कोहलपुर नगरपालिकाका ‘गेम चेन्जर प्रोजेक्ट’: केही प्रक्रियामा, अधिकांश अधुरै



शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर नगरपालिकाका रुपान्तरणकारी योजना ‘गेम चेन्जर प्रोजेक्ट’ दर्जनभन्दा बढी छन् । वार्षिक तथा बहुवर्षीय योजनाका रुपमा ती आयोजनालाई नगरपालिकाले गौरवका आयोजनाका रुपमा परिभाषित गरेको छ । स्थानीय सरकारको लगानी, प्रदेश तथा संघीय सरकारको समेत सहयोगमा निर्माण गर्ने गरी नगरपालिकाले ती योजनालाई ‘गेम चेन्जर प्रोजेक्ट’ का रुपमा अघि सारेको हो ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत आएका जनप्रतिनिधिको कार्यकालको अन्तिमसम्म आउँदा पनि कतिपय योजना डिपीआरमै सीमित छन् भने केही योजना भने निर्माण गरी सम्पन्न हुने चरणमा छन् ।

कूल १४ वटा ‘गेम चेन्जर प्रोजेक्ट’ मध्ये केही योजनाको काम सम्पन्न हुने चरणमा रहेको नगरपालिकाले जनाएको छ । अधिकांश योजना भने कार्यकालको अन्तिमतिर आउँदासमेत सुरुवात हुन सकेका छैनन् ।


नगरपालिकाका अधिकांश गौरवका आयोजनाले डिपीआर सम्पन्न भए पनि बजेट अभावमा गति लिन नसकेको पाइएको छ । नगरपालिकाले केही योजना सम्पन्न हुने चरणमा रहेको केही योजना विभिन्न कारणले सुरु हुन नसकेको जनाएको छ । कोहलपुर १४ ‘गेम चेन्जर प्रोजेक्ट’ मध्ये एक हो, चप्परगौडी–घुईंयाँबारी अन्तर प्रदेश सडक । यो सडकले कोहलपुर–१२ देखि सल्यानको घुईंयाँबारीसम्म जोड्छ । यसको निर्माणलाई कोहलपुर नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको छ ।

निर्माणको लागि चालू आर्थिक वर्षमा तीन करोड रुपैयाँ निकासा भइसकेको नगरपालिकाले जनाएको छ । यसको निर्माण कार्य भने सुरुवात भइसकेको छैन । यस्तै ‘एक वडा एक कालापत्रे सडक’ कार्यक्रम छ । वडा नम्बर ८, ९, १, २, ३ सहित करिब ८ वडामा ९० प्रतिशत काम सम्पन्न भएको छ । अन्य वडामा समेत काम भइरहेको छ । यसैगरि कोहलपुर नगरपालिकाले सबै वडाका वडा भवन निर्माण गर्ने योजना अघि सारेको थियो । उक्त योजनाअन्तर्गत १५ वटै वडामा निर्माण कार्य सम्पन्न भइसकेको छ ।

ती भवन निर्माणका लागि ४५ देखि ७० लाखसम्म रुपैयाँ खर्च भएको छ । वडा नम्बर ६ बाहेक सबै वडा कार्यालय टेन्डर प्रक्रियामार्फत निर्माण गरिएको हो । वडा नम्बर ६ मा उपभोक्ता समितिमार्फत कार्यालय निर्माण गरिएको हो । कोहलपुरका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रमार्फत सेवा सञ्चालन भइरहेको छ ।


कोहलपुरको मुटुमै आधानिक भ्यू टावरसहितको घण्टाघरको ८० प्रतिशत भौतिक प्रगति भएको छ । अब सिसा लगाउने रंगरोगन र लिप्ट राख्नेबाहेक ३० प्रतिशत काम सम्पन्न हुन बाँकी छ । अहिलेका जनप्रतिनिधिको कार्यकाल भित्रै उद्घाटनको तयारी भइरहेको कोहलपुरका प्रमुख लुटबहादुर रावत बताउँछन् ।

पाँच करोड ८५ लाख रुपैयाँको लागतमा टेन्डर प्रक्रियामार्फत घण्टाघर निर्माण गरिँदैछ । यसैगरि चौराहाको दक्षिणमा पाँच बिगाहा जग्गामा आधुनिक लामो दुरीको बसपार्क निर्माणाधीन छ । यसको ६० प्रतिशत भौतिक प्रगति भइसकेको कार्यपालिका सदस्य दिलबहादुर परियार बताउँछन् । असार मसान्तसम्म निर्माण सम्पन्न हुने उनले बताए । यसको कूल लागत २७ करोड ८५ लाख रुपैयाँ लागत छ । बसपार्क निर्माणका लागि नगर विकास समिति ६० र नगरपालिकाले ४० प्रतिशत लगानी गरेका छन् ।

यसैगरि १५ शैड्ढयाको आधारभूत अस्पतालको पहिलो तल निर्माण सम्पन्न भइसकेको छ । अस्पताल निर्माणको ४० प्रतिशत भौतिक प्रगति भएको परियारको भनाइ छ । यसको कूल लागत १५ करोड छ । त्यसमध्ये अन्तर्राष्ट्रिय क्रिकेट मैदान पनि गौरवको आयोजनाको रुपमा छ । नगरपालिकाले अहिलेसम्म एक करोड लगानी गरे पनि निर्माण कार्य भने सुरुवात हुन सकेको छैन ।

कोहलपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजकसमेत रहेका परियार यो आयोजना संघीय सरकारले बजेट व्यवस्थापन गरे मात्रै निर्माण सम्भव भएको बताउँछन् । यो आयोजना अहिले अलपत्र अवस्थामा छ । क्रिकेट मैदान निर्माणका लागि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माणको शिलान्यास गरेका थिए ।

तर निर्माणको काम अहिलेसम्म सुरु हुन सकेको छैन । एकेडेमी निर्माणको लागि एक अर्ब २२ करोड लाग्ने अनुमान छ । यसअघि नगरपालिकाले क्रिकेट मैदानको निर्माणको लागि १६ करोड लागतमा डिपीआर तयार गरिसकेको भए पनि निर्माण कार्यले गति लिन सकेको छैन ।


२५ शैड्ढयाको बाल अस्पतालको ढेड बिगाहा जग्गामा पर्खाल लगाउने गार्डरुपमा बनाउनेबाहेक अन्य काम हुन सकेको छैन । रकम अभावका कारण निर्माण कार्य नभएको परियारले बताए । अस्पताल निर्माण सुरु नहुँदै नगरपालिकाले एक करोड रुपैयाँ खर्च गरिसकेको छ ।

२१ करोडको डिपीआर तयार भइसकेको छ । ‘यो नगरले मात्रै निर्माण गराउन सक्दैन । प्रदेश र संघमा बजेट माग गरिएको छ । त्यहाँबाट ठूलो बजेट आयो भने मात्रै निर्माण सम्भव देखिन्छ,’ उनले भने । कोहलपुर नगरपालिकाको आफ्नै स्रोतसाधनबाट निर्माण गर्न असम्भव भएको परियारले बताए ।

यस्तै प्रदेश सरकार र बाँकेका आठ पालिकाको सहलगानीमा कोहलपुरमा आधुनिक बधशाला निर्माण गर्ने योजना थियो । २१ करोडमा टेन्डरसमेत भइसके पनि सम्झौता हुने चरणमा ठेकेदार कम्पनीहरुको विवादका कारण काम सुरुवात हुन सकेको छैन । सर्वोच्च अदालतमा यसको मुद्दा विचाराधीन छ । बर्सेनि कोहलपुरमा हुने जनधनको क्षति कम गर्न डुडुवा करिडोरको परिकल्पना गरिएको छ ।

कोहलपुर–१२ र १३ को मसुरीखेलदेखि वडा नम्बर ७ को रझगढुवासम्म दुवैतर्फ तटबन्धन गर्ने र नहर बनाउने योजना अघि बढाएको उनले बताए । कोहलपुरका न्यूरोड, साझाचोक र त्रिभुवन नमुना मावि नजिकै आकाशे पुल निर्माणको लागि डिपीआर तयार भए पनि निर्माण कार्य सुरु हुन सकेको छैन । यसअघि लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकारले न्यूरोडमा आकाशे पुल निर्माणको लागि एक करोड ९७ लाख बजेट विनियोजन गरेको भए पनि सरकार परिवर्तन हुँदा अहिलेसम्म प्रक्रिया अघि नबढेको उनको भनाइ छ ।

यसैगरि विद्युतीय शवदाह गृह निर्माणको लागि भन्दै १० करोड लागतमा डिपीआर तयार भएको छ । तत्काल नगरपालिकासँग ठूलो मात्रामा बजेट लगानी गर्न सक्ने अवस्था नभएका कारण निर्माण कार्य सुरु हुन सकेको छैन । जग्गा घेरबार भइसक्दा पनि रकम अभावका कारण प्रक्रिया नै सुरु गर्न नसकिएको उनले बताए । तर बजेट नभएका कारण निर्माण कार्य सुरु भएको छैन । यसको विकल्पमा कोहलपुर–१२ र १३ मा परम्परागत शैलीमा शवदाह गृह निर्माणको गृहकार्य भइरहेको बताइएको छ ।

असफल पनि भएका छैनौँ
लुटबहादुर रावत
प्रमुख, कोहलपुर नगरपालिका
हाम्रो कार्यकाल पूर्ण सफल भयो भनेर घमण्ड गर्दैनौं । पूर्ण असफल भयौं भनेर पनि भन्न मिल्दैन । किन भने हाम्रो कार्यकालमा कोहलपुरमा थुप्रै राम्रा काम सुरुवात भएको छ । नगरपालिकाले दर्जन बढी गौरवका आयोजना निर्माण कार्य सुरु भएको छ । केही सम्पन्न हुने चरणमा छन् । केही आयोजनाको निर्माणको चरणमा छन् । बसपार्कको आधा काम सकिएको छ । भ्यूटावर अन्तिम चरणमा पुगेको छ ।


खेलकुद विकासका लागि संरचना तयार भएको छ । शिक्षा क्षेत्रको विकासका लागि महŒवपूर्ण काम भएका छन् । सम्पूर्ण वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको छ ।

१५ वटै वडामा स्वास्थ्य चौकी निर्माण भएका छन् । वडा कार्यालय आफ्नै पक्की भवनमा सेवा दिने चरणमा पुगेका छौँ । हामीले निर्माण गरेको ती आयोजनाबाट रोजगारीको सिर्जना भएको हुने भएको छ । निर्माण सम्पन्न भएमा नगरवासीले रोजगारी पाउने छन् । संघीयतालाई सवल बनाउन, स्थानीय सरकार सञ्चालन र विकासको आधार तयार भएको छ । पाँच वर्षको अवधिमा हामीले विविध पक्षमा लगानी गरेका छौँ । यसको प्रतिफल आगामी दिनमा नगरवासीले प्रत्यक्षरुपमा महसुस गर्ने मेरो विश्वास छ ।

ढल, फोहोरमैला तथा दिशाजन्य पदार्थ प्रशोधनका लागि डिपीआर तयार भए पनि ठूलो धनराशी खर्च हुने भएकोले निर्माण कार्य सुरु हुन नसकेको उनले बताए । यस्तै कोहलपुरको फोहोर व्यवस्थापन व्यवस्थापन प्रमुख चुनौतीका रुपमा छ । यसको सही व्यवस्थापनमा नगरपालिका असफल देखिएको छ ।

कोहलपुर नगरपालिकाले सुरुवातदेखि नै छाडापशु चौपाया व्यवस्थापनमा करोडाँै लगानी गरे पनि व्यवस्थापन हुन सकेको छैन । त्यस कारण कोहलपुरमा दुर्घटनाको उच्च जोखिम छ । उनी भन्छन्, ‘यसका लागि सुरुदेखि काम गरिरहेका छौँ । विभिन्न जटिलताका कारण सही व्यवस्थापन हुन सकेको छैन । पशु चौपाया छाडा छोडिने प्रवृत्ति रोक्न नै सकिएको छैन ।’ ५३ करोडको डिपीआर बनेको सिटी हाल निर्माणको काम पनि हुन सकेको छैन ।

‘नीति विधि बनेका छन् । सरकारको रुपमा सञ्चालन गर्न सयौँ कानुन निर्माण गरिएको छ । पालिका र वडा आफ्नै भवन निर्माण भइसकेको छ । दरबन्दी व्यवस्थापन भएको छ । सीमान्तकृत समुदायको पक्की घर निर्माण गरिएको छ । दिगो विकास लक्ष्य प्राप्तिका थुप्रै सूचक हामी पूरा गरेका छौँ,’ कार्यपालिका सदस्य परियारले भने ।

जनप्रतिनिधि आएको महसुस छैन
मैसरी बस्नेत
स्थानीय, कोहलपुर
जनप्रतिनिधिले जनताको पक्षमा काम गरेको जस्तो लाग्दैन । नगरपालिकामा अहिले पनि फोहोर व्यवस्थापन हुन सकेको छैन । छाडा पशुचौपाया व्यवस्थापन हुन सकेको छैन । जनप्रतिनिधि आफ्नो पार्टीको काममा व्यस्त हुन्छ । जनताको लागि खास्सै परिवर्तन आएको छैन ।

हामी व्यवसाय गर्नेलाई समेत नगरपालिकाले बेलाबेलामा दुःख दिँदै आइरहेको छ । जताततै फोहोरै फोहोर रुपैयाँ उठाएकै छन् । चुनावको बेला तपाईंहरुको लागि काम गर्छौं भन्छन् ।

जितेर गएपछि एकदिन पनि फर्केका छैनन् । कर लिएका छन् । हामीलाई महँगीले सताएको छ । कोभिड–१९ (कोरोना भाइरस) ले हामी मार प¥यो । स्थानीय सरकारले हेरेन । नेतालाई के हुनु, दुःख पाउने जनता नै त हुन् ।

 

 

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ३ गते बिहीबार