गुणस्तरीय स्वास्थ्य सेवामा कर्णाली सरकारको करोडौँ लगानी



प्रदेशका सबै जिल्लामा नियमितरूपमा आधारभूत औषधि, गुणस्तरीय स्वास्थ्य सामग्री र उपकरणको आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसका लागि आवश्यक रकम विनियोजन भएको मन्त्री घनश्याम भण्डारीले बताए । क्यान्सर, मुटु, मृगौला, अलजाइमर, पार्किन्सन, एनिमिया, रिकेट्स, सिकलसेल एनिमिया, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी, अटिजम जस्ता दीर्घरोगबाट पीडित बिरामीको उपचार सहायताको लागि एक करोड रकम विनियोजन गरिएको छ ।

नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न करोडौँ लगानी गरेको छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि रणनीतिक स्थानमा रहेका अस्पतालको स्तरोन्नति गर्ने तयारी छ । जसका लागि प्रदेश सरकारले करोडौँ बजेट विनियोजन गरेको छ । प्रदेशका सबै जिल्लामा नियमितरूपमा आधारभूत औषधि, गुणस्तरीय स्वास्थ्य सामग्री र उपकरणको आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसका लागि आवश्यक रकम विनियोजन भएको मन्त्री घनश्याम भण्डारीले बताए ।

उनका अनुसार क्यान्सर, मुटु, मृगौला, अलजाइमर, पार्किन्सन, एनिमिया, रिकेट्स, सिकलसेल एनिमिया, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी, अटिजम जस्ता दीर्घरोगबाट पीडित बिरामीको उपचार सहायताको लागि एक करोड रकम विनियोजन गरिएको छ । ‘नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पु¥याउन इ–हेल्थ सेवा, टेलिमेडिसिन विशेषज्ञ सेवा, विशेषज्ञ स्वास्थ्य शिविर र अस्पताल एवम् प्रयोगशाला सुदृढीकरण गर्दै लगिनेछ,’ उनले भने, ‘सम्भावित महामारी तथा आकस्मिक स्वास्थ्य समस्यालाई तत्काल सम्बोधन गर्न महामारी तथा आकस्मिक स्वास्थ्य व्यवस्थापनका लागि पनि आवश्यक रकम विनियोजन गरेका छौँ ।’

सार्वजनिक स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई पोषणको लागि प्रदेशका (क) वर्गका स्थानका लागि दु्ई हजार ५०० र (ख) वर्गको स्थानका लागि दुई हजार सुत्केरी पोषण भत्ता उपलब्ध गराउने कार्यलाई प्रदेश सरकारले निरन्तरता दिएको छ । अस्पताल स्तरोन्नति सम्बन्धमा अध्ययन गर्ने उच्चस्तरीय समितिको प्रतिवेदनबमोजिम प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने तयारी छ । अस्पतालबाट प्रदान गरिने विशेषज्ञ स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन जनशक्ति, भौतिक पूर्वाधार, औषधि र उपकरणको व्यवस्था मिलाइने मन्त्री भण्डारीले बताए ।

अस्पतालको छुट्टै ओपिडी ब्लक निर्माणलगायतका पूर्वाधार विकासका लागि १० करोड ५० लाख विनियोजन गरिएको उनले जानकारी दिए । ‘आधारभूत स्वास्थ्यमा सबै नागरिकको पहुँच स्थापित गर्न, बिरामीको उपचार खर्चमा सहुलियत प्रदान गर्न तथा अपाङ्ग एवम् असहाय नागरिकका लागि प्रदान गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ,’ उनले थपे, ‘कर्णाली प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन अभियान सञ्चालन गरिनेछ । सुरक्षित मातृत्व, पोषण, रोग नियन्त्रण र उपचारात्मक सेवा सुदृढीकरणमा विशेष प्राथमिकता दिनेछौँ ।’

स्वयंसेविकाको भत्ता वृद्धि

कर्णाली प्रदेश सरकारले विगतदेखि स्वास्थ्य स्वयंसेविकालाई दिइँदै आएको प्रोत्साहन भत्ता वृद्धि गरी १२ हजार पु¥याएको छ । यस्तो प्रोत्साहन भत्तालाई स्वयंसेविकाबाट प्रदत्त सेवासँग प्रविधिमार्फत आबद्ध गर्ने उद्देश्यले भत्ता वृद्धि गरिएको हो । यसबाट महिला स्वास्थ्य स्वयंसेविकाहरू आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी भइ स्वास्थ्य सेवा प्रभावकारी हुने अपेक्षा छ ।

दुर्गम ग्रामीण क्षेत्रका स्थानीय बासिन्दालाई नजिकको स्थानबाट न्यूनतम आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहसँगको सहकार्यमा सामुदायिक स्वास्थ्य इकाईहरूको सञ्चालनलाई प्रभावकारी बनाउने तयारी छ । यस्तै अस्पतालमा कार्यरत चिकित्सकलगायतका स्वास्थ्यकर्मीको क्षमता विकास गर्न कार्यक्रम सञ्चालन हुनेछन् ।

प्राकृतिक उपचार पद्धतिको विकास तथा प्रवद्र्धन गर्न आगामी आर्थिक वर्षमा आयुर्वेद तथा प्राकृतिक चिकित्सासम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्ने कर्णाली सरकारले जनाएको छ । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको स्तरोन्नति गरी छुट्टै आयुर्वेदिक औषधि उत्पादन केन्द्रको रूपमा विकास गर्ने तयारी छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रहरूको सुदृढीकरण गरी आयुर्वेद उपचार सेवाका लागि नागरिकलाई प्रोत्साहन गरिने उल्लेख छ ।

होमोप्याथिक, आम्ची, प्राकृतिक, अकुपञ्चर जस्ता वैकल्पिक चिकित्सा सेवालाई नागरिकको जीवनशैलीसँग आबद्ध गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । आध्यात्मिक संस्थाहरूको समन्वयमा स्वजागरण र योग ध्यानलगायत आध्यात्मिक क्रियाकलापलाई विस्तार गर्न जिल्लास्तरसम्म योग प्रशिक्षणको लागि आवश्यक रकम छुट्याइएको छ ।

यस्तै नेपाल सरकार, स्थानीय तह तथा विकास साझेदारसमेतको समन्वय र सहकार्यमा मानसिक स्वास्थ्य अवस्थाको पहिचान गर्ने तयरी छ ।मनोसामाजिक परामर्श तथा पुनस्र्थापना, मानसिक रोगलगायत अन्य नसर्ने रोगको नियन्त्रणका लागि प्रतिरोधात्मक, उपचारात्मक र प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनलाई निरन्तता दिन कर्णाली सरकार सफल भएको छ । मातृमृत्यु, बालमृत्यु, शिशुमृत्यु, नवजात मृत्युदरलाई न्यूनीकरण गर्न सचेतना, परामर्श, सामाजिक व्यवहार परिवर्तन, पोषण, खोप र उपचार सेवालाई सशक्त बनाइएकोा छ ।

यससम्बन्धी सूचना व्यवस्थापन एवम् निगरानी प्रणालीको थप सुदृढीकरण गर्दै जाने योजना छ । बालबालिका, किशोरी, प्रजनन उमेरका तथा सुत्केरी महिलाको मानसिक तथा शारीरिक स्वास्थ्यका लागि सुत्केरी पोषण कोसेली कार्यक्रम र पोषिलो पिठो (सुपर सेरल प्लस) वितरण गर्ने गरिएको छ । ‘मेरो स्वास्थ्य मेरो कर्तव्य’ बोध गर्दै स्वस्थ र सिर्जनशील जीवनयापनका लागि खेलकुद, योग, व्यायाम, ध्यानलगायतका कार्यक्रमलाई क्रमशः विद्यालय तहसम्म विस्तार गरिने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २९ गते शनिबार