नेपालगन्ज ।
नेपालगन्जको चौलिका चोकमा एकजना नागरिकलाई सशस्त्र प्रहरीले संवेदनशिल अंगमा हानेर घाइते बनाएको घटनाका छानबिन गर्न सशस्त्र प्रहरीको हेडक्वार्टरले छानबिन समिति गठन गरेको छ ।
सशस्त्र प्रहरीको हेडक्वार्टरले सशस्त्र प्रहरीको नौबस्ता तालिम केन्द्रका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गंगाराम श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
गत मंसिर ३० गते आइतबार चौलिका चोकमा भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार छानबिन समितिलाई चार दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको छ ।
छानबिन समितिले दिएको प्रतिवेदनमा दोषी किटान भएका सबैलाई कारबाही गरिने उनले प्रतिबद्धता जनाए । डिआइजी न्यौपानेले मिसन टुडेसँग भने, ‘यो हाम्रो आन्तरिक छानबिन समिति हो । समितिले यदि दोषी ठहर्याउँछ भने हामी विभागीय कारबाही गछौँ । यसमा ढुक्क हुन आग्रह गर्दछु ।’
भन्सार नाकाहरूमा तस्करी नियन्त्रणका क्रममा प्रहरीलाई अवरोध हुने, सामानमा जबरजस्ती झम्टिने र लुछाचुडी हुने लगायतका घटनाहरू भइरहेको तर्फ पनि सम्बद्ध सबैले ध्यान दिनु आवश्यक रहेको उनले बताए ।
आइतबार भारतबाट घुम्ती पसलका लागि भारतीय बजार रूपैडिहाबाट किनेर ल्याएको एक हजार ६ सय ९० रूपैयाँको विभिन्न वस्तुहरू सशस्त्र प्रहरीको ३० नम्बर गणबाट खटिएका प्रहरीले बरामद गरेपछि नेपालगन्ज–१७ का नन्कु साहुले सामान फिर्ता माग्दा सशस्त्र प्रहरीसँग लुछाचुडी भएको थियो ।
लुछाचुडीका क्रममा साहुको संवेदनशील अंगमा सशस्त्र प्रहरीले प्रहार गर्दा उनी सडकमै ढलेका थिए । त्यसपछि उनलाई सशस्त्र प्रहरीले भेरी अस्पतालको इमरजेन्सी कक्षमा उपचार गरेको थियो । यस विषयमा मिसन टुडे दैनिकले विस्तृत समाचार प्रकाशित गरेको थियो । यही घटनामा सशस्त्र प्रहरीको हेडक्वार्टरले छानबिन समिति गठन गरेको हो ।









प्रतिक्रिया दिनुहोस्