पछिल्लो दश वर्षमा नेपालमा आ.व २०७१–७२ देखि २०८०–८१ सम्म ५९ हजार ५३० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने वयस्कमा पुरुषको सङ्ख्या बढी छ, तर १८ वर्ष मुनिका बालबालिकामा बालिकाको सङ्ख्या धेरै छ । १० वर्षको अवधिमा दुई हजार ७३८ बालकले आत्महत्या गरेका छन् । यही अवधिमा आत्महत्या गर्ने बालिकाको सङ्ख्या भने चार हजार १७९ छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके)
२०८२ कार्तिक १४ गते कोहलपुर नगरपालिका–१२ सुन्दरबस्तीकी ११ वर्षीय शर्मिला परियार घर नजिकै मृत फेला परिन् । उनी कक्षा १ मा पढ्दै थिइन् । परियारको घर जाजरकोट भएपछि सुन्दरबस्तीमा बस्दै आएकी थिइन् । उनका आमा बुवा रोजगारीका लागि भारतमा बस्छन् । दसैँ तिहार मनाउन घरमा आएका थिए । घटना हुँदा उनीहरू जाजरकोट गएका थिए । घरमा शर्मिला र उनकी दिदी मात्रै थिए । परियारको सपरियार पहिला भारतमा बस्थे । पाँच महिनादेखि भने दिदीबहिनी सुन्दरबस्तीमा आएर बसिरहेका थिए ।
‘राति सँगै सुतेका थियौँ । म बिहानै ७ गते उठेको थिए । अबेरसम्म सुतेकी थिइन् । उठ्न बित्तिकै मेकअप गरिन् । म होमवर्क गर्दै थिए । पछि त झुण्डिएको अवस्थामा देखे,’ शर्मिलाकी दिदीले उनले भनिन् । उनको मृत्युको कारण खुलेको छैन् । तर शर्मिलाले मोबाइलमा आत्महत्या सम्बन्धी भिडिओ हेर्ने गरेको र आत्महत्या कसरी गर्ने भन्ने विषयमा खोज्ने गरेको देखिएको आफन्त मनविर परियार बताउँछन् । उनी भन्छन्, ‘आमाबुवाले मोबाइल घरमा छोडेका रहेछन् । दिदीबहिनीले पालोपालो हेर्ने रहेछन् । शर्मिलाले झुण्डिनुभन्दा अघि लगातार तीन दिनसम्म पनि आत्महत्याका बारेमा सोधीखोजी गरेको देखिन्छ ।’
कार्तिक १३ गते कोहलपुर– ११ लोकनगरकी १५ वर्षीय निसा हरिजन कोठाभित्र मृत फेला परिन् । उनी शिवशक्ति आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्थिन् । उनकी आमा शोभा हरिजन भन्छिन्,‘ त्यस्तो केही समस्या थिएन घरमा । बिहान स्कुल जान्न भनेकी थिइन् । मैले त्यो भए भोलीदेखि जानु भनेको थिए । छोराको हात भाँचिएकोले म इलाका गएको थिए । त्यहीबेला यस्तो भएछ,’ उनी घरकी जेठी छोरी थिइन् ।
माथि उल्लेखित उदाहरण त प्रतिनिधि घटना मात्रै हुन् । नेपालको पछिल्लो १० वर्षको किशोरकिशोरीहरूको मृत्युदर हेर्दा स्थिति भयावह देखिन्छ ।
नेपाल प्रहरीका अनुसार आत्महत्याबाट हरेक दिन औसतमा एक बालिकाको ज्यान गइरहेको छ । यो बालकको तुलनामा झन्डै दोब्बर हो । पछिल्लो १० वर्षमा ५९ हजार ५२४ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांक छ । आत्महत्या गर्ने वयस्कमा पुरुषको सङ्ख्या बढी छ, तर १८ वर्ष मुनिका बालबालिकामा बालिकाको सङ्ख्या धेरै छ । १० वर्षको अवधिमा दुई हजार ७३८ बालकले आत्महत्या गरेका छन् । यही अवधिमा आत्महत्या गर्ने बालिकाको सङ्ख्या भने चार हजार १७९ छ । यसले कलिलै उमेरमा छोरीहरूले आत्महत्याको बाटो रोजिरहेको देखाउँछ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०२० अनुसार १३ देखि १७ वर्षसम्मका किशोरकिशोरीमध्ये ३.९ प्रतिशतमा आत्महत्या सम्बन्धी सोच आएको देखिएको थियो । त्यसमा ०.७ प्रतिशतले आत्महत्याको प्रयास पनि गरेको प्रतिवेदनमा उल्लेख छ । किशोरकिशोरी दुवै सामाजिक सञ्जालमा रहे पनि साइबर दुव्र्यवहारको शिकार हुने जोखिममा किशोरी नै बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।
सामाजिक सञ्जालमा आउने नकारात्मक प्रतिक्रियाले किशोरीलाई बढी जोखिममा पार्ने औँल्याएको छ । प्रतिवेदनले सामाजिक सञ्जालले किशोरीको मानसिक स्वास्थ्यमा ल्याउने नकारात्मक असरमा अध्ययन–अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।
परामर्शदाता भन्छन्, ‘कृपया छोराछोरीलाई सुनाँै’
काउन्सिलिङ साइकोलोजी नेपालका निर्देशक एवं परामर्श मनोवैज्ञानिक क्षितिजकिरण श्रेष्ठ प्रेमसम्बन्ध, धोका लगायत कारणबाट उत्पन्न तनावलाई लिएर किशोरीहरू परामर्शमा आउने गरेको सुनाउँछन् । ‘किशोरावस्थामा आफ्ना कुरा सुनिदिने मान्छे नहुँदा मानसिक रूपमा गाह्रो हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘घर र विद्यालयमा किशोरकिशोरीका कुरा सुनिदिने वातावरण बनाउनुपर्छ ।’
मनोविमर्शकर्ता नन्दराज आचार्यपनि अभिभावकले आफ्ना छोराछोरीहरूलाई सुन्न आवश्यक रहेको बताउँछन् । उनका अनुसार अभिभावकले ध्यान नदिँदा छोराछोरीहरू गलत संगतमा फसेर आत्महत्याको अवस्थामा पुगेका छन् । नेपालमा तनाव, डिप्रेसन, सम्बन्धमा हुने समस्या, बेरोजगारी, आर्थिक पक्ष, दुव्र्यसन, लगायत आत्महत्या हुने गरेको उनले बताए । पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग आत्महत्याको प्रमुख समस्याको रूपमा देखा परेको छ । छोराछोरीहरूले सामाजिक सञ्जालको सदुपयोग गरिरहेका छन् वा दुरुपयोग अभिभावक चनाखो हुनुपर्नेमा उनले जोड दिए ।
‘जटिल समस्यालाई रोक्न सकिन्छ’
नेपाल प्रहरीको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक अध्ययन प्रतिवेदन २०८१ ले आत्महत्या नेपालको प्रमुख समस्या मध्येको एक भएको निष्कर्ष निकालेको छ । अध्ययनले नेपालमा हुने गरेका आत्महत्या र आत्महत्या प्रयासको विस्तृत गुणात्मक अध्ययनले आत्महत्याको बहुआयमिक र जटिल प्रकृतिलाई जोड दिएको छ ।
अध्ययनले आत्महत्या हुनै एकै कारण मात्रै नभई विभिन्न सामाजिक, आर्थिक मनोवैज्ञानिक र साँस्कृतिक लगायतका कारणले हुने गरेको छ । उक्त अध्ययनले चुनौती र सम्भावित चुनौती समाधानका उपायहरू रहेको निष्कर्ष निकालेको छ । आत्महत्याको बहुआयमिक प्रकृतिको पहिचान, समर्थन प्रणालीहरूको महत्वपूर्ण भूमिका रहेको छ । मानसिक स्वास्थ्य सेवाको महत्वपूर्ण भूमिका रहेको औँल्याइएको छ ।सामाजिक, आर्थिक र साँस्कृतिक तत्वहरू, सहकार्यत्मक प्रयासहरू, नीतिगत सामुदायिक हस्तक्षेपहरू, कुप्रथा र कुरितीहरूलाई हटाउने तथा अनुकूल र दीगो रणनीतिहरू आवश्यक छ ।
अध्ययन अन्तर्गत लुम्बिनी प्रदेशमा विद्यामान आत्महत्याको समस्या न्यूनीकरणका लागि आर्थिक र सामाजिक हस्तक्षेप, पारिवारिक सम्बन्ध र मानसिक स्वास्थ्य सम्बन्धी चेतना, मिडिया नियमन र नीतिमा सुधारका साथै सहकार्यत्मक सामुदायिक प्रयासहरूको आवश्यक रहेको अध्ययनको निष्कर्ष रहेको छ । असमानता, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, लैंगिक विभेद्को अन्त्य, सामूहिक भावनामा वृद्धि र बलियो सामाजिक सम्बन्ध आत्महत्या न्यूनीकरणका उपायहरू रहेको अध्ययनले देखाएको छ ।









प्रतिक्रिया दिनुहोस्