बसपार्कको काउन्टर छिर्ने ग्यालरीको भुइँमा गुट्खा खाएर थुकेको थुकले रातो भएको छ । गन्धले नाक छोप्नुपर्छ । त्यसैमाथि फोहोरको थुप्रो छ । त्यही फोहोरको डंगुर छेउमै ठड्याइएका छन्, झ्यालका पल्लाहरु । जुन पल्लाहरु काउन्टरकै झ्यालबाट निकालिएका हुन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
‘यो बसपार्कको टर्मिनल हो कि थुक्ने ठाउँ हो ?’ टिकट काट्न नेपालगन्ज बसपार्क पुगेका अछामका विकेक बोहराले नाक छोप्दै भने । बसपार्कको काउन्टर छिर्ने ग्यालरीको भुइँमा गुट्खा खाएर थुकेको थुकले रातो भएको छ । गन्धले नाक छोप्नुपर्छ । त्यसैमाथि फोहोरको थुप्रो
छ । त्यही फोहोरको डंगुर छेउमै ठड्याइएका छन्, झ्यालका पल्लाहरु । जुन पल्लाहरु काउन्टरकै झ्यालबाट निकालिएका हुन् । ती पल्लाहरु कसले निकालेको हो ? ‘खै कसले निकाल्यो थाहा छैन,’ काउन्टरमा बसेका सबै कर्मचारीको उस्तै जवाफ आउँछ ।
बसपार्कको चारैतिर प्लास्टिकजन्य र अन्य फोहोर असरल्ल देखिन्छ । ‘यो त हामीले दिनमा दुईपटक सफा गरेर केही कम भएको अवस्था हो । नगरपालिकाको गाडी हप्तामा एकपटक मात्रै फोहोर उठाउन आइदिन्छ । हामीले मात्रै के गर्ने ?,’ बसपार्कको व्यवस्थापनको जिम्मा लिएको शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सका कर्मचारी शेखर बोहराले उल्टै दुःखेसो पोखे ।
बसपार्क परिसरमा रहेका कतिपय बेञ्च भाँचिएका छन् । बसपार्कमा खटिएका यातायात संबद्ध कर्मचारी सिसी क्यामराले काम नगर्ने गरेको र सामान हराएपछि फेला नपर्ने गरेको गुनासो गर्छन् । काउन्टरमा बसेका कर्मचारी आफ्नो काउन्टरमा पनि व्यवस्थापन पक्षले आएर सफा गरिदिनुपर्ने तर्क गर्छन् ।
२०७६ साल आसोजबाट सञ्चालनमा आएको नेपालगन्ज बसपार्क दिनप्रतिदिन अव्यवस्थित बन्दै गएको छ । अहिले चाडबाडको बेला भएकाले आवतजावत बढ्ने र सेवाग्राहीहरुको चाप बढ्ने समय हो । तर, बसपार्कमा उचित सुरक्षाको प्रबन्ध पनि गरिएको देखिएन । बस व्यवसायीका कर्मचारी यात्रुलाई तानातान गर्ने गरेका छन् । ‘यात्रु चढाइदिएवापत कमिसन लिने व्यक्तिहरुले यात्रुहरुलाई तानातान गर्ने गरेका छन् । पुलिस त कहिलेकाहिँ देखिन्छ । भए पनि उसले केही गर्न सक्दैन,’ बसपार्कमा पसल सञ्चालन गरिरहेका एक पसलेले भने ।
यात्रुहरुको चाप बढेका बेला यात्रुहरु ठगिन सक्ने जोखिमलाई ध्यानमा राखेर सचेतनामूलक सन्देश निरन्तर प्रसारण गरिरहनुपर्नेमा त्यसको व्यवस्था पनि गरिएको छैन । बसपार्कको टर्मिनलमा राखिएका डिजिटल डिस्प्ले प्रयोगमा छैनन् ।
शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सका कर्मचारी बोहराका अनुसार ती डिस्प्लेहरु नेपाल टेलिकमले आफ्ना विज्ञापन मात्रै बज्ने गरी सेट गरेको छ । जसमा अन्य सन्देश प्रसारण गर्न मिल्दैन । बोहरा उपमहानगरपालिकाले आफूहरुलाई सहयोग नगर्दा बसपार्क व्यवस्थापन गर्न अप्ठ्यारो भइरहेको बताउँछन् । बसपार्कमा सञ्चालन गरिएको नागरिक सहायता कक्ष पनि प्रभावकारी देखिएको छैन ।
बोहराका अनुसार बसपार्कमा काउन्टर रहेका व्यवसायीहरुले मनलाग्दी गर्ने र आरोप आफूलाई लगाउने गरेको बताए । ‘उहाँहरुले काउन्टरमा थुकेर फोहोर गर्नुहुन्छ । झ्यालका पल्ला निकालेर सरकारी सम्पत्तिमा जथाभावी गर्नुहुन्छ । अनि हामीलाई व्यवस्थापन गरेन भनेर आरोप लगाउनुहुन्छ । उहाँहरुलाई सम्झाउन खोज्दा उल्टै हामीले हप्काई सहनुपर्छ,’ उनले भने, ‘उपमहानगरपालिकाले एकजना नगर प्रहरी राखेर र सुरक्षाकर्मीलाई खटाएर आफूहरुलाई सघाउनुपर्ने माग गरे पनि सुनुवाइ भएको छैन ।’
चार विगाहा १० कठ्ठा क्षेत्रफलमा फैलिएको बसपार्कमा एक सय २३ ठूला बस र ५६ साना बस राख्ने क्षमता छ । बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेना गृह, पक्की पार्किङ क्षेत्र निर्माण गरिएको छ ।
बसपार्कको प्रयोग गर्दैनन् व्यवसायी
बसपार्क निर्माण भइ सञ्चालनमा आएको तीन वर्षभन्दा बढी भइसकेको छ । तर, नेपालगन्जका सडकमै लामो तथा छोटो दुरीका सवारी साधन पार्क गरेर यात्रु चढाउने क्रम रोकिएको छैन । नगर बस त बसपार्क भित्रै प्रवेश गर्दैनन् । गुलरिया रुटमा चल्ने गाडीहरु पनि बसपार्क नपुगेर धम्बोझीबाटै यात्रु चढाउने गर्छन् ।
नगर बस व्यवसायीहरुले त उपमहानगरपालिकाले बसपार्कमा दिनमा एकपटक अनिवार्य इन्ट्री गराउनुपर्ने नियम पालना गराउन लागेको भन्दै केही दिनअघि विरोध प्रदर्शन नै गरेका थिए । सुविधा सम्पन्न टर्मिनलसहितको बसपार्कमा दसैंको मुखमा पनि उल्लेख्य यात्रुहरु पुगिरहेका छैनन् ।
अधिकांश मिनिबस, हायस, विंगरलगायतका साना गाडीहरु बसपार्कबाट खाली नै बाहिरिन्छन् । उनीहरु बसपार्क बाहिरको सडक र कारकाँदो तालिम केन्द्रअघि पार्किङ गरेर यात्रु चढाउँछन् । एक अर्थमा बसपार्कमा हुनुपर्ने सबै काम सडकमै हुन्छन् । जसका कारण सडकमा यात्रुहरुले टिकट नपाउने, ठगिने, आवतजावतमा कठिनाइ हुने गरेको छ भने सडक पनि गाडीहरुका कारण भत्किसकेको छ ।
बसपार्कबाट गाडी बाहिरी सकेपछि निश्चित स्थानमा पाँच मिनेट रोकेर यात्रु चढाउन र झार्नुपर्ने नियम रहेको ट्राफिक प्रहरी बताउँछ । तर, बसपार्कबाट बाहिरसकेका गाडीहरुले बाहिर सडकमा आएर अर्को पार्किङस्थल बनाउँछन् । यात्रुहरु सडकबाटै गाडीमा चढ्ने गरेपछि बसपार्क भित्र मासिक १२ हजार रुपैयाँ भाडा तिरेर पसल चलाइरहेका पसलेहरुसमेत व्यापार नभएर मर्कामा परिरहेका बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्