व्यवसायीको घरदैलोमा पुग्दै खजुरा सरकार



खजुरा गाउँपालिकाले व्यवसायीको घरदैलोमै पुगेर व्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान सुरु गरेको छ । पालिकाका सबै वडासम्म पुग्ने यो अभियानको सुरुवात भने सोमबारदेखि वडा नम्बर १ बाट सुरु भएको हो ।खजुरा (बाँके) ।

बाँकेको खजुरा गाउँपालिकाले पालिकामा रहेका व्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान सुरु गरेको छ । गाउँपालिकाले वडा नम्बर १ देखि आफ्नो आठ दिने व्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान सुरु गरेको हो ।

सबैखाले व्यवसायको अभिलेखिकरण र व्यवसायको अनुदान तथा करको दायरामा ल्याउन पालिकामा रहेका हरेक व्यवसायीको घरदैलोमै पुगेर व्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान सुरु गरिएको खजुरा गाउँपालिका राजस्व शाखाका प्रमुख भक्तबहादुर रावतले जानकारी दिए ।

शाखा प्रमुख रावतको नेतृत्वमा सुरु भएको अभियानमा प्रशासन शाखा प्रमुख विवेक सिंह तथा खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मानबीर क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

वडा नम्बर १ मा धेरैजसो व्यवसाय दर्ता नभएको पाइएको छ । पालिकामा व्यवसाय दर्ता गर्नुपर्छ भन्ने सामान्य जानकारी समेत नभएको पाइएको राजस्व शाखा प्रमुख रावतले बताए । ‘पालिकाले सञ्चालन गरेको यो अभियान आवश्यक रहेको र आगामी दिनमा समेत पालिकाले यस्तै खाले व्यवसायी माझ कार्यक्रम सञ्चालन गर्नुपर्ने राय तथा सुझाव समेत प्राप्त भएको छ’ उनले भने । 

वडाध्यक्ष क्षेत्रीले पालिकाले सुरु गरेको दर्ता, नविकरण तथा अनुगमन अभियानले व्यवसायीलाई नै फाइदा हुने र पालिकाले प्रदान गर्ने सेवा सुविधासहित अनुदानको लागि समेत राम्रो हुने बताए ।

वडा तथा पालिकामा रहेका व्यवसायको आंकडा र सोको जानकारी मात्रै नभएर वडा तथा पालिकामा रहेका व्यवसायको अवस्थाको बारेमा सही जानकारी हुने र पालिकाले आगामी दिनमा योजना गराउन सहज हुने हुँदा सबै व्यवसायीलाई समयमै आफ्नो व्यवसाय दर्ता र नविकरण गर्न उनले आव्हान गरे ।

खजुरा गाउँपालिकाले सिमित बजेटमा व्यवसायीलाई अनुदानमुलक कार्यक्रम सञ्चालन गर्न लागेको र सोको लागि समेत व्यवसाय दर्ता गर्नुपर्ने राजस्व शाखाका रावतले बताए । खजुरा गाउँपालिकाले सुरु गरेको व्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान खजुराका आठवटै वडामा पुग्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २ गते मंगलबार