चौथो कोहलपुर गोल्डकप सुरु



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा चौथो कोहलपुर गोल्डकप–२०८३ सुरु भएको छ । कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा चौथो कोहलपुर गोल्डकप–२०८३ सुरु भएको हो । कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा सञ्चालन भएको प्रतियोगिताको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले शान्तिका प्रतीक एकजोडी परेवा उडाएर उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख आचार्यले चार वर्षदेखि सञ्चालन हुँदै आएको कोहलपुर गोल्डकप कोहलपुरको पहिचान बनेको बताए । उनका अनुसार गोल्डकपले खेलकुदका माध्यमबाट कोहलपुरलाई विश्वभर चिनाउन भूमिका खेलेको हो । ‘स्थानीय सरकारले खेलकुद विकासलाई प्राथमिकता दिएको छ ।

खेलकुदका हरेक विधामा लगानी गरेको छ । नीति तथा कार्यक्रममै खेलकुद विकासको लागि व्यवस्था गरिएको छ,’ उनले भने । गोल्डकप सञ्चालन गर्दा सुरुवाती चरणमा चुनौती सामना गरे पनि पछिल्ला वर्षहरूमा गोल्डकपमा सबैको अपनत्व बढ्दै गएको उनको भनाइ थियो । कोहलपुरलाई खेलकुद सिटीका रूपमा विकास गर्ने उद्देश्यसहित पूर्वाधार निर्माणअघि बढाइएको नगरप्रमुख आचार्यले बताए ।

कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले कोहलपुरमा ग्रासरुट फुटबल, वडा गोल्डकपदेखि नगरस्तरीय हुँदै राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताइन् । उनले भनिन्, ‘हामी निर्वाचित भएर आएदेखि खेलकुदमा ठूलो लगानी गर्दै आएका छौँ । जिल्लास्तरीय मेयर तथा राष्ट्रपति रनिङ शिल्डमा कोहलपुर उत्कृष्ट हुँदै आएको छ । स्थानीय सरकारको लागि यो गौरवको विषय हो ।’

कोहलपुरमा सञ्चालन हुने गोल्डकपलाई सबैले अपनत्व लिनु मुख्य उपलब्धिका रूपमा रहेको उनले बताइन् । चौथो कोहलपुर गोल्डकप–२०८३ को उद्घाटनमा स्वागत मन्तव्य राख्दै संयोजक कर्ण बस्नेतले कोहलपुर गोल्डकपलाई सफल बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताए । उनका अनुसार चौथो संस्करणसम्म आइपुग्दा नगर तथा जिल्लास्थित सरोकारवाला, निजी क्षेत्र, व्यवसायी तथा अन्य पक्षको समेत विशेष भूमिका छ ।

‘गोल्डकपमार्फत स्थानीय खेलाडीले प्रतिभा प्रस्तुत गर्ने अवसर पाएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले खेल्ने थलो बनेको छ । प्रतियोगितालाई अझै परिस्कृत रूपमा सञ्चालन गर्ने योजना छ,’ संयोजक बस्नेतले भने ।सोही कार्यक्रममा यसिअघिका गोल्डकप संस्करणहरू सफल पार्नका लागि पत्रकारितका माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकारद्वय रुपा गहतराज र संगीन शर्मालाई जनही १० हजार रूपैयाँसहित सम्मान गरिएको थियो ।

आयोजक रेसिङ साहाराको विजयी सुरुवात

शनिबारदेखि बाँकेको कोहलपुरमा सुरु भएको चौथो कोहलपुर गोल्डकप–२०८३ को पहिलो खेलमा आयोजक रेसिङ साहारा क्लब विजयी भएको छ । शनिबार भएको उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लबले २–१ गोलको अन्तरले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई हराएको हो ।

प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ साहारा क्लबले पहिलो हाफमा दुई गोल गरेको थियो । क्लबका लागि पहिलो गोल जर्सी नम्बर १५ का विदेशी खेलाडी पेपेले पहिलो गोल गरे । पेपेले पहिलो हाफको २३ मिनेट ४३ सेकेन्डमा अद्धुल टि रुरोकीको कर्नर किकको सहायताबाट उत्कृष्ट हेडर गोल गरेका थिए ।

यस्तै क्लबका लागि ४३ मिनेट १० सेकेन्डमा जर्सी नम्बर ११ का फागुराम चौधरीले दोस्रो गोल गरेका थिए । पहिलो हाफमा केही अवसरहरू पाए पनि पञ्चकोशी युवा क्लब सुदूरपश्चिमले गोल गर्न सफल भएन । त्यस्तै दोस्रो हाफमा भने खेल निकै रोमाञ्चक बन्यो । दोस्रो हाफमा फरक रणनीतिका साथ मैदान उत्रिएको पञ्चकोशीले साहारा क्लबलाई दबाबमा राख्यो । फलस्वरुप पञ्चकोशीले खेलको ८७ मिनेट ५२ सेकेन्डमा जर्सी नम्बर ३० का खेलाडी नुसाहारा उप्रेतीले जवाफी एक गोल गरे ।

‘म्यान अफ द म्याच’ रेसिङ साहारा क्लबका जर्सी नम्बर १५ का पेपे घोषित भए । उनले नगद पाँच हजार रूपैयाँ प्राप्त गरेको आयोजक कोहलपुर रेसिङ साहारा क्लबका संयोजक कर्ण बस्नेतले बताए । म्यान अफ दी म्याच पेपेलाई सामाजिक डिभिजन कार्यालय बाँकेका प्रमुख ऋषि शर्मा, गोरखा युनाइटेड पब्लिक स्कुलका संस्थापक अध्यक्ष र स्पोटिङ ११ नेपालगन्जका अध्यक्ष धनश्याम रानाले संयुक्त रूपमा ट्रफी, मेडल र नगद हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा आयोजक रेसिङ सहारा क्लब (कोहलपुर, बाँके), पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब सहभागी रहेका छन् ।

प्रतियोगिताको दोस्रो दिन आइतबार (आज) जस्ट जोन एफसी नाइजेरिया र रोयल फुटबल क्लब कर्णाली प्रदेशबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले चार लाख रूपैयाँको नगर पुरस्कार प्राप्त गर्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २० गते आइतबार