वर्षदिन नटिक्ने कोहलपुर नगरपालिकाको विकासः भत्कियो रोहिणीको पक्की पुल



कोहलपुर ।

बाँकेको कोहलपुरमा निर्माण सम्पन्न भएको वर्षदिन नहुँदै पक्की पुल भत्किएको छ । कोहलपुर नगरपालिकाले १० लाख लागतमा निर्माण गरेको पक्की पुल वर्षदिन नपुग्दै भत्किएको हो ।

वडा नम्बर १२ र १३ जोड्नको लागि रोहिणी खोलामा निर्माण गरिएको पक्की पुल केही दिनअघि आएको बाढीले भत्किएको थियो । वडा नम्बर १३ का स्थानीय पवलसिंह खड्काले केही दिन अघि आएको बाढीले पुल भत्काईदिएको बताए । ‘यो पुल बनेको धेरै भएको छैन’ उनले भने, ‘तर सानो बाढीले नै यसलाई भत्काइदिएको छ ।’

वडा नम्बर १२ तर्फ बाढीले पुलको पुरै भाग खोलामा नै खस्ने अवस्थामा पु¥याइदिएको छ । त्यसभन्दा पहिले आएको बाढीले वडा नम्बर १३ तर्फको भागमा क्षति गरिदिएको थियो । यो पुल उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो ।

दुवै वडा स्थानीयबासीलाई सामेल गरेर पुल निर्माणको लागि उपभोक्ता समिति निर्माण गरिएको थियो । अहिले पुल भत्किएपछि मोटरसाइकल र साइकल बाहेक अन्य सवारी साधनहरु आवतजावत गर्न सक्दैनन् ।

दुबै वडाका स्थानीयहरुलाई काम परेमा आधा घण्टाभन्दा बढि घुमेर अर्को बाटो जानुपर्ने वाध्यता रहेको स्थानीय खड्का बताउँछन् ।

‘पुलबाट जाँदा छिटो र सजिलो हुन्थ्यो, यो भत्किएपछि आधा घण्टा भन्दा लामो बाटो घुमेर बजार जानुपर्छ’ उनले भने । वडा नम्बर १२ का अर्का स्थानीय देवी प्रसाद जैशीले पुल भत्किएपछि स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको बताए ।

स्थानीयलाई घाँस दाउरा ल्याउन जंगल जाँदा समेत आधा घण्टाभन्दा बढी घुमेर जानु पर्ने बाध्यता रहेको बताउँछन् । ‘पुल भत्किएपछि स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ ।

घाँस दाउरा ल्याउन सामुदायिक वनतर्फ जान पनि घुमेर लामो बाटो जानुपर्ने बाध्यता छ’ उनले भने, ‘पुल बनाउँदा जाली लगाइदिएपछि आफ्नो करिब तीन कठ्ठा जमिन समेत बाढी बगाइदिएको छ ।’

यसबारेमा बुझ्दा रोहिणी खोला पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलाल घर्तिले आफूले उपभोक्ता समितिमा बस्न नचाहेको भएपनि समितिकी सचिव केश कुमारी वली भण्डारीले धेरै आग्रह गरेपछि समितिको अध्यक्षमा बसेको बताए ।

‘निर्माण समितिमा बस्ने इच्छा थिएन । सचिव केश कुमारीले तपाईले केहि गर्नु पर्दैन, सबै म गर्छु, पदमा मात्र बसिदिनुस् भनेपछि म बसेको
हुँ’ उनले भने, ‘पुल निर्माणको जिम्मा पनि कसलाई दिएको भन्ने आफूलाई जानकारी नै नदिएर ठेकेदारलाई ठेक्का दिएका हुन् ।’

उनले भने ‘काम गर्ने श्रमिकहरुको पारिश्रमिक दिँदा पनि सचिव र ठेकेदार आएर सिग्नेचर गर्न पठाएर अरु सबै काम आफैले गर्थे ।’ पुल निर्माण गर्दा नै बिचको पिलर भाँचिएको र अहिले आएको बाढीले वरिपरिको भाग भत्काएको उनको भनाई रहेको छ ।

यस बारे बुझ्न खोज्दा वडा नम्बर १३ का अध्यक्ष ओम प्रकाश वलीले पुल निर्माणका क्रममा आफू स्वास्थ्य उपचारका लागि २/३ महिना काठमाण्डौमा बसेको बताए । काठमाण्डौबाट आइसकेपछि पुल निर्माण गुणस्तरीय नभएको भनेर नगरपालिकामा समेत जानकारी गराएको उनी बताउँछन् ।

‘पुलको गुणस्तर छै कि छैन, पास हुन्छ कि हुँदैन भनेर नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र नगरपालिकाका प्रवक्तालाई लिएर प्रत्यक्ष देखाए’ उनले भने । यसको बारेमा अनुगमन समिति संयोजक तथा नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीलाई पनि जानकारी गराएको बताउँदै वडाअध्यक्ष वलीले आफूहरुको असन्तुष्टि हुँदा हुँदै पनि पास गरिएको जानकारी दिए ।

‘मैले उपमेयर ज्यूलाई पनि जानकारी गराएँ, नगरसभामा पनि यसको बारेका कुरा उठ्यो तर हाम्रो असन्तुष्टि हुँदा हँदै पनि पास गरियो’ उनले अगाडि थपे, ‘अहिले सानो बाढी आउँदा पनि पुल भत्कियो ।’

आफू स्वास्थ्य उपचारका लागि बाहिर जाँदा रेखदेखमा केहि कमी कमजोरी भएको भने वडाअध्यक्ष वलीले स्वीकार गरे । आफूहरुले पुल गुणस्तरिय नभएको भन्दा पनि पास गरिदिने नगरपालिकाका जनप्रतिनिधि, तत्कालिन प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा, अनुगमन समितिको ठूलो लापरवाही भएको उनीले बताए ।

यता वडा नं.१२ का कार्यवाहक अध्यक्ष नैन बहादुर शाहीले केहिदिन पहिले आएको बाढीले पुल भत्काएपछि स्थानीयले जानकारी गराएपछि आफू त्यहाँ पुगेको जानकारी दिए । पुलमा अहिले आवतजावत गर्न मिल्ने अवस्था समेत नरहेको उनले बताए ।

‘केहिदिन पहिले बाढी आएर पुल भत्किएपछि स्थानीयले खबर गरेपछि म त्यहाँ पुगे’ उनले भने, ‘त्यहाँ पुगेर अनुगमन गर्दा पुल एकदमै नाजुक अवस्थामा छ, आवतजावत गर्न पनि खतरा छ ।’

वडाअध्यक्ष शाहीले बाढीले पुलको १२ नम्बर वडापट्टिको भाग भाँसिएको भन्दै फेरि बाढी आए पुल पुरै भत्किने बताए । ‘पुुलको वरिपरि दुवै तर्फको भाग खोलाले कटान गरेकोले पुरै भत्किने अवस्थामा छ’ उनले भने, ‘पुलको स्टमेट नै गलत भएको थियो । दुवैतर्फ जाली लगाएको भए त्यति क्षति हुने थिएनकी ।’

वडा नम्बर १२ र १३ लाई जोड्ने पुल निर्माण भएपछि खुसी भएका स्थानीय केही महिनामा नै भत्किएपछि त्यो खुसी फेरी खोसिएको छ । अनुगमन समिति संयोजक तथा नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरी उक्त पुल गुणस्तरीय भएको नपाइएपछि पास नगरेको बताइन् ।

‘हामी अनुगमन जाँदा पुल मापदण्ड अनुसार बनाएको नपाएपछि भुक्तानिको लागि पास गरेनौं’ उनले भनिन्, ‘पछि कार्यपालिका बैठकबाट भुक्तानि दिने कुरा भएको हो ।’

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २३ गते शुक्रबार