18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

कोहलपुरको एक झलक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन १८, २०७७  


— एकराज शर्मा

कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशको मुलद्दार तथा प्रदेश नं ५ को मुटुमा रहेको तथा देशका सातवटै प्रदेशको मुटुमा अवस्थित ठाउँ हो कोहलपुर नगरपालीका । विगतको साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको केन्द्रविन्दुमा रहेको थियो । नेपालका ७७ वटै जिल्लाको आवश्यक पर्ने ठाउँ हो यो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयां प्रशासनिक संरचना अनुसार प्रदेश ५ को बाँके जिल्लाको एक महत्वपूर्ण तथा विकसित हँुदै गएको नेपालगञ्ज पछिको दोस्रो ठूलो शहरका रुपमा रहेको छ । पृथ्वीको गोलाद्र्धका हिसावले २८ डिग्री ७ मिनेट १२ सेकेन्ड देखि १८ मिनेट ५४ सेकेन्ड उत्तरी अक्षांश तथा ८१ डिग्री ३८ मिनेट २४ सेकेन्ड देखि ८१ डिग्री ४९ मिनेट ५१.६ सेकेन्ड पूर्वी देशान्तरमा अवस्थित छ ।

यो नगरपालिका तराईमा पर्दछ । यसको जम्मा क्षेत्रफल १८४.२६ वर्ग कि.मी मात्र छ । यसको पूर्वमा राप्तिसोनारी गाउँपालिका, बाँके जिल्लाको बैजनाथ गाउँपालिका र पश्चिममा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका, उत्तरमा सल्यान जिल्लाको चुरे पहाड, तथा दक्षिणमा जानकी गाउँपालिका तथा नेपागञ्ज पमहानगरपालिकाको बिचमा अवस्थित छ । यो नगर नेपालगञ्जदेखि १६ कि.मि. टाढा छ । यो साविकको मध्यपश्चिमाञ्ल विकास क्षेत्रमा थियो । गुगल नक्सामा यसको मुख्यविन्दु ८१ डिग्री ४० मिनेट पूर्व तथा २८ डिग्री १२ मिनेट उत्तरमा पर्दछ ।

वास्तवमा यसको नाम पहिले पहिले तोरी लगायतका दहन र पेलन चिजवस्तु पेल्ने कोलको नामबाट राखिएको भन्ने जनविश्वास छ । यसको स्थापना वि.स. २०७१ बैशाख २५ गते नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयबाट साविकको कोहलपुर र रझेना गा.वि.स लाई गाभेर गरिएको थियो । पछि २०७३ मा शंम्सेरगञ्ज गा.वि.स.का केहि भागलाई समावेश गरेर समायोजन गरिएको थियो ।

यसमा १५ वडा छन् । निर्वाचन क्षेत्रका हिसाबले निर्वाचन क्षेत्र १ को ‘ख’ तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ हो । यहाँको जनसंख्या २०७४ को घरधुरीको सर्वेक्षणको हिसावले १७६८९ घरधुरी तथा ८७,३०० जनसंख्या रहेको छ । यहाँको औषत जनसंख्या वृद्दिदर ३.५३ छ । जातिगत आधारमा पहाडी दलित ११ प्रतिशत, मधेसी दलित २.२ प्रतिशत, पहाडी जनजाति तथा आदिबासी ९.८ प्रतिशत, मधेसी आदिबासी तथा जनजाति २६.९ प्रतिश, पहाडी ब्राहमण क्षेत्री ठकुरी दशनामी सन्यासी ४३.६ प्रतिशत, मधेसी ब्राह्मण क्षत्री राजपुत २ प्रतिशत, मुश्लिम २.७ प्रतिशत, पहाडी अन्ने ०.५ प्रतिशत र मधेसी अन्ने १.३ प्रतिशत खटिक, चिडीमार लगायतका लोपउन्मुख वा सिमान्तकृत समुदायको बसोबास रहेको प्रमाण कोहलपुर शैक्षिक झलक २०७७ मा उल्लेख छ । भाषागत हिसाबमा नेपाली भाषी ६९.२४ प्रतिशत, थारु २४.५१ प्रतिशत, अवधी ४.७ प्रतिशत, हिन्दी १.१ प्रतिशत मगर खाम, डोटेली, गुरुङ्ग, भोटे तथा अन्ने १ प्रतिशतभन्दा निकै कम रहेको छ ।

हावापानीको हिसावमा चर्चा गर्दा उपोष्ण क्षेत्रमा परेको छ । जहां अधिकतम तापक्रम गीष्मा ऋतुमा ४६ डिग्री तथा न्युनतम तापक्रम हिउंदमा ४ डिग्री तथा सरदर वर्षा १९१२ मिलिमिटर रहेको छ । यहाँको सापेक्षित आद्रता भने औषतमा ७१.४ प्रतिशत छ । यातायातको हिसावले कोहलपुरबाट नेपालगञ्ज, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, कञ्चनपुरको गड्डाचौकी, पूर्वमा बुटवल, नारायणघाट, काठमाण्डौं, झापा, विर्तामोड लगायत देशका विभिन्न ठाउँमा जाने व्यवस्था छ । देशका मूख्य सहरमा जानाको लागि पक्की बाटोको व्यवस्था छ । कर्णाली प्रदेशको राजधानी जानको लागि ८३ कि.मी. महेन्द्रनगरको लागि २०० मि.मी. तथा काठमाण्डौंको लागि ५३५ कि.मी. मात्र छ । कोहलपुरमा नेपालगञ्ज वा भारतको सिमा रुपैडिया नाका जाने बाटो, पूर्वपश्चिम महेन्द्र राजमार्ग, नेपागञ्जदेखि कोहलपुर भएर कर्णाली प्रदेश जाने रत्नराजमार्ग गरेर चार राजमार्गको केन्द्रविन्दु रहेको कोहलपुर चौराहलाई मिलनविन्दु मानिएको छ । यहाँ देशको पूर्वपश्चिम तथा उत्तर दक्षिण जोड्ने बाटटाघाटो बाह्ै महिना गाडीहरु आवतजावत गर्ने गर्दछन् । ठिक १३ कि.मी. टाढा नेपालगञ्ज विमानस्थल रांझा रहेको छ । यो आधारमा पनि सुविधा सम्पन्न नै मानिन्छ ।

नदिनाला तालतलैयाको हिसावले चर्चा गर्दा यसको करिव ६० कि.मी. क्षेत्रमा डुडुवा नाला, किरणनाला, इटानाला,, रानीघाट र रोहीनिखोला १२ महिना बग्ने गर्दछन् । जहाँ भुतैया ताल, जोरते टपर,, जोरतेसिमसार, लगायत तालतलैया रहेका छन् । धार्मिक स्थलहरुमा भने निकै राम्रो सहिष्णुता रहेको पाइन्छ । किनकि यहाँ विविन्न धर्मलम्बिको बसोबास छ । यहाँ कालीका मन्दिर, शिवमन्दिर, रामजानकी मन्दिर, रानीघाट मन्दिर, मनकामना मन्दिर, शिवालय, राधाकृष्ण मन्दिर, पशुपतिनाथालय मन्दिर, वैष्णेदेवी मन्दिर, जगन्नाथ किरणभवानी, राधाकृष्ण वृद्धाश्रम लगायतका धेरै तथा थुप्रै हिन्दु धार्मिक स्थलहरु रहेका छन् । विलिभर्स चर्च, बेथेल चर्च, गेश्रमी चर्च लगायत क्रिष्टियन धर्मलम्बिका धार्मिक स्थलको पनि त कमि छैन कोहलपुरमा । जहामिया मस्जिद, जहांमिया कादरी लगायत मुस्लिम समुदायका मानिसका पनि धार्मिकस्थल छन् । बौद्धको बाद्धैस्तुप पनि छन् ।

अन्तराष्ट्रिय क्रिक्रेट मैदान, तेह्विगाह फुटवल मैदान, सहिद मञ्च लगायत माध्यामिक विद्यालमा पनि धेरैभन्दा धेरै खेलमैदानले भरिभराउ छ कोहलपुर । यो सहर सुविधायुक्त सहमा विकसित हुँदै गएको छ । यहाँ नगरपालिकाको कार्यालय, संघीय तथा प्रदेश सरकारका कार्यालय, ईलाका प्रशासन कार्यालय, पर्यटन कार्यालय, ईलाका प्रहरी कार्यालय, ईलाका हुलाक कार्यालय, क्षेत्रीय ट्राफिक कार्यालय, सशस्त्र प्रहरी गण , नेपाली सेनाको पश्चिम पृतना तालिम शिक्षालय, राष्ट्रिय परीक्षा बोर्डको कार्यालय, आन्तरिक राजश्वअनुसन्धान कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्वास्थ्य चौकी, आर्र्युवेद औषधालय, नेपाल राष्ट्र बैंकको क्षेत्रीय भवन निर्माणाधिन अवस्थमा छ ।

सरकारी तथा गैरसरकारी बैंक गरेर हालसम्ममा ३३ वटाले सेवाप्रदान गरेको पाइन्छ । नेपाल विद्युत प्राविधिकरणको क्षेत्रीय युनिट कार्यालय, नेपाल टेलिकम, नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्र कोहलपुर, गोर्खापत्र संस्थानको क्षेत्रीय कार्यालयहरु अवस्थित छन् । कोहलपुर साना शहरी तथा खानेपानी आयोजना, विराट खानेपानी आयोजना पनि छन् । सञ्चार माध्याममा मिसन रेडियो ९०.६ मेगाहर्ज, कोहलपुर रेडियो नेपालको केन्द्रिय तथा क्षेत्रीय मिडियम वेभ ५७६ कि.लो. हर्ज सुर्खेत तथा एफ एम १०० मेगाहर्ज हर्रे चमेरे डांडा प्रसारण सहजै सुन्न सकिन्छ । कोहलपुर एफएम १०१.२ , प्रतिबोध एफएम १०२.४ ले आम सञ्चार जगतको सेवाहरु प्रदान गरेका छन् । मिसन टुडे राष्ट्रिय दैनिक, युगयान राष्ट्रिय दैनिक, पिपलबोट राष्ट्रिय दैनिक, कोहलपुर टाईम्स साप्ताहिक, कर्णाली आवाज लगायतका छापावाला पत्रिका पनि पढ्न पाइन्छ । विभिन्न अनलाईन न्युजहरु झन्डै आधादर्जन क्रियासिल रहेका छन् ।

सबै ठाउँमा नेपाल टेलिकमका प्रिपेड, पोष्टपेड, फोन सेवा, एडीयसएल सेवा, एनसेल सेवा, अप्टिकल फाइबर लगायत कान्तिपुर, दैनिक सामाचार पत्र, गोर्खापत्र संस्थान, नागरिक न्युज लगायतका पत्रिको पहँुचमा छ । स्वास्थ्य सेवाको चर्चा गर्दा एउटा मेडीकल कलेज, ३ वटा स्वास्थ्य चौकी, ४ वटा निजी अस्पताल तथा १ वा आर्युवेर्दिक औषधालय सहितको सेवा तथा सुविधा छ । विभिन्न सरकारी तथा गैरसरकारी संघ तथा संस्था रहेका छन् । जसमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको टोल पढाइ समुह, लक्षितवर्ग सञ्जाल, बालसञ्जाल, बाल क्लव, सामुदायिक वनउपभोक्ता समुह, आमा समुह, विभिन्न वचत समुह लगायत दारी ग्याङ जस्ता सङगठित छन् । जसले सामाजिक काम गरिरहेका छन् । नगरपालीकामा सुशासन, स्थानीय शासन, सामाजिक मेलमिलाप, न्याय सेवा पनि रहेका छन् । नेपाल रेडक्रस सोसाईटीको उपशाखाले विभिन्न आपत्त तथा विपत्तमा निकै सहयोगका साथ काम गरेको छ । विविन्न आकस्मिक एम्वुलेन्स सेवाहरु गरेर नगरपालीकामा विभिन्न संघ, संस्था तथा अस्पतालका गरेर करिव एकदर्जन जति रहेका छन् ।

शैक्षिक देष्टिकोणको चर्चा गर्दा नगरपालिकाभित्र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस छ । जो सरकारी क्याम्पस हो जहाँ ११ कक्षादेखि स्नातकोत्तर तहसम्म विभिन्न संकायको पठनपाठन हुँदै आएको छ । कोहलपुर मेडीकल कलेज जहां एम.वि.वि. एस को पठनपाठन हुन्छ । नरसिंह कलेज, न्यु वागेश्वरी एकेडेमी, डाईनामिक कलेज, कोहलपुर मोडेल कलेज, गोर्खा युनाईटेड कलेज जहां स्नातक तहको वनविज्ञानको पठनपाठन हुन्छ । ३० वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा ११ वटा माध्यमिक विद्यालय छन् । जसमा कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने ५ वटा विद्यालय छन् भने कक्षा १ देखि १० सम्म पढाई हुने ६ वटा रहेका छन् । ८१ वटा बालविकास केन्द्र रहेका छन् ।

कक्षा १ देखि ८ सम्म पढाई हुने ६ वटा आधारभुत विद्याालय छन् भने कक्षा १ देखि ५ सम्म पढाई हुने १३ वटा विद्यालय रहेका छन् । त्यसैगरेर सार्वजानिक गुठिबाट सञ्चालित २ वटा जसमा कोहपुर मा.वि. र नेपाल शशस्त्रप्रहरीबाट सञ्चालित एक विद्यालय । नीजी क्षेत्र बाट सञ्चालित प्ले ग्रुप देखि माध्यमिक विद्यालयसम्म गरेर ५६ वटा रहेका छन् । जसमा ५२ वटा नर्सरी देखि के.जी.सम्म, ५ वटा कक्षा २ सम्म, ३ वटा कक्षा ३ सम्म, १४ वटा कक्षा ५सम्म, १ वटा सात कक्षा सम्म, ३ वटा कक्षा ८ सम्म, २४ वटा कक्षा १० तथा ७ वटा कक्षा १२ सम्म पठनपाठन सम्म गरेर जम्मा १०९ विद्यालयहरु निजी क्षेत्रबाट सञ्चालनमा रहेको पाइन्छ । प्राविधिक शिक्षातर्फ लक्ष्मी सामुदायिकमा कृषि, त्रिभुवन मा.वि र ज्ञानज्योति मा.वि.मा सि.टी.ई.भि.टी. का १८ महिने तथा ३ वर्षे डिप्लोमाको पठनपाठन हुन्छ । अन्ने नीजि क्षेत्रबाट सञ्चालित प्राविधिक विद्यालहरु पन रहेकाछन् ।

निष्कर्षमा के छ भने कोहलपुर उदाउँदो वा विकसित सहरका रुपमा विकास हुदैँछ । यहाँका हरेक गतिविधिले देशकै लिडिङ गर्नुपर्ने देखिन्छ । विभिन्न ठाउँ तथा देश विदेशका मानिसहरुको बसोबास भएको यो ठाउँ छिमेकी मुलुक भारत, बंगालादेश, भुटान लगायतका विद्यार्थीको अध्ययन केन्द्र बन्दै गएको छ । यहाँ काम गर्ने स्थानीय प्रत्येक नागरिकको जिम्मेवारी के हो भने यो ठाउँको विकासमा लाग्ने हो । स्थानीय, प्रदेश तथा संघीय सरकारका प्रतिनिधिले यसको अझै विकास गर्नका लागि देशको नमुना तथा हरियाली सहरका रुपमा विकास गर्नमा लाग्नु पर्ने आवश्यकता छ । कोहलपुरमा क्रियासील विभिन्न राजनीतिक दलको सक्रियता पनि त्यतिकै आवश्यक छ । आम नागरिकले विभिन्न पाटीका नेता तथा कार्यकर्तालाई घचघच्याउने बेला आएको छ । आम नागरिक पनि यो कार्यमा होस्टेमा हैसे मिलाएर अगाडि बढ्ने तथा समग्रमा कोहलपुरलाई विकसित सहरमा परिणत गर्ने तथा कोहलपुलाई शैक्षिक हव बनाउने काममा आम सरोकारवालाहरु सदासयतासँग लागौं शुभकामना छ ।

प्रकाशित मितिः आइतवार, साउन १८, २०७७     8:00:52 PM  |