शेरबहादुर ऐर । कैलाली ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरभित्र सवारीसाधनहरू जलेर नष्ट छन् । सवारीसाधन राख्न बनाइएको माथिल्लो भाग पनि जलेर नष्ट रहेको छ । प्राङ्गणमा प्लाष्टिक कुर्सी, मोटरसाइकल, आवश्यक कागजपत्र जलेर खरानी जसरी फैलिएको छ । भवनका सिसाहरू फुटेका छन् भने रंगरोगन भएको भवन धुवाँले कालो बनेको छ । आइतबार कार्यालयमा कर्मचारीहरू उपस्थित त भए तर, कुनै सरसफाइ भएन ।
मुख्यमन्त्री कार्यालयमा भेटिएका कर्मचारी भन्दै थिए – ‘प्रहरी मुचुल्का तयार नहुँदा कार्यालय परिसर सरसफाइ गरिएको छैन ।’ मुख्यमन्त्री कार्यालयमा भदौ २४ गते भएको आगजनी तथा तोडफोडसँगै लुटपाट पनि भएको उनीहरूको भनाइ छ । उनीहरू भन्दै थिए – ‘धेरै सामानहरू जलेर नष्ट भयो । आगलागी नभएका क्षेत्रमा रहेका सामानहरू आन्दोलनकारीहरूले चोरी गरेका छन् ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अधिकांश कक्ष आगलागीबाट क्षतविक्षत भएको भएपनि चार–पाँच कक्षमा आगलागीबाट सुरक्षित रहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनै सञ्चालनमा नआएपछि मातहतका कार्यालयहरू सञ्चालनमा पनि अन्यौलता देखिन्छ । आइतबार प्रदेश सरकार मातहत रहेको आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले आगलागीबाट भएको क्षतिको विवरण यकिन गरि प्रहरी मुचुल्का तयार गरिरहेको थियो । भौतिक पूर्वाधार मन्त्रालयमा ग्याँस सिलिण्डर पड्केका कारण हाल प्रयोग भइरहेको भवन असुरक्षित रहेको छ । मन्त्रालयले क्षतविक्षत भएको मन्त्रालयको मिटिङ हललाई विभाजन गरेर मन्त्रालयलाई सुचारु गर्ने आन्तरिक तयारी गरेको जनाइएको छ ।
यद्यपि सोही हल उपयोग ल्याउने वा अन्य स्थानमा तयारी गर्नेबारे अन्यौलता रहेको जनाइएको छ । भौतिक पूर्वाधार प्राङ्गणमै नवनिर्मित आर्थिक मामिला मन्त्रालयको भवनभित्र रहेका सरसामानहरू नष्ट रहेको छ । आगलागी पछि बनाइएको मुचुल्कामा क्षतिको यकिन विवरण उल्लेख छैन । तर, मन्त्रालयलाई मर्मत गरि पुनः प्रयोग ल्याउने गरि मन्त्रालय लागिरहेको छ । सुदूरपश्चिम सरकारकै सबैभन्दा बलियो अंग हो– ‘प्रदेशसभा सचिवालय ।’
हालको जिल्ला समन्वय समितिको भवनमा २०७४ सालमा सञ्चालनमा ल्याइएको प्रदेशसभा सचिवालयले सबैभन्दा ठूलो क्षति ब्यहोर्नु परेको छ। प्रदेशसभाको सभाहल, कार्यालय र विभिन्न संसदीय दलको कार्यालयहरू क्षतविक्षत रहेको छ । आइतबार प्रहरीले मुचुल्का तयार गरेको भएपनि यकिन क्षति विवरण तयार पार्न सकेको थिएन । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले भने, ‘प्रदेशसभा सचिवालय प्रयोगविहीनजस्तै बनेको छ । सञ्चालनमा ल्याउन अझै समय लाग्ने छ ।’
उनले सचिवालयमा आगलागीसँगै सामानहरू लुटपाट भएकाले समयमै फिर्ता गर्न सम्बन्धित व्यक्तिहरूसँग अनुरोध गरिएको बताए । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको प्रदेश राजपत्र छापाखानाको एक मेसिनमा तोडफोड भएको छ भने एक मेसिन सञ्चालन अवस्थामा रहेको छ । सोही मन्त्रालयअन्र्तगत सञ्चालनमा ल्याइएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रमा रहेका सामाग्री नष्ट हुँदा विपद् प्रतिकार्य र विपद्सम्बन्धी अभिलेख तयारी कार्य प्रभावित भएको छ ।
मन्त्रालयको भवनहरूका सिसाहरू तोडफोड हुनुका साथै फर्निचरहरू नष्ट पारिएको छ । मन्त्रालयका सवारीसाधनहरूमा आगजनी भएपछि आइतबार पनि मन्त्रालयले आफनो सेवाहरू सुचारु गर्न सकेको थिएन । प्रदेश सरकार मातहत रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय पनि आगजनीपछि सञ्चालन गर्न सकिने अवस्थामा नरहेको मन्त्रालयहरूले जनाएको छ ।
प्रदेश सरकार मातहत रहेको मन्त्रालयमात्र नभई प्रदेश सरकार मातहतको निकाय मुख्य न्यायधिवक्ताको कार्यालय आगजनीका कारण संरचनामा क्षति पुगेको छ । तर, प्रदेश लोकसेवा आयोग, नीति तथा योजना आयोगमा भएका सामाग्री लुटपाट हुनुका साथै सर–सामानहरू नष्ट गरिएका छन् । यी दुई आयोग भाडाको घरमा रहेका कारण आन्दोलनकारीले भौतिक संरचनाको सुरक्षा गर्दै कार्यालयभित्र रहेका सर–सामान लुटपाट गर्नुका साथै बाहिर जलाएर नष्ट गरेको प्रदेश नीति तथा योजना आयोगका सूचना अधिकारी जयराज ओझाले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्