कोहलपुरमा ‘दलित डेस्क’ स्थापना गर्न माग



कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका क्षेत्रका दलित अगुवाहरुले नगरपालिकामा दलित डेस्क स्थापना गर्न माग गरेका छन् । दलित समुदायमाथि हुने विभिन्न प्रकारका भेदभाव, उत्पीडन, छुवाछुत लगायतका घटनाहरूको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न नगरपालिकामा दलित डेस्क स्थापना गर्न माग गरेका हुन् । हरेक वर्ष मार्च २१ का दिन अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको सन्दर्भमा  बुधबार कोहलपुरमा आयोजित पूर्वतयारी बैठकमा दलित अगुवाहरुले नगरपालिकामा दलित डेस्क स्थापना गर्न माग गरेका हुन् ।

कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माको अध्यक्षतामा नगरपालिकाको सभाहलमा  सम्पन्न पूर्वतयारी बैठकमा नगरपालिकाकै पूर्वजनप्रतिनिधिसमेत रहेका दलित अगुवा भीम नेपालीले कोहलपुर नगरपालिकामा आफूहरु जनप्रतिनिधि हुँदा दलित शसक्तिकरण ऐन निर्माण गरिएको भन्दै त्यसको कार्यान्वयन गर्न माग गरे ।

कोहलपुर नगरपालिकाका पूर्व विधायन समितिका संयोजक समेत रहेका नेपालीले ऐनमा दलित डेस्क स्थापना गर्ने स्पष्ट व्यवस्था भएपनि कार्यान्वयन हुन सकेको छैन । सो बैठकमा उनले जातिय भेदभाव उन्मूलनको अन्तर्राष्ट्रिय दिवसको दिन नगरपालिकामा अनिवार्य रुपमा दलित डेस्क स्थापना गर्नुपर्ने माग गरेका हुन् । म विधायन समितिको संयोजक हुँदा कोहलपुरमा १३० वटा भन्दा बढी कानुन निर्माण गरेका छौँ । त्यसमध्येको एक दलित शसक्तिकरण ऐन बनेको छ ।  त्यसको कार्यान्वयन हुन सकेको छैन । नगरपालिकाले उक्त दिन दलित डेस्क स्थापना गरोस्’ उनको भनाइ थियो ।

यसैगरी रेडियो प्रतिबोध एफ.एम.का अध्यक्ष शिव कुमार सुनारले कोहलपुर नगरपालिकामा दलित डेस्क अपरिहार्य रहेको बताए । उनका अनुसार कोहलपुर नगरपालिकाले दलित समुदायमा हरेक क्षेत्रमा उपेक्षा गरिरहेको भन्दै दिवस मनाएर मात्रै झारो टार्ने भन्दा दीर्घकालीन कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिए ।  दिवसको सन्दर्भमा दलित अधिकारका लागि योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्न नगरपालिकालाई सुझाव दिए । दलित सेवा संघ बाँकेका अध्यक्ष बुद्ध सुनारले  दलित डेस्क बाँके जिल्लाका सम्पूर्ण स्थानीय तहमा स्थापना गर्न आवश्यक रहेको बताए ।

उनका अनुसार डेस्क स्थापनाका लागि यहाँका जनप्रतिनिधि र दलित अगुवाहरुले स्थानीय सरकारलाई दबाब दिन आवश्यक छ । उनले कोहलपुर नगरपालिकाका सम्पूर्ण वडामा दिवसको दिन जातीय विभेद क्षेत्रमा बनेका कानुनहरुको जानकारी दिनको लागि खबरदारी कार्यक्रम गर्न सुझाव दिए । दलित महिला संघ बाँकेकी अध्यक्ष निर्मला सुनारले स्थानीय तहहरुमा दलित डेस्क अनिवार्य आवश्यक रहेकोमा जोड दिइन् । उनका अनुसार डेस्क स्थापना गर्दा विशेष गरेर दलित र गैर समुदायलाई समेत जातीय विभेदका विषयमा जानकारी दिन भूमिका खेल्छ ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले पूर्वतयारी बैठकमा प्रस्तुत सुझावलाई  कार्यान्वयन गर्न कोहलपुर नगरपालिका गम्भीर रहेको बताए । उनका अनुसार सरोकारवालाहरुको विशेष चासोलाई सम्बोधन गरिनेछ । मार्च २१ दिनका कोहलपुरमा बृहत सडक बहस कार्यक्रम आयोजना गरिनेपनि उनले बताए ।

बाँकेका सम्पूर्ण राजनीतिक दलका नेतृत्व, सुरक्षा,अदालत तथा अन्य क्षेत्रका सरोकारवालाहरुको सहभागितामा बृहत सडक बहस कार्यक्रम आयोजना गरिने उनको भनाइ थियो । यही फागुन ११ गते मात्रै गृह मन्त्रालयले दलितमाथि हुने विभिन्न प्रकारका भेदभाव, उत्पीडन, छुवाछुत लगायतका घटनाहरूको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको थियो । मन्त्रालयले यसअघि ७७ जिल्लामा स्थापना भएका दलित डेस्कलाई थप प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।

सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रगंभेदी कानुनविरुद्ध भएको शान्तिपूर्ण जनप्रदर्शनमा राज्यसत्ताले ६९ जनाको हत्या ग¥यो भने ३ सयभन्दा बढी आन्दोलनकारीलाई घाइते बनायो । यस नरसंहारविरुद्ध विश्व मानव समुदायको निरन्तर खबरदारी र ऐक्यबद्धताका कारण सन् १९६६ मा संयुक्त राष्ट्रसंघले सबै प्रकारका जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गर्दै मार्च २१ लाई दिवसकारूपमा घोषणा गरेको थियो । नेपालमा भने यो दिवस २०४६ सालको परिवर्तनपछि मात्र मनाउन थालिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २९ गते बिहीबार