दुई पटकका विश्वकप विजेता मोइन अली जनकपुर बोल्ट्समा अनुबन्धित



काठमाडौँ ।

जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्वअन्तर्राष्ट्रिय अलराउन्डर तथा दुई पटकका विश्वकप विजेता मोइन अलीलाई नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ । अली यस सिजनका लागि बोल्ट्समा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन् । यसअघि बोल्ट्सले कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ ।

बायाँहाते ब्याटर र अफस्पिन बलर मोइन इंग्ल्यान्ड क्रिकेटको सफल युगका प्रमुख खेलाडी थिए । उनी सन् २०१९ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप जित्ने इंग्ल्यान्ड टोलीका सदस्य थिए ।
सन् २०२२ मा अस्ट्रेलियामा भएको टी २० विश्वकपमा उपाधि जित्दा उनी इंग्ल्यान्डका उपकप्तान थिए । तीनै ढाँचामा इंग्ल्यान्डको प्रतिनिधित्व गरेका मोइन टेस्ट क्रिकेटमा ३ हजारभन्दा बढी रन र २ सयभन्दा बढी विकेट लिने थोरै अंग्रेज खेलाडीमध्ये पर्छन् ।

उनले टी २० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डको कप्तानी पनि गरिसकेका छन् । सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका मोइन विश्वका प्रमुख फ्रेन्चाइज लिगमा निरन्तर सक्रिय छन् । इन्डियन प्रिमियर लिगमा उनले चेन्नई सुपर किंग्सबाट खेल्दै सन् २०२१ र २०२३ मा उपाधि जितेका थिए । अलीले नेपाली क्रिकेटको माहोल आफैँ अनुभव गर्न आतुर रहेको बताए । ‘नेपाली क्रिकेट समर्थकहरूको अपार जोश र आफ्नो टोलीलाई समर्थन गर्न जहाँसुकै पुग्ने उनीहरूको समर्पण मैले देखेको छु ।

अब त्यो अद्भुत माहोल आफैँ अनुभव गर्न आतुर छु । बोल्ट्सका लागि यो सिजन रोमाञ्चक रहने अपेक्षा छ । म मैदानमा टोलीका लागि आफ्नो शतप्रतिशत दिन तयार छु,’ उनले भने । जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मधेशका क्रिकेट प्रेमीलाई अलीको अनुबन्धन एक उपहार रहेको बताए । ‘लीको आगमन नेपाली क्रिकेट र एनपीएलको बढ्दो विश्वव्यापी पहिचानको प्रमाण हो । यो अनुबन्ध हाम्रा समर्थक र आफ्नो टोलीलाई मुटुभन्दा प्यारो मान्ने मधेशका जनताप्रति समर्पित छ । तपाईँहरूको माया र विश्वासका लागि यो हाम्रो उपहार हो । यसपटक जनकपुरको गर्जन अझ ठूलो हुनेछ,’ उनले भने ।

शुभम रांजणे विराटनगर किंग्समा पुनः अनुबन्ध

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले भारतीय मूलका अमेरिकी अन्तर्राष्ट्रिय क्रिकेटर शुभम रांजणेलाई टोलीमा पुनः अनुबन्ध गरेको छ । रांजणेले एनपीएलको दोस्रो संस्करणमा विराटनगर किंग्सबाट प्रभावशाली प्रदर्शन गरेका थिए । उनले चार खेलमा ८७ रन बनाउँदै टोलीको ब्याटिङमा महत्वपूर्ण योगदान दिएका थिए । उनको ब्याटिङ औसत २९.०० तथा स्ट्राइक रेट १२९.८५ रहेको थियो । प्रतियोगिताका क्रममा उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए ।

ब्याटिङसँगै बलिङमा समेत योगदान दिएका रांजणेले दोस्रो सिजनमा १० ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए । उनको यही बहुआयामिक क्षमताका कारण विराटनगर किंग्सले सिजन–३ का लागि उनलाई पुनः टोलीमा समावेश गरेको हो । विराटनगर किंग्स व्यवस्थापनले रांजणेको अनुभव, क्षमता र दबाबको अवस्थामा प्रदर्शन गर्न सक्ने क्षमतालाई टोलीका लागि महत्वपूर्ण पक्षका रूपमा लिएको जनाएको छ । टोली व्यवस्थापनका अनुसार रांजणेले आवश्यकताअनुसार ब्याटिङ र बलिङ दुवैमा भूमिका निर्वाह गर्न सक्ने भएकाले उनको उपस्थितिले टोलीलाई थप मजबुत बनाउनेछ ।

टोलीमा पुनः आबद्ध भएपछि रांजणेले पनि खुसी व्यक्त गर्दै आगामी सिजनमा अझ प्रभावकारी प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले एनपीएल नेपाली तथा विदेशी खेलाडीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च बनेको उल्लेख गर्दै विराटनगर किंग्सले आफूमाथि देखाएको विश्वासप्रति आभार व्यक्त गरे । नेपालमा क्रिकेटप्रतिको बढ्दो क्रेज र समर्थकहरूको उत्साहले आफू प्रभावित भएको पनि उनले बताए ।

रांजणेले घरेलु, अन्तर्राष्ट्रिय तथा विभिन्न फ्रेन्चाइज प्रतियोगितामा लामो अनुभव बटुलेका छन् । उनले आफ्नो करियरमा मुम्बई, महाराष्ट्र, गोवा, राजस्थान रोयल्स, सियाटल ओर्कास, टेक्सास सुपर किंग्स, जोबर्ग सुपर किंग्स, शारजाह वारियर्स तथा ढाका क्यापिटल्सलगायत टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । क्रिकेट पृष्ठभूमि भएको परिवारबाट आएका रांजणे भारतका पूर्वक्रिकेटर वसन्त रांजणेका नाति तथा महाराष्ट्र र भारत यू–१९ बाट खेलिसकेका सुभाष रांजणेका छोरा हुन् । ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने क्षमता, अन्तर्राष्ट्रिय अनुभव तथा विभिन्न फ्रेन्चाइज प्रतियोगितामा खेलेको अनुभवका कारण रांजणे एनपीएल सिजन–३ मा विराटनगर किंग्सका महत्वपूर्ण खेलाडीका रूपमा रहने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार