त्यो समय पहाडबाट मानिसहरू घियुका डोका बोकेर नेपालगन्ज आउने र यतबाट घियुसँग उपभोग्य वस्तुहरू साटेर फर्किने समयको थियो । तर, अहिले नेपालगन्जसँग व्यापारको त्यो मौलिकता बाँकी छैन् । अहिले होली मनाउने त्यो मौलिकता खोज्नु आफैँमा अन्यायपूर्ण हुन्छ । यद्धपि होलीमा प्रयोग हुने गीत संगीत, खानपिन र शैलीले होलीले बिस्तारै स्थानीय मौलिकताहरू गुमाउँदै गएको देखिन्छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
‘घिउ तताउनका लागि मान्छेको पूरै सारा जीउ डुब्ने कडाहाहरू थिए । ती कडाहाहरू होलीमा रङ्गीन पानीले भरिन्थे । रङ पनि प्राकृतिक हुन्थ्यो । एक त प्राकृतिकरूपमा आफैँ फुल्ने एक किसिमको फूलबाट रङ तयार गरिन्थ्यो । अर्काे होलिका दहन गरेको खरानीले आफैँ रङको काम गथ्र्याे । त्यही रङ घोलेर कडाहाहरू भरिन्थे,’ नेपालगन्जको इतिहासका जानकार सच्चिदानन्द चौवे उहिलेको होली मनाउने शैली स्मरण गर्छन् ।
चौवेका अनुसार त्यो समय पहाडबाट मानिसहरू घियुका डोका बोकेर नेपालगन्ज आउने र यतबाट घियुसँग उपभोग्य वस्तुहरू साटेर फर्किने समयको थियो । तर, अहिले नेपालगन्जसँग व्यापारको त्यो मौलिकता बाँकी छैन् । अहिले होली मनाउने त्यो मौलिकता खोज्नु आफैँमा अन्यायपूर्ण हुन्छ । यद्धपि होलीमा प्रयोग हुने गीत संगीत, खानपिन र शैलीले होलीले बिस्तारै स्थानीय मौलिकताहरू गुमाउँदै गएको देखिन्छ ।
नेपालगन्जको त्रिभुवन चोक सबैजसो हर्षाेल्लास र आक्रोश व्यक्त गर्ने केन्द्रको रूपमा परिचित छ । यद्धपि यस चोकले समयक्रमसँगै भौतिक स्वरूपमा भने धेरै परिवर्तन भोगिसक्यो । यसका अतिरिक्त थोरै भएपनि यस चोकले नेपालगन्जको मौलिकतालाई बचाइराखेको छ । ठेलामा पाइने घमन्जादेखि चाट र पानीपुरी अनि रावडीको असली स्वादका लागि त्रिभुवन चोक अहिले पनि हाजिर छ । एकाबिहनैदेखि अबेर रातीसम्म सलबलाइ रहने नेपालगन्जको एकमात्र चोक पनि त्रिभुवन चोक नै हो । सांस्कृतिकदेखि राजनीतिक सभा सम्मेलनको केन्द्रकोे परिचय पनि बाँकी राखिराखेको छ ।
दसैँ, तिहारदेखि होलीसम्म किनमेलको केन्द्र पनि यही हो । नेपालगन्जको इतिहासका जानकार चौवेका अनुसार त्रिभुवन चोकले होली मनाउने आफ्नो मौलिक तरिका भने बिर्सिसक्यो । अवध संस्कृतिका जानकार विष्णुलाल कुम्हाल भन्छन्, ‘होलीको दिन एकाबिहानैदेखि घर–घर डुल्दै रङ दल्दै मानिसहरू हर्षाेल्लास साटासाट गर्थे । प्रायः देवर भाउजुको रङ दलाई रोमान्चक हुन्थ्यो । ‘बुरा नमानो होली है,’ यो आहानले अलि–अलि अश्लिलता र अरुबेलाभन्दा खुकुलो सामाजिक बन्धनको छुट दिन्थ्यो । मानिसहरू भाङ मिसिएको ठण्डाई पिउँदै आनन्दित भएर रङ खेल्थे । पाहुनालाई पिउन सजिलो होस् भनेर कतिपयले घरको बाहिर ठण्डाईको गाग्री नै राखिदिएका हुन्थे ।’
पिचकारीहरू बाँसबाट बनाइएका हुन्थे । जब डुलेर मानिसहरू थाक्थे । अनि बिस्तारै त्रिभुवन चोकतिर सर्थे । त्रिभुवन चोक रङ दल्दै गला मिलिरहेका मानिसहरूले भरिन्थ्यो । त्यहीबेला रङले भरिएका कडाहातिर बाहुुबली युवाहरूको ध्यान जान्थ्यो । अनि उनीहरू जसलाई भेट्यो उसलाई उठाउँदै कडाहामा डुबाउँथे । त्रिभुवन चोक पुग्नेहरू कडाहामा डुब्न तयार भएरै जान्थे । गर्मीले परेसानहरू शित्तल महसुस गर्थे ।
पहाडबाट आएका हटारुहरूलाई उनीहरूले लगाएका मैला लुगासहित नै रङ घुलेको पानीमा डुबाइन्थ्यो । रङमा डुबेपछि महिनौदेखि ननुहाएका उनीहरूलाई नुहाउनै पर्ने बाध्यता हुन्थ्यो । पुराना लुगाको सट्टा नयाँ लुगा पनि किनिहाल्थे । कतिपयले नयाँ लुगा दिएर पहाडियाहरूसँग दोस्ती यारी पनि गाँसिहाल्थे । यसरी खसियारीको एक अध्याय पनि थपिन्थ्यो ।
रङ्गीन बनेको त्रिभुवन चोक दिनभर ‘जोगिरा सरर’, ‘बुरा नमानो होली है’ र हर्षाेल्लासको हाँसोले गुन्जायमान हुन्थ्यो । ‘लाग्थ्यो त्रिभुवन चोकको जवानी कहिल्यै जाँदैन,’ चौवे भन्छन् ।
अहिलेको होली
नेपालगन्ज त्रिभुवन चोकबाट विस्तारित भएर एक सहर बनेको छ । यससँगै यसको महत्व पनि एक चोकमा मात्रै सीमित छैन् । अब अरु मुख्य बजारक्षेत्रहरू पनि मानिसहरू भेला हुने ठाउँ बनेका छन् । त्रिभुवन चोक अब व्यापारका दृष्टिले पहाडिया मालवस्तुमा आधारित रहेन । यहाँ बिक्री हुने वस्तुहरू अब सबै आयातित भइसके ।
अहिले होलीका मालसामान बेच्न त्रिभुवन चोक उत्तरपट्टी सडककै बीचमा ठेलाबजार लागेको छ । ती ठेलामा बिक्री भइरहेका कुनै पनि वस्तु नेपाली छैनन् । रङ भारतबाट आएको हो । पिचकारी र मखुण्डोहरू चाइनाबाट । यी वस्तुहरू नेपालगन्जको मौलिक होली संस्कृति भन्दा पनि बदलिँदो समयले माग गरेका हुन् । प्राकृतिक रङको आहालमा डुबेर जवान बन्ने त्रिभुवन चोकमा अब पूर्ण केमिकलयुक्त रङहरू किनबेच भइरहेको छ ।
पारिवारिक र सामाजिक बन्धनको थोरै घुम्टो उघारिने यो पर्वको सुन्दरता अब पाउन गाह्रो छ । प्राकृतिकरूपमा पाइने र मानिसलाई उत्तेजनाको हद पार गर्न नदिने भाङको ठण्डाईको सट्टा बोत्तलमा आउने रक्सी र बियरले आधिपत्य जमाएका छन् । स्वनियन्त्रित भएर हर्षाेल्लास बनाउने होली पर्वमा अब प्रहरी प्रशासनले यसरी मनाउ, यसरी नमनाउ भनेर आदेश जारी गर्नुपर्ने अवस्थामा आइपुगेको छ ।
होलीमा रङ दल्दै हिँड्ने, साथिभाइहरूलाई भेट्ने, अवधका मौलिक गीतको सट्टा हिन्दी गीतहरूमा नाच्नेबाहेक अहिलेको होलीसँग उहिलेको जस्तो कथा बनाएर भन्न सक्ने पक्षहरूको कमी हुँदैछ । तैपनि सामाजिक र धार्मिक सद्भावको दृष्टिबाट हेर्ने हो भने यस पर्वमा सबै धर्मका धर्मावलम्बीहरू उत्तिकै हर्षका साथ उल्लास मनाउँछन् । नेपालगन्ज आफैँमा बहुधार्मिक सहर भएकोले यो धार्मिक सद्भावको उच्च नमुनालाई जोगाइराख्नु आवश्यक छ ।
नेपालगन्जको सदरलाइन, त्रिभुवनचोक, घरबारी टोल र बागेश्वरी मन्दिर आसपासमा आज होलीको छुट्टै रौनक हेर्न पाइन्छ । मानिसहरू रङमा रंगिएर एकाकार भएका देख्न सकिन्छ । भलै मौलिकता नभएका गीत संगीतहरू होउन् युवा युवतीहरू झुमिरहेकै देखिन्छन् ।
थारू समुदायले ‘धुरहेरी’ मनाउँदै
आदिवासी थारू समुदायले होलीलाई ‘धुरहेरी’ वा ‘होरी’ नामले मनाउँछन् । होलीको धार्मिक र पौराणिक महत्वलाई थारू समुदायले पनि अन्य समुदायजस्तै मान्यता राख्छ । तर मनाउने तरिका फरक छ ।
दाङ निवासी थारूभाषी कलाकार छविलाल कोपिलाका अनुसार पहिले थारू परापूर्वकालमा चामलको पिठो, धुलो, खरानी, माटोलाई मात्रै रङकारूपमा प्रयोग गर्थे । यो चलन अहिले पनि यदाकदा छ नै । धुलो÷माटो दलेर खेलिने खेलको रूपमा मनाइने भएकोले यसलाई ‘धुरहेरी’ भन्ने गरिएको थारू भाषाका जानकारहरू बताउँछन् ।
थारूभाषी लेखक लखन चौधरीका अनुसार पश्चिमी थारू समुदायले होली पर्व तीन दिनसम्म मनाउँछन् । पहिलो दिन अर्थात् पूर्णिमाको दिन चीर दहन गरिन्छ । चीर दहन गरेर बनेको गुइठामा रहेको उक्त आगोलाई थारू समुदायमा नयाँ आगोको रूपमा लिइन्छ । पछि उक्त आगोलाई आ–आफ्ना कुल देवतालाई चढाउने तथा उक्त आगोमा विभिन्न परिकार बनाई देवतालाई पुज्ने पनि गरिन्छ ।
दोस्रो दिन बिहानै चीर बुटैना अर्थात् सेलाउने गरिन्छ । सेलाउनको लागि गएका गाउँलेहरूले लोटा या गिलासमा पानी लगेर गएका हुन्छ । उनीहरूले कुशको कुचो बनाई त्यही कुचोको मदतले जलेको वस्तु या होलीका प्रतिमामा पानी छ्याप्ने गर्दछन् । यसरी चीर बुटाउने कार्य सकिएपछि गाउँलेहरू गाउँभरीको साझा देवता अर्थात देव थनुवामा जान्छन् । थनुवामा विराजमान रहेका देवीदेवताहरूलाई विधिपूर्वक पूजाआजा गरी सकेपछि आपसमा रङ अबिर दलेर होली पर्वमा रङ दल्ने कार्यको सुरुवात हुन्छ ।
त्यसपछि, दिनभरी रङ अबिर दलेर हर्षोल्लासपूर्वक होली पर्व मनाइन्छ । थारू समुदायले होलीको दोस्रो दिन मनाइरहँदा अन्य समुदायमा होली सम्पन्न भइसकेको हुन्छ । होलीको तेस्रो दिन थारू समुदायले हिलो, माटो आपसमा छ्यापेर मनाउने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्