कोहलपुर (बाँके) ।
बाँकेको नेपालगन्जमा ‘सार्वजनिक जीवनमा महिला ः महिलावादी स्मृतिको एक पहल’ सम्बन्धी फोटो प्रदर्शनी हुने भएको छ । नेपाल पिक्चर लाईब्रेरी र फोटो सर्कलको आयोजनामा आगामी चैत ४ देखि ६ गतेसम्म स्थानीय रामलीला मैदानमा फोटो प्रदर्शनी आयोजना हुने भएको हो । फोटो सर्कलका को–फाउण्डर नयनतारा गुरुङ कक्षपतिका अनुसार फोटो प्रदर्शनीको देशव्यापी अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम अन्तर्गत नेपालगन्जमा पहिलोपटक फोटो प्रदर्शनीको तयारी सुरु भएको छ ।
बिहीबार नेपालगन्जमा सम्पन्न सरोकारवालाहरूसँग छलफल कार्यक्रममा कक्षपतिले यो परियोजना २०७५ सालदेखि सुरु भएको बताइन् । महिलाहरूले विभिन्न क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै दृश्य अभिलेख, मौलिक इतिहास र सामुदायिक संलग्नतामार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रचारपसार गर्ने फोटो प्रदर्शनीको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
फोटो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा राखेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरू ऐतिहासिक महत्वलाई स्थापित गर्ने विश्वास लिइएको कक्षपतिले बताइन् । दोस्रो चरणको अभियान अन्तर्गत फागुन २६,२७ र २८ गते सुर्खेतमा फोटो प्रर्दशनी सम्पन्न भएको थियो । अगामी चरणहरूमा पोखरा, बाग्लुङ, पाल्पा, बिर्तामोड, विराटनगर, जनकपुर, भैरहवा, भरतपुर र हेटौँडामा प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।
नेपाल पिक्चर लाइब्रेरीले सन् २०१८ देखि संकलन गरेका तस्बिरहरू समेटिएको यो प्रदर्शनी यसअघि काठमाडौँ, दिल्ली (भारत), कोरिया, सिङ्गापुर र हेल्सिन्की (फिनल्यान्ड) जस्ता अन्तर्राष्ट्रिय सहरहरूमा समेत प्रदर्शित भइसकेको छ । प्रदर्शनीमा आम सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
विहान १० बजेदेखि बेलुका ५ बजेम्म चैत ४ गतेदेखि तिन दिनसम्म गर्न लागिएको प्रदर्शनी अवलोकलनले ग्रामिण र शहरी क्षेत्रहरूमा महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य बनाउने नेपाल पिक्चर लाइब्रेरीले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै प्रदर्शनी स्थलमै यससँग सम्बन्धित पुस्तक पनि खरिद गर्न सकिनेछ । कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सांसद मिना श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका द्वारिका अधिकारी, फातिमा फाउन्डेसनका अध्यक्ष मैमुना सिद्दिकी, सामाजिक अगुवा, महिला अगुवा, पत्रकार तथा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्