमा लापरबाही गरेको देखिएको छ । घटना घटेको एक महिना बित्नै लाग्दासमेत उक्त घटनाका आरोपीलाई कारबाही र पीडितलाई न्याय दिलाउन कोहलपुर प्रहरीले बेवास्ता गरेको देखिएको हो । घटना घटेको र कार्यालयमा किटानी जाहेरी दिएको लामो समय बितिसक्दासमेत कोहलपुर प्रहरीले घटनालाई गम्भीर रूपमा नलिएको पीडित पक्षले गुनासो गरेको छ ।
कोहलपुर प्रहरीले स्थानीय नेताहरूको दबाबमा गम्भीर प्रकृतिको घटनालाई सामान्यीकरण गरेको पीडित पक्षले गुुनासो गरेको हो । किटानी जाहेरीपछि पटक–पटक प्रहरीलाई घटनाका आरोपीमाथि कारबाहीको माग गर्दा पनि बेवास्ता गरिएको पीडित पक्षका आफन्त पुष्पराज हमाल बताउँछन् । उनका अनुसार घटना घटेको दिन पुस १३ गते राति नै घटनाको आवश्यक अनुसन्धानका लागि ठाडो निवेदन दिइएको थियो ।
यस्तै, पीडित पक्षले पुुस २२ गते किटानी जाहेरी दिएको हमालले बताए । यस घटनाका दोषीलाई कानुुनी दायरामा ल्याएर कारबाही गर्न बारम्बार माग गर्दासमेत सुनुवाइ हुुन नसकेको उनको भनाइ छ । ‘घटनामा चार जना गम्भीर घाइते भएका छन् । आईसीयूूमा राखेर उपचार गरियो । हात भाँचिएका छन् । टाउको फुटेको छ । शरीरभरि चोटैचोट छन् । यस्तो घटनामा प्रहरीले गम्भीरता देखाउनुपर्ने हो,’ हमालले बताए, ‘तर देखाइरहको छैन ।’ कोहलपुर प्रहरीले स्थानीय पार्टीका नेताको दबाबमा पीडितलाई झन् पीडा दिने काम गरेको उनले आरोप लगाए ।
इलाका प्रहरी कार्यालय कोहलपुरमा पीडित पक्षका तर्फबाट कोहलपुर–६ रझेनाका उदयराज हमाल, कोहलपुर–१ कौशिलानगरका विजय परियार, कोहलपुर–१२ चप्परगौडीका शंकर थापा, बैजनाथ गाउँपालिका–३ का कृष्ण चौधरीले सात जनाको नाममा ज्यान मार्ने उद्योगको कसुरमा कारकाहीको माग गर्दै किटानी जाहेरी दिएका छन् ।
उनीहरूले कोहलपुुर–१४ का सुरेन्द्र खटिक, छविले खटिक, हरिहर खटिक, ओमप्रकाश खटिक, ढबला खटिक र राम थारूको नाममा किटानी जाहेरी दिएका हुन् । ज्यान मार्ने उद्योगजस्तो घटनाको सम्बन्धमा पीडितले किटानी जाहेरी दर्ता गरिसकेपछि पनि पीडितलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्नुपर्ने प्रहरीको भूमिकामाथि नै पीडित पक्षले प्रश्न उठाएका छन् ।
‘मान्छेलाई त्यसरी कुटपिट गरिएको छ । मान्छेहरू मर्ने अवस्थामा छन् । प्रहरीले पीडितको माग सुनुवाइमा गम्भीरता देखाएन । यतिका दिन हुँदासमेत पीडक खुलेयाम हिँडिरहेका छन् । हामीलाई झन अन्याय भयो,’ हमालले भने ।
घटनाका विषयमा बुझ्दा इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक रेशम पौडेलले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताए । उनका अनुसार पीडित पक्षले किटानी जाहेरी दिएको छ । जाहेरीका सम्बन्धमा प्रहरीले कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।
‘मुद्दा दर्ता भएको छ । हामीले प्रक्रियागत रूपमा काम गरिरहेका छौँ,’ उनले भने, ‘बाँके जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । हामीले काम गरिरहेका छौँ ।’ किटानी जाहेरी दिँदासमेत पक्राउ गर्न प्रहरीले किन ढिला गरेको भन्ने प्रश्नमा उनले टोली परिचालन भएको र छिट्टै पक्राउ गरी आवश्यक कारबाही अघि बढ्ने बताए । पक्राउ पुर्जी जारी भएकाहरूलाई प्रहरीले खोजिरहेको उनको भनाइ छ ।
यस्तो छ घटनाको नालीबेली
२०८१ पुस १३ गते साँझ ६ बजेको समयमा कोहलपुर नगरपालिका–१४ हवल्दारपुुर चोकमा दुई पक्षबीच झडप भयो । उक्त स्थानमा काठको आरा मिल सञ्चालन गर्दै आएका सञ्चालक र कामदारबीच पैसाका विषयमा विवाद भएको थियो । जाहेरीमा उल्लेख भए अनुसार मिलमा काम गर्ने कामदारलाई सञ्चालकले ५ हजार रूपैयाँ दिनुपर्ने थियो । सोही अनुसार सञ्चालकले मोबाइल बैंकिङ भुक्तानी गर्ने भनेका थिए ।
सञ्चालकले त्यसो भनेपछि त्यहाँ काम गरेका हरिहर खटिकले आफ्नो भाइलाई फोन गरे । उनका भाइले आफूहरूलाई अपशब्द प्रयोग गरी नगद नै चाहिन्छ भनेर अड्डी कसेको जाहेरीमा उल्लेख छ । खटिकका भाइले मिलका कर्मचारी विजय परियारले समेत फोन गरेरै नगद नभएको र मोबाइल बैंकिङमार्फत हरि खटिकलाई दिने बताए पनि लगत्तै ७/८ जनाको समूह आएर घेरा हालेर आफूले बोकेर ल्याएका र त्यहाँ रहेका इट्टा र घरेलु हतियारले सांघातिक आक्रमण गरिएको जनाइएको छ ।
उनीहरूको आक्रमणबाट जनकराज हमालको टाउको अनुहार, हात, औँला र शरीरका अन्य भागमा समेत चोट लाग्नुका साथै अंगभंग भएको छ । उदयराज हमालको टाउको र शरीर, विजय परियारको ढाड, खुट्टा र छाती, शंकर थापाको हात, खुट्टा, कृष्ण चौधरीको हात, खुट्टामा चोट लाग्नुका साथै शरीरका बाहिरी र भित्री भागमा चोट लागेर रगताम्य भएको छ । उनीहरूमध्ये जनकराज हमाल गम्भीर घाइते भएका थिए ।
उनलाई चार दिनसम्म आईसीयूमा राखेर उपचार भएको थियो । उक्त टोलीले उदयराज हमालसँग रहेको नगद ५ लाख लुटेर लगेको र तीन वटा मोबाइलमा समेत क्षति पुगेको बताइएको छ ।
जाहेरीमा ज्यानै लिने मनसायका साथ गरिएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गरी मुलुकी संहिता २०७४ को ज्यानसम्बन्धी दफा १८३ अनुसार कारबाही माग गर्दै घाइतेहरूको उपचारमा लागेको सम्पूर्ण खर्चसहित बिगो माग गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्