सबैलाई जोड्ने कम्मर शाह दरगाह



बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीको कम्मर शाह बाबा मजारमा वर्षेनी मेला लाग्दै आइरहेको छ । बिहीबारदेखि सुरु भएको यसवर्षको मेला भोलिसम्म चल्नेछ । मेलामा मुस्लिम धर्मावलम्बी मात्रै नभएर हिन्दुसहित सबै धर्मावलम्बीहरू आफ्नो मनोकामना पूरा होस् भन्ने कामना लिएर पुग्ने गर्छन् । उनीहरू बाबाको मजारमा श्रद्धापुर्वक शीर निहुराउँछन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिका–५ का शौखत नाउ र श्याम चौहान कम्दीको कम्मर शाह बाबा मजारमा लागिरहेको मेलामा एकसाथ भेटिए । उनीहरूको धार्मिक आस्था फरक भएपनि उक्त मेलामा सहभागी हुनका लागि जोड्ने कडी एउटै छ, त्यो हो कम्मर शाह बाबाप्रतिको सम्मान र आस्था । तिथिमिति यकिन नभएपनि करिब डेढ सय वर्ष पहिले एकजना फकिरका रूपमा आएका बाबाले चमत्कारिक काम गर्ने र स्थानीयहरूमा दुःख कष्ट र रोगव्याधीहरू निर्मुल पार्ने गरेको जनश्रुति रहेको पाइन्छ ।

ती बाबाको समाधी भएको स्थान(मजार)मै हरेक वर्ष मेला लाग्दै आएको छ । हजरत बाबा कम्मर शाह दरगाह शरीफ र उर्स मेला (सन्तहरूको पूण्यतिथिमा लाग्ने मेला) पनि भनिने उक्त मेलामा मुस्लिम धर्मावलम्बी मात्रै नभएर हिन्दुसहित सबै धर्मावलम्बीहरू आफ्नो मनोकामना पूरा होस् भन्ने कामना लिएर पुग्ने गरेको बताउँछन् । उनीहरू बाबाको मजारमा श्रद्धापुर्वक शीर निहुराउँछन् । मजारमा कम्मर शाह बाबाको नाममा सूफीगायनसहित उनको समाधीमा चादर ओढाउने, धुपबत्ती, प्रसादहरू चढाउनेहरूको चारदिनसम्म घुँइचो लाग्ने गरेको छ । जहाँ भारतका सीमावर्ती क्षेत्रबाट समेत मानिसहरू आफ्नो मनोकामना लिएर आउने गरेका छन् । शौखत नाउले भने, ‘मैले मेरो यसमा भलो होस् भनेर मन्नत मागेको थिएँ । त्यो पूरा भयो । त्यसैले म यहाँ आउँछु ।’ चौहानले भने, ‘उनी सन्त फकिर थिए । सबै धर्मका मानिसहरूको उपकार गरेका थिए रे । पुर्खाहरूले भन्छन्, कि उनले धेरैलाई आफ्नो चमत्कारद्वारा दुःख कष्ठ दूर गरेका थिए । त्यसैले हामीले पनि उनलाई सम्मान गर्र्छाैँ ।’

करिब ५७ वर्षदेखि मेलाको व्यवस्थापनमा सहभागी हुँदै आएका डुडुवा– ४ का स्थानीय कामताप्रसाद सोनकरले कम्मर शाह बाबाको बारेमा सुनेको श्रुतिअुसार भने, ‘यहाँ जंगल थियो । वरको रूख थियो । उक्त रूखको एउटा हाँगा तेस्रो गएको थियो । उहाँ त्यही हाँगामा बसेर रमाउनुहुन्थ्यो । हातमा टेन्नी, खुट्टामा लगाउने खराउ र काँधमा हाल्ने कमल हुन्थ्यो । कमल ओढ्ने भएकै कारण उनलाई बाबा कमरिया शाह भन्थे ।’

उनले बाबाले अनेक चमत्कार गर्ने गरेको सुनेको बताउँदै भने, ‘साउन भदौको भेलमा पनि उहाँ वारपार गर्दा पानी हटिहाल्थ्यो भन्ने सुनेको छु ।’ विशेषगरी यादवहरूले कम्मर शाह बाबालाई सम्मानपूर्वक लिने गरेको खटिकले बताए । भैँसीपालन मुख्य पेशा भएका यादवहरूलाई कम्मर शाह बाबाले रोगव्याधी र दुःख कष्ठबाट जोगाएको जनश्रुति रहेको स्थानीय नन्दन यादव बताउँछन् । यसैकारण विशेषगरी स्थानीय यादव समुदाय र मुस्लिम समुदायले बाबाको मजारका चाँदर ओढाएर सम्मान अर्पण गर्ने गरेका छन् । यसका साथै बाबाका लागि मिष्ठान्न पकुवान र भाकल गरेकाहरूले बलीसमेत चढाउँछन् ।

मेलाको व्यवस्थापनका लागि बनाइएको समितिमा पनि हिन्दु मुस्लिम दुवै समुदायका व्यक्तिहरू सहभागी छन् । अहिले मेला व्यवस्थापन समितिको अध्यक्षमा वडा नम्बर ५ का अध्यक्ष झंकबहादुर थापा छन् भने समितिमा हिन्दु मुस्लिम दुवै समुदायका व्यक्तिहरू छन् । यस वर्षको मेलाको पूर्व मन्त्री इश्तियाक राईले उद्घाटन गरेका थिए । उनले पनि उक्त मेला धार्मिक सद्भावको नमुना भएको बताए । मेला व्यवस्थापन समितिको सल्लाहकारसमेत रहेका खटिकले पनि मेलाको सबैभन्दा ठूलो महत्व फरक धार्मिक आस्थाका भएपनि सबै मानिसहरूलाई जोड्नु नै भएको बताए ।

‘यहाँ सबै बाबाप्रतिको आस्था, विस्वास र सम्मानले आउँछन् । मुस्लिम, हिन्दु, क्रिश्चियन, बौद्ध सबै धर्मावलम्बी यहाँ आउँछन्,’ खटिकले भने । रसुल नाम बताउने एकजना भारतीय नागरिकले आफू परिवारसहित हरेक वर्ष बाबाको मेलामा आउने गरेको बताए । ‘यस दरगाहको नाम हाम्रोतिर पनि सम्मानका साथ लिइन्छ । मानिसहरू मनोकामना लिएर यहाँ आउँछन्,’ उनले भने ।

मजार स्थलमा चारदिनसम्म लाग्ने मेलामा स्थानीय व्यापारीसहित नेपालगन्ज र सीमावर्ती भारतीय क्षेत्रबाट समेत व्यापारीहरू आएर मिष्ठान्न पकुवान, श्रृंगारमा सामान, मजारमा चढाइने चिजवस्तु तथा स्थानीय उत्पादनहरूको व्यापार गर्ने गर्दछन् । पछिल्लो केही वर्षयता उक्त स्थानमा बालबालिकाहरूका मनोरञ्जनका साधन, रोटेपिंङ लगायत साधन र नाचगानका कार्यक्रमहरू पनि सञ्चालन गर्न थालिएको छ ।

उक्त मेला बाबाको सम्मानमा आयोजना हुने भएकोले नाचगान लगायतका क्रियाकलाप गर्न नहुने भन्दै केही व्यक्तिहरूले आवाज उठाउँदै आएका छन् । मेलामा भेटिएका केही ज्येष्ठ नागरिकहरूले पनि मेलामा नाचगान लगायतका क्रियाकलाप गर्न साधु सन्तको सम्मानमा आयोजना हुने मेलाको गरिमाका लागि नसुहाउने मत जाहेर गरे ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस ६ गते शनिबार