कोहलपुरमा यातायात सेवा कार्यालय उद्घाटनको तयारी



कोहलपुर ।

बाँकेको कोहलपुरमा सञ्चालन हुने यातायात सेवा कार्यालय उद्घाटनको तयारी भइरहेको छ । गत मंसिर १६ गते लुम्बिनी प्रदेश सरकारले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारले कोहलपुरमा कार्यालय स्थापना गर्ने निर्णय गरेको एक महिनापछि कार्यालय औपचारिक रूपमा उद्घाटन गर्ने तयारी गरिरहेको छ । प्रदेश सरकारको निर्णयबमोजिम कोहलपुरमा कार्यालय उद्घाटन गरेर औपचारिक रूपमा सेवा सञ्चालन गर्ने तयारी भइरहेको यातायात व्यवस्था कार्यालय नेपालगन्ज बाँकेले जनाएको छ ।

कार्यालय प्रमुख लोकबहादुर सुनारले कार्यालय उद्घाटन पूर्वको तयारी तीव्र गतिमा भइरहेको बताए । उनका अनुसार आफू सोमबार बिहानमात्रै कोहलपुर पुगेर तयारीको अवस्थाका विषयमा जानकारी लिएको कार्यालय प्रमुख सुनारले मिसन टुडेसँग बताए । ‘कार्यालय सञ्चालनका लागि कोहलपुरमा उपयुक्त स्थान छ । अहिले त्यसको मर्मत र रङरोगन गर्ने काम भइरहेको छ । अन्य केही प्राविधिक कुरासमेत मिलाउनुपर्नेछ । त्यसको पनि व्यवस्थापनको काम भइरहेको छ,’ उनले भने ।

कार्यालयको सेवा सञ्चालनका लागि अत्यावश्यक रहेको डिभाइस खरिद गर्नुपर्ने र उक्त मेसिन खरिद प्रक्रिया सकिनेबित्तिकै उपयुक्त समय मिलाएर कार्यालय उद्घाटन गरी सेवा सुरु गर्ने कार्यालयले तयारी गरिरहेको छ । कार्यालय प्रमुख सुनारले उक्त मेसिन १ लाख ५० रुपैयाँ पर्ने र सोको व्यवस्थापनका लागिे जनाएको छ । कोहलपुरस्थित सेवा कार्यालयमा चार जना कर्मचारी खटिनेछन् ।

कार्यालयबाट एक जना अधिृकत, कम्प्युटर, लेखा र एक जना कार्यालय सहयोगीको व्यवस्थापन भइसकेको उनले बताए । यता कोहलपुरर नगरपालिकाले पनि कार्यालय उद्घाटनका लागि कार्यालय रङरोगन गर्ने काम भइरहेको जनाएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर नगर प्रहरीलाई परिचालन गरेर कार्यालय सञ्चालन हुने स्थानमा सरसफाइको काम भइरहेको छ । कार्यालयले सवारी चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता किताब नवीकरण र पटके सेवा प्रदान गर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २३ गते मंगलबार