हट्यो सडकको तारबार, अदालतको फैसला अनुसार सडक निर्माण हुने



समीर अली बेहना । नेपालगन्ज (बाँके) ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर चोकदेखि पूर्व एबीसी स्कुल जाने बाटो लामो समयको विवादपछि अदालतको फैसला अनुसार निर्माण हुने भएको छ । २०७७ सालमा तत्कालीन वडाध्यक्ष सफीक बेहनाले ल्याएको बजेटमा निर्माण भएको अधुरो बाटोले पूर्णता पाउने भएको हो ।

डीएसपी रोडदेखि बसपार्क जाने बाटोको बीचबाट आरम्भ भएको बाटो एबीसी स्कुल हुँदै गणेशपुर चोकसम्म पुग्छ । वडाध्यक्ष सफीक बेहनाको कार्यकालमा स्थानीयहरूको बैठक बसी नालासहित आठ मिटर चौडाइ भएको बाटो बनाउने निर्णय भएको थियो । तर गणेशपुर चोकका तीन घरधुरीले घर भत्काउन सहमति नदिएर अदालतमा मुद्दा दायर गरेपछि बाटो निर्माण कार्य अवरुद्ध भएको थियो ।

नेपालगन्जका स्थानीय रामप्रसाद पटहर, मंगलप्रसाद पटहर र देवनारायण दासले उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा उपमहानगरपालिका र वडा नम्बर ४ लाई विपक्षी बनाई मुद्दा दर्ता गराएका थिए । उच्च अदालतले २०८१ असोज १६ मा उनीहरूको घर नभत्काउन फैसला सुनाएको थियो ।

कात्तिक २५ गते स्थानीय यज्ञबहादुर शाहीले बाटोमा तारबार गरी ध्यानाकर्षणसमेत गराएका थिए । उनले केही व्यक्तिहरूको मात्र संरचना भत्काइएको भन्दै आफूहरू अन्यायमा परेको र दुवैतर्फका संरचना भत्काएर बाटो बनाउनुपर्ने भन्दै सडकमै तारबार गरिदिएका थिए ।

यस विषयमा मिसन टुडेमा समाचार प्रकाशित भएपछि नेपालगन्ज उपमहानगरपालिकाले उनले लगाएको तारबार हटाएर अदालतको फैसलाअनुसार नै बाटो निर्माण अघि बढाएको हो ।

अब उक्त ठाउँमा एकातिर ढल निकास हुनेछ भने अर्काेतिर हुने छैन । वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले आफूले नालासहित बाटो निर्माणका लागि पहल गरे पनि अदालतको फैसलाअनुसार निर्माण कार्य अगाडि बढाउनुपरेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस ५ गते शुक्रबार