धर्म गौतम ।कोहलपुर।
कोहलपुर नगरपालिका–१२ मसुरीखेतमा रहेको ओमकारेश्वर शिव मन्दिरमा लघुरुद्री सञ्चालन हुने भएको छ । पाँच सय वर्षपछि माघ ८ गते विशेष साइतको दिन परेकाले सो दिन शिवको आराधनसहित लघुरुद्री र जलधारा गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम खरेलले बताए ।
सो दिन सामूहिक लघुरुद्री आयोजना गरिने र श्री रामजानकी मन्दिर राधाकृष्ण भागवत आश्रम चप्परगौढीका ब्रह्चारी वटुकहरूद्वारा सस्वर समवेत रूपमा रुद्राभिषेकको पाठ हुने आयोजकले जनाएको छ । कर्ताले छुट्टाछुट्टै पूजा गर्न चाहेमा त्यसको समेत व्यवस्था मिलाइएको अध्यक्ष खरेलले जानकारी दिए । त्यसका लागि कर्ताले बाल्टी, बाटा, कलश, लोटा, पाँच कटौरी, शंख, घण्टी, दुई थाल, दुना टपरी, चन्दन, अक्षता आदि सामग्रीको आफैँ व्यवस्था गर्नुपर्नेछ । अन्यथा सबैको साझा पूजा मूल मन्दिरमा हुने पण्डित हरिहरप्रसाद अर्यालले जानकारी दिए ।
कर्ता बस्ने व्यक्तिले लघुरुद्री गर्दा १ हजार १ सय शुल्क तिर्नुपर्नेछ । यसका साथै भेटी तीनदेखि चार सयसम्म रहने र सोभन्दा बढी दान गर्न चाहने भक्तजनले आफ्नो इच्छाअनुसार दिन सक्नेछन् । पाँच सय वर्षपछि आएको यो अवसरमा सहभागी भएर यस धार्मिक कार्यलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने मन्दिरका पूजारी लीलाराम शर्माले बताए ।
ओमकारेश्वर मन्दिरको भौतिक संरचना निर्माणका लागि मन्दिर व्यवस्थापन समितिको सक्रियतामा यसअघि २०७९ पुस २५ देखि ३ माघसम्म महायक्ष सञ्चालन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्