वीरेन्द्रनगर ।
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले ४ बुँदे गढी घोषणापत्र जारी गरेको छ । शाखाको चौथो पूर्ण बैठकले बयलकाँडा गढी घोषणापत्र जारी गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा शाखाले बिहीबार वीरेन्द्रनगर–१४, स्थित ऐतिहासिक गढी क्षेत्रमा बैठकको आयोजना गरेको थियो । पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माका अनुसार बैठकले आम पत्रकारहरूको साझा हकहित र पेशागत सुरक्षाका निम्ति गोलबद्ध हुने प्रण गर्दै घोषणापत्र जारी गरेको हो ।
जसमा ऐतिहासिक गढी क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गरी पुनर्निर्माण गर्न वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण गराउने पहिलो बुुदाँमा उल्लेख छ । यस्तै गोठीकाँडालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न यस क्षेत्रलाई जोड्ने पदमार्ग तथा सडक स्तरोन्तीलाई प्राथमिकता दिन प्रदेश सरकार र नगरपालिकाको ध्यानाकर्षण गराइने बताइएको छ ।
नगरपालिकालाई मिडियामैत्री सञ्चार कानुन निर्माण गर्न जोडदार माग गर्ने बैठकले निर्णय गरेको छ । स्थानीय सरकारबाट प्रकाशन-प्रसारण गरिने विज्ञापनहरू प्रकाशन÷प्रसारण गर्ने पहिलो हक सोही स्थानका सञ्चार माध्यमहरूले पाउनुपर्ने उल्लेख छ । यसको कार्यान्वयनका लागि नगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।
सोही अवसरमा गढीमै नगरपालिकाले पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूले नगरपालिकाले आगामी बजेटमा समेट्न पर्ने र यसअघि भए गरेका कामका विषयमा सकारात्मक आलोचनासहित सुुझाव सल्लाह दिएका थिए ।
अन्तरक्र्रियामा बोल्दै नगर प्रमुख मोहनमाया ढकालले पत्रकार महासंघ र पत्रकारहरूका माग तथा सल्लाहका आधारमा नगरपालिका अघि बढ्ने आवश्वासन दिइन् । उनले भनिन्, ‘गढी क्षेत्र एक पर्यटकीय स्थल हो । वीरेन्द्रनगर पुुगेपछि जो पनि एक पटक गढी पुुग्नपर्छ भन्ने ध्ययेका साथ पर्यटकीय क्षेत्रमा विकास निर्माणमा काम अघि बढाइने छ ।’
नगर उपप्रमुख निलकण्ठ खनालले गढी क्षेत्रको पर्यटकीय विकासका लागि सबैभन्दा पहिले पक्की सडक निर्माणको कामलाई जोड दिइएको बताए । सडक विस्तारपछि अन्य संरचनाको काम गरेर गढीलाई सुर्खेतकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाइने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्