सात महिनामा ५९ हजारभन्दा बढी डोज वीर्य उत्पादन



कार्यालयमा वीर्य उत्पादनका लागि नेपालगन्ज मुर्रा, जर्सी साँढे, विदेशी जर्सी साँढे, होलिष्टेन साँढे, बोयर बोका तथा गत वर्ष भारतबाट ल्याइएका भारतीय उन्नत जातका मुर्रा राँगा राखिएको छ । गत वर्ष भारत सरकारले नेपाललाई अनुदानमा दिएका उन्नत जातका भारतीय मुर्रा राँगाको वीर्यबाट यस वर्षबाट पाडापाडी (सन्तान) उत्पादन सुरु समेत भइसकेको छ ।

नेपालगन्ज ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले चालू आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म सात महिनाको समयअवधिमा राँगा, साँढे र बोकाको गरी ५९ हजार २३२ डोज जमेको वीर्य उत्पादन गरेको छ । कार्यालयमा वीर्य उत्पादनका लागि नेपालगन्ज मुर्रा, जर्सी साँढे, विदेशी जर्सी साँढे, होलिष्टेन साँढे, बोयर बोका तथा गत वर्ष भारतबाट ल्याइएका भारतीय उन्नत जातका मुर्रा राँगा राखिएको छ ।

गत वर्ष भारत सरकारले नेपाललाई अनुदानमा दिएका उन्नत जातका भारतीय मुर्रा राँगाको वीर्यबाट यस वर्षबाट पाडापाडी (सन्तान) उत्पादन सुरु भएको छ । कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट वीर्य संकलन तथा उत्पादन गरी परीक्षणपश्चात भैँसीलाई कृत्रिम गर्भाधान गराइ पाडापाडी उत्पादन सुरु भएको बताए ।

भारतीय मुर्रा राँगा ल्याइसकेपछि संकलन र उत्पादन गरिएका वीर्यबाट कृत्रिम गर्भाधान गराएको भैँसीले पाडा उत्पादन गर्न सुरु गरेको पशु सेवा प्राविधिक जैसीले जानकारी दिए । ‘गत वर्ष कार्यालयमा ल्याइएका तीन वटामध्ये दुई वटा भारतीय मुर्रा राँगाबाट वीर्य संकलन र उत्पादन गर्दै आएका छौँ, परीक्षणपश्चात भैँसीलाई कृत्रिम गर्भाधान गराएका थियौँ, भारतीय राँगाको पहिलो सन्तानका रूपमा एक जना किसानले पालेको भैँसीले पाडा उत्पादन गरेको छ, नेपालमा ल्याइएका १५ राँगामध्ये यो पहिलो उत्पादन हो ।’ जैसीले भने ।

जैसीका अनुसार खजुरा गाउँपालिका वडा नम्बर २ ‘एल गाउँ’ का किसान बमराज रेग्मीले पालेको भैँसीले भारतीय मुर्रा राँगाको वीर्यबाट पाडा उत्पादन गरेको हो । भारतीय राँगाको वीर्यबाट ब्याएको भैँसीले दूध उत्पादन पनि बढी हुने गरेको किसान रेग्मीले बताए ।

‘मेरो यो भैँसी दोस्रो बेते हो, पहिलो बेतमा यति धेरै दूध पनि दिने थिएन, भारतीय मुर्रा राँगाको वीर्य कृत्रिम गर्भाधान गराएर ब्याएको भैँसीबाट अहिले दूधको मात्रा पनि बढेको छ, दूधमा फ्याटको मात्रा पनि धेरैनै छ ।’ किसान रेग्मीले भने, ‘पाडी पाएको भए राम्रो हुन्थ्यो, पाडो पायो, अब यसलाई पालेर ब्याडका लागि प्रयोग गर्ने योजना बनाएको छु ।’

‘पहिला यो भैँसी बेच्न खोजेको थिएँ, राँगो नलाग्ने, लागेपनि गर्भ नबस्ने समस्या थियो, पछि घर नजिकैको पशु प्रजनन कार्यालयमा भारतीय मुर्रा राँगा आएछ, पशु सेवा प्राविधिक सरसँग सल्लाह गरेर त्यही राँगाको वीर्य कृत्रिम गर्भाधान गराउने सल्लाह भयो, गर्भाधान पनि गराइयो र गर्भ पनि बस्यो, भैँसी पनि ब्यायो, खुसी छु ।‘ उनले भने, ‘भैँसीको चार थुनमध्ये एक थुन पाडाका लागि छुट्याएर तीन थुनको मात्र दूध निकाल्छु, बिहान बेलुका गरेर दैनिक १० लिटरजति दूध आउँछ, घरमा प्रयोग गरेर बचेको दूध दैनिक ७–८ लिटर गाउँमा रहेको सहकारीमा बिक्री गर्दै आएको छु ।’

पशु सेवा प्राविधिक जैसीले भारतीय उन्नत जातका राँगाको वीर्यबाट गर्भाधान भएर ब्याउने भैँसी भन्दा भैँसीले उत्पादन गरेका पाडीबाट हुने उत्पादन हुने जेनेरेसनले राम्रो दूध दिने बताए । उनले भने, ‘पहिलो गर्भाधानबाट ब्याएका भैँसीले पनि दूध उत्पादन त बढाउँछनै तर त्योभन्दा पनि बढी उस्ले उत्पादन गरेका सन्तानबाट हुने उत्पादनले झन धेरै दूध उत्पादन हुने गर्छ ।’ उनका अनुसार गत वर्ष चैत २४ गते एनएम ९२ एमपी नामको भारतीय उन्नत जातको मुर्रा राँगाबाट कृत्रिम गर्भाधान गराइएको भैँसीले गत माघ २६ गते पाडा जन्माएको हो ।

५९ हजार २३२ डोज जमेको वीर्य उत्पादन

राष्ट्रिय पशु प्रजनन कार्यालयका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.खिमानन्द खनालले चालू आर्थिक वर्षको माघ महिनासम्म सात महिनाको अवधिमा साँढे र राँगाबाट ५९ हजार २३२ डोज जमेको वीर्य उत्पादन गरेको बताए ।
उनका अनुसार भारतीय मुर्रा राँगाबाट सात हजार २३० डोज वीर्य संकलन गरिएको छ ।

त्यसैगरी नेपालगन्ज मुर्राबाट ३० हजार ५३८ डोज, होलिष्टेन साँढेबाट १२ हजार ७०२ डोज, जर्सी साँढेबाट छ हजार ७४० डोज गरेर जम्मा ५९ हजार २३२ डोज वीर्य उत्पादन भएको हो । यस वर्ष बोयर जातको बोकाबाट वीर्य उत्पादन नगरेको उनले जानकारी दिए । गत वर्षको मौज्दात रहेका कारण यस वर्ष बोकाको वीर्य उत्पादन नगरेर गत वर्षकै मौज्दातबाट वीर्य वितरण गर्दै आएको उनको भनाइ छ ।

उनले यस आर्थिक वर्षको माघ महिनासम्म मुर्रा राँगो, साँढे तथा बोकाको गरेर ४३ हजार ४२७ डोज वीर्य वितरण गरिएको छ । जसमध्ये २७ हजार ३५ डोज वीर्यबाट पोँथी पशुचौयालाई कृत्रिम गर्भाधान गराइएको छ । त्यसैगरी २२ हजार छ सय लिटर तरल नाइट्रोजनसमेत वितरण गरिएको उनले जानकारी दिए ।

कार्यालयबाट जमेको वीर्य उत्पादन तथा वितरण मात्र नभएर पशुलाई प्राकृतिक गर्भाधान पनि गराइँदै आएको कार्यालय प्रमुख खनालले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको माघसम्ममा ६४ वटा गाई, ३२५ वटा भैँसी र २०१ बाख्रालाई प्राकृतिक गर्भाधान गराइएको छ । जसका लागि कार्यालयमा हाल राँगो ३, बाख्रा ४, साँढे २ र बोका ५ वटा गरी १४ वटा पशु राखिएका छन् । त्यसैगरी कृत्रिम गर्भाधानका लागि राँगो १२, साँढे ८, बोका ८ गरी २८ वटा पशु राखिएका छन् ।

प्राकृतिक गर्भाधानका लागि यही फागुन १९ गतेसम्म गाईलाई गर्भाधान गराएवापत ७५ रूपैयाँ, भैँसीलाई एक सय रूपैयाँ र बाख्रालाई २५ रूपैयाँका दरले शूल्क लिने गरिएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले फागुन १९ गतेदेखि शूल्कमा वृद्धि गर्ने निर्णय गरेपछि भने बाख्राको ५०, गाई र भैँसीको दुई सयका दरले शूल्क लिन लागिएको कार्यालयले जनाएको छ ।

कार्यालयले राँगा, साँढे र बोकाको वीर्य संकलन, उत्पादन गरी पोँथी पशुचौपालाई कृत्रिम गर्भाधान गराउँदै आएको छ । गत आर्थिक वर्षमा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार २४५ डोज जमेको वीर्य उत्पादन गरिएको थियो । चालू आर्थिक वर्षमा एक लाख बढी डोज वीर्य उत्पादन गर्ने लक्ष्य कार्यालयले लिएको छ ।

गत वर्ष भारत सरकारले नेपाललाई अनुदानमा दिएका १५ वटा उन्नत जातका भारतीय मुर्रा राँगामध्ये पोखरामा ७ वटा र लाहान कार्यालयमा ५ वटा पठाइएको थियो भने नेपालगन्ज गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ३ वटा राखिएका थिए । तीनमध्ये दुई वटा राँगाबाट वीर्य संकलन र उत्पादन हुँदै आएको थियो अब भने उत्पादनसमेत सुरु भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २८ गते बुधबार