रोयल इन्फिल्डको नयाँ भेरियन्टको मोटरसाइकल लञ्च



श्यामलाल पोखरेल । बुटवल ।

गैरे प्रतिष्ठान प्रालि बुटवलले रोयल इन्फिल्ड मोटरसाइकलको बुटवलमा लञ्चिङ गरेको छ । रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालिले शुक्रबार बुटवलमा ३५० सीसीको नयाँ मेटिएर बाइकको लञ्चिङ गरेको हो । यो रोयल इन्फिल्ड मोटरसाइकल नेपालका सबै आधिकारिक बिक्रेताहरूले एकैसाथ शुक्रबार बिक्री शुभारम्भ गरेका छन् ।

गैरे प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरे र प्रतिष्ठानका अध्यक्ष प्रेम गैरेले संयुक्तरूपमा बिक्री शुभारम्भ गरेका हुन् । विभिन्न ५ वटा कलरमा उपलब्ध मेटिएर मोटरसाइकल नयाँ लुक्स र स्टाइलिसमा आएको गैरे प्रतिष्ठानले जनाएको छ । यात्रा गर्दा आरामदायी हुने उक्त बाइकलाई क्रुजिङ बाइक पनि भनिने उनले बताए ।

गैरे प्रतिष्ठानका मेनेजिङ डाइरेक्टर प्रवेशराज गैरेका अनुसार ईजी क्रुज यो बाइक फयरवल, स्टेलर, आरोरा र सुपरनोभा नामक चार भेरियन्टमा रहेको र पाँच लाख ७७ हजारबाट सुरु भइ पाँच लाख ९७ हाजरसम्म मूल्य रहेको छ । यो बाइकमा एलएडी हेड ल्याम्प लगायतका धेरै सुविधाहरू उपलब्ध रहेको र दशकौँदेखि रोयल इन्फिल्डको शुद्ध र आविकल सवारीसाधन हो ।

मेटिएर ३५० सीसी बाइक नयाँ पुस्ताका लागि निकै नै लोकप्रिय रहेको र यो बाइकलाई मोटरसाइकल विशेषज्ञहरूले ‘थार ब्रैड ईजी क्रुजर’को रूपमा मान्यता दिएको प्रतिष्ठानका अध्यक्ष प्रेम गैरेले जानकारी दिए । सुरुवाती वर्षमै प्रतिष्ठित इण्डियन मोटरसाइकल अफ द ईयर २०२१ मा पुरस्कृत भएको र विश्वका धेरै देशबाट पुरस्कार प्राप्त गरेको रोयल इन्फिल्ड बाइकमा अबदेखि ७ वर्षसम्मको वारेण्टीको सुविधा रहेकाले यसको बजारमा माग बढ्दो रहेको प्रतिष्ठानका अध्यक्ष गैरेले बताए ।

उनका अनुसार सन् १९०१ देखि ब्रिटेनबाट निरन्तर उत्पादन सुरु भएको रोयल इन्फिल्ड इण्डियाको मन्द्रास र हालको चेन्नइमा १९५५ मा पहिलो उत्पादन भएको थियो भने पछिल्लो समय विभिन्न देशका ७ आधुनिक सिकेडी प्रान्टबाट एसेम्बेलिङ हुँदै आएको छ । गैरे प्रतिष्ठानले नवलपुर जिल्लाको कावासोतीमा रहेको रोयल इन्फिल्डको शाखाबाट पनि नयाँ ३५० सीसीको मेटिएर बाइकको बिक्री शुभारम्भ गरिएको प्रतिष्ठानका कार्यकारी प्रमुख लक्ष्मी गैरेले जानकारी दिइन् ।

बुटलमा नयाँ भेरिएन्टको छवटा बाइक आएकोमा लञ्चिङकै दिन शुक्रबार छवटै बाइक बिक्री भएका छन् । जसमध्ये विनोद गुरुङ, चित्रप्रसाद श्रेष्ठ, मनिष पराजुली, ओमबहादुर खाती, दीपा बस्नेत शर्माले सुरुको दिनमै मोटरसाइकल खरिद गरेको गौरव पाण्डेले जानकारी दिए । पहिलो दिननै ११ वटा बाइक बुकिङ भएको गैरे प्रतिष्ठानका मेनेजिङ डाइरेक्टर प्रवेशराज गैरेले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २९ गते शनिबार