देउडाको भाका र लयमा होली



पूर्वी नेपालमा एक आपसमा रंग दलेर होली मनाइने गरिए पनि सुदूरपश्चिममा पहाडी समुदायले देउडाको लयमा श्रीकृष्ण, रामका बहादुरी गाथा गाएर रंग दल्दै खेल्ने गर्छन् । त्यस्तै सुदूरपश्चिमको तराईमा बसोबास गर्दै आएका आदिवासी रानाथारू पनि पहाडी होली जस्तै गोलबद्ध भएर भगवानका गाथा गाउँदै खेल्ने गर्दै आएका छन् ।

कैलाली ।

होली, रंगहरूको पर्व । घरपरिवार, साथीसंगी, छरछिमेक, आफन्तजन, सबै मिलेर एकअर्कालाई रंग लगाएर खुसीयाली बाँड्ने पर्व । रातो, हरियो, गुलाबी, निलो, पहेँलो लगायतका रंग दलेर वर्षभरीका दुःखकष्ट बिर्सेर खुसीयाली मनाउने सांस्कृतिक पर्व हो, होली अर्थात् फागु पूर्णिमा । सुदूरपश्चिमको पहाडी तथा तराईमा अहिले होलीको रौनक छाएको छ । नौ जिल्ला रहेको यस प्रदेशमा जिल्ला अनुसार आ–आफ्नै संस्कृति तथा परम्पराअनुसार होली मनाइने गरिन्छ । पूर्वी नेपालमा एक आपसमा रंग दलेर होली मनाइने गरिए पनि सुदूरपश्चिममा पहाडी समुदायले देउडाको लयमा श्रीकृष्ण, रामका बहादुरी गाथा गाएर रंग दल्दै खेल्ने गर्छन् । त्यस्तै सुदूरपश्चिमको तराईमा बसोबास गर्दै आएका आदिवासी रानाथारू पनि पहाडी होली जस्तै गोलबद्ध भएर भगवानका गाथा गाउँदै खेल्ने गर्दै आएका छन् ।

द्वापरयुगमा होलीको प्रारम्भ नै श्रीकृष्ण भगवानले मथुराबाट सुरुवात गरेको मानिदै आएको छ । असत्यमाथि सत्यको विजयका रूपमा लिइएको होलीलाई हीरण्यकस्यपकी बहिनी होलीकालाई दहन गरेको खुसीयालीमा होली मनाइने गरेको छ । मानिस र भगवानबाट समेत आफू नमर्ने ब्रह्माबाट वरदान पाएका हीरण्यकस्यपले आफ्ना छोरा प्रह्लादलाई मार्न बहिनी होलीकालाई आगोमा हाम फाल्न पठाएका थिए ।

अग्निमा हाम फालेकी होलीकाको अग्नि कवच हावाले उडाउँदा उनी भष्म भएकी थिइन्, तर विष्णुभक्त प्रह्लाद भने सकुशल नै रहे । यसरी असत्यमाथि सत्यको विजयका रूपमा भगवान् श्रीकृष्णले होली पर्व मनाएको बूढापाका बताउँछन् । भगवान् श्रीकृष्णले चलाएको होली भएकाले ब्रजभाषा शैलीमा पुरुषार्थ, कृष्णका लिला, रामका चरित्र गाथा गाइँदै होली खेल्ने गरिन्छ ।

होलीकाको पुतला बनाएर फागुन शुक्ल चतुर्दशीमा दहन गर्दै होली मनाइन्छ र पूर्णिमाको दिन विसर्जन गरिन्छ । त्यसैले पहाडमा चतुर्दशी र तराईमा पूर्णिमामा होली मनाइने गरिएको ज्योतिषी मनिराज जोशी बताउँछन् ।

रामले रावणलाई तथा कृष्णले मामा कंशलाई मारेको घटनालाई जोडेर गीतमार्फत् लयबद्ध तरिकाले गोलघेरामा सुदूरका पहाडी जिल्लामा होली खेल्ने गरिएको सुदूरपश्चिमको संस्कृतिमा विद्यावारिधि गरेका संस्कृतिविद् डाक्टर बद्री विनाडीले बताए । ‘होलीमा होली गीत ठाउँअनुसार फरक–फरक हुने गरेको भए पनि मथुरा, कुमाउ, गडवालबाट आएकाले होलीका प्रायः गीत हिन्दी लवजका हुने गरेका छन्,’ विनाडी भन्छन् । फागु पूर्णिमामा मनाइने होलीले आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेकोे पण्डित हिमालय जोशी बताउँछन् ।

पश्चिम नेपालमा ड्यौडिया होरी कहिले भित्रिएको हो भन्ने एकिन नभएपनि परापूर्वकालदेखि नै चलिआएको मान्न सकिने डोटेली भाषाविद् डाक्टर टीएन जोशीले बताए । सुदूरमा भारतको मथुराको होली प्रभाव परेको बताउँदै उनले भने, ‘यहाँ खेलिने होलीमा हिन्दी लवज आउनुका साथै गीत पनि मथुरा, काली कुमाउनी, गडवाली, भाषाको हुने गरेको छ । त्यही भएर उतै (कुमाउ, गडवाल र मथुरा) बाटै भित्रिएको आँकलन गर्न सकिन्छ ।’

‘सेतो जामामा पगरी बाँधेर सेतै फेटा पहिरिएर ‘अछामी होरी’ देउडाको लयमा खेलिने गरिन्छ । अछामी होरी शिवरात्रिको दिनबाट औपचारिक सुरुआत गरिने भएपनि विशेषगरी अष्टमीको दिनबाट बेलुकीपख प्रत्येक गाउँमा होरी खेल्ने प्रचलन छ । मेलको हाँगा काटेर त्यसमा रंगीचंगी ध्वजापताका लगाउने र त्यसलाई होली खेल्ने ठाउँमा चीरका रूपमा गाड्ने गरिन्छ । त्यही चीरलाई पूर्णिमाको दिन होली खेलेर अन्त्यमा आगोले जलाउने प्रचलन छ । होलीमा विभिन्न धर्मसंस्कृति, रामलीला, कृष्णलीला, चारित्रिक माया प्रेमका कुरा समेटिका देउडा गाउने प्रचलन छ ।

अछामी समुदायको ठूलो बस्ती रहेको मंगलसेनसहित कैलालीको धनगढी, टीकापुर, कन्चनपुरको झलारीमा साता दिनदेखि निरन्तर ‘होरी’ को रौनकले छाएको छ । होलीको आगमनसँगै संस्कृति र सभ्यता झल्काउने पुराना गीत लोप भएर अश्लील गीतले गाउँ सहर गुञ्जायमान भएपछि भने केही निराशा थपिएको छ । भाइचारा र सद्भावसाथ मनाइने होली पछिल्लो समयमा रिस साँध्ने पर्व बनेको छ । होरी देउडा दुईओटा समूहमा विभाजन भएर खेलिन्छ । यो खेल खेल्दा सफा सेतो कपडाको पहिरनमा सजिने परम्परा छ । खेलमा एक समूहमा कम्तीमा २० देखि २५ जनासम्म खेलाडी हुनुपर्छ । जति खेलाडी सङ्ख्या बढी भयो त्यति नै रमाइलो हुन्छ ।

सुदूरपश्चिममा मनाइने अन्य होलीभन्दा भिन्न प्रकारको अछामी होली हो । अछाममा होलीको विषेश महत्व रहने गरेको छ । शिष्ट भाषामा मौलिक पहिरनसहित सुदूरपश्चिममा अछाममा मात्रै खेलिने गरेको संस्कृतिविद् डाक्टर विनाडी बताउँछन् । उनले भने, ‘अछामीहरूले शिवरात्रिका दिन ‘पर्गलो’ (ध्वजा पताका) शिवमन्दिरमा चढाएर होरी (होली) को सुरुवात गर्छन् । र त्यहींबाट होली खेल्न सुरु हुन्छ ।’

सेतो पोशाक लगाएर देवीको मन्दिर या देवस्थलबाट सुरु भएर हप्ता दिनसम्मै होली खेलिने गरिएको बताउँदै सांस्कृतिक समाज टीकापुर कैलाली अध्यक्ष प्रेमबहादुर रावलले भने, ‘अछामको सुवाली गाउँमा भारतको अलिगढबाट ७० वर्ष अघि आएका डण्डी स्वामीले परम्परागत होली गीतलाई परिमार्जित गर्दै काली कुमाउनी र अलिगढको लवजमा परिवर्तन गरेका थिए । तिनै अलिगढे होली गीत अहिलेसम्म गाउँदै आइएको छ ।’ कैलालीको टीकापुरमा बसाइँसरेर आएका अछामीहरूले पनि समूह बनाएर हप्तौ पहिलेदेखि अछामी होरी खेल्ने गरेको स्थानीय बताउँछन् ।

अछामी राजा भान शाहीकी कान्छी श्रीमतीले आफ्नो माइती कुमाउबाट ‘कुमाउनी होरी’ दाइजो स्वरूप भित्र्याएको बुढापाका बताउने गर्छन् । कुमाउनी होरीभन्दा केही भाका र चालमा फेरबदल भएपनि सुदूरका अन्य जिल्लाभन्दा अछामी होलीले फरकपन बोकेको संस्कृतिविद्हरू बताउँछन् । सेतो कुर्ता सरवाल र सेतै पगडीमा सजिएका पुरुषहरू फूल कानमा सिउरिएर फूलकै लामो गरी उनिएका माला लगाई होरीका गीतसँगै लामबद्ध भएर अछामी होरी खेल्ने गरिन्छ । खेलका बीचमा ढोल, ताल र नरसिंहा बाजाका तालले फरक रौनक थप्ने गर्छ ।

यस्तै, पश्चिम तराईमै बसोबास गर्ने आदिवासी राना समुदाय भने १५ दिन अघिदेखि होली मनाउन थालेका छन् । कैलाली, कन्चनपुरमा बसोबास गर्ने राना समुदायमा एक महिनासम्म चल्ने होलीको रौनक अहिले बस्तीमा छाएको छ । अहिले रानाथारू समुदायको बस्तीमा रातिको समयमा ‘होरी नृत्य’ (होली नाच) रमझम छाएको छ । १५ दिन राति र १५ दिन दिउँसो खेलिने होली राना समुदायमा परम्परागत चलन हो ।

यही चलनअनुसार अहिले केटाकेटी रातिको समयमा होरी नाच गरेर होली पर्व मनाउन थालेका छन् । ‘यसलाई हाम्रो भाषामा ‘जिन्दा होरी’ (जिउँदो होली) भनिन्छ,’ धनगढी–११ बेलागाउँका विजय रानाले भने, ‘जिन्दा होरी चीर दहन नभएसम्म खेलिने गरिन्छ ।’ रानाथारूले होरी पर्व सुरु भएको पहिलो दिनदेखि एक महिनासम्म आफ्नै समुदायको हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा टाढा खुला क्षेत्रमा थुपार्ने गर्दछन् । उक्त चोरेको गुइँठा र तोरीको डाँठबाट होलीका बनाई चीर दहन गर्ने गरेको रानाथारू अगुवाहरू बताउँछन् । बेलागाउँमा १५ दिनदेखि होली सुरु भइसकेको विजयले बताए ।

मथुरामा श्रीकृष्णले गोपिनी र राधासँग खेलेको लयमा आधारित गीत गाउँदै रानाथारू ‘मथुरा होरी’ खेल्ने गरेका हुन् । मथुरामा कृष्ण भगवानले खेलेको होरीकै लयमा आफूहरू होरी खेल्ने गरेको विजय बताउँछन् । ‘होरीमा हामी युवायुवती मिलेर सँगै गोलबद्ध भई फाग, होरी गीत गाउँदै रमाइलो गर्छौँ, तर यो समयमा भने रंग लगाउँदैनौ,’ उनले भने, ‘जब होलीकाको पुतला बनाई चीर दहन गरेपछि भने रंगको टीका लगाएर मात्रै दिउँसो होरी खेल्छौँ, त्यो भन्दा अघि राति मात्रै होरी खेल्ने गरिन्छ ।’

रानाथारू समुदायको प्रमुख चाड ‘होरी’ भएको बताउँदै पुनर्वास कन्चनपुरकी साहित्यकार तथा उपप्रमुख भुलिया राना भन्छिन्, ‘माघ शुक्ल पूर्णिमादेखि सुरु भएको होली राति मात्रै खेल्ने गरिन्छ । जब फागु पूर्णिमाका दिन चीर दहन गरेपछि भने दिउँसो खेल्ने गरिन्छ ।’ यसरी चीर दहन पछि दिउँसो खेलिने होलीलाई रानाथारू भाषामा ‘मरी होरी’ भन्ने गर्छन् । ‘होलीकाको चीर दहनपश्चात् (होलीकालाई मारेरको खुसीयालीमा) मरी होरी भन्दै दिउँसो खेल्ने गरिएको हो,’ उनी बताउँछन् ।

राना पहिरन (पुरुषले झगयी, फेटा र महिलाले गोट, घँघरिया, मँगिया, उनिया, घुँघट, रूखा) मा सजिएर ढोल बजाउँदै गोलबद्ध भई कृष्ण चरित्र, राम चरित्र, देवी देउताका वीरताका गाथा गाउँदै खेल्ने गरिन्छ । चीर दहनपछि मात्रै रंगको टीका लगाउने गरिएपनि त्यो भन्दा अघि भने रानाथारूले रंगबिना गीत गाएरै होली खेल्ने गर्छन् ।

होलीको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम 

होलीको रौनक बढेसँगै यहाँका विद्यालय, क्याम्पस, विभिन्न संघ–संस्थाले होली मिलन कार्यक्रम गरिरहेका छन् । बुधबार कैलाली बहुमुखी क्याम्पसमा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरूले होली विशेष शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

केएमसी आयोजक क्लबको आयोजनामा भएको कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका तोयराज भट्ट प्रमुख अतिथि रहेका थिए । सो अवसरमा उनले होली पर्वलाई सभ्य र भव्य तरिकारले मनाउन जरुरी रहेको बताए । परापूर्वकालदेखि मनाइँदै आएको होली पर्वको आफ्नै महत्व रहेको उनको भनाई थियो ।

आम सञ्चार समुहकी गौरि सिंहको अध्यक्षतामा भएको कार्यक्रमको विद्यार्थी जयन्तसिंह भाटले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यार्थी साकार बोगटीले गरेका थिए । वर्षपछि आउने होली पर्वलाई आफ्नो सुदूरपश्चिमको कला संस्कृति अनुसार विद्यार्थीहरूले होली कार्यक्रम गरेको जनाइएको छ ।

यस्तै, तराईमा भोली मनाइने होलीका लागि विभिन्न होटल, संघ–संस्थाले होली मिलन तथा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राख्ने तयारीमा छन् भने धगनढीको दशरथ रंगशालामा शुक्रबार ज्योति मगरको उपस्थितिमा फारवेष्ट मिडियाको आयोजनामा होली विशेष कार्यक्रम राखिएको छ ।

उता, सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँको निवासबाट प्रेस चौतारी कैलालीले होली कार्यक्रम सुरु गरेको छ । प्रदेश प्रमुख मियाँले टीका लगाएर होली कार्यक्रमको शुभारम्भ गरेका हुन् । उनले चौतारीको होली कार्यक्रम सफलताको शुभकामना दिए ।

प्रेस चौतारी नेपाल कैलालीले तीन दिनसम्म होली खेल्ने अध्यक्ष जनक विष्टले बताए । संस्कृति सम्बद्र्धन र मौलिकता प्रर्वधन अभियान अन्तर्गत होली कार्यक्रमको सुरुवात गरिएको हो । कैलाली जिल्लाको टीकापुरदेखि धनगढीसम्म होली खेल्ने उनले बताए । बुधवार धनगढीबाट सुरु भएको होली कार्यक्रम फूलबारी, टीकापुर, बौनिया हुँदै सुखडसम्म पुग्ने छ । बिहीबार गौरीगंगा नगरपालिका क्षेत्रमा प्रेस चौतारी कैलालीले होली खेल्ने छ । शुक्रबार धनगढी क्षेत्रमा होली खेल्ने कार्यक्रम रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २९ गते बिहीबार