भारतीय पक्षले रुपैडिहा–कोहलपुर रेल सञ्चालनका लागि लिकको रेखाकंनको काम सकेर लागत रकम, आवश्यक पर्ने भौतिक संरचना, रेल सेवाले छुने गाउँँ तथा बस्तीहरुको पहिचानलगायतका विषय टुंगो लगाएर प्रतिवेदन दिने बताएको थियो ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
भारतीय पक्षले रुपैडिहा–कोहलपुर रेल लाइन विस्तारको प्रगतिबारे नेपाल सरकारलाई आधिकारिक जानकारी नदिएकोे पाइएको छ । सन् २०११ मा नेपाल र भारत सरकारबीच पूर्व–पश्चिम राजमार्गमा पर्ने नेपालका ६ वटा सीमा नजिकका सहर जोड्ने गरी सम्झौता भएअनुसार सन् २० जुलाई २०१७ मा दुई देशीय सचिवस्तरीय बैठकले फाइनल लोकेशन सर्भे टोली गठन गरेको थियो ।
उक्त टोलीले २०१७ मा बाँके आएर लोकेशनको सर्वेक्षण पनि गरेर फर्केको थियो । तर उक्त सर्भेक्षणको प्रतिवेदन अहिलेसम्म भारतीय पक्षले नेपाली पक्षलाई बुझाएको छैन । नेपालको रेल विभागका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले स्थलगत सर्वेक्षणबाहेक अन्य कुनै काम अघि बढेको जानकारी नभएको बताए ।
२०१७ मा भएको उक्त सर्वेक्षणको प्रतिवेदन रेल विभागले प्राप्त नगरेको उनले बताए । ‘यो योजना भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने हो । त्यस कारण सबै काममा उताबाटै अग्रसरता हुनुपर्छ । तर अहिलेसम्म भएको प्रगतिबारे आधिकारिक जानकारी हामीकहाँ केही पनि आएको छैन,’ उनले भने ।
भारतसँग सन् २०११ मा भएको सम्झौताअनुसार जयनगरदेखि जनकपुरसम्म रेलसेवा सञ्चालनमा आइसकेको छ भने जोगबनीदेखि विराटनगरसम्मको रेल लाइन विस्तारको काम भइरहेको छ । तर, रुपैडिहा–कोहलपुरसहित झापाको जलपाइगुरी–काकरभिट्टा, रक्सौल वीरगन्ज, नौतन्वा–भैरहवासम्म रेल विस्तारको काम भने सुरु हुन नसकेको चित्रकारको भनाइ छ ।
रुपैडिहादेखि कोहलपुरसम्म रेल सञ्चालनका लागि रेल लिक बिछ्याउने स्थानको पनि टुंगो लागिसकेको उक्त काममा सहजीकरण गर्दाका साक्षी नेपाली अधिकारीहरु बताउँछन् । तर त्यसको आधिकारिक जानकारी नेपाली पक्षले पाउन सकेको छैन । भारतीय पक्षले रुपैडिहा–कोहलपुर रेल सञ्चालनका लागि लिकको रेखाकंनको काम सकेर लागत रकम, आवश्यक पर्ने भौतिक संरचना, रेल सेवाले छुने गाउँँ तथा बस्तीहरुको पहिचानलगायतका विषय टुंगो लगाएर प्रतिवेदन दिने बताएको थियो ।
उक्त रेलमागको लम्बाई साढे १८ किलोमिटर हुने अनुमान गरिएको छ । सुरुमा नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा, पुरैना, राँझा हुँदै रेल सेवा सञ्चालन गरिने बताइएको थियो । राँझा विमानस्थल नजिकैबाट पश्चिमतर्फ रेलको लिक डाइभर्सन गरेर सुर्खेत रोडको समानान्तर हुनेगरी बस्तीमा नपर्नेगरी रेलसेवा विस्तार गर्ने विषय टुंगो लागेको बताइएको थियो । तर भारतले नेपालगन्जको जयसपुरमा एकीकृत सुरक्षा जा“च चौकी निमार्णको काम सुरु गरेपछि पश्चिम क्षेत्रबाट रेल सञ्चालन गर्दा उपयुक्त हुने राय पनि दिइएको स्रोत बताउँछ ।
भारतीय सर्वे टोलीले कुन रुटलाई अन्तिम रुप दिएको छ र कहिलेदेखि निर्माण सुरु हुन्छ भन्ने बारेमा दुई देशीय अधिकारीहरुको भेटघाटमा प्रमुखताका साथ कुरा उठ्ने गरेको रेल विभागाका प्रवक्ता चित्रकार बताउँछन् । ‘यस विषयमा दुईदेशीय भेटघाटमा निरन्तर कुरा उठिराख्छ । तर ठ्याक्कै के भइरहेको छ भन्ने कुरा आधिकारिक रुपले नआइकन भन्न सकिएन,’ चित्रकारले भने ।
१५ नोभेम्बर २०२२ मा भारतीय अखबार अमर उजलामा यससम्बन्धि समाचार प्रकाशित छ । उक्त समाचारमा भारतको रुपैडिहादेखि नेपालको कोहलपुरसम्म छिट्टै रेलमार्ग विस्तार गरिने उल्लेख छ । रुपैडिहा– कोहलपुर रेलमार्गको १८ किलोमिटर विस्तार गरिने उक्त समाचारमा जनाइएको छ । भारतीय केन्द्र सरकारद्वारा आर्थिक लगानी गरिने ‘इण्डो–नेपालमैत्री रेल परियोजना’को काम तीन चरणमा हुने उक्त समाचारमा भनिएको छ । कोहलपुर नेपालगन्ज रेल आयोजनाको कुल लम्बाइ ७८ किलोमिटर छ ।
जसमध्ये ६० किलोमिटर भारतमा र बाँकी नेपालमा पर्छ । जसअनुसार पहिलो चरणमा बहराइचदेखि रुपैडिहासम्म ६० किलोमिटर ब्रोडगेज रेल खण्ड निर्माण भएपछि यस रुटमा यात्रुबाहक रेल सेवा पुनः सञ्चालनमा आउनेछ । दोस्रो चरणमा रुपैडिहादेखि नेपालगन्जसम्म ६ किलोमिटर विस्तार गरी तेस्रो र अन्तिम चरणमा नेपालगन्जदेखि कोहलपुरसम्म १२ किलोमिटर रेल लाइन बिछ्याउने काम हुने रेल विभागका मण्डलीय अधिकक्ष आदित्य कुमारलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
भारतको यस योजनाको उद्देश्य नेपालको सबैभन्दा ठूलो र महŒवपूर्ण पूर्व–पश्चिम राजमार्ग एवम् बन्न लागेका पूर्व–पश्चिम रेलमार्गसँग भारतीय रेललाई जोड्ने रहेको पाइएको छ ।