संघर्षको कथाहरू सबैको आ–आफ्नो हुन्छ । कसैको संघर्षको कथाले छुन सक्छ । कसैको संघर्षको कथाले तपाईँलाई नछुनपनि सक्छ । म यहाँले केही सिकेका, भोगेका, स्वीकारेका केही कुरा सुनाउन चाहन्छु ।मैले सुनाउने कथाको प्रमुख पात्र नै मेरो आमा हुनुहुन्छ । जो मेरो लागि संसारको सबैभन्दा ठूलो विश्वविद्यालय हो । उहाँ एउटा प्रेरणा हो । जतिबेला अघि बढ्न खोज्छु । मेरो आमाले बोलेका शब्दहरूलाई मनन् गरेर अघि बढ्छु । ती कुराहरूलाई नियालेर नै म यहाँसम्म आइपुगेको हुँ ।
जुम्ला बजारको एउटा सानो कुनामा कामीटोल भन्ने बस्ती छ, हो त्यही बस्तीमा जन्मिएको हुँ म । मेरा बाको मसँग धेरै सम्झनाहरू छैनन् । एक दुई वटा मात्रै सम्झना छन्, मसँग मेरा बाका सम्झनाहरू । म पाँच वर्षको हुँदा मेरो बाको मृत्यु भएको हो । मेरो बाको ५–६ वटा श्रीमती हुनुहुन्थ्यो । ती मध्ये कान्छी श्रीमतीबाट जन्मिएको कान्छो छोरा हुँ म । हामी तीन जना दाजुभाई छौँ । पाँच वर्षको हुँदा बा बित्नु भयो । त्यतिबेला मेरी आमा ४५ वर्षजतिको हुनुहुन्थ्यो । बाको मृत्युपछि सम्पूर्ण जिम्मेवारी आमाको काँधमा आइपुग्यो । मेरी आमा आफ्ना तीन सन्तानको लागि यति समर्पित हुनुभयो भयो कि दिनरात नभनी संघर्ष गर्नुभयो । हावा भन्नु भएन, पानी भन्नु भएन । उहाँले यति संघर्ष गर्नु भयो कि त्यसैको परिणाम स्वरुप आज हामी लायक भएका छौँ ।

गोविन्द सुनार
यहाँसम्म आइपुगेका छौँ । यो सब मेरी आमाको देन हो, संघर्षको परिणाम हो, एउटा मातृ प्रेमको असली उदाहरण हो । हामी उठेका हुन्थेनौँ, बिहानै उठेर काम गर्न जानुहुन्थ्यो । मेलापात, दाउरा, घाँसपात र मजदुरी उहाँको दैनिकी थियो । साँझ रात छिप्पिसकेपछि मात्रै फर्किनुहुन्थ्यो । अरु घरको सम्पूर्ण काम सात वर्षका माइला दाई, ११ वर्षका जेठा दाई र पाँच वर्षको म मिलेर ग¥थ्र्यौँ । साँझ आउँदा उहाँको एउटै शब्द हुन्थ्यो कि ‘आज स्कुल को गएन ?’
उहाँ यति व्यस्त हुनुहुन्थ्यो कि हाम्रो लागि उहाँले आफ्नो लागि कहिल्यै सोँच्नु भएन । हो, आमाका चाहना, इच्छाहरू कति थिए होलान् । उहाँका पनि रहर हुँदा हुन् । उहाँलाई राम्रो लाउन मन लाग्थ्यो होला । मीठो मसिनो खान मन लाग्थ्यो होला । उहाँले कहिलेपनि भन्नु भएन कि म थाकेँ । उहाँ सिर्फ एउटै कुरा भन्नुहुन्थ्यो, ‘तिमीहरू काबिल बन ।’ धन सम्पति भन्ने कुरा कमाइन्छ, आउँछ जान्छ । तर, इज्जत भन्ने कुरा कहिलेपनि खोसेर आउँदैन । कमाउनुपर्छ । ताउ लाउन सिक्नुपर्छ छोरा भन्नुहुन्थ्यो । यो त भयो मेरो आमाको कथा ।
अब म सुनाउँछु, मेरो यात्राको कथा ।
जब म सानो थिएँ । आमा बिहानदेखि साँझसम्म काममा व्यस्त हुनुहुन्थ्यो । म भने छिमेकीको घरमा टिभी हेर्न जान्थँे । फिल्म हेरिसकेपछि साथीहरूसँग टिभीमा देखिएका व्यक्तिले गरेका अभिनयको नक्कल गर्थेँ । साथीहरू मिलेर डाइलग भन्ने ग¥थ्र्यौँ । स्कुलमा म एभलेज विद्यार्थी थिएँ । जहिलेपनि ५–६ नम्बरमा आउँथे । स्कुलमा नाटकहरू, डान्सहरू गर्थेँ । यसमा मेरो विशेष रुचि थियो । खेलकुद र कला मेरो विशेष अभिरुचिको क्षेत्र थियो । स्कुलमा मैले त्यसरी नै काम गरेँ ।
मैले एलएलसी दिएँ, कामीटोलमा प्रथम डिभिजनमा पास गर्ने म नै पहिलो व्यक्ति थिएँ । त्यसपछि म नाटकमा जोडिएँ । हाम्रो गाउँ नजिकै आनन्द अधिकारी, तोरण अंकल र दाईहरूको एउटा नाट्य समूह थियो । मलाई नाटक गर्ने अवसर जु¥यो । मेरो एसएलसी ब्याचका सबै साथीहरू सुर्खेत, नेपालगन्ज काठमाडौँ पढ्न गए । म भने ११ र १२ कक्षा जुम्लामै पढँे । कारण थियो घरको आर्थिक अवस्था र विपन्नता । दशैँ तिहारको समयमा घर आउँदा उनीहरू सहरका कुराहरू सुनाउँथे । मलाई पनि त्यहाँ जान पाए भन्ने लाग्थ्यो । कस्तो रहेछ त काठमाडौँ सहर भन्ने लाग्थ्यो, कौतुहलता हुन्थ्यो । मैले प्लस टु जुम्लामै पास गरे ।
जब मेरो घर परिवारको आर्थिक अवस्था अलि माथि उठेपछि मैले जिल्ला छोडेँ । मेरो दोस्रो आमा बाबा भनेको मेरा दाई भाउजू हुनुहुन्छ । जो अहिलेपनि हामीसँगै बस्छौँ । स्नातक तह पढाउन मलाई घरबाट काठमाडौँ पठाइयो । म काठमाडौँ गएँ । बीउचडबयू पढेँ । पहिलो वर्षमै मैले विश्व सामाजिक दिवसमा मैले एउटा नाटक लेखेँ । जुन कालीकोटमा चुल्हो छोयो भनेर एउटा मान्छे मारिएको थियो । त्यसको एउटा म्युजिकल प्ले बनाएँ । त्यतिबेला चन्द्रिका यादव शिक्षा मन्त्री हुनुहुन्थ्यो । उहाँ त्यस कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यो देखिसकेपछि मेरा साथी र शिक्षकहरूले तैँले थिएटर गरेको हो भनेर सोधे ? तर मैले थिएटर हुन्छ भन्ने सुनेको थिएँ, त्यहाँ के हुन्छ मलाई थाहा थिएन ।
दोस्रो वर्षमा मैले मेन्टल हेल्थको विषयमा अर्को नाटक गरेँ । त्यसको लेखक र निर्देशक म आफैँ थिएँ । त्यसमा मेरो पनि अभिनय थियो । फेरि उही प्रश्न दोहोरियो । तिमीले थिएटर गरेको हो ? त्यसपछि मलाई लाग्न थाल्थ्यो आखिर के रहेछ यो थिएटर भनेको । म उत्सुक भएँ । त्यसपछि म पुगेँ मण्डला थिएटर । म त्यहाँ पुग्दा रसुमन भन्ने नाटक लागिरहेको थियो । जसको प्रमुख पात्र विपिन कार्की दाई । त्यो नाटकले मलाई यसरी छोयो, यसरी हान्यो । अनि मलाई लाग्यो, मेरो अब हिँड्ने बाटो यही हो । म भित्र रहेका सबै कुराहरू व्यक्त गर्ने उपयुक्त गर्ने माध्यम यही हो जस्तो लाग्यो ।
त्यस नाटक हेरिसकेपछि मैले कलेज जान छोडेँ । म अब कसले नाटक सिकाउँछ भन्ने कुरा खोज्नतिर लागेँ । धाउन थालेँ, दौडिन थालेँ काठमाडौँका गल्लीगल्लीहरूमा । हिँड्दा हिँड्दै एकदिन सुनील पोखरेल सरको मा पुगेँ । त्यतिबेला गुरुकूल भत्केर अर्को संस्था खोल्नु भएको रहेछ उहाँले । उहाँलाई भेटेर मैले भनेँ, ‘सर म कर्णालीबाट हो, मलाई नाटक सिक्न मन छ । तर, मसँग पैसा छैन ।’ बरु म झाडु, पोचा लाउँछु, चिया बनाउँछु भनेँ ।
पढ्न आएको मान्छे, नाटक गर्छु भन्दा पैसा पठाइदिने सम्भावना नै थिएन । अर्कातिर कर्णालीको मान्छे । मलाई बुझ्ने कुरै थिएन । अहिले त बुझेका छैनन् त्यतिबेला मेरो मनको भावना बुझ्ने कोहीपनि थिएन । म बिहान १० बजे गएको ३ बजेसम्म उहाँलाई कन्भिन्स गर्न खोजेँ । उहाँले मान्नु भएन । भोलिपल्ट फेरि गएँ । अनि त्यही हिजो कै कुरा भनेँ । त्यस दिनपनि निरास भएर फर्किएँ । अर्को दिनपनि कलेज गइनँ । सुनील सरको मै गएँ । जतिभन्दा पनि नमानेपछि कलेज जानै छाडेँ ।
त्यसको एक दिन म कलेज नगएर कोठामा सुतिरहेको थिएँ, मैले उहाँलाई मेरो नम्बर छोडेको थिएँ । त्यतिबेला सुनील सरकार सुनाकोटी बस्नुहुन्थ्यो । म लगनखेल बस्थेँ । उहाँले फोन गर्नुभयो, कहाँ हो गोविन्द आउ भन्नुभयो । त्यो कुरा सुन्नासाथ फोन राखेर मुखपनि नधोएर दौडिएर गएँ । मैले एक महिना कलास गर्ने अवसर पाएँ । दुई महिनाको कलास भइसकेको रहेछ । एक महिना जति अलिअलि सिकेँ । त्यसपछि कलेजपनि सकिन लाग्यो । कलेज सकिएपछि घरबाट आउने पैसाको स्रोत सकियो । काठमाडौँमा कसरी टिक्ने त ? एउटा मिस्टर हेल्थ सोलुसन भन्ने संस्था थियो । त्यहाँ जागिर गरेँ ।
त्यहाँ तीन महिना काम गरेँ । त्यहाँ आफूलाई ठग्ने काम मात्रै भइरहेको थियो । काम गर्न मनै लागेन । जागिर छोडेँ । थिएटरमा स्वयमसेवकको रूपमा फर्किएँ । मण्डलामा सहयोगीको रूपमा काम गरेँ । त्यतिबेला प्ले ब्यागका विषयमा सिकेँ । घरबाट पनि तेरो पढाइ सकियो, जागिर छैन, कसरी बसिराछस् जुम्ला आ भन्न थाले । त्यसमा सबै सपनाहरू काठमाडौँमा बेवारिसे छोडेर जुम्ला आएँ ।
चिल्डे«न फर न्यू नेपाल भन्ने एउटा संस्थासँग फोहोरलाई घरमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कलास गरेको थिएँ । जुम्ला आइसकेपछि स्कुलहरूमा मैले फ्रीमा त्यो कुरा सिकाउने काम गरेँ । नाटक सिकाउन थालेँ । त्यसपछि एसिया स्कुलमा एउटा वर्कसप गरेँ । जुम्लाको सिडियोलाई बोलाएर नाटक देखायौँ ।
त्यसपछि उक्त स्कुलका फाउन्डर मनोज बुढाथोकी चुकेनी जलविद्युतको एउटा टोलीलाई सोलुखुम्बु लिनुपर्ने थियो, उहाँले तैँले लिएर जा भन्नुभयो । म त्यो टोलीलाई लिएर सोलुखुम्बु गएँ । त्यतिबेला उक्त टोलीमा हुनु भएका एकजना प्रेम वर्षा भन्ने मान्छेले नाटक गर्ने हो गोविन्द भन्नुभयो । बीचमै यात्रा छोडेर म मण्डला आएँ । दुई महिना नाटक गरेँ । आफूले गरेको कुरा चित्त बुझिरहेको थिएन ।
त्यसपछि सुलक्षण भारती भन्ने सरसँग मेरो भेट भयो । सिनामंगलमा ‘पूरानो घर’ भन्ने एउटा पूरानो नाटक घर छ । त्यहाँ उहाँले कलास गराइरहनु भएको थियो । म त्यहाँ गएँ । मसँग एउटा साइकल थियो । उहाँलाई भनेँ, ‘सर मलाई नाटक गर्न मन छ, पैसा छैन । एउटा साइकल छ । यो साइकल राख्नु नाटक सिक्छु ।’उहाँले साइकल तैँ राख पैसा पर्दैन भन्नुभयो । तँ कलास आइजा भन्नुभयो । त्यहाँ चार महिना नाटक सिकेँ । तर काठमाडौँमा टिक्ने माध्यम केहीपनि थिएन । त्यहाँ टिक्न सकिएन ।
फेरि जुम्ला फर्किएँ । घरबाट ‘कि जागिर खा, कि लोकसेवा लड, नभए विदेश जा ।’ भन्ने प्रेसर आयो । विदेश जानु प¥यो भनेर पासपोर्ट बनाएँ । सबै आवश्यक कागजात संकलन गरेँ । फर्म भर्न जिल्ला प्रशासन कार्यालय जुम्लाको गेटमै पुगेपछि एक्कासी मनमा एउटा कुराले नराम्रोसँग चिमोट्यो, म विदेश जाउँला, पैसा कमाउँला मलाई कसैले चिन्दैन । त्यो पैसा के गरौँला, मेरो अस्तित्व नै रहेन भने मैले पैसा कमाएको के काम हुन्छ ? भन्ने लाग्यो । प्रशासनभित्रै नछिरेरै बाहिर निस्किएँ । घर गएर सबै डकुमेन्ट फालेँ । झोलामा कपडा प्याक गरेर रारा हिडेँ । त्यतिबेला मेरो खल्तीमा जम्मा आठ सय रूपैयाँ मात्रै थियो । बाटोमा आफूलाई महशुस गर्दै, मैले गर्ने के हो ? मैले के गरिरहेको छु । म को हुँ भन्दै धेरै कुरा खेले मनमा ।
राराबाट फर्किसकेपछि कर्णाली आर्ट सेन्टर मुगुका हिरा बिजुली दाईको फोन आयो । उहाँले गोविन्द नाटक गर्दैछौँ भन्नुभयो । म हजार रूपैयाँ समाएर फेरि मुगु गएँ । दुई महिना मुगु । नाटक बनायौँ । त्यो नाटक अन्तर्राष्ट्रिय नाटक फेस्टिभलमा प्रदर्शन भयो । त्यो नाटकमा मेरो दुईटा रोल थियो, एउटा थियो चाउरे दमाई । त्यो नाटकले राम्रो चर्चा कमायो । त्यतिबेला एउटा फिल्मको अडिसन पनि चलिरहेको थियो । काठमाडौँमा अडिसन दिँदा दिँदा थाकिसकेको थिएँ । गर्दिन भनेको थिएँ । हिरा दाईले जाउ न भन्नुभयो । गएँ, अडिसन दिएँ । फोन आयो, तिमी जुलाई र अगस्टमा फ्री हुनुपर्छ भन्यो । त्यसपछि चरित्रको कामको लागि जुम्ला बसेँ । मलाई त्यो काम एक वर्षपछि लम्बिएको छ भनियो । त्यसपछि अब मैले के गर्ने त भन्ने भयो । त्यहीबेला हिरा दाईले अर्को नाटक गरौँ भन्नुभयो । त्यो नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गर्ने हो भन्नुभयो । मुगु गएँ । फेरि, स्टोरी आधा मात्रै छ । के गर्ने भन्नु दुबिधा भयो । काम सम्पन्न गरियो । त्यो नाटक लिएर काठमाडौँ गयौँ । त्यहाँ नाटक देखायौँ ।
फेरि जुम्ला आएँ ।
एक वर्ष कसरी कटाउने भन्ने भयो । हामीले काठमाडौँ देखाएको नाटक जुम्लाका ननएक्टरहरूलाई लिएर दुई महिनासम्म नाटकको काम ग¥यौँ । हामीले कर्णालीमै पहिलोपटक जुम्ला मोबाइल बक्स थिएटर ग¥यौँ । १५ दिन नाटक मञ्चन गरियो । अलिअलि पैसा उठ्यो । फेरि हामीले जुम्ला बजारको बालमन्दिर नजिकै एउटा कुनामा रहेको डम्पिङ साइटमा क्याफे बनायौँ । नाम थियो, ‘अन्नी घर’ ।त्यसमा त्यतिबेलाका सिडियो दुर्गा बन्जाडे हुनुहुन्यो । उहाँले हामीलाई महिला हिंसाविरुद्ध सम्बन्धी काम गरौँ भन्नुभयो ।पछि त्यहाँ कफी खान मानिस आउन थाले । पछि क्याफे नै बन्यो ।
त्यसपछि कोभिड आयो । क्याफे पछाडि स्कुल थियो । स्कुललाई क्वारेन्टाइन बनाइयो । अलिअलि पैसा कमाइयो । त्यहीबेला जुम्लामा सर्जिकल मास्कको अभाव देखियो । मास्क बनाएर बेच्यौँ । तीन रूपैयाँमा बेच्यौँ । जुम्लाभरी हाम्रो मास्क बिक्यो ।
त्यसपछि मलाई प्रकाश फिल्मको लागि कल आयो । मलाई फिल्ममा काम गर्ने अफर आयो । मैले ओके भने । त्यसपछि प्रकाश फिल्मको लागि काठमाडौँ आएँ । फेरि कोभिडले सतायो । त्यतिबेलासम्म अति भइसकेको थियो । त्यहीबेला एउटा साथीले सिरियल गर्ने भन्नुभयो । आठ दिन लगाएर फेरि काठमाडौँ पुगेँ । सिरियल गरियो । त्यो काम सहकारीबाट लोन निकालेर गरेका थियौँ । नेपाल टेलिभिजनबाट प्रशारण हुन्थ्यो ।
मेरो आमाले त्यतिबेला मेरो छोरा टिभीमा आउँदैछ भनेर गाउँमा हल्ला गर्नुभयो । फेरि थिएटर आएँ । केही नाटक गरेँ । विस्तारै फिल्मका अफर आउन थाले । अहिले मैले डाइरेक्टरको रूपमा धेरै प्रोजेक्टमा काम गरिरहेको छु ।यी सबैको कुराको मोटिभेसन नै मेरो आमो हो । मलाई अभाव हुँदा आमाको एउटा बोली नै अमृत समान भइदिन्छ ।
(सुर्खेतमा फागुन ५, ६ र ७ गते सम्पन्न कर्णाली उत्सव, कुडा कर्नालीकामा ‘पैकेलो’ शीर्षकमा रंगकर्मीले गोविन्द सुनारले सुनाएको जीवनकथाको सम्पादित अंश )









प्रतिक्रिया दिनुहोस्