सम्पादकीयः आफ्नो क्षमताअनुसार पर्व मनाऔँ



दसैँ नेपाली समाजको सबैभन्दा ठूलो सांस्कृतिक तथा पारिवारिक पर्व हो । यो पर्वले परिवारका सदस्यलाई एकै ठाउँमा जुटाउने, आफन्तबीच आत्मीयता बढाउने, ठूलाबाट आशीर्वाद लिने र सानालाई माया बाँड्ने अवसर प्रदान गर्छ । वर्षभरि काम, रोजगारी र अध्ययनका सिलसिलामा घरपरिवारबाट टाढा रहेका सदस्यसमेत दसैँमा आफ्नो जन्मथलो फर्कने भएकाले यसको सामाजिक र भावनात्मक महत्त्व अझ विशेष छ । तर, पर्वको खुसीसँगै पछिल्लो समय बढ्दै गएको अनावश्यक खर्च, देखासिकी र आर्थिक प्रतिस्पर्धाले दसैँ मनाउने शैलीलाई चुनौती दिइरहेको छ । आफ्नो आर्थिक अवस्थाभन्दा माथि उठेर खर्च गर्ने प्रवृत्तिले पर्वको वास्तविक आनन्दलाई बोझमा परिणत गर्न थालेको छ । ‘घाँटी हेरी हाड निल्नु’ नेपाली समाजमा प्रचलित उखान हो । यसको आशय आफ्नो क्षमता, अवस्था र हैसियतअनुसार व्यवहार गर्नु भन्ने हो । दसैँजस्तो महत्त्वपूर्ण पर्व मनाउँदा यो उखान झनै सान्दर्भिक हुन्छ । पर्व मनाउने नाममा ऋणको भारी बोक्नु, अरूको देखासिकीमा अनावश्यक सामग्री खरिद गर्नु र आफ्नो आम्दानीले धान्न नसक्ने खर्च गर्नु बुद्धिमानी होइन । पर्वको खुसी आर्थिक सम्पन्नतासँग मात्र जोडिएको हुँदैन । परिवारसँग बिताएको समय, आपसी सद्भाव, प्रेम र आत्मीयता नै दसैँका वास्तविक सम्पत्ति हुन् । दसैँ नजिकिएसँगै बजारमा किनमेलको चहलपहल बढ्छ । नयाँ लुगा, गरगहना, घरायसी सामग्री, मिठाइ र खाद्यान्न खरिद गर्ने क्रम तीव्र हुन्छ । घर फर्किने यात्रुको चाप बढ्छ भने गाउँघरमा समेत पर्वको तयारीले उत्साह थप्छ ।

व्यापार व्यवसायका दृष्टिले यो समय आर्थिक गतिविधि बढ्ने अवसर पनि हो । तर, यही समयमा उपभोग र खर्चको दबाब पनि बढ्ने गरेको छ । सामाजिक सञ्जालमा देखिने महँगा लुगा, आकर्षक सजावट, भव्य भोज र महँगा उपहारले कतिपयलाई आफ्नो क्षमताभन्दा बढी खर्च गर्न प्रेरित गर्छ । अरूले गरेकै जस्तो गर्नुपर्ने मानसिकताले सामान्य आवश्यकतालाई पनि प्रतिष्ठाको विषय बनाइदिन्छ । यस्तो प्रवृत्तिले विशेषगरी न्यून तथा मध्यम आय भएका परिवारलाई आर्थिक दबाबमा पार्छ । चाडपर्वमा खर्च गर्नु अस्वाभाविक होइन । वर्षभरि दुःख गरेर कमाएको रकमबाट परिवारका लागि आवश्यक वस्तु खरिद गर्नु, बालबालिकालाई नयाँ लुगा लगाइदिनु, मीठोमसिनो खानु र आफन्तलाई उपहार दिनु स्वाभाविक मानवीय चाहना हो । तर, आवश्यकताभन्दा बढी खर्च गर्नु र क्षणिक खुसीका लागि भविष्यको आर्थिक सुरक्षालाई जोखिममा पार्नु उचित हुँदैन । दसैँपछि विद्यालय शुल्क, घरभाडा, औषधोपचार, दैनिक उपभोग र अन्य नियमित दायित्व पनि पूरा गर्नुपर्ने हुन्छ । त्यसैले पर्वको खर्च व्यवस्थापन गर्दा पछिका आवश्यकतालाई समेत ध्यान दिनुपर्छ । आम्दानी, बचत र अनिवार्य खर्चको हिसाब गरेर बजेट बनाउने हो भने अनावश्यक ऋणबाट जोगिन सकिन्छ । अर्कोतर्फ, चाडपर्वका नाममा हुने फजुल खर्चले सामाजिक असमानतालाई पनि उजागर गर्छ । आर्थिक रूपमा कमजोर परिवारले सम्पन्न परिवारको जीवनशैलीसँग आफूलाई तुलना गर्दा हीनताबोध महसुस गर्नुपर्ने अवस्था आउनु हुँदैन । दसैँ सबैको साझा पर्व हो । यसको खुसी धनी र गरिबका लागि फरक हुन आवश्यक छैन ।

सीमित स्रोतसाधनमा पनि परिवारसँग बसेर टीका लगाउने, आशीर्वाद लिने, मीठोमसिनो खाने र आपसी सम्बन्धलाई सुमधुर बनाउने हो भने पर्व उत्तिकै उल्लासपूर्ण बन्न सक्छ । पर्वको सार खर्चको आकारमा होइन, सम्बन्धको गहिराइमा खोजिनुपर्छ । यस अवसरमा परिवारका अभिभावकले बालबालिकालाई पनि पैसाको महत्त्व, बचत गर्ने बानी र आवश्यकताअनुसार खर्च गर्ने संस्कार सिकाउनुपर्छ । समाजमा देखावटी प्रतिस्पर्धालाई निरुत्साहित गर्दै सरल, मितव्ययी र मर्यादित ढङ्गले पर्व मनाउने संस्कृतिको विकास गर्न आवश्यक छ । स्थानीय उत्पादनको प्रयोग, स्वदेशी वस्तुको खरिद र आवश्यकतामा आधारित उपभोगले पारिवारिक खर्च व्यवस्थापनमा मात्र होइन, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन पनि सहयोग पु¥याउँछ । त्यस्तै, चाडपर्वका बेला बजारमा हुने कृत्रिम मूल्यवृद्धि, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रण गर्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्छ । उपभोक्ताले पनि मूल्य र गुणस्तरमा ध्यान दिँदै विवेकपूर्ण खरिद गर्नुपर्छ । दसैँको महत्त्व महँगा लुगा, महँगा परिकार र भव्य भोजमा सीमित छैन । यो आपसी सद्भाव, क्षमा, मेलमिलाप र पारिवारिक एकताको पर्व हो । आफ्नो क्षमताअनुसार खर्च गरेर ऋणमुक्त र तनावमुक्त दसैँ मनाउनु नै बुद्धिमानी हुन्छ । अरूलाई देखाउनका लागि गरिने खर्चले क्षणिक सन्तुष्टि दिए पनि त्यसले दीर्घकालीन आर्थिक समस्या निम्त्याउन सक्छ । त्यसैले यस वर्षको दसैँलाई अनावश्यक तडकभडकबाट मुक्त बनाउँदै आर्थिक अनुशासन र सामाजिक सद्भावको अवसरका रूपमा लिनुपर्छ । घाँटी हेरी हाड निल्ने संस्कार अपनाऔँ, आफ्नो क्षमताअनुसार पर्व मनाऔँ र दसैँको वास्तविक खुसी परिवारको माया, आत्मीयता तथा सन्तोषमा खोजौँ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २ गते आइतबार