वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्जमा रामलीला मन्चनको एक सय ५९औँ श्रृंखला चलिरहेको छ । तर, रामलीलामा अभिनय गर्ने कलाकारहरू भारतबाट ल्याउनुपरिरहेको छ । नाटक मञ्चनको एक सय ६० वर्षको इतिहास भएको नेपालगन्जमा अहिलेसम्म रामलीलाकै कलाकारहरू पनि भारतबाट मगाउनुपर्ने अवस्थालाई कलाकारहरू सुखद नभएको बताउँछन् । रामलीला मञ्चनको सुरुवात स्थानीयस्तरकै कलाकारहरूले गरेको आफूले सुनेको रामलीला सञ्चालक समतिका अध्यक्ष सन्तोषकुमार कनोडिया बताउँछन् ।
उनले सुरुका केही वर्ष नेपालगन्जकै कलाकारले रामलीला मञ्चन गरेको थाहा पाएको बताए । पछि रामलीलालाई थप भव्य बनाउन राम्रा कलाकारहरू खोज्ने क्रममा भारतका कलाकार ल्याउन थालिएको उनको दाबी छ । भारतबाट आउने कलाकारहरूकै लागि साढे २ देखि ३ लाख रूपैयाँँ खर्च हुने गरेको उनले बताए । आफूहरूले स्थानीयस्तरमै कलाकार उत्पादन गर्नका लगि पहल गरे पनि सफल नभएको कनोडियाको दाबी छ । उनले भने, ‘वृन्दावनमा त गुरुकूलबाटै कलाकारहरू तयार हुन्छन् । काठमाडौँमा थिएटरहरू छन् र कलाकारहरू तयार हुन्छन् ।
तर यहाँ त्यस्तो कुनै व्यवस्था छैन । प्रयास त गरेको हो, तर कतैबाट चासो देखिएन ।’ राज्यले यस्ता सांस्कृतिक धरोहरको निर्माणतिर ध्यान दिन सकेमा मात्रै कलाकारहरू उत्पादन हुने कनोडियाले बताए । बाँकेका कलाकारहरू नेपालगन्जमा कलासाहित्यको अभ्यास, सम्मेलन तथा प्रदर्शनीका लागि उपयुक्त प्रदर्शनी हल अथवा थिएटरको आवश्यकता रहेकोमा एकमत छन् । तर त्यसका लागि भएका पहलहरू पर्याप्त छैनन् भने राज्यका तर्फबाट यसको आवश्यकतालाई मनन गरिएको छैन ।
बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङका विचारमा बाँकेमा कलाकारहरू नभएका पनि होइनन् । कलाकार उत्पादन गर्न नसकिने पनि होइन । तर, यहाँ कला क्षेत्रका लागि संस्थागत पूर्वाधारहरू बन्न नसक्दा सबै कलाको अपेक्षित विकास हुन सकेन । फलस्वरुप अहिले पनि कलाकारहरू भारतबाट ल्याउनुपर्ने अवस्था छ । नेपालगन्जमा अहिलेसम्म सरकारी स्तरबाट कलासाहित्यका लागि कुनै दीर्घकालीन महत्व काम हुन नसकेको कलाकार जीनु हकको पनि बुझाइ छ । ‘एक किसिमले बाँकेको कलाक्षेत्र राज्यबाट अपहेलितजस्तै छ । राज्यको न कुनै निकाय छ । न कलाकारहरूका लागि उपयुक्त मन्च छ,’ हकले भने ।
२०७७ सालमा चलचित्र तथा नाटक निर्देशक वीरेन्द्र हमालले नेपालगन्जमा नाटक लगायतका विभिन्न कलाहरूको अभ्यास, प्रदर्शनी तथा प्रवद्र्धन गर्न उपयुक्त भवन चाहिने आवाज उठाए । हमालले नेपालगन्जमा नाटक प्रदर्शनीका लागि उपयुक्त थिएटर बन्नुपर्ने माग अघि सारेका थिए । आफ्नो गृहनगर भएकोले उक्त थिएटरका लागि उनले आफ्नो सबै शक्ति लगाउने प्रस्तावसहित त्यसमा सहयोग गर्न आह्वान गरे । उनको आह्वानको सुनुवाइ नभएपछि केही प्रशिक्षार्थी कलाकारलाई लिएर उनी नगरपालिकामा धर्नामा बसे । त्यसपछि उनलाई भेट दिएका तत्कालीन मेयर धवलशमशेर राणाले भने, ‘जग्गा खोज्नुस्, स्वीकृति दिने जिम्मा मेरो ।’
आफैँ स्थानीय सरकारको प्रमुख रहेका र सरकारी जग्गाको संरक्षण तथा सदुपयोगको जिम्मेवारीमा रहेका राणाले उक्त त्यसो भन्नुले नै उनी उक्त कामप्रति गम्भीर छैनन् भन्ने देखाउँथ्यो । तैपनि हमाल कलाकारहरूसहित सहरमा जग्गा खोज्न हिँडे । उपयुक्त जग्गा नभेटेपछि र उपमहानगरको सहयोग नभएपछि हमाल निराश भएर फर्किए । हमालसँगै जग्गाको खोजीमा हिडेका कलार गुरुङ भन्छन्, ‘यहाँ जग्गा छ, त्यहाँ छ भनिन्छ । तर अन्तमा आएर काम हुँदैन ।’ नेपालगन्जमा कला र साहित्यका लागि भनेर दर्जनबढी संघसंस्थाहरू रहेका छन् ।
धेरैजस्तो साहित्यको सम्वद्र्धन र प्रवद्र्धनमा क्रियाशिल रहेको दाबी गर्छन् । तर, यी संस्थाहरूले पनि साहित्यको लागि एकजुट भएर दीर्घकालीन काममा जुट्न सकेका छैनन् । कुनै पनि संस्थाको स्थायी कार्यालयसमेत छैन । सबै झोलामा कागजात राखेर सञ्चालित छन् । देशका केही स्थानीय तहहरूले र बाँकेकै कोहलपुर नगरपालिका तथा खजुरा गाउँपालिको कलासाहित्यको विकासका लागि प्रज्ञा÷वाङमय प्रतिष्ठान गठन गरेका छन् । नेपालगन्ज त्यस्तो संरचना पनि बनेको छैन ।
भेरी साहित्य समाजका पूर्वअध्यक्ष तथा साहित्यकार हरि तिमिल्सेना सबै संस्थाहरूमा आबद्ध साहित्यकार र कलाकाहरू एकजुट भए कलाको संस्थागत विकासमा राज्यलाई घचघच्याउन ढिलो गर्न नहुने बताउँछन् । त्यसको लागि पटक–पटक पहल भएपनि सफल नभएको उनको दाबी छ । नेपालगन्जको सबैभन्दा लामो इतिहास बोकेको ललितकला प्रदर्शनी नै रामलीला हो । रामलीला मैदानमा घटस्थानादेखि विजयादशमीसम्म रातिको समयमा धारावाहिक रूपमा रामलीलाको मञ्चन हुन्छ ।
हिन्दु धर्मावलम्बीले मर्यादापुरुषोत्तम भगवानका रूपमा पूजा गर्ने रामको आदर्श चरित्रको मञ्चमा गरिने नाटकीय प्रस्तुति अर्थात् रामलीला नेपालगन्जको एक संस्कृतिकै रूपमा विकास भइसकेको छ । रामलीला हेर्नका लागि हिन्दु धर्मावलम्बी मात्रै नभएर सबै धर्मावलम्बीहरू रामलीला मैदान पुग्ने गरेका छन् । तर, पर्याप्त जमिन रहेको रामलीला मैदानमा बनेका संरचना पनि वर्षमा १० दिन रामलीला मञ्चनबाहेक अन्य समयमा कलाक्षेत्रका लागि प्रयोग भएका छैनन् ।
रामलीला मैदानमै रहेको सरस्वती संगीतालय पनि साधन स्रोतको सीमितताका कारण प्रभावकारी रूपले सञ्चालन हुन सकेको छैन ।
बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङ अब जिल्लाका सबै कला साहित्यमा रुची राख्नेहरू मिलेर साझा मन्च बनाउने अभियानमा जुट्नुपर्ने बताउँछन् । त्यसका लागि आफूले निरन्तर पहल गरिरहेको उनको भनाइ छ । कलाकारहरू निरन्तररूपमा अभ्यास गर्ने, प्रदर्शनी गर्ने र समाजले पनि सक्रिय रूपमा कलाकारहरूको सम्मान गर्ने वातावरण नबनेसम्म नयाँ कलाकारहरू नजन्मिने सम्बद्धहरूको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्