हाम्रो नेपाली समाज विभिन्न जातजाति, धर्म सम्प्रदाय, भाषाभाषी मिलेर बनेको छ । एउटै समाजमा विभिन्न किसिमका चालचलन, रीतिरिवाज, संस्कार, संस्कृति मान्ने समुदाय रहेका छन् । जसका कारण एकअर्काबीच अरुका धर्म, रीतिरिवाज, संस्कार तथा संस्कृति जान्ने र बुझ्ने मौका मिल्ने गर्दछ । समाजका रहेका विभिन्न समूह वा संगठनहरूमा धेरै व्यक्तिहरूले नियमहरूको स्थापित गरी सँगै बस्नका लागि उपयुक्त वातावरण सिर्जना गरिरहेका हुन्छन् । समाजमा विभिन्न किसिमका सामाजिक मूल्य मान्यताहरू हुने गर्दछन् । जसले हरेक व्यक्तिलाई बाँध्ने गर्दछ । एकभन्दा धेरै व्यक्तिहरूको समुदाय रहने समाजले एउटै वा भिन्न प्रकारका रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूह समाज हो । समाज व्यक्ति व्यक्ति बीचको सम्बन्ध कायम गर्ने स्थल हो । व्यक्ति र समाजका बीच अन्योन्याश्रित सम्बन्ध रहँदै आएको हुन्छ । समाजमा सदस्यहरूबीच पारस्परिक मित्रता, सहयोग, भावनात्मक सम्बन्ध रहेतापनि यसमा घृणा, लोभ, ईष्र्या पनि उत्पन्न हुने गर्दछन् । समाजमा सुव्यवस्था कायम गर्ने हितमा अधिकांश अलिखित नियमहरू हुने गर्दछन् । मानिस समाजमा नै जन्मने, हुर्कने तथा मृत्युसमेत समाजमै हुने हुँदा सामाजिक बन्धनमा बाँधिएको हुन्छ । समाजमा हुने हरेक सकारात्मक तथा नकारात्मक क्रियाकलापबाट हरेक व्यक्ति प्रभावित बनिरहेको हुन्छ ।
समाजमा सकारात्मक सोच भएका व्यक्तिहरू भएमा सबैमा सकारात्मक सोच हुन्छ र सही दिशामा काम गर्न सक्दछ भने नकारात्मक सोच भएका व्यक्तिहरूको समाजमा नकारात्मक नै सोच आउने र गलत दिशामा काम गर्ने हुन्छ । हरेक व्यक्तिलाई समाजले प्रभाव पारिरहेको हुन्छ । घरको संस्कार तथा समाजको संस्कार अनुसारनै हरेक व्यक्ति हुर्कने, बढ्ने तथा सिक्ने गर्दछ र व्यवहारमा समेत सोही किसिमको प्रभाव पार्दछ । तर पछिल्लो समयमा नेपाली समाजमा सकारात्मक भन्दा पनि नकारात्मक गतिविधिहरू देखिन थालेका छन् । जसका कारण त्यहाँ रहने व्यक्तिहरू असल नागरिक भन्दा पनि गलत नागरिक हुन बाध्य भइरहेका देखिन्छन् । समाजमा हुने संस्कार र संस्कृतिबाट हुर्कँदै गर्दा कुनै पनि व्यक्ति सोही अनुसार अगाडि बढ्ने गर्दछ । नेपाली समाज कै कारण पछिल्ला समयमा नकारात्मक गतिविधिहरू हुँदा धेरै व्यक्तिहरूले ज्यानसमेत गुमाइरहेका पाइन्छन् । हाम्रो समाजमा अरुका अगाडि आफू निकै स्मार्ट र धनीमानी देखाउने होड चलिरहेको देखिन्छ । अरुभन्दा आफूलाई हुनेखाने, शिक्षित तथा ठूलाबडा मान्छे देखाउनका लागि अरुलाई खिसी गर्ने, अरुको मानसम्मानमा चोट पु¥याउने, अरुको इज्जतमाथि धावा बोल्ने लगायतका विभिन्न किसिमका नकारात्मक क्रियाकलापहरू गर्दा अन्य सर्वसाधारण नागरिकहरूलाई नकारात्मक असर परिरहेको हुन्छ । जसका कारण गरिब तथा तल्लोस्तरका नागरिकहरू आत्महत्यासम्म गर्न बाध्य भएका उदाहरणहरू हाम्रो समाजमा प्रशस्तै पाइन्छन् ।
ठूला ठूला चाडपर्वहरूमा आफूसँग भइनभई ठूला बडाको देखासिकी गर्दै अरुलाई देखाउने नाममा ऋणधन गरेर मनाउने, उक्त ऋण तिर्न नसक्दा भविष्यमा डिप्रेसनमा समेत जाने, भएको घरखेत सकाउने, घरबारविहीन हुने तथा आत्महत्याको बाटोसमेत रोज्ने गरेका देखिन्छन् । यो समाजकै कारण हो । त्यसैगरी रोजगारीका लागि विभिन्न मुलुक जाने व्यक्तिहरूलाई पनि सोही अनुसारको व्यवहार गर्ने, हेप्ने आदि पनि समाजमै हुने गरिरहेका छन् । जसका कारण कैयौँ व्यक्तिहरू पीडित बनेका पाइन्छन् । समाज सकारात्मक हुनु जरुरी छ । सचेत हुनु जरुरी छ । परिवर्तन हुनु जरुरी छ । सामाजिक सोच र व्यवहार सही र सकारात्मक हुनु जरुरी छ । आफू ठूलो हुँ भन्ने देखाउने गर्दा समाजमा रहेका अन्य नागरिकहरूले के सिक्ने ? समाजमा रहेका सबै नागरिहरूको एउटै आर्थिक स्थिति हुँदैन् । जताजता समाज गयो सबै उतैउतै जाने गर्दछन् । आफू शिक्षित छ भने अरुलाई पनि शिक्षा दिन जरुरी छ । एउटै व्यक्तिका कारण समाजमा असर पर्ने गर्दछ । तसर्थः समाजमा रहने हरेक व्यक्तिको सोच सकारात्मक हुनु जरुरी छ । सामाजिक सोच परिवर्तन हुन आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्