बाँकेका नयाँ सिडिओ धर्मराज जोशी भन्छन् : ‘जनप्रतिनिधि चालक हुन्, कर्मचारी चाहीँ खलासी’



‘खलासी (कर्मचारी)ले चाहीँ ढोकाबाट जाउँजाउँ गुरु जी भन्ने हो, हामी ढोकामा उभिने जाउँजाउँ गुरु जी भन्ने, अगाडि खाल्डाखुल्डी छन् भने गुरु जी आस्ते विस्तारै भन्ने । अब धेरै ठूलो खाल्डाँमा पनि हाल्छु भन्यो भने बाइबाई गुरु जी पनि भन्ने हो ।’ गाडी भीर मै हाल्छु भन्नुभयो भने ‘ल गुरु जी म चाहीँ लागेँ ।’
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाले मंगलबार आफ्नो ८औँ स्थापना दिवस मनायो । दिवस समारोहका विशेष अतिथि थिए, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी । उनी बाँकेको प्रमुख जिल्ला अधिकारीका रूपमा सोमबार मात्रै जिल्लामा हाजिर भएका थिए । बाँकेको प्रमुख जिल्ला अधिकारीको रूपमा उनको पहिलो औपचारिक कार्यक्रममा सहभागिता थियो, राप्ती सोनारी गाउँपालिकाको स्थापना दिवस समारोह । सुरु मै उनले भने, ‘यहाँ आएको मेरो दोस्रो दिन हो । यस जिल्लाका स्थानीय तहमध्ये मेरो पहिलो स्थानीय तह हो, राप्ती सोनारी । यसका लागि म एकदमै खुसी छु ।’

स्थापना दिवसलाई सम्बोधन गदै प्रजिअ जोशीले स्थानीय तह आफूलाई माइती जस्तो लाग्ने बताए । आफूले पाँच वर्ष स्थानीय तहमै काम गरेको जोशीको भनाइ थियो । शाखा अधिकृत हुँदा पुरानो जिल्ला विकास समितिको योजना अधिकृत काम गरेको र उपसचिव भएपछि स्थानीय तह (नगरपालिका)मा प्रमुख प्रशासकीय अधिकृतका रूपमा ३३ महिनासम्म काम गरेको उनले सम्झिए ।

‘त्यतिबेला प्रमुख प्रशासकीय अधिकृतहरू एक वर्षमा तीन वटा, चार वटासम्म फेरिन्थे । म भने ३३ महिना बसेँ । त्यसपछि पनि म जापान पढ्न नगएको भए त्यतै हुन्थेँ होला । त्यहाँबाट फर्किएपछि चाहीँ गृह मन्त्रालयअन्तर्गत विभिन्न ठाउँमा काम गरेँ । यस हिसाबले मलाई स्थानीय तह माइती घर जस्तो लाग्छ । गृह मन्त्रालय चाहीँ घर जस्तो भयो ।’ जोशीको भनाइ थियो ।

स्थापना दिवस समारोहलाई विशेष अतिथिको रूपमा छ मिनेट मन्तव्य व्यक्त गरेका उनले स्थानीय तहका जनप्रतिनिधिलाई गाडीको चालक र कर्मचारीलाई खलासीको रूपमा तुलना गरे । प्रजिअ जोशीले भनेका थिए, ‘म पालिकामा हुँदाखेरी जनप्रतिनिधिहरूलाई भन्थेँ, हजुरहरू (जनप्रतिनिधि) चालक हो, गाडीको ड्राइभर हो । हामी (कर्मचारी) चाहीँ खलासी हो ।’

उनले थपे, ‘खलासी (कर्मचारी)ले चाहीँ ढोकाबाट जाउँजाउँ गुरु जी भन्ने हो, हामी ढोकामा उभिने जाउँजाउँ गुरु जी भन्ने, अगाडि खाल्डाखुल्डी छन् भने गुरु जी आस्ते विस्तारै भन्ने । अब धेरै ठूलो खाल्डाँमा पनि हाल्छु भन्यो भने बाइबाई गुरु जी पनि भन्ने हो ।’ गाडी भीर मै हाल्छु भन्नुभयो भने ‘ल गुरु जी म चाहीँ लागेँ’ राप्ती सोनारीका प्रमुख प्रशासकीय अधिकृतसँग इंगित गर्दै उनले भनेका थिए ।

उनले माथि उल्लेखित डाइगल धेरै फेमस भएकोसमेत सुनाए । उनले आफ्नो डाइलग काठमाडौँसम्म पुगेकोसमेत भन्न भ्याए । प्रजिअ जोशीका अनुसार फेमस भएको बहुचर्चित डाइलग थियो, ‘जाउँजाउँ गुरु जी, आस्ते गुरु जी, बाइबाई गुरु जी ।’ कर्मचारी र जनप्रतिनिधिबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिँदै उनले जनप्रतिनिधिलाई कर्मचारीले बाइबाई गुरु जी भन्ने अवस्था ल्याउन नहुनेमा जोड दिएका थिए । ‘बाइबाई गुरु जी राम्रो होइन ।’ उनको भनाइ थियो । यसैगरी, प्रजिअ जोशीले स्थानीय तहलाई सवारी साधन (गाडी) को संज्ञा दिए । जनप्रतिनिधि र कर्मचारी चढ्ने गाडी एउटै भएको उनको भनाइ थियो ।

‘हामी एउटै डुंगामा छौँ । त्यो गाडी, त्यो डुंगा पारी पुग्यो भने हामी सबै सफल हुन्छौँ । त्यो डुंगामा प्वाल प¥यो भने हामी कोहीपनि सफल हुुँदैनौँ ।’ उनले भने । स्थानीय तहमा विद्यामान एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति रहेको भन्दै त्यसको अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिए । जनप्रतिनिधि र कर्मचारी केवल जनताको सेवा गर्न मात्रै आएको उनले बताए ।

उनले भने, ‘हामी सबै जनताका लागि काम गर्न आएका हौँ । जनताका सेवक हौँ । जनप्रतिनिधि निर्वाचनबाट छानिएर आउनु भएको छ । जनताको मन जितेर आउनुभयो । हामी यसो परीक्षाका कापीमा दुई चार कुरा राम्रो लेखेर आएको हो । हामी परीक्षामा राम्रो लेखेर आयौँ । उहाँहरू जनताको परीक्षाबाट आउनुभयो । कर्मचारीभन्दा जनप्रतिनिधिको जिम्मेवारी बढी छ ।’

स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीहरूको बीचमा राम्रो सम्बन्ध स्थापित गरेर राम्रो काम गर्न सकिने उदाहरण धेरै ठाउँमा रहेको प्रजिअ जोशीले बताए । जनताको सबैभन्दा बढी सेवा गर्ने ठाउँपनि स्थानीय सरकार भएको उनले बताए । देश कोरोनाकालमा फसेको बेला आफूपनि स्थानीय तहमै काम गरेको भन्दै स्थानीय सरकारले संघीय सरकारले समेत गर्न नसकेको काम गरेर धेरैको जीवन बचाएको भन्दै स्थानीय सरकार अपरिहार्य रहेकोमा उनले जोड दिए ।

प्रजिअ जोशीले भनेका थिए, ‘कोरोनाको बेलामा म अहिलेपनि सम्झिन्छु । त्यति बेला म स्थानीय तहमै थिएँ । कोरोनाको बेला सबैभन्दा बढी काम गरेको भनेकै नगरपालिका र गाउँपालिकाले हो । केन्द्र सरकारले त माथिबाट चिठी मात्रै पठाउँथ्यो । सीमानामा गएर मान्छे बोकेर ल्याउने, क्वारेन्टाइनमा राखेर खाना खुवाउने काम स्थानीय तहले गरेका हुन् ।’ स्थानीय तहले गरेको राम्रो कामको प्रचारप्रसार हुन नसक्दा असल अभ्यासहरूको सूचना सबैतिर नपुगेको उनको भनाइ थियो ।

‘जागिर मात्रै खाने होइन, सेवाभावले काम गर्नुहोस्’

बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले कर्मचारीहरूलाई मन लगाएर सेवाभावले कार्यक्षेत्रमा खटिन निर्देशन नै दिए । राम्रो काम गरेमा कुनै न कुनै बेला राम्रो कामको मूल्यांकन हुने उनले बताए ।

खासगरी कर्मचारी मित्रहरूलाई भन्न चाहन्छु भन्दै जोशीले भने, ‘जो जति यहाँ कार्यरत हुनुहुन्छ । तपार्इँहरूले आफ्नो जिम्मेवारी राम्रोसँग निभाउनुपर्छ । मन लगाएर गरिदिनुपर्छ । हामीले जागिर मात्रै खाएर हुँदैन । मन लगाएर सेवाभावले हामीले काम गरियो भने त्यसको मूल्यांकन हुन्छ ।’ कर्मचारीहरूले राम्रो काम गरेमा जनप्रतिनिधिले कर्मचारीलाई थप जिम्मेवारी दिने, राम्रो मूल्यांकन गर्ने बताए ।

आफ्नो उदाहरण दिँदै प्रजिअ जोशीले भने, ‘मलाई किन विश्वास गरेर पठाइयो त ? मलाई राम्रोसँग थाहा छ, बाँके ठूलो जिल्ला हो । ठूलो जिल्लामा विश्वास गरेर पठाउनुको कारण, मैले यसभन्दा अघि जुन–जुन कार्यालयमा काम गरेँ मन लगाएर काम गरेको छु । म चाहीँ एकदमै प्रेमपूर्वक काम गर्छु । कामलाई प्रेम गर्छु । कामलाई प्रेम गरेपछि जिम्मेवारी पनि पाइन्छ । अवसर पनि पाइन्छ ।’

कर्मचारीले जनप्रतिनिधिलाई अभिभावक हुन् भन्ने मनैदेखि आत्मसात गर्नुपर्नेमा उनले जोड दिए । ‘मनमनै यिनीहरू केही वर्षका लागि त हुन् भन्ने ठान्नुभयो भने कुरो बिग्रिन्छ । एकै दिन, एक महिना भएपनि प्रेमपूर्वक काम गर्नुपर्छ । एक आपसमा सहयोग गर्ने हो ।’ बाँके जिल्ला आफ्नो लागि चूनौतीपूर्ण भएपनि इमान्दारितापूर्वक काम गर्ने र सबैको साथ आवश्यक रहेको बताए ।

‘अभद्र व्यवहारसम्बन्धी व्यवस्थाको दुरुपयोग रोक्छु’ 

मिसन संवाददाता
नेपालगन्ज, २८ फागुन

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले असम्बन्धित कसुरका मुद्दा पनि अभद्र व्यवहारमा दर्ता गर्ने काममा आफ्नो सहमति नरहने बताएका छन् । केही दिनअघि मात्रै प्रमुख जिल्ला अधिकारीको रूपमा जिम्मेवारी पाएका जोशीले बुधबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै अन्य अपराधका मुद्दालाई पनि सहज र कमजोर बनाउने नाममा अभद्र व्यवहारमा दर्ता गर्ने गरिएको पाइएकोले आफूले त्यसो हुन नदिने बताए ।

यसैगरी, कसैलाई मुद्दा लगाउने अरु कुनै प्रमाण नभेटिएको अवस्थामा पनि अभद्र व्यवहारको मुद्दा लगाउने गरिएको भन्दै त्यस्ता मुद्दा अगाडि बढाउन आफ्नो सहयोग नरहने स्पष्ट पारेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके, डिसिए र इन्सेकको आयोजनामा जिल्लाका मुद्दा मामिलाको काममा अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरीहरूसमेत सहभागी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले केही न केही प्रमाण नभैकन अभद्र व्यवहारमा कसैलाई थुन्न वा म्याद थप गर्न आफ्नो स्वीकृति नहुने बताए । ‘म यसअघि बसेका ठाउँमा पनि अभद्र व्यवहारसम्बन्धी व्यवस्थाको दुरुपयोग भएको पाएपछि त्यसलाई रोकेको थिएँ । यहाँपनि म त्यसलाई सहन्नँ । त्यसरी ल्याइएका मुद्दामा म्याद थप गर्दिनँ,’ उनले भने ।

प्रजिअ जोशीले प्रहरीले आफ्ना कर्मचारीसँग नै अभद्र व्यवहार भएको भन्दै धेरैजसो मुद्दाहरू दर्ता गर्ने गरेकोमा पनि आशंका व्यक्त गरे । ‘अरु कुनै क्षेत्रमा कर्मचारीसँग अभद्र व्यवहार हुँदैन । तर प्रहरीसँग मात्रै कसरी अभद्र व्यवहार हुन्छ ? त्यसकारण नागरिकले पोखेका आक्रोशकै आधारमा अभद्र व्यवहारको मुद्दा नचलाउनुहोला,’ जोशीले थपे ।

यसका साथै कोही पनि व्यक्तिलाई थुन्नुअघि उचित प्रमाण खोज्न प्रहरी अधिकारीहरूलाई आग्रह गरेका छन् । ‘कसैलाई थुन्नुअघि उचित प्रमाण खोज्नुहोस् । २५ दिन त थुन्न पाइन्छ नि भनेर म्याद मात्रै थप्ने होइन् । कोही पनि व्यक्ति बिनाकसुर २५ दिन होइन एकदिन पनि थुनामा बस्नुहुन्न । त्यसकारण एक पटक लिइएको म्यादभित्र अनुसन्धानमा कुनै प्रगति भएन भने पनि म्याद थपिदैनँ,’ उनले भने ।

सोही कार्यक्रममा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले मातहतका प्रहरी अधिकृतहरूलाई अवकाशपछि गुनासो गर्नु नपर्नेगरी इमानदारितापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए । राज्यको सेवकको जिम्मेवारी लिइसकेपछि बाहनाबाजी गरेर जिम्मेवारीबाट भाग्न नमिल्नेतर्फ एसपी कार्कीले सचेत गराएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २९ गते बिहीबार