विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार रगत अभाव हुन नदिन कुल जनसङ्ख्याको २ प्रतिशत जनसङ्ख्याले हरेक वर्ष रक्तदान गरेको हुनुपर्छ । तर, नेपालमा यो सङ्ख्या ० दशमलव ५ प्रतिशतजति मात्रै छ । अहिलेसम्म रगतको आपूर्ति स्वयम्सेवी रक्तदाता र बिरामीमा आफन्तहरूमा निर्भर छ । स्वयम्सेवी रक्तदाताको सङ्ख्यामा वृद्धि गराउन रेडक्रसको रक्तसञ्चार केन्द्रले काम गर्दै आए पनि त्यो पर्याप्त छैन ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बर्दिया राजापुरका कृष्ण थारूका बुबालाई दिसाबाट रगत जाने समस्या देखिएपछि नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ । उनका लागि एक युनिट रगत अस्पताल परिसरमै रहेको रेडक्रसको रक्तसञ्चार केन्द्रले उपलब्ध गरायो ।
तर दोस्रोपटक रगत चाहिँदा रक्तसञ्चार केन्द्रमा रगतको स्टक थिएन । रक्तसञ्चार केन्द्रले बिरामीका आफन्तले नै रगत दिएपछि उपलब्ध गराउन सकिने बताएपछि कृष्णले बुबाको रगत समूह मिल्ने नेपालगन्जमै रहेका एक जना साथीलाई बोलाएर रगत दिन लगाए । ‘अब तेस्रो पटक रगत चाहिए कसरी व्यवस्था गर्ने हो थाहा छैन,’ कृष्णले भने ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २४ भन्दा बढी जिल्लाका बिरामीहरूको उपचार केन्द्रको रूपमा रहेको नेपालगन्जमा पछिल्लो समय बिरामीका आफन्तले रगतको अभाव झेलिरहेका छन् । रगत स्टक नहुँदा जिल्लामा रहेका २४ वटा अस्पतालमा आउने बिरामीहरूका लागि रगतको आपूर्ति गर्नु रक्तसञ्चार केन्द्रहरूलाई हम्मेहम्मे परिरहेको छ ।
रक्तसञ्चार केन्द्रले सामूहिक रक्तदान कार्यक्रमबाट संकलित रगतबाटै आपतकालीन अवस्थामा परेका बिरामीहरूका लागि रगत उपलब्ध गराउँछ । सकेसम्म बिरामीका आफन्तलाई नै रक्तदान गर्न आग्रह गरेर रगत उपलब्ध गराउँदै आए पनि सबै बिरामीका आफन्तहरूले रगत दिन नमान्दा रगतको जोहो गर्न रक्तसञ्चार केन्द्रलाई हम्मेहम्मे पर्ने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए ।
अर्काेतिर ठूलो सङ्ख्यामा सामूहिक रक्तदान कार्यक्रमहरू नियमितरूपमा नभइदिँदा रगतको अभाव पटक–पटक दोहोरिने गरेको रेग्मीको भनाइ छ । उनी सामूहिक रक्तदानका कार्यक्रमहरू हप्तामा दुईपटकसम्म भइरहनु आवश्यक रहेको बताउँछन् ।
बाँकेमा दैनिक ७० देखि ८० युनिट रगतको माग रहेको रेग्मीले बताए । सिकलसेल एनिमिया र थालेसेमियाजस्ता पटक–पटक रगत आवश्यक परिराख्ने बिरामी पनि नेपालगन्जमै उपचारका लागि आउँछन् । यसका साथै पछिल्लो समय चिकित्सकहरूले आवश्यक कम्पोनेन्टअनुसारको रगत माग गर्ने क्रम बढेको छ । जसको आपूर्ति गर्न भेरी अस्पतालमा क्षेत्रीय रक्तसञ्चार केन्द्र र खजुरास्थित क्यान्सर अस्पताल तथा कोहलपुरस्थित मेडिकल कलेजमा गरी तीनवटा रक्तसञ्चार युनिटहरू सञ्चालनमा रहेका छन् । कम्पोनेन्टअनुसारको रगत भेरी अस्पतालस्थित रक्तसञ्चार केन्द्रले मात्रै उपलब्ध गराउन सक्छ ।
विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार रगत अभाव हुन नदिन कुल जनसङ्ख्याको २ प्रतिशत जनसङ्ख्याले हरेक वर्ष रक्तदान गरेको हुनुपर्छ । तर, नेपालमा यो सङ्ख्या ० दशमलव ५ प्रतिशत जति मात्रै रहेको छ ।
अहिलेसम्म रगतको आपूर्ति स्वयम्सेवी रक्तदाता र बिरामीमा आफन्तहरूमा निर्भर छ । त्यसकारण स्वयम्सेवी रक्तदाताको सङ्ख्या बढाउनु नै रगत अभाव पूर्ति गर्ने विकल्प भएको रेग्मीको बुझाइ छ ।
स्वयम्सेवी रक्तदाताको सङ्ख्यामा वृद्धि गराउन रेडक्रसको रक्तसञ्चार केन्द्रले काम गर्दै आए पनि त्यो पर्याप्त नभएको रेग्मी बताउँछन् ।
‘रक्तदातालाई उत्प्रेरित गर्न हामीले वार्षिक कार्यक्रममै सचेतनामूलक कार्यक्रम तय गरेर काम गर्छाैँ । विद्यार्थीहरूलाई रक्तदानबारे सचेतीकरण गर्छाैँ । तर, यस्ता कामहरू राज्यका तर्फबाट पनि भइदियो भने रक्तदाता बढाउन सहयोग पुग्ने थियो,’ रेग्मीले भने ।
नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवद्र्धन सिंह सम्झनाले रक्तदातालाई उत्प्रेरित गर्ने काममा राज्यको लगानी शून्य रहेको बताए । उनले रक्तदाता बढाउने सन्दर्भमा रेडक्रसले सचेतनामूलक काम गरिरहे पनि राज्यले नै दीर्घकालीन नीति अवलम्बन गर्नु जरुरी रहेको बताए । रेडक्रसले २५ पटक रक्तदान गर्ने व्यक्तिलाई आजीवन सदस्यता दिन्छ भने दुर्लभ समूहको रगत १५ पटक दान गरेमा आजीवन सदस्यता दिन्छ ।
रेडक्रससँग हाल एनआरएनएले प्रदान गरेको एउटा मोबाइल ब्लड बैंक बस पनि रहेको छ । जुन बसलाई सामूहिक रूपमा रक्तदानको व्यवस्था मिलाइएको ठाउँमै गएर रगत संकलन गरी ल्याउन मिल्ने व्यवस्था छ ।
नेपालगन्जमा अहिले स्वयम्सेवी रक्तदाता समूह, सामाजिक सञ्जाल फेसबुकमा नेपालगन्ज ब्लड डोनर ग्रुप, नेपालगन्ज ग्यालरीलगायतका समूहहरूले स्वयम्सेवी रक्तदाताहरूलाई जोड्ने काम गरिरहेका छन् । यस्ता समूहहरूले आवश्यक परेका बेला रगतको अभावलाई पूर्ति गर्न सघाइरहेका छन् । त्यसमा संलग्न र स्वयम्सेवी रक्तदातालाई संयोजनकारी भूमिका निभाइरहेका व्यक्तिहरू पनि रक्तदाता बढाउन राज्यले आवश्यक नीति लिनुपर्ने आवश्यकता औँल्याउँछन् ।
स्वयम्सेवी रक्तदाता समाज बाँकेका अध्यक्ष दिला शाहले स्थानीय सरकारहरू रक्तदाता बढाउने काममा उदासिन रहेको अनुभव सुनाइन् । उनले रक्तदाताहरूलाई प्रेरित गर्न उनीहरूलाई स्वास्थ्य सेवा सुविधामा सहुलियतलगायतका आकर्षणका उपायहरू अवलम्बन गर्नुपर्ने बताइन् । ‘स्थानीय तहले रक्तदान कार्यक्रमलाई सघाउने नीति लिनु जरुरी छ । १८ वर्ष पुगेपछि जन्मदिन मनाउँदा रक्तदान गर्ने, सामाजिक संघसंस्थाले विशेष अवसरमा पनि रक्तदान गर्ने क्रमलाई बढाउन जरुरी छ,’ शाहले भनिन् ।
नेपालगन्ज ब्लड डोनर ग्रुपका संयोजक मोहम्मद अहमद राईले पछिल्लो समय रक्तदाताहरू बढे पनि त्यो मागअनुसार पर्याप्त नभएको बताए । उनले रक्तदाता बढाउन विद्यालय लक्षित सचेतनामूलक कार्यक्रमहरू जरुरी रहेको र ब्लड ग्रुप पहिचान गर्नु जरुरी रहेको उल्लेख गरे । ‘विद्यालयमा गएर ब्लड ग्रुपिङ क्याम्पिङ गर्नु आवश्यक छ । १८ वर्ष पुगेका व्यक्तिहरूको डाटा संकलन गर्ने र उनीहरूलाई रक्तदान गर्न उत्प्रेरित गर्नु आवश्यक छ,’ राईले भने ।
हालसम्म १०२ पटक रक्तदान गरिसकेका रक्तदाता पवन जैसवाल पनि निरन्तर रक्तदान गर्ने रक्तदातालाई प्रोत्साहन गर्ने र अरूलाई पनि अनुकरण गर्न उत्प्रेरित गर्ने वातावरण बनाउन राज्य चुकिरहेको बताउँछन् । जैसवाल भन्छन्, ‘लामो समयसम्म नियमित रक्तदान गरेका दाताहरूलाई उपचारमा सहुलियतसम्म गरिदिएमा अरूलाई पनि रक्तदान गर्न प्रेरणा मिल्न सक्छ ।’
जीवनकालमा ७७ पटकभन्दा बढी रक्तदान गरेकी सरिता ज्ञवाली आफूले पवित्र भावनाले कुनै लाभ पाउने आशा नराखी रक्तदान गरे पनि सबैका लागि त्यस्तो भावनाले काम नगर्न सक्ने भएकाले केही उत्प्रेरणाका कामहरू गर्नु जरुरी रहेको बताउँछिन् ।
प्रतिक्रिया दिनुहोस्