शिवु खनाल । दाङ ।
चाडपर्वको समयमा वन क्षेत्रमा हुन सक्ने चोरी–सिकारी, अवैध काठ ओसारपसार तथा वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रण गर्न डिभिजन वन कार्यालय दाङ (देउखुरी)ले ड्रोन क्यामेरामार्फत वन गस्ती सुरु गरेको छ । वन क्षेत्रको प्रभावकारी निगरानी, वन अपराध नियन्त्रण तथा वन्यजन्तुको संरक्षणलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यालयले परम्परागत पैदल गस्तीलाई निरन्तरता दिँदै आधुनिक प्रविधिमा आधारित ड्रोन गस्तीलाई समेत अघि बढाएको हो ।
डिभिजन वन कार्यालय दाङ (देउखुरी)का डिभिजनल वन अधिकृत गणेशबहादुर चौधरीका अनुसार देउखुरी क्षेत्रका सामुदायिक वनहरूमा निगरानी बढाउन शुक्रबारदेखि नियमित रूपमा ड्रोन गस्ती सुरु गरिएको हो । चाडपर्वको समयमा वन क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न गस्तीलाई थप प्रभावकारी बनाइएको उनले बताए । ड्रोन क्यामेराको प्रयोगबाट वन क्षेत्रका दुर्गम तथा पैदल गस्तीमार्फत सहजै निगरानी गर्न कठिन हुने स्थानहरूमा समेत निगरानी गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यसबाट वन क्षेत्रमा हुने चोरी–सिकारी, अवैध रूपमा काठ तथा वन पैदावारको ओसारपसार र वन्यजन्तुको अवैध सिकारजस्ता गतिविधि पहिचान गरी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।चाडपर्वका बेला वन क्षेत्रमा हुन सक्ने अवैध गतिविधि रोक्न वन कर्मचारी, सामुदायिक वनका पदाधिकारी तथा स्थानीय उपभोक्ताबीच समन्वय र सहकार्य आवश्यक रहेको कार्यालयले जनाएको छ । वन, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण गर्दै वन अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगसहित निगरानी र गस्तीलाई निरन्तरता दिइने कार्यालयको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्