सहरहरूमा ध्वनि प्रदूषण अर्काे गम्भीर समस्या हो । सवारी साधन, निर्माण कार्य र उद्योगहरूका कारण जनजीवनमा नकारात्मक प्रभाव पारेको छ । रूखहरूको उपस्थितिले ध्वनि प्रदूषणलाई पनि कम गर्न सहयोग गर्छ । तिनका पात र हाँगाले ध्वनिलाई अवशोषण गर्छन्, जसले ध्वनि प्रदूषण १०–१५ डेसिबलसम्म घटाउन सक्छ । सडक किनारमा, विद्यालय नजिक र अस्पताल आसपास रूखहरूको उपस्थितिले मानिसलाई शान्त वातावरण प्रदान गर्छ । यसले बालबालिका, बिरामी र वृद्ध व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।
हेमन्तराज काफले
आजको युगमा सहरहरूको तीव्र विकासले मानव जीवनलाई सहज, सुविधाजनक र आधुनिकतातर्फ लगेको छ । अग्ला गगनचुम्बी भवनहरू, चिल्ला सडकहरू तथा अत्याधुनिक पूर्वाधारहरूले मानव समाजलाई आधुनिकतामा एक कदम अगाडि पु¥याएको छ । तर यस विकासले वातावरणीय असन्तुलन, वायुप्रदूषण, तापक्रम वृद्धि, जैविक विविधताको विनाश र पानीको संकटजस्ता गम्भीर समस्याहरू निम्त्याएको छ ।
यी चुनौतीहरूको सामना गर्न रूखहरूको भूमिका अविश्वसनीय रूपमा महत्वपूर्ण छ । रूखहरू केवल वातावरणीय समस्याहरूको समाधान मात्र होइन, हाम्रो जीवनको आधारस्तम्भ पनि हुन् । सहरमा रूखहरूको उपस्थितिले हरियाली, स्वच्छता र सन्तुलन कायम गर्न ठूलो योगदान पु¥याउँछ ।
सहर र वातावरणीय चुनौतीहरू
सहरहरूमा मानव क्रियाकलाप र प्रविधिको अन्धाधुन्ध प्रयोगका कारण वायुप्रदूषण तीव्र गतिमा बढ्दै छ । वातावरणीय संगठनहरूले पनि यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष वायुप्रदूषणका कारण लाखौँ मानिसको समयभन्दा पहिले मृत्यु हुन्छ । धूलो, धुँवा र हानिकारक ग्यासहरूको मिश्रणले सहरको वातावरणलाई विषाक्त बनाएको छ । सहरमा तापक्रम पनि ग्रामीण क्षेत्रमा भन्दा धेरै हुन्छ जसले मानव स्वास्थ्य र जैविक विविधतालाई गम्भीर असर पु¥याउँछ ।
रूखहरू वायुमण्डललाई स्वच्छ बनाउने प्राकृतिक फिल्टर हुन् । तिनले कार्बनडाइअक्साइड अवशोषण गरेर अक्सिजन उत्सर्जन गर्छन्, जसले सहरको वायुको गुणस्तर सुधार गर्छ । भारतको दिल्लीजस्तो सहरमा गरिएको एक अध्ययनले देखाएको छ कि सहरको हरियालीले १५–२० प्रतिशतसम्म प्रदूषण कम गर्न सक्छ । रूखका पातहरूले धूलो, धुँवा र अन्य प्रदूषक कणहरू सोस्छन् । उदाहरणका लागि, पिपल, बकाइनो र बाँसजस्ता रूखहरूले वायुप्रदूषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छन् ।
रूखहरूले नाइट्रोजन अक्साइड र सल्फर डाइअक्साइडजस्ता हानिकारक ग्यासहरूको प्रभावलाई पनि कम गर्छन् । यसले मानिसलाई विभिन्न श्वासप्रश्वाससम्बन्धी रोगहरूबाट बच्न सहयोग पु¥याउँछ । सहरमा बढ्दो गाडीहरूको संख्याले उत्सर्जन गर्ने प्रदूषण नियन्त्रण गर्न सडक किनारामा रूखहरू रोप्न आवश्यक छ ।
सहरमा रूखहरूको एउटा प्रमुख योगदान तिनले दिने छायाँ हो । चर्काे घामले सतहको तापक्रम बढाउँछ, जसले मानिसहरूको स्वास्थ्यलाई गम्भीर असर पु¥याउँछ । रूखहरूले सूर्यको तापलाई अवशोषण र प्रतिबिम्बित गरी सहरलाई चिसो बनाउन मद्दत गर्छन् । तिनको वाष्पीकरण प्रक्रियाले हावाको आद्र्रता बढाउँछ, जसले तापक्रमलाई प्राकृतिक रूपमा सन्तुलित बनाउँछ ।
एउटा अनुसन्धानले देखाएको छ कि सहरमा रूखहरूको घना उपस्थितिले वातावरणीय तापक्रम २ देखि ५ डिग्री सेल्सियससम्म घटाउन सक्छ । यसले मानिसको दैनिक जीवनलाई सहज बनाउनका साथै ऊर्जा खपतलाई पनि कम गर्छ । जल संकट आजको युगको सबैभन्दा ठूलो चुनौती हो । सहरमा रूखहरूले जल चक्र सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छन् । तिनका जराहरूले जमिनमा वर्षाको पानीलाई अवशोषण गरी भूमिगत जलस्तरलाई कायम राख्न मद्दत पु¥याउँछन् । साथै, तिनले माटो कटान रोक्छन्, जसले बाढीको सम्भावना कम गर्छ ।
नेपाली सहरहरूमा हाल भूमिगत पानीको स्तर घट्दै गएको छ । काठमाडौँ उपत्यकालगायत थुप्रै सहरहरूमा जल स्रोतको अभाव दिनानुदिन बढिरहेको छ । यस्तो अवस्थामा सहरमा वृक्षारोपण अभियानले दीर्घकालीन समाधान दिन सक्छ । रूखहरूले केवल पानी बचाउँदैनन्, तिनले माटोलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।
सहरहरूमा ध्वनि प्रदूषण अर्काे गम्भीर समस्या हो । सवारी साधन, निर्माण कार्य र उद्योगहरूका कारण जनजीवनमा नकारात्मक प्रभाव पारेको छ । रूखहरूको उपस्थितिले ध्वनि प्रदूषणलाई पनि कम गर्न सहयोग गर्छ । तिनका पात र हाँगाले ध्वनिलाई अवशोषण गर्छन्, जसले ध्वनि प्रदूषण १०–१५ डेसिबलसम्म घटाउन सक्छ ।
सडक किनारमा, विद्यालय नजिक र अस्पताल आसपास रूखहरूको उपस्थितिले मानिसलाई शान्त वातावरण प्रदान गर्छ । यसले बालबालिका, बिरामी र वृद्ध व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।
रूखहरू जैविक विविधताको आधार हुन् । तिनले चराचुरुंगी, कीराफट्याङ्ग्र्रा र साना प्रजातिका जीवजन्तुलाई बासस्थान र आहार–प्रदान गर्छन् । सहरमा रूखहरूको कमीले जैविक विविधताको विनाश निम्त्याउँछ । उदाहरणका लागि, नेपालमा सहरहरूको विस्तारले परेवा, भँगेरा, काग, गिद्दजस्ता चराहरू र मौरीजस्ता प्रजातिहरूको संख्या घटिरहेको छ ।
जैविक विविधता संरक्षणका लागि सहरका बगैँचा, सार्वजनिक पार्क र सडक किनारमा विभिन्न प्रकारका रूखहरू रोप्नुपर्छ । फलफूलका बिरुवाहरू जस्तै अम्बा, सीतलचिनी, बडहर, सीता फल, आँप, अमला र कागती मानवलाई पोषण प्रदान गर्नका साथै जैविक विविधतालाई जोगाउन सहयोगी हुन्छन् ।
रूखहरूले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन् । वैज्ञानिकहरूले प्रमाणित गरेका छन् कि हरियाली भएको वातावरणमा समय बिताउँदा मानिसको तनाव कम हुन्छ । सहरका पार्क र बगैंचाहरूले मानिसहरूको मानसिक र शारीरिक स्वास्थ्यलाई सुधार गर्न मद्दत गर्छन् ।
एक अध्ययनले देखाएको छ कि सहरको हरियालीमा दैनिक ३० मिनेट बिताउने व्यक्तिहरूको रक्तचाप, तनाव स्तर र मुटुको स्वास्थ्यमा सुधार आएको छ । साथै, रूखहरूले प्रदूषण नियन्त्रण गरी श्वासप्रश्वाससम्बन्धी रोगहरूको जोखिम कम गर्छन् ।
दिगो विकासका लागि सहरहरूलाई वातावरणीय सन्तुलन कायम गर्ने दिशामा अघि बढाउनुपर्छ । वृक्षरोपण अभियान, हरित पूर्वाधार र जनचेतना कार्यक्रमहरू सञ्चालन गर्नु निकै अत्यावश्यक छ ।
नेपालमा अहिले विभिन्न सहरहरूमा वृक्षरोपण अभियान चलिरहेका छन् । सरकारले हरियाली प्रवद्र्धनका लागि नीति बनाएर लागू गर्नुपर्छ । स्थानीय समुदाय, विद्यालय र गैरसरकारी संस्थाहरूको सक्रिय सहभागिताले सहरमा हरियाली बनाउन मद्दत पु¥याउँछ ।
सहरको हरियाली केवल वातावरणीय सन्तुलनका लागि नभई मानिसको जीवनस्तर सुधार्नका लागि पनि महत्वपूर्ण छ । ‘रूख रोपौँ, धर्ती बचाऔँ’ भन्ने नारालाई आत्मसात् गर्दै हामी सबैले सहरको हरियाली संरक्षणमा योगदान पु¥याउनुपर्छ । करेसाबारी, कौसी खेती र फलफूलका रूखहरू रोपेर हरेक घरबाट हरियाली अभियानको सुरुवात गर्न सकिन्छ ।
रूखहरूको संरक्षण र वृक्षरोपणले हाम्रो सहरलाई शान्त, स्वस्थ र सुन्दर बनाउँछ । यति मात्र होइन, यसले आगामी पुस्ताका लागि वातावरणीय रूपमा सन्तुलित समाजको निर्माण गर्न योगदान पु¥याउँछ । मानव सभ्यताको अस्तित्व र प्रकृतिको सन्तुलन कायम राख्न रूखहरूको संरक्षण गर्नु हाम्रो दायित्व हो ।
(लेखक डब्लुडब्लुएफ २०२१ को संरक्षण अवार्ड बिजेता हुन् ।)









प्रतिक्रिया दिनुहोस्