१०औँ राष्ट्रिय खेलकुद अब निर्धारित मितिमै हुने



नन्दराम जैशी । सुर्खेत ।

पटक–पटक मिति सर्दै आएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब निर्धारित मितिमै हुने भएको छ । कर्णालीबाट यसको औपचारिक तयारी अघि बढाइएको हो । प्रतियोगिता हुने वा नहुने अन्योल अन्त्य गर्दै मूल आयोजक समितिले कर्णालीमै बैठक बसेर आयोजना, सहभागिता, खेल विधा, पूर्वाधार, सुरक्षा तथा व्यवस्थापनसम्बन्धी महत्वपूर्ण निर्णय पनि गरेको छ । आइतबार सुर्खेतमा बसेको बैठकले २०८३ मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतलगायतका जिल्लामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

पत्रकार सम्मेलन मार्फत उक्त निर्णय सार्वजनिक गरिएको छ । बैठकले सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीलाई सहभागी गराउने तथा ३२ खेल विधामा प्रतिस्पर्धा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । प्रतियोगिताको मिति पटक–पटक परिवर्तन भएपछि खेलाडी, प्रशिक्षक, खेल संघ तथा सरोकारवालामा अन्योल उत्पन्न भएको थियो । उक्त अन्योललाई चिर्दै मूल आयोजक समितिको बैठक कर्णालीमै बसेपछि तयारीले औपचारिक गति लिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अब प्रतियोगिता सर्ने विषयमा कुनै द्विविधा नराख्न आग्रह गरेका छन् । प्रतियोगिता औपचारिक रूपमा तोकिएको मितिबाटै सुरु हुुने आवश्वासन दिदै उनले यसको उत्साहसहित तयारी आजैबाट सुरु गर्न निर्देशन दिए । ‘दसौँ राष्ट्रिय खेलकुदलाई १२ दिनको प्रतियोगिताका रूपमा बुझ्न हुँदैन,’ उनले भने, ‘यसको उद्देश्य देशभर छरिएर रहेका प्रतिभालाई राष्ट्रियस्तरको अवसर दिनु र खेलाडीले खेलकुदबाटै आफ्नो जीवन धान्न सक्ने वातावरण निर्माण गर्नु हो ।’

विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका खेलाडीलाई राष्ट्रियस्तरमा ल्याउने अवसरका रूपमा राष्ट्रिय खेलकुदलाई उपयोग गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनमा मात्र सीमित नराखी देशभरका गाउँ–गाउँमा रहेका खेलाडीलाई राष्ट्रियस्तरको अवसर दिनुपर्ने उनले बताए । ‘संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रतियोगितालाई साझा कार्यक्रमका रूपमा लिएर स्वामित्वसहित अघि बढ्नुपर्छ,’ उनले थपे, ‘कुनै विषयमा असमझदारी भए त्यसलाई विवादका रूपमा नभई समन्वयमार्फत समाधान गर्नुपर्छ भने राष्ट्रिय खेलकुदलाई ओलम्पिक तथा एसियाली खेलकुदजस्तै देशव्यापी उत्सवको वातावरणमा लैजानुपर्छ ।’

मूल आयोजक समितिको बैठकले प्रतियोगिताको मिति र स्थानसँगै आवश्यक पूर्वाधार निर्माण तथा मर्मतसम्भारलाई पनि प्राथमिकता दिने निर्णय गरेको छ । खेलाडी तथा पदाधिकारीको आवास व्यवस्थापन गर्ने, सुरक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने तथा प्रचारप्रसारलाई तीव्र बनाउने निर्णय पनि गरेको छ । प्रतियोगितालाई निजी क्षेत्र, संघसंस्था तथा स्थानीय तहसँग जोडेर सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा अघि बढाउने तयारी गरिएको छ । त्यसका लागि प्रायोजकसँग समझदारीपत्र (एमओयू) गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

त्यस्तै, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ अनुसार विभिन्न विषयगत उपसमिति गठन गर्ने र प्रतियोगिता आयोजना तथा व्यवस्थापनका आवश्यक सम्पूर्ण काम अघि बढाउन कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको छ । यसले प्रतियोगिता आयोजनाको जिम्मेवारी मूल आयोजक समितिको बैठकमा सीमित नराखी कार्यान्वयन तहमा लैजाने बाटो खुुलेको हो ।

पूर्वाधारसँगै आवास र सुरक्षा व्यवस्थान

प्रतियोगिता आयोजना हुने मिति निश्चित भए पनि कर्णालीका लागि सबैभन्दा ठूलो चुनौती व्यवस्थापनको रहेको छ । ठूलो सङ्ख्यामा आउने खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा अन्य प्राविधिक टोलीका लागि आवास, खानेपानी, यातायात, स्वास्थ्य र सुरक्षा व्यवस्थापन गर्नुपर्नेछ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लका अनुसार प्रदेश सरकारले पूर्वाधार तथा व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेको छ । खेलाडी तथा पदाधिकारीको आवास व्यवस्थापनका लागि होटल व्यवसायीसँग छलफल भइरहेको उनले बताए । होटलको क्षमता, उपलब्धता तथा व्यवस्थापन अवस्थाबारे पनि अध्ययन भइरहेको उनको भनाइ छ ।

उनका अनुसार सुरक्षा व्यवस्थापनका लागि कर्णाली प्रदेश डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ भने स्वास्थ्य सेवाका लागि प्रदेश सरकारको स्वास्थ्य टोलीसँग समन्वय भइरहेको छ । ‘प्रदेश सरकार आयोजनाका लागि आवश्यक पूर्वाधार र सहयोग गर्न प्रतिबद्ध छ,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यलाई अझ प्रभावकारी बनाएर प्रतियोगिता सफल बनाउनुपर्छ ।’
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले दसौं राष्ट्रिय खेलकुदलाई ठूलो खेलकुद उत्सवका रूपमा लिनुपर्ने बताए ।

यसका लागि व्यवस्थापनका व्यावहारिक चुनौती समाधान गर्नुपर्ने उनको भनाइ छ । आवास, खानेपानी, सुरक्षा र स्वास्थ्य सेवाका विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको उनले जानकारी दिए । ‘ठूलो सङ्ख्यामा खेलाडी तथा पदाधिकारी एकैपटक कर्णाली आउने भएकाले आवास व्यवस्थापन प्रतियोगिताको सफलताको महत्वपूर्ण आधार पनि हो,’ उनले भने, ‘यससँगै प्रतियोगिता सञ्चालनका क्रममा यातायात, खेलस्थलसम्मको पहुँच, खानेपानी, स्वास्थ्य सेवा तथा आकस्मिक उद्धारलगायत विषयमा आवश्यक योजना बनाइएका छन् ।’

११ टोली, ३२ खेल विधा (बक्स)

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेशका टोलीसँगै तीन विभागीय टोली र गैरआवासीय नेपाली संघको टोली सहभागी हुनेछन् । यसरी कूल ११ टोलीबीच ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ । कर्णाली खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दका अनुसार मूल आयोजक समितिले प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । ‘सरकारले २०८३ भदौ २२ गते गरेको निर्णयअनुसार कर्णाली प्रदेशको सुर्खेतलगायत जिल्लामा मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता आयोजना हुुनेछ,’ उनले भने, ‘स्थानीय तहदेखि खेल प्रतिभाको खोजी तथा पहिचान गर्दै प्रतिभावान खेलाडी उत्पादनको तयारी तीब्र छ । सोहीअनुसार खेलकुद गतिविधि पनि भइरहेका छन् ।’

प्रदेशका लागि राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर नभई लामो समयदेखि कमजोर रहेको खेल पूर्वाधार, प्रतिभा पहिचान र खेलाडी उत्पादनको संरचना सुधार्ने अवसरसमेत बनेको उनको भनाइ छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले मूल आयोजक समितिको बैठक कर्णालीमै बसेर प्रतियोगिताको तयारी अघि बढाउनु आफैंमा महत्वपूर्ण सन्देश भएको बताए । विगतका आशंका अब अन्त्य भएको भन्दै प्रदेश सरकारले प्रतियोगिताका लागि आवश्यक अधिकांश तयारी अघि बढाइसकेको उनले दाबी गरे ।

बाँकी कामलाई तीव्रता दिँदै संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश सरकार तथा खेल संघसंस्थाबीच समन्वय गरेर प्रतियोगिता सफल बनाउने मुख्यमन्त्री शाहीले बताए । ‘वीरेन्द्रनगरलाई केन्द्र बनाएर मात्र नभई प्रदेशका विभिन्न जिल्लामा समेत खेल गतिविधि र तयारी अघि बढाइएको छ,’ उनले भने, ‘यसले राष्ट्रिय खेलकुदलाई कर्णालीको राजधानीमा केही दिन सञ्चालन हुने प्रतियोगिताभन्दा बाहिर लैजाने र प्रदेशका अन्य जिल्लालाई पनि खेल गतिविधिसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ ।’

पहिलो पारा राष्ट्रिय खेलकुद पनि एजेन्डामा

मूल आयोजक समितिको निर्णयले दसौँ राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको विषयलाई पनि औपचारिक रूपमा समेटेको छ । राष्ट्रिय खेलकुद परिषद्ले पारा खेलकुदका लागि बजेट व्यवस्था गरिएको जनाएको छ । चालू आर्थिक वर्षमा पारा खेलकुदका लागि तीन करोड रूपैयाँँभन्दा बढी रकम उपलब्ध भएको सदस्यसचिव मेहताले जानकारी दिए । उनका अनुसार दसाँं राष्ट्रिय खेलकुद सम्पन्न भएलगत्तै पारा राष्ट्रिय खेलकुदको मिति तय गरेर तयारी अघि बढाउने योजना छ भने पारा राष्ट्रिय खेलकुद कर्णालीमै गर्ने कि काठमाडौंमा भन्ने विषयमा भने सम्बन्धित पक्षसँग छलफल भइरहेको छ ।

‘दसौँ राष्ट्रिय खेलकुदको मिति र स्वरूपबारे निर्णय भएसँगै लामो समयदेखि रहेको अन्योलको एउटा चरण समाप्त भएको छ’ उनले भने, ‘त्यसका लागि मूल आयोजक समितिले कार्यसम्पादन समितिलाई आवश्यक अधिकार प्रत्यायोजन गरेको छ । विषयगत उपसमिति गठन गर्ने निर्णयले पनि तयारीलाई कार्यान्वयन तहमा लैजान सजिलो भएको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार