विरक्तलाग्दो दसैँ !



?????????????????????????????????????????????????????????

अच्युत गौतम

कहिल्यै सोचेको पनि थिइनँ, दसैँलाई पनि कुनै दिन यति विरक्तलाग्दो लाग्ला भनेर । दसैँ, हाम्रो सबैभन्दा ठूलो चाड । खुसी, उमङ्ग र उल्लासको पर्व । दसैँ मनाउनकै लागि विद्यालयहरू लामो समय बिदा हुन्छन्, कार्यालयहरू बन्द हुन्छन् । गाउँघरमा छुट्टै रौनक छाउँछ । गाउँका चोकचोकमा रामलीला लाग्छन् । परदेशिएका र टाढा पुगेका आफन्तहरू घर फर्किन्छन् । वर्षमा एकपटक भए पनि परिवारका सबै सदस्य एकै ठाउँमा भेला हुन्छन् । घरआँगनमा हाँसो गुञ्जिन्छ, आफन्तबीच आत्मीयता साटिन्छ र मनमा बेग्लै उमङ्ग छाउँछ । यी सबैको केन्द्रमा हुन्छ—दसैँ । तर हो, यही दसैँलाई म आज ‘विरक्तलाग्दो दसैँ’ भनिरहेको छु । कस्तो विडम्बना ! जुन चाडको आगमनले मनमा खुसी छाउनुपर्ने हो, त्यही चाड आज मनमा एक किसिमको उदासी बोकेर आइरहेछ । जुन समयलाई वर्षकै सबैभन्दा रमाइलो समय मानिन्छ, त्यही समय आज किन खल्लो लागिरहेको छ ? आखिर, चाडपर्व भनेका खुसी हुने अवसर हुन् कि कहिलेकाहीँ मनभित्र लुकेर बसेका दुःख र अभावलाई अझ गहिरोसँग महसुस गराउने समय ? विरक्त लाग्नुका पनि धेरै कारण रहेछन् । एकपटक फर्केर जाऔँ न, त्यही बाल्यकालमा । त्यही समयमा, जुन बेला दसैँ भनेकै खुसीको पर्यायजस्तो लाग्थ्यो । सानै छँदा मलाई लाग्थ्यो, दसैँ भनेको नयाँ कपडा किन्नु हो, घरमा मासु पाक्नु हो । कम्तीमा एक हप्तासम्म घरमा मासु पाकिरहनु र खाइरहनु हो दसैँ । दसैँ भनेकै नयाँ कपडा लगाएर गाउँगाउँ डुल्नु हो । नयाँ कपडा लगाएर हिँड्दा मनमा आउने त्यो खुसीको त कुरै नगरौँ ! सम्झन्छु । त्यो समय, जुन मेरा लागि एकदमै सुनौलो थियो । दसैँ संघारमै हुन्थ्यो । आकाशमा मालचरीहरू उडिरहेका देखिन्थे । भोगटेका पाकेका हुन्थे । खेतमा धानका बाला लहलहाउँदै पाकेका हुन्थे । टाढैबाट हेर्दा खेतहरू सुनजस्तै पहेँलपुर देखिन्थे । गाउँलेहरू पाकेको धान भित्र्याउने हतारोमा हुन्थे । घरमा दसैँको तयारी चलिरहन्थ्यो । खेतबारीको कामले भ्याइनभ्याइ हुन्थ्यो । म भने कामै नगरे पनि खेतमा जान्थेँ । खेतमा धान काट्नमा तल्लीन भएकी आमालाई नयाँ कपडाका लागि घचघच्याइरहेको हुन्थेँ । मेरो ध्यान खेतको काममा भन्दा नयाँ कपडा कहिले किन्ने भन्नेमै हुन्थ्यो । आमालाई सायद घरको काम, पाकेको धान र दसैँको तयारीको चिन्ता हुन्थ्यो । मलाई भने नयाँ कपडाकै चिन्ता । कपडाकै लागि आमाका अगिपछि लाग्थेँ । बासँग जाने आँट हुन्थेन । ‘कति पछि लाग्छ हौ ? तैँले कपडाको रहर गर्छस् भनेर कपडा किन्दिने भनेर केही त सोच्या हुँला,’ आमा कराउनुहुन्थ्यो । धेरै अटेर गरेपछि साँझमा अगेना छेउ छलफल चल्थ्यो । बासँग खासै नजिक हुन्थिनँ । नजिक हुने भनेकै खाना खाँदा हो । कपडा किन्ने छलफल भयो । बाले भन्नुभयो, ‘अब जाडो भयो । जाडोलाई हुने कपडा किन । दसैँलाई पनि हुने, जाडोलाई पनि हुने ।’

बाका अगाडि बाले भनेकै कुरामा होमा हो मिलाएको । मैले भोलिपल्ट आमासँग द्वन्द्व गरेँ । जिन्स पाइन्ट र सर्ट किन्छु भनेर । धेरै अटेर गरेपछि आमाले बाकसमा रहेको सुर्के थैलीबाट हजारका दुई नोट निकाल्नुभयो, पैसा हुत्याउँदै फाल्नुभयो र भन्नुभयो, ‘ल, त्यो पैसा राख, हाम्ले भनेको नमान्ने भए साँझमा घर नफर्किनु, जता जाने हो त्यतै जानु ।’ आमा कड्किनुभयो र सुस्केरा हाल्दै उठ्नुभयो । मेरो काखसम्म आएको पैसा नउठाई एकछिनसम्म घोरिरहेँ । खेतबाट धान काटेर आउनुभएका बा हँसिया कुनामा राखेर बस्नै लाग्दा म तिर हेर्दै बोल्नुभयो, ‘के भयो ? पैसा किन फाल्याछस् ?’ म केही बोल्नै सकिनँ र भुइँको पैसा टिपेँ र गोजीमा हुलेँ । खाना नखाई साइकलमै बजार गएँ, आमा र बाको डर मान्दै जिन्स पाइन्ट र पातलो सर्ट किनिल्याएँ । आमाले हेर्नुभयो । ‘न डर छ, न केही, भन्या मान्नु पर्दैन ? पछिको सोच्नुछैन ? भोलि–पर्सि जाडो सुरुहुन्छ, यही लगाउनू ।’ आमा फन्किनुभयो र भोकाएका बाख्रालाई घाँस दिन जानुभयो । आमासँग नबोली बसेँ । नयाँ कपडा देखाउन गाउँ निस्किएँ । त्यतिबेला नयाँ कपडा किन्न नपाउनु भनेको दसैँ नै नआउनुजस्तो लाग्थ्यो । दसैँको खुसी नयाँ कपडासँग जोडिएको थियो । नयाँ कपडा पाएपछि संसार जितेजस्तै लाग्थ्यो । न ठूला अपेक्षा थिए, न धेरै चाहना । थोरै कुरामै असीमित खुसी भेटिन्थ्यो । आज सम्झँदा लाग्छ, त्यो समय साँच्चिकै सुनौलो थियो । सायद दसैँ त्यतिबेला मात्र खुसीको पर्व थिएन, त्यो त हाम्रो बालापनको एउटा सुन्दर संसार थियो । गाउँमा प्रायः दसैँ तिहारमा पिङ हाल्ने गर्थे । स्कुलको चौरमा पिङ हाले । पिङ दिनभरि प्रायजसो खाली हुँदैनथ्यो । सानाभन्दा ठूला मान्छे धेरै खेलिरहन्थे । हामी भुराभुरीलाई पालो कहिल्यै दिँदैन थिए । एकदिन दिउँसो स्कुलको चौर पुगेँ । पिङ खेल्न खोज्नेको भिड पातलो थियो । पालो कुरेँ । मेरो पालो आउनैलाग्दा कोही मान्छे आयो र हाम्रो लाइन बिथोल्यो र आफू चढ्यो । आफू चढिसकेर उत्रेपछि पिङको लट्टा गुजुल्टो बनाएर माथि फालिदियो । त्यो लट्टा माथि अड्कियो । तल झरेन, झर्दै त झरेन अनि मेरो मन भने भाउन्न भयो । झट्ट दिमागमा आयो, ‘राति आउँछु र खेल्न नपाउने पिङ हँसियाले काटिदिन्छु ।’
घर गएँ, हँसिया खोजेँ । हँसियामा धार लगाएँ । राति अबेरसम्म बसेँ । कहिल्यै अबेरसम्म बसेको नदेखेकी आमा कराउनुभयो । एकछिनसम्म सुतेको जस्तो गरेँ । आमा सुतेपछि जुरुक्क उठेर लागेँ स्कुलको चौर । रात धेरै छिप्पिसकेको थिएन । स्कुल, नजिकै पुग्नै लाग्दा कोही पिङ खेल्दै गरेको देखेँ अनि अलि सजग भएँ । हँसिया लुकाएँ । पिङको नजिक गएँ र उनीहरू जाने बाटो कुरेँ । उनीहरूले मलाई खेल्न कर गरे, तर मैले खेलिनँ ।

केही समयमा उनीहरू आफ्नो घर लागे । चौरको पर–परसम्म नियालेँ, कोहीलाई देखिनँ । सुनसान थियो । मस्तसँग एकछिन पिङ खेलेँ । अलि अँध्यारो भयो । लुकाएको हँसिया ल्याएँ । साना हातले ठूलो बिँड भएको हँसियाले पिङको लट्टा काट्न खोजेँ । काटिएन । अलि बेरपछि अलिअलि काटियो । कोही आएजस्तो सर्याकसुरुक भयो । म भागेँ त्यहाँबाट । भोलिपल्ट एकजनाले सुनायो, ‘एकजना मोटो मान्छे पिङ चढ्यो । मच्चिनै लाग्दा, बिचमै पिङको लट्टा चुट्यो र भुइँमा बजारियो ।’ मैले उसका कुरा सुनेपछि भनेँ, ‘पिङ कमजोर भएर होला ।’ त्यो खबर सुनेपछि खुसीले गद्गद् भएर फेरि फर्किएर पिङ कस्तो भयो हेर्न स्कुलको चौर गइनँ । मेरो गाउँमा जंगल र बस्तीको बिचमा ठूलो चौर छ । गाउँमा केटाहरूको कमी थिएन, अनि दसैँमा फुटबल प्रतियोगिता नभएको वर्ष सायदै हुन्थ्यो । कुनै समय यस्तो थियो, दसैँ आउनु तर खसी बाजीको फुटबल प्रतियोगिता नहुनु असम्भवजस्तै लाग्थ्यो । एक दिन चौरको बीचमा बैठक बस्यो । बैठकले खसी बाजीको फुटबल प्रतियोगिता हुने मिति तय ग¥यो । प्रतियोगितामा सहभागी हुन टिमहरूलाई आह्वान गर्दै सूचना निकालियो । प्रतियोगितामा १० वटा टिम सहभागी हुने भए । अब चौरको रौनक नै बेग्लै थियो । चौर दुलहीझैँ सिँगारियो । बाटोमा स्वागत लेखिएको गेट बन्यो । चौरको एक छेउमा टेन्ट ठडियो । गाउँमा दसैँको चहलपहलसँगै फुटबलको रौनक पनि थपियो । प्रतियोगिताको उद्घाटन हुने दिन आयो । उद्घाटनको दिन प्रायः आयोजक टिमकै खेल हुन्थ्यो । आयोजक टिमले जित्नैपर्ने दबाब पनि हुन्थ्यो । आखिर, आफ्नै गाउँमा आयोजना गरेको प्रतियोगिताको पहिलो खेल हार्नु कसलाई पो राम्रो लाग्थ्यो र ! खेल सुरु हुनुअघि टिमको नामलगायत अरू कुराहरू मञ्चबाट उद्घोषण भयो । त्यसपछि अतिथिको आसन ग्रहण र मन्तव्यको क्रम सुरु भयो । फुटबलसँग खासै परिचित नभएका एक अतिथि मञ्चमा उक्लिए । उनी फुटबलका बारेमा बोलिरहे । फुटबलबारे केही नजानेका उनले खेलकुदलाई अगाडि बढाउने र हाम्रो गाउँलाई फुटबलको पहिचान बनाउने प्रतिबद्धता व्यक्त गरेर मञ्चबाट ओर्लिए । यता चौरमा भने गाउँ नै उर्लिएजस्तो दृश्य थियो । दर्शकको भीड, खेलाडीको उत्साह र मैदानको रौनकले वातावरण नै रोमाञ्चक बनेको थियो । खेल पाँच बजे सुरु हुने तय थियो । म भने दिउँसै पुगिसकेको थिएँ । खेल सुरु भयो । दर्शकहरू खेलको मज्जा लिइरहेका थिए । खेलाडीहरू गोल गर्ने प्रयासमा दौडिरहेका थिए । हामी भने अर्कै धुनमा हुन्थ्यौँ । पोस्टबाट बाहिर गएको बल कसले ल्याउने भन्नेमा हाम्रो तँछाडमछाड चल्थ्यो । हाम्रो लागि फुटबल हेर्नु मात्रै पनि रमाइलो थियो, तर मैदानमा खेलाडीले हानेको बल लिन दौडनुको मज्जा नै बेग्लै हुन्थ्यो । बल मैदानबाहिर जानेबित्तिकै हामी त्यसको पछि दौडिन्थ्यौँ । कसले पहिले बल समात्ने र कसले खेलाडीलाई बल पु¥याउने भन्नेमा पनि छुट्टै प्रतिस्पर्धा चल्थ्यो । सायद, त्यतिबेला हामीलाई फुटबलको नियमभन्दा फुटबलसँग जोडिएको खुसी बढी थाहा थियो । खेल कसले जित्यो, कसले हा¥यो भन्ने भन्दा पनि चौरमा बिताएको समय, साथीहरूसँगको रमाइलो र दसैँको त्यो माहोल नै हाम्रा लागि ठूलो कुरा ।

अर्को टिमको एक खेलाडीले हाम्रो टिमको एकजना खेलाडीलाई खुट्टाले हान्यो । ऊ भुइँमा ढल्यो । तर ऊ पनि के कम थियो र ! गाउँ आफ्नै थियो । मान्छे आफ्नै थिए । चौर आफ्नै थियो । परिवेश आफ्नै थियो । चौरमा ढलेको ऊ चारैतिर नियाल्यो । त्यसपछि जुरुक्क उठ्यो, शक्ति सञ्चित ग¥यो र आफूलाई हान्ने खेलाडीको मुखमै मुक्का बजा¥यो । मुक्का खाएपछि त्यो खेलाडी पनि भुइँमा ढल्यो । त्यसपछि के चाहियो र चौरबाहिर रहेका सबै दर्शक चौरभित्र पसे । केही बेरमै खेलको माहोल बदलियो । फुटबल खेल भइरहेको चौर झगडाको मैदान बन्यो । खेल बीचमै बिथोलियो । साँझ परिसकेको थियो । खेल फेरि सुरु हुन सकेन । मञ्चबाट माइकमा कसैले बोल्यो, ‘बाँकी खेल भोलि हुनेछ । आज आ–आफ्नो टिमलाई जसरी हौसला दिनुभएको छ, भोलि पनि त्यसरी नै हौसला दिन पाल्नुहोला ।’
त्यसपछि माइकबाट ठूलो ‘टुईईई’ आवाज आयो र बन्द भयो । सबै आ–आफ्नो बाटो लागे । भोलिपल्ट अर्को टिम खेल्न आएन । हाम्रो गाउँको टिम स्वतः अर्को चरणमा पुग्यो । अन्ततः त्यो प्रतियोगिताको खसी आयोजक टिमले नै उचाल्यो । दसैँ सकिएलगत्तै नदी किनारमा खसी काटियो । सबै मिलेर मासु खाए । प्रतियोगिताको खुसी त्यहीँ सकियो । अर्को वर्ष फेरि दसैँ आयो । यसपालि अर्को गाउँमा फुटबल प्रतियोगिता हुने भयो । हाम्रो गाउँको टिम पनि प्रतियोगितामा सहभागी हुने भयो । खेल हुने दिन आयो । जंगलको बीचमा रहेको चौरमा खेलाडी र दर्शकहरू जम्मा भइसकेका थिए । खेल सुरु भयो । खेल मस्तसँग चलिरहेको थियो । खेलाडीहरू आफ्नो पूरा ताकत लगाएर खेलिरहेका थिए । दर्शकहरू आ–आफ्नो टिमको पक्षमा हुटिङ गरिरहेका थिए । चौरमा फेरि उही पुरानो रौनक फर्किएको थियो । रमाइलो चलिरहेको थियो । घाम बिस्तारै ओरालो लाग्दै थियो । सूर्य जंगलको किनारैकिनार क्षितिजतिर झर्दै थियो । खेल चल्दै गर्दा अर्को टिमको कुनै खेलाडीले हाम्रो टिमको एकजना मिडमा खेल्ने खेलाडीलाई नराम्रो गाली ग¥यो । उसले सुन्यो । रेफ्रीलाई अपिल ग¥यो तर रेफ्रीले सुनेन । ऊ गएर गाली गर्नेको खुट्टामा लात बर्सायो । गाउँबाट खेल हेर्न गएका सब चौरतिर दौडिए, जहाँ खेलाडीहरू एकअर्कामा लडिरहेका थिए । हाम्रो बाहुल्यता थियो । हामीले उनीहरूलाई लखेट्यौँ । रेफ्रीले राम्रो खेलाएन कुरा सुनेन भनेर केटाहरूले रेफ्रीसमेतलाई पिट्न भ्याए । रिसले चुर भएका केटाहरूले गोल पोस्टको जाली च्यातिदिए । घर फर्किए । हाम्रो गाउँ जहाँ गयो, त्यहाँ खेल कि जित्थ्यो कि लफडा गरी फर्किन्थ्यो । केही न केही पक्कै गथ्र्यो । पछिपछि त जुन दिन हाम्रो खेल भयो, हामीभन्दा प्रहरी अगाडि पुगेका हुन्थे । ती प्रहरीलाई देखेपछि ठुलादाइहरू हामी भुराभुरीलाई गुलेली, नक, चक्कु भएको झोला बोकाउँदै भन्थे, ‘प्रहरीले हामीलाई शंका गर्छ । तँ मेरै वरिपरि बस् । तँ सानो छस्, कसैले शंका गर्दैन । मैले आँखाको इसारा गर्नेबित्तिकै झोला मलाई पास गर ।’

म स्वीकारोक्ति दिँदै हुन्छको भावमा टाउको हल्लाउँथेँ । केटाहरूलाई प्रहरीको के डर ! त्यही पनि सानोतिनो लफडा त पथ्र्यो नै । लफडा गरी फर्केको केही दिनसम्म गाउँमा गाईँगुईँ चल्थ्यो । कोही सुनाउँथे, ‘उनीहरूले त रिस राख्याछन् । कोही हाम्रो गाउँको भन्ने थाहा पाए भने उनीहरूले बाँकी राख्दैन्न ।’ हामी डराउँथ्यौँ । कहीँकतै निस्किँदैनथ्यौँ । बिस्तारै माहोल शान्त हुन्थ्यो । बिस्तारै खेल हुरु हुन छाडे । राजनीतिमा खेल छिर्नु पर्नेमा खेलमा राजनीति छि¥यो । व्यावसायिक फुटबल फस्टाउन सकेन । केटाहरूले फुटबलमा भविष्य देखेनन् । केटाहरू कमाउन हिँडे । हाम्रो गाउँबाट फुटबल ओरालो लाग्यो । दसैँको अर्को रौनक थियो, लंगुरबुर्जा । यसले पनि छुट्टै रमाइलो ल्याउँथ्यो । चोकमा २–३ ठाउँमा हुकुमबुर्जा भन्दै कराइरहेका हुन्थे । त्यो आवाज घरसम्म पुग्थ्यो । मेरो मन अत्तालिन्थ्यो । आमाको छेउ पुग्थेँ, पैसा माग्थेँ । आमा ‘जुवा खेल्ने हैन । बरु ला, केही खा’ भनेर २० रूपैयाँँ फालिदिनुहुन्थ्यो । म पछिल्तिर नफर्की दौडिन्थेँ । साना केटाकेटीदेखि ठूलाबडासम्म खेलिरहेका हुन्थे । कोही जित्थे । जित्नेहरू खुसी हुन्थे । कोही हार्थे । हार्नेहरू दुःखी देखिन्थे । मैले पैसा कहिल्यै जितिनँ । एक दिनको कुरा हो । पहिलेजस्तै खेल चलिरहेको थियो । अचानक कोही करायो, ‘पुलिस आयो !’ हल्लाखल्ला मच्चियो । सबका सब तितरबितर भए । पुलिसले कराउँदै भन्यो, ‘अबदेखि नखेल्नु, नखेलाउनु । फेरि खेलिरहेको भेट्टाएँ भने दसैँको मुखमा जेल जानुपर्ला !’ यति भनेर पुलिस त्यहाँबाट अलप भयो । जसै पुलिस गयो, उसै सबै जम्मा भए । केटाहरू के टेर्थे र ! फेरि खेल सुरु भयो । अबेरमा घर पुग्थेँ । आमा सोध्नुहुन्थ्यो, ‘पैसाले के खाइस ?’ म ढाँटेरै बिस्कुट खाएँ भन्थेँ । समय बित्दै गयो । उमेर बढ्दै गयो । गाउँकै स्कुलको पढाइ सकियो । अध्ययनले उकालो चढ्यो । जसरी पनि उकालो उक्लिनु थियो । म पनि काठमाडौँ हानिएँ । गाउँ बिस्तारै रित्तिँदै थियो । सब विछोड भए । सबै आ–आफ्नो लक्ष्य पछ्याउन तल्लिन भए । गाउँका सम्झनाहरू बोकेर कोही विदेशिए, कोही कता पुगे, कोही कता । सानो जागिर खाएँ । पैसाको पछि भागे । समयसँगै जीवन पनि आफ्नै लयमा अघि बढ्न थाल्यो ।
तर बेलाबेला गाउँ जाँदा मैले देख्ने गाउँ भने फेरिँदै थियो । पहिले गाउँ जाँदा कोही न कोही भेटिइहाल्थ्यो । अहिले गाउँ जाँदा प्रायः कोही भेटिँदैनन् । गाउँ विरक्तलाग्दो छ । गाउँ एक्लो छ । चौर खाली छ । कुनै बेला फुटबल खेल्नेहरूको भीड लाग्ने चौरमा अहिले खेल्ने कोही छैनन् । फुटबलमा खसीको बाजी राखेर खेल्ने चलन हराउँदै गयो । बाजी राखेर खेल्नेहरू मात्र हराएका होइनन्, हाम्रो गाउँले फुटबलमा रुचि देखाउनै छाड्यो । अझ भनौँ खेलमा राजनीति छि¥यो । स्कुलको चौरमा पिङ खाली छ । कुनै बेला पालो कुर्दै खेल्नेहरू हुन्थे, अहिले पिङ खेल्ने कोही छैनन् । हावा चल्दा पिङ हल्लिन्छ होला, तर त्यसमा झुन्डिएर रमाउने बालापन गाउँमा छैन । गाउँ त उही हो । चौर उही हो । स्कुल उही हो । पिङ पनि उही होला । तर तिनलाई जीवन्त बनाउने मान्छेहरू छैनन् । गाउँ गए पनि सबै आफ्नै–आफ्नै धुनमा छन् । कहिल्यै नछुट्टिऊँ जस्तो गर्ने साथीहरूसँग अहिले भेट हुन्छ, कुरा पनि हुन्छ । तर कुरा मिल्दैमा मन मिल्दो रहेनछ । इच्छा मिल्दैनन्, रुचि मिल्दैनन्, सोचाइ मिल्दैनन् । सँगै बिताएका बालापनका दिनहरू सम्झनामा उस्तै छन्, तर ती दिन बिताउने साथीहरू बदलिएका छन् ।

समयले हामीलाई आ–आफ्नै बाटोमा हिँडायो । सायद सबैलाई आ–आफ्नो उकालो उक्लिनु थियो । तर अहिले कहिलेकाहीँ लाग्छ—उकालो उक्लिने क्रममा मैले पछाडि के–के छाडेर आए ? हुन त म पनि अवसरको खोजीमा गाउँ छाडेर हिँडेकै हो । गाउँ रित्तिएकोमा अरूलाई मात्र दोष दिन मिल्दैन । मैले पनि त गाउँको चौरमा जान छाडेँ । स्कुलको पिङमा झुन्डिएर रमाउन छाडेँ । साथीहरूसँगै गाउँमा बस्ने उमेर र समय दुवै पछाडि छाडेर हिँडे । यही दसैँको मौकामा आज गाउँ फर्किन्छु, तर गाउँमा आफ्नो बालापन भेट्दिनँ । साथीहरू भेट्छु, तर पुराना दिन भेट्दिनँ । चौर देख्छु, तर खेल देख्दिनँ । पिङ देख्छु, तर त्यसमा झुन्डिएको आफ्नो उमेर देख्दिनँ । सायद गाउँ रित्तिनु भनेको घरहरू खाली हुनु मात्र होइन रहेछ । आफूले बाँचेका दिनहरू, आफ्ना मान्छेहरू र आफू हुनुको एउटा हिस्सा बिस्तारै हराउँदै जानु पनि रहेछ । गाउँ त अझै त्यहीँ छ । तर मैले छाडेर गएको गाउँ अब त्यहाँ छैन । दसैँ आउँछ । गाउँ जान्छु, तर घरबाट बाहिर निस्कन मन लाग्दैन । चाडपर्व खर्चसहितको तलब थाप्छु, तर दसैँकै लागि नयाँ कपडा किनौँजस्तो लाग्दैन । बिस्तारै रहरहरू मर्दै गइरहेका छन् । बिस्तारै मन बदलिँदै गइरहेको छ । जिम्मेवारीले बुईँ चढेको भान भएको छ । कुनै बेला दसैँ आउनुअघि नै मन गाउँ पुगिसक्थ्यो । नयाँ कपडाको रहर, साथीभाइसँगको भेटघाट, चौरमा फुटबल खेल्ने उत्साह—सबै कुराको छुट्टै मज्जा थियो । अहिले दसैँ आउँछ, तर पहिलेको जस्तो उमङ्ग आउँदैन । गाउँ पुग्छु, तर गाउँमा मन अडिँदैन । किनमेल गर्न बजार निस्किन पनि जाँगर चल्दैन । म हरेक वर्ष दसैँ मनाउन गाउँ त पुग्छु, तर आफूले मनाउने गरेको त्यो पुरानो दसैँ खोज्न पुग्छु, जुन अब कतै भेटिँदैन । समय फेरिएको हो कि उमेर ? गाउँ फेरिएको हो कि आफू ? थाहा छैन । तर यति थाहा छ—कुनै बेला सानासाना कुरामा खुसी हुने मन अहिले खुसी हुनकै लागि बहाना खोजिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २ गते आइतबार