बर्दिया ।
जंगली हात्तीको आक्रमणमा परि बर्दियामा एक जनाको ज्यान गएको छ । निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको आक्रमणबाट ठाकुरबाबा नगरपालिका वडा –२ बलाती गाउँका ७१ वर्षीय बोलिराम थारूको ज्यान गएको हो । बिहीबार राती करिब १० बजेतिर निकुञ्जभित्रबाट गाउँमा पसेको जंगली हात्तीले थारूलाई घर नजिकैको गहुँबारीमा आक्रमण गरेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।
राती घर नजिकै गहुँबारीमा केही आवाज आएको थाहा पाएपछि हेर्नका लागि घर बाहिर निस्किए लगतै हात्तीले आक्रमण गर्दा उनको घट्नास्थलमै ज्यान गएको वडा नम्बर २ का वडा अध्यक्ष कमल चपाईँले बताए । बस्तीमा छिरेर हात्तीले ज्यान लिए पछि स्थानीयबासी आक्रोशित भएका छन् ।
स्थानीयले बिहानैदेखि पूर्वपश्चिम राजमार्गको भुरीगाउँ–कर्णाली चिसापानी सडकखण्ड अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध गरेर निकुञ्जविरुद्ध आन्दोलनमा उत्रेका आफन्त तथा स्थानीयले मृतक थारूको शव उठाउन दिएका थिएनन् । स्थानीयले निकुञ्ज विरुद्ध नाराबाजी समेत गरेका थिए । मृतकका परिवार उचित राहत तथा क्षतिपूर्ति, वन्यजन्तुको आक्रमणका घटना हुन नदिन दिगो व्यवस्थापन उपाय खाज्नु पर्ने लगायतका स्थानीयको माग गरेका थिए ।
निकुञ्ज मध्यवर्ती क्षेत्रमा यस्ता घटना बारम्बार दोहोरिदा पनि निकुञ्ज प्रशासनले दिगो व्यवस्थापनको उपाय नखोजेको स्थानीयको आरोप छ । स्थानीयले निकुञ्ज मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै नाराबाजी गरे । निकुञ्जले वन्यजन्तुको संरक्षणमा मात्र ध्यान दिएको, वन्यजन्तुबाट पिडीत मध्यवर्ती क्षेत्रका बासीन्दाका समस्याका कुनै चासो नदिएको स्थानीयको भनाइ छ । मध्यवर्ती क्षेत्रका जनताको माग तत्काल सम्बोधन हुनु पर्ने स्थानीयको माग रहेको छ । राजमार्ग अवरुद्ध भए लगत्तै सदरमुकाम गुलरियाबाट डीएसपीसहितको प्रहरी र बर्दिया निकुञ्जको टोली घटनास्थल पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्