सुर्खेत ।
सुर्खेतमा घरभित्र निसास्सिएर दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–४ भैरबस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा, छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार सोही ठाउँका ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो ।
देवीसराका ९ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको डिएसपी विश्वकर्माले जानकारी दिए । घटना बुधबार रातिको भए पनि बिहीबार बिहान साढे ९ बजे मात्र प्रहरीलाई खबर पुगेको थियो ।
‘बेलुका खाना खाएर सुतेको देखिन्छ, बिहान अबेरसम्म घरबाट कोही ननिस्किएपछि प्रहरीलाई खबर आएको हो,’ डिएसपी विश्वकर्माले भने, ‘घरभित्र कोइला बालेको र धुवाँमा निसास्सिएको प्रारम्भिक रिपोर्ट छ ।’
तीनै जनालाई अस्पताल पु¥याइएको थियो । चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्