नेपालगन्ज मेडिकल कलेजद्वारा सेवा शुल्कमा भारी वृद्धि



नेपालगन्ज मेडिकल कलेजले एकैपटक अधिकांश सेवाहरूमा शुल्क बढाएको छ । मेडिकलले आफूले प्रदान गर्दै आएका ९० प्रतिशत बढी सेवाहरूमा कम्तिमा २० प्रतिशतदेखि बढीमा एक सय प्रतिशतसम्म सेवा शुल्क बढाएको हो । तर, शुल्क बढाएपनि सेवाग्राहीहरूले थाहा पाउनेगरी भने जानकारी दिएको छैन ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्ज मेडिकल कलेजले आफ्नो ९० प्रतिशतभन्दा बढी सेवामा शुल्क बढाएको छ । चालू आर्थिक वर्षबाट विभिन्न सेवामा शुल्क बढाएपनि उक्त शुल्क न सेवाग्राहीले थाहा पाउनेगरी सार्वजनिक गरेको छ न कर्मचारीलाई नै सबै शुल्कबारे जानकारी दिएको छ । मेडिकल कलेजका प्रशासन प्रमुख, सूचना अधिकारी र उपनिर्देशकले आन्दोलनको कारण कार्यालयमा जान नपाएकोले शुल्क दर उपलब्ध गराउन नसकिने मिसन टुडेलाई बताए ।

तर, यस विषयमा मेडिकल कलेजकै कर्मचारीहरूले पनि सूचनाको हकको प्रयोग गरी शुल्कबारे जानकारी माग गर्दा पनि अहिलेसम्म उपलब्ध गराउन नसकेको पाइएको छ । सेवासुविधा वृद्धि लगायतका माग राखेर अहिले मेडिकल कलेजका कर्मचारीहरू आन्दोलनमा छन् । तर, मेडिकल कलेज प्रशासन तथा व्यवस्थापनले आर्थिक कारणले सेवा सुविधा बढाउन नसकिने भन्दै मागलाई पूरा गर्न नसकिने बताउँदै आएको छ । आन्दोलनको अगुवाई गरिरहेकी एक कर्मचारीले भनिन्, ‘हामीले पनि बढेको शुल्कबारे जानकारी पाउँ भनेर निवेदन दिएको हो । तर, व्यस्तताको कारण देखाउँदै आज भोली भन्दै आउनुभएको छ । अहिलेसम्म जानकारी पाएको छैनौँ ।’

मेडिकल कलेजले सेवाहरूको शुल्क सार्वजनिक नगरेपनि बढाइएको शुल्क अनुसार नै असुली गरिरहेको छ । ओपिडी शुल्क पहिले एक सय रूपैयाँ रहेकोमा बढाएर एक सय ५० रूपैयाँ बनाइएको छ भने इमरजेन्सी शुल्क एक सय रूपैयाँबाट बढाएर दुई सय, सिबीसी तीन सयबाट बढाएर ६ सय, एलएफटी ८ सयबाट बढाएर एक हजार एक सय बनाइएको छ । पिसाब जाँच गरेको एक सय रूपैयाँबाट बढाएर एक सय ५० बनाइएको छ । जाँचदेखि अपरेशनसम्मको शुल्क बढाइएको कर्मचारीहरूले बताएका छन् ।

शुल्क वृद्धिको प्रत्यक्ष असर सेवाग्राहीहरूमा परेको छ । मेडिकल कलेजमा भेटिएका दाङका एकजना सेवाग्राहीले शुल्क बढाउँदा त्यसको असर सेवाग्राहीमा पर्नेमा ध्यान दिनुपर्ने बताए । अर्काेतिर कर्मचारीहरू पाँच वर्षदेखि तलब सुविधा नबढाइएको तर शुल्क भने पटक पटक बढाउने गरिएको बताउँछन् ।

मेडिकल कलेजका उपनिर्देशक श्याम शर्माले नियमित प्रक्रियाअन्तर्गत नै शुल्क वृद्धि गरिएको बताए । उनले भने, ‘बजारको अवस्था, मूल्य वृद्धि, सामानको मूल्य वृद्धि लगायतलाई ध्यानमा राखेर मूल्य वृद्धि गरिएको हो । बढेको मूल्य बिल काटेरै लिएको हो । लुकाएको पनि छैन ।’ उनले बढेको मूल्य पनि अन्य अस्पताल तथा स्वास्थ्य संस्थाको भन्दा बढी नभएको दाबी गरे ।

ओपिडीभित्रै कर्मचारीको नाराबाजी

बिहीबार नेपालगन्ज मेडिकल कलेजको ओपिडी वार्डमै नाराबाजी भयो । कर्मचारीहरू माइकमै नाराबाजी गर्दै ओपिडी वार्डमा पुगे । उनीहरूले आफ्ना माग पूरा गर्न माग गर्दै चर्काे स्वरमा नाराबाजी गरेका थिए । ओपिडी वार्डसँगै जोडिएको इमरजेन्सी कक्षमा रहेका बिरामीका आफन्तहरू नाराबाजी भइरहेको टुलुटुलु हेरिरहेका थिए ।

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरू तलब सुविधा वृद्धिको माग राखेर आन्दोलनमा छन् । २०८१ सालको असार ४ गते मागपत्र सार्वजनिक गरेर आन्दोलनमा उत्रिएको कर्मचारीहरूको आन्दोलन अब कलेजको ओपिडी सेवा बन्द गराउने स्थितिसम्म आइपुगेको छ । यतिमात्रै होइन पछिल्ला केही दिनयता मेडिकल कलेजका कर्मचारीहरू कालोपट्टी बाँधेर आन्दोलनमा थिए । उनीहरूले मंसिर ३० गतेबाट प्रशासन, फाइनान्स र एकेडेमी कार्यालयहरूमा तालाबन्दी गरेका छन् ।

परिसरमा हरेक दिन नाराबाजी र धर्ना भइरहेको छ । जसले मेडिकल कलेजको नेपालगन्ज र कोहलपुरबाट सेवा प्रवाह नै प्रभावित भएको छ । कर्मचारीहरू पछिल्लो पाँच वर्षयता तलबवृद्धि नभएको र न्यून तलबमा काम गर्न परिरहेको बताउँछन् । पटक–पटक तलब वृद्धिको माग राखेर ज्ञापनपत्र बुझाउँदा, ध्यानाकर्षण गराउन र आन्दोलन गर्दा पनि कलेज सञ्चालकहरूले झुक्याउँदै आएकोले यसपटकको आन्दोलनलाई निर्णायक बनाउने उनीहरू बताउँछन् ।

शुक्रबारबाट मेडिकल कलेजको ओपिडी सेवा पूर्णतः बन्द गरिने आन्दोलनको कार्यक्रम तय गरिएको छ । यसले नेपालगन्जको ठूलो स्वास्थ्यउपचार संस्थाको सेवा प्रभावित भएको छ । सेवाग्राहीहरू उपचारका लागि अन्यत्र भौतारिनुपर्ने स्थिति सृजना भएको छ । मेडिकल कलेज सञ्चालक र प्रशासनले आन्दोलनमा रहेका कर्मचारीहरूले काम भन्दा बढी राजनीति गर्ने गरेको आरोप लगाउँछ ।

नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक श्याम शर्मा कलेजको आर्थिक अवस्था खराब रहेको जानकारी गराउँदा गराउँदै पनि कर्मचारीहरू तलब वृद्धिको माग राखेर आन्दोलन उत्रिनु दुःखद भएको बताउँछन् । उनले पटक पटक श्रम कार्यालय, श्रम विभाग लगायतका निकायमा गएर यस विषयमा छलफल भएपनि कर्मचारीहरूले आफ्नो अड्डि नछोडेको बताए । तत्काल आन्दोलनकारी पक्षसँग वार्ता भई टुंगोमा पुगिने सम्भावना नरहेको पनि उनले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस ५ गते शुक्रबार