नेपालगन्ज ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले मदरसा दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिलाई काम कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश चन्द्रबहादुर सारु र गोविन्द जोशीको संयुक्त इजलासले जामा मस्जिदको विधानको दफा १६ बमोजिम तथा जिल्ला प्रशासन कार्यालय बाँकेको मिति २०८१-१०-२८ को पत्र बमोजिम कार्यसमिति साधारणसभाबाट गठन भएको भन्न मिल्ने नदेखिएको ठहर गरेको छ ।
इजलासले प्रथम दृष्टि उक्त कार्यसमितिको गठन प्रक्रिया त्रुटीपूर्ण रहेको देखिँदा रिटको अन्तिम टुंगो नलागेसम्मका लागि रहमान मियाको अध्यक्षतामा गठित कार्यसमितिले काम कार्य नगर्न र गर्न नदिन आदेश जारी गरेको हो ।
२०८१ माघ १० गते मस्जिदका पूर्वअध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, निर्वाचन समिति सदस्य र असन्तुष्ट पक्षहरूको बीचमा बसेको बैठकले रहमान मियाको अध्यक्षतामा गठन गरेको कार्य न्यायोचित नभएको भन्दै मो.सहिद मनिहार सिद्दिकीले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा अन्तरिम आदेश जारी गरिपाउँ भनि दायर गरेको रिटको सुनुवाइ गर्दै इजलासले साधारणसभाबाट अर्को समिति गठन नभएसम्मका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष मो.अययुव सिद्दिकीको अध्यक्षतामा २०८१ माघ २४ मा गठित तदर्थ समितिलाई काम गर्न दिने आदेश दिएको छ ।
इजलासले तदर्थ समिति मार्फत मदरसा दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिको साधारणसभाबाट अविलम्ब गर्नु गराउनु भनि विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्