19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

भारतीय कुखुरा आएपछि बाँकेका व्यवसायीले सडकमै फाले आफ्ना कुखुरा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र ३, २०७९  

नेपालगन्ज । 

बिहीबार नेपालगन्जको गणेशमान चोकमा कुखुरा सडकमा फालेर आन्दोलनमा उत्रिएका अहमद हुसेन खाँले भारतीय कुखुराहरु प्रहरीका अनेक चेकपोष्टहरु पार गर्दै सहजै भित्रिरहेको र आफूहरुको व्यवसाय धराशायी भइरहेको भन्दै आक्रोश पोखे । उनले आफूहरुले भारतीय कुखुरा समातेर प्रहरीलाई बुझाउँदा पनि पक्राउ नगरेको दाबी गरे । ‘सशस्त्र प्रहरी छ, अर्काे पुलिस छ, ठाउँठाउँमा चेकिङ छ । तर, पनि कुखुराहरु आइरहेका छन्,’ उनले भने, ‘करोडौंको ऋण छ । कसले तिरिदिन्छ ।’

उनले अहिले नेपालमा दुई किलोभन्दा बढीका कुखुरा नै नहुने गरकोमा बजारमा चार केजीसम्मका कुखुरा पुग्ने गरेको बताउँदै ती सबै भारतीय कुखुरा भएको बताए । उनले कुखुरा तस्करी भइरहेको बारेमा प्रहरीलाई फोन गरेर जानकारी दिँदा पनि नसमातेको भन्दै आक्रोश पोखे । भारतसँग खुला सीमा जोडिएको बाँकेका आयातमा प्रतिबन्ध लगाइएका भारतीय कुखुराहरुको तस्करी लामो समयदेखि भइरहेको छ ।

त्यसलाई रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिम्मेवारी ननिभाएको यहाँका व्यवसायीहरुले आरोप लगाउँदै आएकोमा बिहीबार व्यवसायीहरु सडकमै उत्रिएर आक्रोश पोखे । कुखुरा व्यवसायीहरुले सडकमै कुखुरा फालेर सिडिओ कार्यालय र प्रहरीविरुद्ध नाराबाजी गर्न थालेपछि केहिबेर सडक अवरुद्ध भएको थियो । उनीहरुले टायरसमेत बालेका थिए ।

व्यवसायीहरुले भारतबाट आउने कुखुरा रोकेर नेपाली व्यवसायीहरुलाई सघाउन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर सडकमा उत्रनु परेको बताए । भारतबाट जमुनाह, साईगाउँ र नरैनापुर क्षेत्रबाट कुखुराको धेरै तस्करी हुने गरेको उनीहरुले बताए । किसानहरु सडकमा उत्रिएर नाराबाजी गर्न थालेपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मा आन्दोलनस्थलमा पुगेर उनीहरुको मागको सम्बोधन तत्काल गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य पनि तस्करी बढेको भन्ने आरोप निराधार रहेको दाबी गर्छन् । उनले चोरी निकासी नियन्त्रणबाट संकलित अघिल्लो महिना र पछिल्लो महिनाको तुलना गर्दा नै तस्करी नियन्त्रणमा कुनै कमजोरी गरिएको छैन भन्ने प्रमाणित हुने बताए । ‘अघिल्लो महिना करिब सात लाख छ, कुखुरा मात्रै होइन अरु पनि तस्करी नियन्त्रणबाट संकलित रकम हो यो, यो महिना चाहिँ करिब ३७ लाख छ । यो पनि तस्करी नियन्त्रणमा छ भन्ने आधार हो,’ आचार्यले भने ।

उनले आफूले पनि आन्दोलनमा उत्रिएकाहरुसँग छलफल गरेको जानकारी दिँदै समस्याको समाधानका लागि थप सक्रियता बढाउने बताए । ‘सीमामा केही समस्या छ भने कडाइ गर्ने हो । प्रहरी परिचालन गर्ने हो । अरु त केही उपाय छैन नि । नागरिक सचेतना हुन्छ भने पनि राम्रै कुरा हो,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।

बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौर भारतबाट प्रहरीले कुखुरा तस्करी गर्न दिइरहेको भन्ने आरोप निराधार भएको बताउँछन् । व्यवसायीहरुले सूचना दिएकै आधारमा बिहीबार करिब दुई सय ३० भन्दा बढी कुखुराहरु नियन्त्रण लिइएको पनि उनले बताए । आफूहरुले कुनै पनि किसिमको तस्करी हुन नदिन आवश्यक व्यवस्था गरेको उनले बताए । यद्दपि तस्करी नरोकिएको भन्ने किसानहरुको गुनासोको सम्बोधनका लागि तस्करी नियन्त्रणका लागि सबै निकाय र सम्बद्धरु सम्मिलित संयन्त्र बनाउन सकिने उनले बताए ।

कुखुरा व्यवसायी संघ बाँकेका कार्यबाहक अध्यक्ष ईश्वर सुवेदी प्रहरी प्रशासनले इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्ने हो भने समस्या समाधान हुने बताउँछन् । उनी प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै भन्छन्, ‘हाम्रै साथिहरुले तस्करी भइरहेको छ भन्ने जानकारी दिने । तस्करी गर्नेहरुलाई प्रहरीकहाँ सुम्पिने अनि तिनै व्यक्तिहरु कसरी फरार हुन्छन् ?’ उनले प्रशासनले जहिल्यै अनेक बाहना बनाएर आफूहरुलाई झुक्याउँदै आएको बताउँदै अब सुधार नभएमा अझ कडा आन्दोलनमा उत्रिन व्यवसायीहरु बाध्य हुने चेतावनी दिएका छन् ।

विपीन आचार्य
सिडिओ, बाँके

तस्करी बढेको भन्ने आरोप मात्रै हो । अघिल्लो महिना करिब सात लाख छ, कुखुरा मात्रै होइन अरु पनि तस्करी नियन्त्रणबाट संकलित रकम हो यो, यो महिना चाहिँ करिब ३७ लाख छ । यो पनि तस्करी नियन्त्रणमा छ भन्ने आधार हो ।

सन्तोषसिंह राठौर
एसपी, बाँके

भारतबाट प्रहरीले कुखुरा तस्करी गर्न दिइरहेको भन्ने आरोप निराधार हो । यद्दपि तस्करी नरोकिएको भन्ने किसानहरुको गुनासोको सम्बोधनका लागि सबै निकाय र सम्बद्धरु सम्मिलित संयन्त्र बनाउन सकिन्छ कि भनेर मैले सिडिओ’साबसमक्ष भनेको छुँ ।

ईश्वर सुवेदी

कावा अध्यक्ष, कुखुरा व्यवसायी संघ, बाँके

हाम्रै साथीहरुले तस्करी भइरहेको छ भन्ने जानकारी दिने, तस्करी गर्नेहरुलाई प्रहरीकहाँ सुम्पिने अनि तिनै व्यक्तिहरु कसरी फरार हुन्छन् ? प्रशासनले जहिल्यै अनेक बाहना बनाएर हामीहरुलाई झुक्याउँदै आएको छ । अब सुधार नभएमा अझ कडा आन्दोलनमा उत्रिन हामीहरु बाध्य हुनेछौं ।

प्रकाशित मितिः शुक्रबार, चैत्र ३, २०७९     11:05:57 AM  |