समालोचनाः छविलाल खड्का र बकुल्लाको सभा   



नरेन्द्र देवकोटा प्रशान्त

पृष्ठभूमिः

मुक्तक साहित्यको एउटा बिधा मानिन्छ । मुक्तकलाई गजलको लघु रूप भनेर पनि बुझ्ने गरिएको छ । साहित्य बिधामा मुक्तक स्वतन्त्र बिधा हो। धेरैले गजलको छोटो रुप हो कि भनेर पनि बुझ्ने गरेका छन् । आफ्ना मनका भावहरूलाई स्वतन्त्र रही  लयात्मक एवं लिखित रुपमा व्यक्त गर्ने माध्यमलाई मुक्तक भनिन्छ । मुक्तकमा सिमित शब्द संयोजन गरिन्छ । यसका साथै प्राय चार पंक्ति हुने गर्दछन् ।  मुक्तकमा चारपंक्तिभन्दा बढी हुनुहुँदैन, घटी पनि हुनुहुँदैन । तेस्रो हरफलाई स्वतन्त्र बनाउनु पर्दछ भने बाँकी तीन हरफमा काफिया मिलाउनु पर्ने जरुरत हुन्छ । अर्थात काफिया नै अनुप्रास हुन् । मुक्तकका हरफमा यतिनै अक्षरको पंक्ति हुनुपर्छ भन्ने अवस्था हुँदैन ।  मानिसहरूले छोटाछोटा टुक्का मिलाएर गीत गाउने गर्दथे । दुई पक्ष बीचमा पनि टुक्का मिलाएर गीतको रुपमा गाउन सकिन्छ । परापूर्वकालमा गीत भनिएपनि आजभोलि मुक्तकको रुप लिएको पाईन्छ ।  टुक्के गीतहरूलाई लय र समय मिलाएर गाँउदा गीत हुन्थ्यो भने गीतभन्दा मुक्त कण्ठले वाचन गर्दा मुक्तकमा विस्तार हुदै गएको पाईन्छ । भन्न खोजेको कुरा निश्चित सीमासम्मको भावलाई लयात्मक एवं व्यङ्गपूर्वक गाउनुलाई आजभोलि मुक्तक भन्ने गरिएको छ ।

मुक्तक एक लघुतम कविता पनि हो ।  पहिलो र दोर्षो हरफले कुनै कुरा व्यक्त गर्न आधार वा पृष्ठभूमि तयार गर्दछन् । तेर्सो पंक्तिले अन्य कुरा चटनी मसलाको रुपमा व्यक्त गर्दै चौथो हरफले खास कुरा तेजिलो रुपमा व्यक्त गर्ने गरिन्छ अर्थात खास सन्देश दिनेगरि कडा झटारो हान्न मद्दत गर्दछ ।    मुक्तक बारेमा मुक्तकको परिचय, इतिहास र थारु मुक्तकहरुको समिक्षा शीर्षकमा कैलारी पोष्ट संवाददाता मोती  रत्न, ७ भाद्र २०७८ मा लेख्छन्– “हरफको पछिल्तिर उस्तै सुनिने शब्द÷अंशलाई अनुप्रास भनिन्छ । मुक्तकका पहिलो हरफले बिषयको उठान गर्छ । दोश्रो हरफले उठानलाई थप समर्थन गर्छ । समग्रमा, सुरुका दुई हरफले पृष्ठभूमि तयार पार्छ । तेस्रो हरफ स्वतन्त्र हुन्छ र यो हरफले चौथो हरफमा मार÷झट्का हान्न उपयुक्त वातावरण तयार पार्छ । चौथो हरफ वजनदार र झट्का दिने खालको हुन्छ । मुक्तक पढ्दा सररर, बहाबसंगै पढ्न सकिने हुनुपर्छ ।“   अतः मुक्तक लेखनका लागि चार हरफ र अनुप्रास मिलाएर मात्र हुँदैन । पध्यात्मक, लयात्मक सलल बग्नेगरी खास कुरा भन्न मिल्दोजुल्दो अनुप्रास या काफियाको प्रयोग मिलाउनै पर्ने हुन्छ । मुक्तक लेखनका लागि न्यूनतम केही सामान्य सिद्वान्त र मूल्य मान्यता जाने बुझेकोपनि हुनुपर्दछ ।

मुक्तक बारे शव्दकोष र बिद्वानहरूबाट गरिएका परिभाषाः

मुक्तक बारे कसैले पनि एकनासको परिभाषा गरेका छैनन् । विभिन्न शव्दकोष र मुक्तकका बिज्ञहरूले आ–आफ्ना धारणाहरू राखेको पाइन्छ। मोती रत्नले नेपाली बृहत् शब्दकोषलाई उध्रृत गर्दै लेख्छन् – कथा सूत्रमा आबद्ध नभएको, हृदयको भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी निरपेक्ष स्वतन्त्र कविता मुक्तक हो । यस परिभाषामा निरपेक्ष स्वतन्त्र कविता मुक्तक हो भनिएपनि यो परिभाषा पूर्ण भने देखिदैन । कति हरफ र कति अक्षर सम्मको भावहरू हुनु पर्ने हो, भाव अन्तरसम्वन्धित हुनु पर्नेकि नपर्ने, अनुप्रासयुक्त काफिया भएको कविता हुनु पर्ने होकि होइन त्यो स्पस्ट पारेको यस परिभाषामा देखिदैन । उनी नेपाली संक्षिप्त शब्दकोशलाई समेत उ्रधृत गरेर लेख्छन् – कथा सूत्रमा नउनिएको परस्पर क्रमिक सम्बन्ध नभएको, कुनै एउटा भावलाई पूर्ण रूपले बुझाउने पद्य वा कविता मुक्तक हो । मोती रत्न अझै भावना प्रधानद्वारा अभिव्यक्त गरिएको परिभाषालाई आफ्नो लेखमा यसरी व्यक्त गर्दछन् – मुक्तक काव्यलाई कविताहरूको संगालो भनेर परिभाषित गर्दछन् । मोती रत्नले नेपाली शब्दसागरमा भएको परिभाषालाई पनि उद्धृत गर्न पछि पर्दैनन् – पूर्वीय काव्यशास्त्रानुसार समास नरहेको गद्य, कथा सूत्रमा आबद्ध नभईकन हृदयगत भावलाई स्वतन्त्र रूपले अभिव्यक्त गर्ने गद्य कविता मुक्तक हो भन्दछन् ।

यसैगरी उहाँले संस्कृत–नेपाली बृहत् शब्दकोशमा भएको मुक्तक सम्बन्धी परिभाषालाई समेत आफ्नो लेखमा यसरी समावेस गरेका छन् – एकै पद्यमा पूरा हुने काव्य मुक्तक हो ।  यसैगरी उनि प्रयोगात्मक नेपाली शब्दकोशमा भएको परिभाषालाई पनि समेट्न पछि पर्दैनन्– पूर्वीय काव्यशास्त्र अनुसार एक श्लोकमा लेखिएको स्वयंमा पूर्ण कविता पद्य वा गद्यमा लेखिएको छोटो र मार्मिक कविता मुक्तक हो भनी उल्लेख गर्दछन् । मोती रत्न क्रमशः लेख्छन्– मुक्तक कविताका बारेमा पहिलो चर्चा गर्ने ग्रन्थ अग्निपुराण (ई.नवौ शताब्दी) हो । यस ग्रन्थ अनुसार “सहृदय लाई चमत्कृत गर्ने आफैमा पूर्ण एक श्लोकी कविता मुक्तक  हो“ भन्दछन् । वासुदेव त्रिपाठीले नेपाली मुक्तक लोक–पद्य, स्तुति, सूक्ति, गीत, सायरी र मुक्तक कविताका दुई वा चार हरफे (सायद जापानी हाइकु शैलीमा तीन हरफे पनि) स्वरूपमा झल्कने गरेको बताएका छन् । मोहनराज शर्माका अनुसार मुक्तक नेपाली भाषाको लघुतम काव्यात्मक संरचना हो । लघुतम भए पनि यो स्वयंमा पूर्णकृति र स्वायत्त एकाइका रूपमा सिद्ध सिर्जना हुन्छ । मोती रत्नले नेपाली शब्दकोश, संस्कृत साहित्यशास्त्र तथा नेपाली विद्वानहरूले मुक्तक कविताका बारेमा दिएका मतहरूको विश्लेषण गरी निम्न प्रवृत्ति भएका कवितालाई मुक्तक भनेका छन्– मुक्तक कविता एक श्लोकी हुन्छ । यो पूर्वप्रसङ्ग रहित हुन्छ । यो आफैमा पूर्ण हुन्छ । यसमा हृदयलाई चमत्कृत गर्ने क्षमता हुन्छ । यो अनिबद्ध काव्य हो।  यसमा रसउद्घोषको क्षमता हुन्छ । उहाँको आफ्नो संक्षिप्त निश्कर्ष यस्तो रहेको छ– कुनै विषयमा लेखिएको चारै चरणमा पूरा हुने विषय मुक्तक हो ।

नेपाली साहित्यमा मुक्तकको इतिहासः   

चार पंक्तिमा लेखिने सिंगो महाकाव्यको रसस्वादन गराउन सक्ने काव्यिक अभिव्यक्तिलाई मुक्तक भन्ने प्रचलनको बिकास हुँदै गएको छ । मुक्तकको इतिहासको कुरा गर्नुपर्दा कविशिरोमणि लेखनाथ पौडेलसम्म पुग्न सकिन्छ ।   भुपी शेरचनले पनि मुक्तक लेखनमा चासो दिएको पाईन्छ। यसैगरी सरुभक्तले ०३५ सालमा ’बन्द खामभित्र’ मुक्तक सङ्ग्रह प्रकाशन गरेका थिए । मुक्तकलाई भीमदर्शन रोकाले २०१० सालमा रुवाई शैली भनेर नाम दिएको पनि पाइन्छ  ।

बकुल्लाहरूको सभाको र छविलाल खड्का 

म आफु पनि कहिलेकाहीँ मुक्तक÷शायरी लेख्ने भएकोले यो “बकुल्लाहरूको सभा मुक्तक सङ्ग्रहको समीक्षा गर्नुपर्छ भन्ने लागेको थियो– प्राज्ञ सभा सदस्य एवं चर्चित बुह्रान उपन्यासका उपन्यासकार महानन्द ढकालज्यूले यो मुक्तक सङ्ग्रहको समीक्षा तपाईँले गर्नुपर्छ भनेपछि मैले  प्रस्तुत लेखका माध्यमबाट समालोचना लेख्ने प्रयास गरेको हुँ । म समालोचक भने होइन, म मुक्तक बिज्ञ पनि होइन । मुक्तक लेखनमा आश्था र रुचिसम्म भने राख्दछु । यो मेरो लागि चुनौतीपूर्ण कार्य हो भन्ने लागेको छ । यो जिम्मेवारीले मलाई एकातिर डर लागिरहेको छ, अर्कोतिर खुसी पनि लागेको छ, मलाई  जिम्मेवारीबोधको अवसर जुराईदिएको छ । यो लेखन जिम्मेवारीको लागि उहाँप्रति आभारी छु । समालोचना लेख्दै गर्दा मैले मुक्तककारलाई न्याय गर्न सक्छुकि सक्दैन मलाई यसबारे अभिव्यक्त गर्न उत्तिकै कठिन भएको छ ।

लघुकथाकार छविलाल खड्काको छैटौँ कृतिको रुपमा यस पटक मुक्तक सङ्ग्रह–“बकुल्लाहरूको सभा“ सार्वजनिकरण भई प्रस्तुत पुस्तक उपहार स्वरुप प्राप्त भएर अध्ययन गर्ने मौका प्राप्त भयो । उहाँको यसभन्दा अघिको “भित्ताको कान“ लघुकथा सङग्रह पनि पढ्ने मौका पाएको थिएँ । खदिलो लेखाइ, यथार्थ घटनामा आधारित घटनाको प्रस्तुति गर्नु लेखकको प्राय बिशेषता रहेको छ ।  प्रस्तुत मुक्तक सङ्ग्रह “बकुल्लाहरूको सभा“ पुस्तकको शीर्षकबाटै बर्तमान अवस्थामा गिजली रहेको तरल राजनैतिक परिस्थिति, नेतृत्वकर्ताले देशप्रति दर्शाएको व्यवहार, जताततै नेता प्रतिको असन्तुष्टि, भ्रष्टाचार, कुशासन, नातावाद, कृपावाद, आफन्तवाद आदि कारणलाई हेर्दा देशलाई सञ्चालन गर्ने केही राम्रा मानिस नभएका होइनन् । त्यस्ता केही राम्रा मानिसहरू भएपनि  शासन हातमा भएका नेताहरूले जथाभावी शासन गर्ने शैलीले राम्रा मानिस बकुल्लाको सभामा हाँस जस्तै हुनुपरेको शन्देसले बकुल्लाको सभा नामक मुक्तक सङ्ग्रहको जन्म भएको देखिन्छ ।

लेखकमा सर्वाधिकार रहेको प्रस्तुत पुस्तकको प्रकाशक डिला खड्का हुन् भने पुस्तकको संस्थागत मूल्य रू ३००÷ र व्याक्तिगत मूल्य रू.१÷ रहेको यस पुस्तककको आवरण डीजाइन आयुस्मा ढकालबाट र न्यू सिद्वार्थ अफसेट प्रेसबाँके, कम्प्युटर सेटिङ निर्मल थारु रहेको यस पुस्तकका कति कपि प्रकाशित भए भन्ने उल्लेख छैन ।   पृष्ठका हिसावले हेर्दा प्रति मुक्तकका पंक्ति चारवटा रहेका देखिन्छन् भने प्रति मुक्तक एक पृष्ठ रहेको छ । यसरी हेर्दा जम्मा १०१ मुक्तक सँख्या रहेका छन् । प्रायः मुक्तक पढ्दा राम्रा देखिन्छन् भने केही मुक्तक अक्षर, संरचना भाव, लेखाइ स्तरका कारण आलोचनाबाट मुक्त रहन सक्ने अवस्थाका देखिदैनन् ।  मुक्तकको बनोट एवं संरचना हेर्दा मुक्तक १४ अक्षरदेखि २१ अक्षरसम्म रहेका छन् । उहाँका मुक्तकमा–मायाप्रिती, राजनीतिक, आर्थिक, धार्मिक, प्रसासनिक सामाजिक, साँस्कृतिक, प्रविधिबिच रहेका बिसंगती विरूद्व लेखिएका छन् । विविध बिषयमा लेखिएका केही उल्लेख्य शुन्दर मुक्तकलाई मैले यसरी पाठक सामु पस्किने प्रयास गरेको छु ।

पहिलो मुक्तकमा

जीन्दगी  जिउनुको  मजा  चखाएर  गयो
फेरि   पनि  आउँछु  भनी  पर्खाएर  गयो
जवानी ढल्कि सक्यो हेर उसकै पर्खाइमा
किन ढाँट्नु  ?  मोराले मन दुखाएर गयो ।

यसमा कुनै युवकले युवतीलाई  शुरूमा राम्रै प्रेम गरेको देखिन्छ तर आफ्नोे वशमा पारिसकेपछि वचन दिएर लामो समय सम्म पर्खाउँछ तर फर्किदैन । जवानी सकिउञ्जेल सम्म पर्खाउछ तर अन्तमा मन दुखाउने बाहेक उसबाट अरू प्राप्ति भएन भन्ने मुक्तकको सार रहेकोछ । तेर्सो मुक्तक पनि मायाप्रेमसँग सम्बन्धित छ । केही रसिलो पनि देखिन्छ । पहिलो मुक्तकमा युवती आफ्नो प्रेमी प्रति बिक्षिप्त थिइन् । यो मुक्तकमा युवतीले युवकप्रति गरेको मायाप्रेम देखेर युवकले त्यो मायाप्रेमलाई केटीले कसरी सम्हाली राखेकि रहिछन् भनेर चित्रण गरिएको छ।

छाती  भरि  मेरै  नामको  ट्याटु  खोपेकी  छ  रे
हरेक  दिन  भगवान सँग  मेरै  नाम जपेकी छ रे
सिङ्गो जवानी तिम्रै लागि साँचेर राखेकी छ भन्छे
एउटा  शुन्दर  घर  बसाल्ने  सपना  रोपेकी छ रे ।

यस मुक्तकमा एउटा युवकको माया प्रेममा फसेपछि युवतीले पुरै जवानी साँचेर विवाहको प्रतिक्षामा बसेकी हुन्छे तर प्रेमीलाई उसको जवानी आफ्नो लागि ढल्किएको छ भन्ने सम्म हेक्का राख्दैन । केवल पर्खाई रहन्छ, झुलाई रहन्छ  । देशको नेतृत्व  र राजनीतिक विकृतिसँग पाचौँ मुक्तक पठनीय लाग्यो।

ढाँटले   खाएको   देश  हो  सके  जती  ढाँटेर खाए
देशमा  के  थिएन ? भए जति सबै सबै चाटेर खाए
अगस्तिहरूका फेला परे निस्कने परिणाम यही  हो 
अन्तमा जनका पीरलाई अनुदानसँग  साटेर  खाए ।

साँच्चै नै माथीको मुक्तकमा मुक्तककारले देशमा नेतृत्व र राजनीतिक वृत्तले जनतालाई गरेको मन दुखाउने व्यवहार यथार्थ रुपमा तात्तातै ओकलेका छन् । व्याक्तिको आर्थिक अवस्थालाई मीठो तरिकाले पस्किन सफल भएका छन् ।

सपना बुन्दै क्षितिज पारि यता बिरानो बन्दैछ टारी
उता पासपोर्टमा छाप लाग्दा यता बेचिदैछ घरबारी
अभावका अघि स्वाभिमान नि झुक्दो रहेछ महासय
हर दिन दुगुना रात चौगुणा थपिदैछ ऋणको भारी ।

माथिको एक्काइसौँ मुक्तकको भावार्थ यस्तो रहेको छ । कुनै व्याक्ति मिठा मिठा सपना बुनेर क्षितिज पारीक‍ो मुलुकमा  जाँदा गाउँमा मालिक पनि हुँदैन भएको टारी पनि बाँझो हुन्छ ।  अर्कोतिर बिदेश जाने पासपोर्ट त बन्छ तर घरवारी नबेचेर सुख पाउँदैन । जति सम्पन्न पढेलेखेका घरानाको भएपनि उसको स्वाभिमान साहुसँग पैसामा साटिने बाध्यता छ भने अर्कोतिर बिदेशमा गएपनि आमूल परिवर्तन हुनुको सट्टा उल्टै व्याज र अभावले ऋणको भारी बोक्नुको बाध्यता बाँकी नै हुन्छ भन्ने यथार्थ अवस्थाको चित्रण गरेका छन् । द्वन्द्वकालिन समयमा नेताहरूले देखाएका सपना र ति सपना सपनामै सिमित रहन पुगेका छन् । सुनौला घरवार छोडेर कमजोर पक्षले मुग्लान हिँड्नु परेको कथालाई मुक्तककारले चौबिसौँ मुक्तकमा यसरी प्रस्तुत गरेका छन् ।

सिउँदो पुछिए  कोख  रित्तिए  उठाउँदा तरवार 
कति त मुग्लान छिरे छाडेर ती सुनौल‍ा घरवार
सहिदको सपना पुरा गर्न परिवर्तन  कामी नेता
तामझामका साथ हुदैछ रे नि सरकारमा सवार !

द्वन्द्वकालिन हतियार र संघर्षमा केन्द्रित यस मुक्तकमा नेतृत्वले ढाँटेपछि हतियार र संघर्षको अवस्थामा मानव जीवन कस्तो हुँदो रहेछ भनेर एकतिसौँ मुक्तकका हरफहरूबाट तीखो बाण प्रहार गरेका छन् ।

दुस्मन छप्काउने ती हतियारले केराको थाम काट्न छोड्यो
रित्तो सिउँदो र अपाङ्ग शरीरले संघर्षको लाम लाग्न छोड्यो 
आश्वमसनका ललिपपले नि कति दिन धान्दो रहेछ र कमरेड?
तपाईंले दिएको आश्थाको त्यो लगौँटीले लाज ढाक्न छोड्यो ।

मुक्तककारमा देश प्रेम पनि अथाह रहेको यो मुक्तकले देखाउँछ ।

स्वतन्त्र  यो  भूमि, आज  जन्जीर अनि सिक्रिमा छ
कपुत सन्तानको चिन्ता निहित स्वार्थकै फिक्रीमा छ
साना दुःखले आज्र्याका होइनन् पुर्खाले स्वामिमान
लाम्टा चुसेर नअघाइ आमाकै अस्मिता बिक्रीमा छ ।

देशको नेतृत्वमा रहेका नेताहरूले बहुमूल्य चिज सबै प्राप्ति गरेर पनि नपुगेर आमारुपी जन्मभूमिलाईनै बिक्रि गर्ने अवस्थामा पुर्याएको अवस्थालाई चित्रण गरेका छन् ।   मुक्तककार खड्काले चालिसौँ मुक्तकमा हाम्रा रितिरिवाज संस्कार संस्कृतिको एकातिर बर्तमानको प्रविधिले लोप गरि दिएको छ भने ज्ञानले उत्कृष्ट मानिएको मानव शक्ति जहिले प्रविधीप्रति मात्र आकर्षण भएर अन्य सबै कुरा बिर्सिएको छ ।घरका परिवार पनि घर गृहस्थी कसरी चलाउने सुखदुख कसरी साँटासाँट गर्ने भन्ने कुरा बिर्सेर बर्तमानमा पारिवारिक सम्वन्धको पुरानो पहिचान समेत सकिएको कुरा आफ्नो मित्रलाई सुनाँउँदै तितो यथार्थ स्थितिको चित्रण गरेका छन् । त्यसको दृष्टान्त हेरौँ ।

रितिरिवाज संस्कार संस्कृतिको त्यो ज्ञान सकियो
घोप्टे युगमै व्यस्त छ मान्छे बाँकी सबै सकियो
घर भित्रका चार सदस्य चारैदिशाँ फर्केपछि हेर न मित्र
अचेल पारिवारिक सम्वन्धको पुरानो पहिचान सकियो ।

आम चुनावको मर्म र भावना एकातिर रहेको हुन्छ । चुनावको दुरुपयोग गर्नेहरूले कसरी दुरुपयोग गर्दै निहित फाईदा लिन्छन् । मतदान गर्नेहरू भर्याङ्ग बन्ने र नेताहरूले फाईदालाई बण्डा गर्ने केही मतदाताले डण्डाका वर्षा खेप्नु पर्ने जस्ता अमिला अनुभव पनि पस्केका छन् । जुन एकचालिसौँ पृष्ठको यो मुक्तकले यसरी भाव व्यक्त गरेको छ ।

लौ आयो चुनाव चारैतिर व्यानर र झण्डा
कतै मिल्यो कतै बाँकी गर्न अंश र वण्डा
बनौँ भर्याङ्ग, गरौ मतदान यही  हो मौका
सहनुको विकल्प हुने छैन बर्सिएमा डण्डा ।

मुक्तककारले भ्रष्टाचार र भ्रष्टाचारीको बिरुद्वमा पनि त्रिपन्नौ मुक्तकका माध्यमबाट बिरोध जनाएका छन्–

अजम्बरी झैँ ठान्ने भ्रष्टाचारीको खोजी हुँदैन
थाहा छ एकदिन मर्नु छ तर मृत्यु रोजी हुँदैन
नाङ्गै आएको जाँदा नि नाङ्गै जाने हो महासय
किन मरिहत्ते गर्छौ मरेसी कात्रोमा गोजी हुँदैन ।

मुक्तक सङग्रहमा रहेका कमजोरीः

मुक्तककारले यस पुस्तकभित्र थुप्रै राम्रा राम्रा मुक्तक लेखेका छन् । सबै मुक्तकको आआफ्नै मौलिकता र शन्देस छ ।यो सानो लेखमा सबै कुरा समेट्न कठिन छ ।  राम्रा मुक्तक सँगै यस संग्रहभित्र केही कमजोरी पनि रहेका छन् ।   मुक्तककार मुक्तक लेखनमा आफ्नो पुस्तकको भनाईमा मुक्तक लेख्नुको कारण, पुस्तकको नाम रहनुको कारण, विभिन्न विकृति र विसङ्गतीका मुक्तक लेखेको र मुक्तक सिद्धान्त अनुसार भए नभएको मूल्यांकन गर्न विज्ञ पाठकको जिम्मा लगाउँछन् । आफ्नो भनाईमा मुक्तकको परिचय, मुक्तकको संरचना कस्तो हुने, मुक्तकको संक्षिप्त ईतिहासबारे आफ्नो भनाई भने राखेको पाईँदैन । आफ्नो मुक्तक संग्रहको व्याक्तिगत मूल्य रू. १ मात्र राखेको पाईएको, रु.१ मात्र राख्नुको कारण पनि खुलेको छैन भने पुस्तकको सँख्या पनि नखुल्नुले पाठकलाई खुल्दुली जगाईदिएको छ । सो समेत राखिदिएको भए अझ अव्वल सुनमा सुगन्ध हुने थियो ।  उहाँको मुक्तक संग्रहभित्र एकातिर थुप्रै विकृतीको बिरोध भैरहेका छन् । अर्कोतिर आफ्नो देशका नेतृत्वकर्तालाई घुमाई फिराई ढाँट भनेका छन् । यिनैले देशलाई ढाँटेर खाएका छन् भनिरहँदा अन्तरास्ट्रिय जगतमा नेपालको  नेतृत्वको राम्रो छवि नरहेको देखिन्छ । अर्कोतिर नेपालकै गरिमामाथी प्रश्न उठ्ने त होइन भन्नेतर्फ मुक्तककार सजग रहेको पाईँदैन ।

हेरौँ उहाँको यो पाँचौ मुक्तक–

ढाँटले   खाएको   देश  हो  सके  जती  ढाँटेर खाए
देशमा  के  थिएन ? भए जति सबै सबै चाटेर खाए
अगस्तिहरूका फेला परे निस्कने परिणाम यही  हो 
अन्तमा जनका पीरलाई अनुदानसँग  साटेर  खाए ।

केही मुक्तक आवेगमा आएर ठाडो गाली गरेका पनि रहेका छन्  । जस्तै– “सकुञ्जेल खाउ नसके घिच बाँकी शेष तिम्रै हो“ जस्ता निरस र अमिला शव्दको प्रयोग गरेर आफ्नो परिपक्कताबाट कमजोर देखिएका छन् । ३६ सौँ मुक्तक यस्तै आवेगमा लेखिएको देखियो ।

जस्तै–
डनवाद तिम्रो, धनवाद तिम्रै यो देश तिम्रै हो
सडकदेखि सदनसम्म पुग्ने छद्मभेष तिम्रै हो
ढुकुटीको दोहन पवित्र उद्देश्य छर्लङ्गै देखियो
सकुञ्जेल खाउ नसके घिच बाँकी शेष तिम्रै हो ।

यसैगरी उनन्पचासौँ पृष्ठमा रहेको यस मुक्तकको भाव र दिन खोजेको शन्देसले सबैको मन छुन्छ तर यस मुक्तकको संरचना पहिलो पंक्ति भन्दा दोर्सोमा फरक छ भने तेर्सोको तुलनामा चौथो पंक्तिमा फरक देखिन्छ ।

यस मुक्तकलाई हेर्दा–

मेची  काली  बनी बग्ने आँखा रोक्न पाए हुन्थ्यो
सबै सबै मनका बह उसैसामु पोख्न  पाए हुन्थ्यो
ढल्पल ढल्पल गर्छ काँटा पल्लाभारी कता होला ?
उसको मेरो माया पनि तराजुमै जोख्न पाए हुन्थ्यो ।

मेरो बिचारमा यस्तो मुक्तक हुनु पथ्र्यो भन्ने लाग्दछ–

मेची  काली  बनी बग्ने  आँसु रोक्न पाए हुन्थ्यो
मनका बह उनका सामु थोरै पोख्न पाए हुन्थ्यो
ढल्पल् ढल्पल् गर्छ काँटा पल्लाभारी कता होला ?
उनको मेरो बिचको माया थोरै जोख्न पाए हुन्थ्यो ।

अक्षर र उच्चारणका हिसावले पहिलो पंक्ति सहज छ,भाव पनि छ तर आँखा रोक्न पाए हुन्थ्यो भन्ने ठाउँमा आँसु रोक्न पाए हुन्थ्यो बढी उपयुक्त लाग्छ । यसैगरी दोर्षो पंक्तिमा पहिलो पंक्तिको तुलनामा दुईटा अक्षर बढी देखिन्छ जसले गर्दा पढ्दा सलल बगेको पाईँदैन । तेर्सो पंक्ति उपयुक्त लाग्यो। चौथो पंक्तिको ठाउँमा उनको मेरो बिचको माया थोरै जोख्न पाए हुन्थ्यो ।   यसले मुक्तकको पंक्तिपढ्दा सलल बग्न गएको देखिन्छ । पहिलेको तुलनामा । मुक्तकमा मिठास पनि जति दिनुपर्ने हो त्यती दिएको पनि छ । जुन मुक्तककारले लेखेको पंक्तिमा पाठकहरू पहिले अलमलमा पर्नसक्ने देखिन्छ अर्थात उहाँको मुक्तकले आफ्नो प्राकृतिक धार केही छोडेको देखिन्छ । उहाँका केही मुक्तकहरूमा काफियाको प्रयोग पंक्तिको अन्तमा गरिएको देखिन्छ । जसले मुक्तकहरूको बनोटको संरचनामा बिविधता देखाईदिन्छ । जस्तैः अन्ठाउन्नौँ र छैसठ्ठीऔँ मुक्तकलाई हेरौँ–

चिन्नै सकेनन् फेरि उनैलाई चुने अनाडीहरूले
मौका त पाए, तर गफै मात्र चुटे गफाडीहरूले
खेलको  रङ्गशालामा  एम्पाएर  को  थियो खै  ?
खेल्दा खेल्दै आत्मघाती  गोल हाने खेलाडीहरूले ।

तर्केर गयो, पापी रहेछ भनी नठान्नु निष्ठुरी
समाजको बोझले थिचेर आज भएँ मजबुरी
आशा–भरोषा नै जिजीविषाका त्यान्द्रा हुन्
नसम्झ प्रिय, भूगोललाई हेरी बढ्यो झन् दुरी ।

मुक्तक बिधाका समस्याः 

मुक्तक लघु काव्य, मनोरञ्जनात्मक एवं नेपाली साहित्यमा सर्वप्रिय विधाका रुपमा रहेता पनि मुक्तक सम्बन्धि पुस्तक प्रकाशनको अवस्था सन्तोषजनक देखिँदैन । लेखक आफैले पुस्तक  प्रकाशन गर्ने, पुस्तकको सँख्या बढाउने  र उपहार दिने चलन बढेको देखिन्छ । प्रकाशकहरूले रचनाकारको मुक्तक प्रकाशन गर्न नचाहनु अर्को समस्या पनि देखिएको छ ।

मुकक्त बिधामा आएको नयाँ सोचः 

थोरै लेखनमा गहिरो व्यङ्ग्य हुन्छ । बर्तमान समाजले गरेका विकृती विसंगती प्रति कडा झटारो दिने भएकोले मुक्तक संग्रह किनेर  ज्ञान हासिल गर्न पढ्नुपर्छ भन्ने सोच र मानसिकताको बिस्तारै विकास हुँदैछ ।  न्यूज नागरिकनेटवर्क  डटकममा प्राञ्जलका अनुसार – आजका मान्छे दौडधुपले बेफुर्सदिला बन्दै गएका छन् । स्वभावैले व्यस्त मान्छेलाई लामा लामा रचना पढ्ने समय हुँदैन । त्यसैले त उनीहरू छोटा–मिठा रचना पढ्छ्न्– मुक्तक ।  जस्तैः के हो त मुक्तक ? काव्यको लघुत्तम तर आफैंमा पूर्ण लेखन हो मुक्तक। भावसघनता, कलात्मकता, हृदयस्पर्शता, चमत्कारिकता, व्यंग्य चेतना र शक्तिशाली पटाक्षेप यसका अनिवार्य गुण हुन् । एक श्लोकिय अभिव्यक्तिलाई मुक्तक मानिएको छ संस्कृतमा भनेर आफ्नो बिचार प्रस्तुत गरेका छन् । अन्तमा मुक्तकलाई  ठट्यौली, उरण्ठ्याउलो र रमाईलो बिधाका रुपमा लिईएपनि पछिल्लो समयमा कोही कसैले मुक्तक लाई हल्का बिधाको रुपमा लिन मनाही गरिनुपर्छ भन्दै मुक्तककार छविलाल खड्का ज्यूले अत्यन्तै मेहिनतसाथ प्रकाशित गर्नु भएको मुक्तक संग्रह २०८२ ले साहित्यको वाङ्गमयमा अर्को ईट्टा थप्न सफल हुनु भएकोले उहाँलाई हार्दिक बधाई साथ नेपाली साहित्य वाङ्गमयले यहाँबाट भविष्यमा अझै उत्कृष्ट कृतिहरूको अपेक्षा राखेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २९ गते शनिबार